छुवाछूत मुक्त घोषणाका १० वर्ष

नेपालमा दलितहरू आज पनि सबैभन्दा ज्यादा सामाजिक बहिष्करण र भेदभावको सिकार भएका छन् ।
गणेश विश्वकर्मा

काठमाडौँ — ऐतिहासिक जनक्रान्ति २०६३ को राप र तापले यस परिवर्तनको हिस्सेदार दलित समुदायलाई पनि बनाउने उद्देश्यले जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यो घोषणा परम्परागत खालको थिएन ।

यस घोषणामा दलितहरूको देशव्यापी अवस्थासहितको तथ्याँक संकलन गर्ने, दलित समुदायका लागि सम्भावित लक्षित मोडल कार्यक्रमहरूको योजना बनाउने, दलितहरूका व्यावसायिक परम्परागत मौलिक पेसाहरूको आधुनिकीकरण र औद्योगिकीकरण गर्ने समेत उल्लेख थियो ।

नेपाली राजनीतिमा हरेक दशक उथलपुथलकारी बन्दै आएको छ । तर छुवाछूतमुक्त राष्ट्र घोषणाको यो दशक नाम मात्रको बन्न पुग्यो । अन्य मुलुकमा यस्ता मुद्दा भविष्यमा द्वन्द्वका कारण नबनून् भनेर निकै ध्यान दिइएको देखिन्छ । जातिवाद, रंगभेदवाद र वर्णव्यवस्थाका आधारमा लामो कालसम्म शासन चलेका मुलुकहरूमा सरकारी सेवाहरूमा असन्तुलनको खाडल भयावह हुने गरेको देखिन्छ ।

Yamaha

दक्षिण अफ्रिकामा काला र गोराबीच र दक्षिण एसियाका भारत र नेपालजस्ता देशमा कथित माथिल्लो जात र दलितबीचको खाडल सरकारी सेवाहरूमा भयावह छ ।


नेपालको हकमा सरकारी निकायमा गैरदलित र दलितबीचको उपस्थितिको खाडल यति ठूलो देखिन्छ कि सामान्य प्रकारको सकारात्मक उपायद्वारा जाँदा हजार वर्षमा पनि न्यायपूर्ण सन्तुलन प्राप्त गर्न गाह्रो छ । त्यसैले सरकारी सेवाको यो असन्तुलनलाई तीव्र गतिमा घटाई सन्तुलनमा ल्याउन फास्ट ट्रयाक नीति तथा बजेटसहितको कानुन निर्माण गर्नु अनिवार्य थियो, जुन यसबीचमा हुन सकेन ।

घोषणापछिका घट्नाक्रमहरू
छुवाछूतमुक्त राष्ट्र घोषणा भएको एक दशकको अवधिमा कालीकोटका करवीरे सुनार, दैलेखका सेते दमाईं, काभ्रेका अजित मिजार र लक्ष्मी परियार, सप्तरीका शिव मण्डल, ताप्लेजुङकी सुशीला वि.क.लगायतको हत्या भयो । हालै झापाको गुरुकुलमा दलित विद्यार्थीमाथि भेदभाव भएको छ ।

अर्घाखाँचीकी कक्षा १० मा अध्ययनरत १५ वर्षीय समिता नेपालीलाई स्थानीय युवा राजु अधिकारीले बलात्कारपश्चात हत्या गरे । कञ्चनपुरमा सार्वजनिक मन्दिरमा दलितलाई पूजापाठमा रोक लगाइयो । ललितपुरको नक्खु कारागारमा बर्दियाका २१ वर्षीय युवक भक्तबहादुर सुनारको नियोजित हत्या भयो । अन्तरजातीय विवाह गरेका कारण हत्या गरिएका काभ्रेपलाञ्चोकका अजित मिजारको शव ३ वर्षदेखि काठमाडांैस्थित टिचिङ अस्पतालमा छ ।

