म जे छु, ठीकै छु, विथोल्न कोही नआउनु !
काठमाडौँ — आमा भएर बाँच्नु साह्रै गाह्रो रहेछ, खास गरी सन्तान मारिएपछि । न्याय खोज्दा उल्टै पतिले पनि ज्यान गुमाएपछि त म एकदम एक्ली भएकी छु । त्यसपछि मलाई एक क्षण पनि बाँच्न मन भएन ।
कम्तीमा यो अन्याय टुलटुल्ती हेरेर अस्पतालको यो कुनामा सागपातजस्तो गरी बाँची रहनु भन्दा त मर्नु नै धेरै कल्याण हुन्थ्यो । तर ईच्छा गर्दैमा काल आइहाल्दो रहेनछ ।
कि मृत्यु कि न्याय भनेर मैले धेरै पटक अनसन बसिसकें । तर हरेक पटक, म बेहोस भएपछि खुवाइँदो रहेछ ।
‘मरेर पनि कहिं न्याय पाइन्छ ?’ मेरा वकिल बाबुराम गिरी संधै मलाई यसो भनेर मायाले हप्काउनु हुन्छ । धेरै पटकको अनसन त उहाँले नै हातै जोडेर तुहाइदिनु भयो । मलाई बहिनी भन्नु हुन्छ र दाजुले भन्दा बढ्ता ढिपी गरेर माया देखाउनुहुन्छ ।
यो सबदेखि मलाई चाहिँ वाक्क लागिसक्यो । आखिर कहिलेसम्म म यो अर्थहीन जीवनलाई धानिरहूँ ? कहिलेसम्म पाइँदै नपाइने न्याय पर्खेर बसिरहूँ ? कहिलेसम्म ?
त्यसैले, आजका दिन अर्थात २०७५ जेठ १५ देखि मैले अन्न पानी नखाने घोषणा गरेकी छु । सोचेकी थिएँ, छोरो मारिएको दिन, जेठ २४ गतेदेखि यसो गर्नेछु । तर, गणतन्त्र दिवस मनाउने भनेर सरकारले बालकृष्ण ढुंगेल र अरु आठसय भन्दा बढी मानिसलाई जेलमुक्त गरिदियो अरे । बिहानै रेडियोमा यो समाचार सुनेपछि मलाई पानी निल्न पनि मन लागेन ।
यस्तो देशको हावा लिनु पनि अपराध जस्तो लाग्यो । अनि लाग्यो, अब म बाँचेर के काम ? मैले खाएर के काम ? मेरा छोराका हत्याराहरु खुलेआम हिँड्छन् । मेरो पतिको लास चारचार वर्षदेखि शिक्षण अस्पतालमा सडेर बसेको छ । म यहाँ के कुरेर बसिरहने ? त्यसैले मलाई नमरे हुन्थ्यो भनेर माया गर्ने सबैलाई निरास पार्दै मैले अनसन सुरु गरें ।
सपनामा बरोबरजस्तो म छोरा र बुढालाई देखिरहन्छु । उनीहरु सँधै सँगै हुन्छन् । म मात्रै एक्लै यहाँ कति बसिरहूँ ? मेरो मन र मुटु छोरा र उसको बाबुसँगै छ । खोक्रो जिउ लिएर यहाँ बस्नुको अब काम छैन । त्यसैले यो अनसन म उनीहरुलाई भेट्न जाने तयारी हो । छोरो मारिएदेखि अहिलेसम्म बनेका सबै सरकारलाई म घाँडो भएकी छु । मरेपछि उनीहरुलाई पनि आनन्द हुनेछ । हत्याराहरुले आरामको सास फेर्न पाउनेछन् । जजसले मेरा कारण अप्ठेरो भोग्नु परेको थियो, मेरो सास जाने बित्तिकै सबलाई सजिलो हुनेछ । त्यसैले पनि मैले जीवन लम्ब्याइरहनुको अर्थ छैन ।
अघिल्लो पटकको अनसनमा २०७३ भदौ २८ गते आइसियुमै म बेहोस भएपछि बचाउने प्रयास नगरेको भए यो पापी संसार छाड्ने मेरो ईच्छा पुरा भइसक्थ्यो । अस्पतालका मानिसले भने अनुसार त्यतिबेला मेरो सासै बन्दै हुन आँटिसकेको थियो अरे । मलाई भने केही सम्झना छैन । मैले त प्रचण्ड, उनकी पत्नी सीता, छविलाल र उसका छोराहरुलाई नजिकै बसिरहेको देखेकी थिएँ ।
‘आऊ सीता, भात खान जाऊँ’ प्रचण्डले मतिर देखाउँदै भनेका थिए, ‘यस्तीले पनि हामीलाई डामेर छाडी हगि !’