डोटी छतिवनको एक विद्यालयमा दलित र गैरदलित विद्यार्थीहरूले पानी ल्याउँछन् तर गैरदलित विद्यार्थीले ल्याएको पानी पिउन प्रयोग गरिन्छ भने दलित विद्यार्थीले ल्याएको पानी आँगन वा शौचालय सफा गरिन्छ । जाजरकोटको नायकबाडामा दलित केटी र गैरदलित केटाबीच विवाह गर्ने सहमति भएको तर घरको दबाबमा केटा सहमत नभएपछि केटीले आत्महत्या गरिन् ।

सोही जिल्लाको खलंगास्थित राउत गाउँका एक जोडीले अन्तरजातीय विवाह गर्न स्वीकृति नदिँदा भेरी नदीमा सामूहिक आत्महत्या गरे । यस्ता असंख्य घटना घट्ने गरेका छन् तर नेपाल सरकारले अहिलेसम्म कानुनबमोजिम प्रभावकारी कारबाही गरेको एउटा घटना पनि भेटिँदैन । उपरोक्त घटनाको तथ्य र सत्यको ऐनाबाट हेर्दा नेपालमा दलितहरू आज पनि सबैभन्दा ज्यादा सामाजिक बहिष्करण र भेदभावको सिकार भएका छन्, नेपालको राज्ययन्त्र अर्थात सेना, प्रहरी, प्रशासन, न्यायालयमा दलितको उपस्थिति नाम मात्रको छ ।

नेपालको राज्य संरचना दलितका लागि अहिले पनि उस्तै बहिष्कारक छ, नेपालको सर्वोच्च कार्यकारिणी मन्त्रिपरिषद्मा दलितको सहभागिता नाममात्रको छ । कुनै पनि प्रदेश सरकारमा दलित मन्त्री छैनन् । व्यवस्थापिकामा पनि जनसंख्याको अनुपातमा दलित प्रतिनिधित्व हुन सकेको छैन ।

शिक्षा, रोजगारी र विकासका अवसरमा दलितको पहुँच र हिस्सेदारी ज्यादै न्यून र दयनीय छ । यस दशकमा जुनसुकै दल सत्तामा आए पनि दलितलाई अहिलेसम्म दया मात्र देखाइएको छ, चिरस्थायी र सुस्पष्ट नीतिगत व्यवस्था सिर्जना गरेर उसको न्यायोचित र समानुपातिक प्रतिनिधित्व राज्य संरचना, राज्ययन्त्र र राजनीतिक दलको हरेक तह र ढाँचामा सुनिश्चित गरिएको छैन ।

शोषण, उत्पीडन र अपमान कायम छ । भूमिहीनता, बेरोजगारी, हलिया, हरवाचरवा, बालीघरेप्रथा र चरम श्रमशोषण जारी छ । राजनीतिक र प्रशासनिक क्षेत्रमा दलितलाई नयाँनयाँ तरिकाले बहिष्करणको प्रक्रिया यथावत् छ । हिजो सेवा हुँदा बालीघरे आज उद्योग हुँदा निजी कम्पनीको सिकार हुने धरातलीय अवस्था विद्यमान छ ।

यसबीचका उपलब्धी
यस दशकमा दुई दुई वटा संविधानसभाको निर्वाचनबाट नेपालको संविधान जारी भएको छ । यसले वि.सं.२००७ देखिका सबैखाले आन्दोलनका उपलब्धिलाई संवैधानिक रूपमा संस्थागत गर्ने युगीन काम गरेको छ । दलित मुद्दा नेपाली राजनीतिको एक स्वायत्त आन्दोलन तथा सम्बोधन गर्नैपर्ने अनिवार्य केन्द्रीय विषय बनेको छ । देशव्यापी रूपमा दलितहरूमा मौनताको संस्कृतिको अन्त्य भई दलितहरू संगठित भएका छन्, राजनीतिक प्रक्रियाबाट हजारौं राजनीतिक नेता तथा कार्यकर्ता उत्पादन भएका छन् र गैरदलितहरूको ठूलो हिस्सा दलित मुद्दामा आफैं लड्ने भएको छ ।

मुलुक संवैधानिक र राजनीतिक रूपमा जातीय छुवाछूतमुक्त बनेको छ । सोको नियमन गर्ने कानुन बनेको छ भने सोको प्रभावकारी अनुगमन गर्न संवैधानिक राष्ट्रिय दलित आयोगको संवैधानिक र कानुनी सुनिश्चितता भइसकेको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू यस मुद्दामा सकारात्मक छन् ।

दलित मुद्दा राज्यले सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रूपमा स्थापित भएको छ, दलित मुद्दा संविधानमै पहिचानका साथ स्थापित भएको छ, सामन्तवाद अन्त्य भएर संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा दलित जीवनमा केही सुधार ल्याउने व्यवस्था गर्न सम्भव तुल्याएको छ ।

अबको सही बाटो
कुनै एउटा राजनीतिक कदमले मात्र रातारात दलितपनको स्थिति समाप्त हुन सम्भव छैन । हजारौं वर्षको सामन्तवादको अभ्यासको दौरान मानिसको स्वभाव र संस्कृति भएर दलितमाथिको शोषण, उत्पीडन, छुवाछूत र अपहेलना जारी रहेकाले जादुको छडीजस्तो दलितपन तुरुन्त समाप्त हुनेवाला देखिँदैन ।

यसका लागि एक, जब दलितले गर्ने मुक्त वा निम्न ज्यालायुक्त श्रम हरेक हिसाबले प्रतिबन्धित/दण्डित हुन्छ अनि मानव श्रमको न्यायोचित मूल्य दिनैपर्ने उत्पादन प्रणाली र राजनीति स्थापित हुन्छ । दुई, जब मानव श्रम र श्रमिकवर्ग समाजमा अत्यधिक आदरणीय हुने र काम नगर्ने मानिसले काम गर्ने मानिसलाई ‘अछूत’ ठान्ने मानिसचाहिँ अपहेलित र दण्डित हुने श्रम र श्रमिकप्रधान राजनीतिक संस्कृति स्थापित हुन्छ ।

तीन, जब जोतिरहेको जमिनमा र उत्पादनका अन्य साधनस्रोत र सम्पत्तिमा, शिक्षा र विकासका तमाम अवसरमा काम गर्ने श्रमिक दलितको न्यायोचित हिस्सेदारी कानुनत: र व्यवहारत: सुनिश्चित हुन्छ । र चार, जब शासन गर्ने, कानुन बनाउने र नीति निर्णय गर्ने हरेक ठाउँमा दलितहरू, तमाम उत्पीडितहरू सही अनुपातमा पुग्ने संवैधानिक र व्यावहारिक स्थिति बन्छ । त्यतिबेला समाजमा दलितपनको अवस्था बाँकी रहँदैन ।

यसका लागि राज्यले दीर्घकालीन विकास लक्ष्य २०३० को अवधिमा दलित अधिकार दशक घोषणा गरेर आवश्यक सूचकांकसहित दलितपनको समूल अन्त्य हुने गरी बजेटसहित जातीय छुवाछूत र विभेदविरुद्ध कार्यक्रम लागू गर्नुपर्छ । यसलाई सम्पूर्ण राजनीतिक दलहरू, जनवर्गीय संगठनहरू, नागरिक समाज, सञ्चारकर्मी, कानुन व्यवसायी, बद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक अभियान बनाइनुपर्छ ।


Esewa Pasal

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हामी एक हौं...

कान्तिपुर संवाददाता

ललितपुर — एकताको कुरा अचेल धेरै सुनिन्छ । दुई ठूला कम्युनिस्ट पार्टी एक भएर देशको काँचुली फेर्ने आह्वान गरिरहेका छन् । वाम एकताको तरंग आउनुभन्दा महिनौंअघि रक संगीत क्षेत्रमा एकताले मूर्त रूप पायो ।

नेपालका झन्डै एक दर्जन रक स्टार ‘प्रोजेक्ट वान’ ब्यान्डमा जुटेका थिए । अहिले सोही ब्यान्ड कन्सर्ट गर्दै हिँडिरहेको छ ।