पछि थाहा भयो, बेहोस हुँदा यो सब देखेको रहेछु ।
‘कति सुतिरहनु हुन्छ आमा ?’ भन्दै मलाई कुर्न बसेका हवल्दार टोपबहादुरले कपालमा समातेर झकझक्याएपछि मेरो होश आयो ।
‘लौ मुख खोल्नुस् !’ उनले भने । तर मेरो ओठ नै चलमलाएन । उनैले मुख बलपूर्वक फट्याइदिए । अनि एक चम्चा पानी मुखमा हालिदिए । कैयौं महिनादेखि मुखमा केही नपरेकाले होला, पानी एकदम तीतोजस्तो लाग्यो ।
‘के तीतो हालिदिएको यो ?’ म सकिनसकी कराएँ ।
गल्ती भयो आमा भनेर उनले चिनी घोलेर अरु केही चम्चा पानी मुखमा हालिदिए । बिस्तारै मलाई जिउ दुखेको र खुट्टा भतभती पोलेको होस भयो । प्राणै जान लागेपछि मलाई पैतालामा करेन्ट लगाएर बौर्याएका रहेछन्, दुबै खुट्टा फिलासम्म नै डढेर कालो भएको थियो । बाबुराम दाइसँग आइरहने अर्का वकिल आसिकराम कार्की त्यस दिन बिहानै मलाई भेट्न आइपुगे ।
धेरै दिनदेखि होस गुमेका हुनाले उनले कतै म बितिसकें कि भन्ने ठानेका रहेछन् । आउने बित्तिकै गंगामाया भनेर बोलाए । थाहा छैन किन, कार्कीलाई देखेपछि म ह्वाँह्वाँती रोएछु । अनि भनेछु, ‘हेर्नुस् त, मेरो खुट्टा पोलेर रोटी सेकाए !’
यस्तो बेसुरा कुरा सुनेपछि अस्पतालमा सबै गलल्ल हाँसे ।
‘सिस्टर, उहाँको खुट्टामा रोटी सेकाएको हो ?’ आसिकरामले सोधेका थिए ।
‘आमाले चाहिने कुरा गर्नै छाड्नु भएको छ’ भनेर उनीहरु हाँसे । उनीहरुलाई लागेछ, म बहुलाएँ । यही बेला मलाई चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले अस्पतालमै साक्षी बकपत्र गराउने सुविधा दिनु भनेर आदेश गरेका रहेछन् ।
‘अब तपाईंले अनसन तोड्नु पर्छ’ मलाई मेरा वकिलहरुले सल्लाह दिएका थिए, ‘अदालतले यसपाला त साँच्चै नै चासो दिएको छ, अब न्याय पाइन्छ ।’
यस अघि पनि धेरै पटक यस्तै गरी अनसन तोड्नु परेको थियो । त्यसैले मैले केही खाने इच्छा गरिन । तर उनीहरुले यसपाला त त्यस्तो होइन कि होइन भनेर कर गरे । अनि चिया र विस्कुट घोलेर मुखमा हालिदिए । म हातले पञ्छाउन पनि सक्ने अवस्थामा थिइन । त्यसको केही दिनपछि असोज २ गते चितवन अदालतबाट मेरो बयान लिन मानिसहरु आए ।
‘कमजोरीले होला, उहाँ बेसुरा बोलिरहनु भएको छ । कसरी बयान दिनु होला र !’ सुबोध (प्याकुरेल) बाबुले भन्नु भएको म सम्झन्छु ।
‘होइन, म बेसुरा भएकी छैन’ बयान दिन तयार भएर बसेकी मैले भनेकी थिए, ‘म सक्छु, ल तयार पार्नुस् ।’
त्यसपछि मलाई आइसियुबाट बाहिर निकाले अनि अस्पतालकै माथिल्लो तलामा बयान लिन सुरु गरे । बोल्न पनि मलाई मुस्किल परिरहेको थियो । आवश्यक परे कुरा बुझाउन सघाइदिन्छु भनेर मेरा अर्का वकिल ओम अर्याल बयान सुरु भएको केही पछि आइपुगेका थिए ।
के कसो भएको हो भनेर मलाई उनीहरुले दुई घण्टासम्म सोधपुछ गरे । बाबुराम दाइहरु भन्नु हुन्थ्यो अब चाहिँ केही हुन्छ । त्यो पर्खेर म आजका दिनसम्म बसिरहें । तर भएको चाहिँ केही होइन । छोराको हत्या गर्नेलाई कारबाही होस् भन्दा आज मेरो सारा परिवार लथालिंग हुन पुग्यो । यो अवस्थामा म अब बाँच्नुको के सार ? त्यसैले म बिन्ती गर्छु, अब मलाई झुठा कुरा गरेर थामथुप पार्न कोही नआउनु । म जे छु, ठीकै छु, विथोल्न कोही नआउनु !
(शुक्रबार विमोचित गंगामाया अधिकारीको आत्मकथा ‘न्यायको अवसान’ बाट)