ब्यान्डले शनिबार ललितपुरको जाउलाखेल ग्राउन्डमा प्रस्तुति दियो । साँझ ६ बजेबाट सुरु भएको ‘अर्ना प्रोजेक्ट वान लाइभ इन कन्सर्ट’ मा ब्यान्डका मौलिक गीतसँगै भोकलिस्टहरूले आ–आफ्ना चर्चित गीतसमेत सुनाउन भ्याए । कम्तीमा बीस गीत प्रस्तुत गर्ने योजना रहे पनि प्रहरीको दबाबमा कन्सर्ट छोट्याउनुपरेको भोकलिस्टमध्येका एक निरन शाहीले बताए ।

‘पुलिसले रोकिदियो,’ उनले भने, ‘अबेरसम्म गर्न नमिल्ने बताइयो । एकै चोटि अन्तिमतिरका गायौं ।’ कन्सर्ट छोटो हुन गएकोमा अलि खल्लो महसुस भएको उनले बताए ।

कन्सर्टमा ‘खेल, खेल...’, ‘म नेपाली...’, ‘बर्न...’, ‘हामी एक हौं...’ जस्ता ब्यान्डका नयाँ गीतमा दर्शकश्रोता झुमे । निरनले आफू संलग्न ‘अनुप्रस्थ’ ब्यान्डको ‘दिन यस्तो पनि थियो...’, ‘ह्वाट टु डु काठमाडौं...’ लगायत गीत प्रस्तुत गरे । तीमध्ये केहीमा उनलाई ‘द स्याडोज नेपाल’ ब्यान्डका गायक स्वप्नील शर्माले साथ दिएका थिए ।

स्वप्नीलले द स्याडोज नेपालको गीत ‘म हुँ प्रकृति...’ सुनाउँदा त्यसमा रवीन तामाङ र निरनको पनि स्वर सुनियो । रवीनको गीतमा मुक्ति र स्वप्नीलहरूले आवाज सेयर गरे । यीमध्ये कतिपय गीतको रि–अरेन्ज्ड भर्सन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

‘यस्तो पहिलोपल्ट भयो,’ गायक स्वप्नीलले भने, ‘हामीले एकअर्काको गीत मिक्स्ड गरेर गाउन पायौं । यो खालको सहकार्य हुनु आवश्यक छ ।’ रकभित्रका विभिन्न विधाका संगीतकर्मी एक भएर प्रस्तुत हुँदा धेरैले राम्रो मानेको उनको अनुभव छ ।

गितारिस्ट हरि महर्जनले पनि प्रोजेक्ट वानमा आबद्ध हुँदा रमाइलो अनुभव भइरहेको बताए । ‘हामी पहिले–पहिले यत्तिकै ज्याम अप गथ्र्यौं,’ उनले भने, ‘यसरी औपचारिक रूपमा एकजुट हुँदा झनै इन्ट्रेस्टिङ हुँदोरहेछ ।’ यसअघि बुटवल, चितवन, धरान, बनेपा, झापालगायत सहरमा समूहले कन्सर्ट गरेको थियो ।
हरिले भने छोटै भए पनि काठमाडौंको कन्सर्ट भव्य भएको अनुभव गरेछन् ।

प्राविधिक रूपमा स्तरीय कन्सर्टमा आफूहरूले चाहेजस्तै प्रस्तुति दिन पाएको बताए । साँझ ६ बजे सुरु भएको कन्सर्ट डेढ घण्टामै सकिएको थियो । मुक्ति, रवीन, स्वप्नील र निरनको गायनलाई हरि महर्जन र शरद श्रेष्ठले गितार, रोशन कंसाकारले बेस अनि निखिल तुलाधरले ड्रम्समा साथ दिएका थिए ।

‘प्रोजेक्ट वान’ स्थापना गर्ने ब्यान्डवागन बाइ पोजेटिभ भाइब्सले नै कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टको अन्त्यमा समूहले ‘हामी फेरि उठ्ने छौं...’ सुनाएको थियो । यही गीतको थिममा पछिल्ला केही वर्षदेखि कन्सर्ट भइरहेको छ । ‘एक न एक दिन हामी अवश्य उठ्नेछौं,’ मुक्तिले अन्त्यमा यस्तो भनिरहँदा रवीनले थपे, ‘आजलाई धन्यवाद, सुरक्षित रहनुहोला ।’ ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT