ओलीको बेइजिङ आयाम

हिमाल न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीका क्रममा महत्त्वपूर्ण मुद्दामा धेरै बहस भएका छैनन् । त्यसका पछाडि केही स्वाभाविक तर्क छन् । जस्तै, ओलीले चुनावी अभियानमै विकासमा उत्तरको भरोसा आफूसँग छ भनेर चीनलाई तानिसकेकाले तयारीभन्दा धेरैले भ्रमणपछिको परिणामलाई पर्खेका छन् ।

जनतामा बाँडिएका विकासका वाचामा चिनियाँ सहयोग कसरी आउँछ र त्यसको परिपूरकको रूपमा चिनियाँ राष्ट्रपति सी चिनिफिङ यता कहिले आउँछन् भन्ने कुराले धेरै हदसम्म भ्रमणका अल्प तथा दीर्घकालीन परिणामलाई मुखरित गर्नेछ । किनकि, इतिहासकै सबैभन्दा सहज भूराजनीतिक अवस्था र आन्तरिक रूपमा पनि निकै बलियो प्रधानमन्त्रीका रूपमा ओली बेइजिङ जान लागेका छन् । त्यसैले अनुकूल समयको पूरै उपयोग गरेर परिणाम निकाल्ने दबाब यसपटक प्रधानमन्त्री ओलीलाई छ ।

प्रधानमन्त्री ओलीका लागि अहिले मुख्य दुई अनुकूलता छन् । पहिलो, बाह्य र दोस्रो आन्तरिक । सुरुमा बाह्य अनुकूलता हेरौं, भ्रमणको मुखैमा एसियाली भूराजनीति आश्चर्यजनक ढंगले संलिन पुगेको छ । कोरियाली प्रायद्वीपमा देखिएको चमत्कार मात्र होइन । चीन र भारत पनि आपसी तिक्ततालाई थाती राखेर सम्बन्धलाई अघि बढाउन तयार देखिएका छन् । विश्व राजनीति र व्यापारमा बढ्दो अनिश्चय निम्त्याउने ट्रम्पको मौलिक ‘डिल मेकर’ शैली र व्यवहारले चीन र भारतलाई नजिक ल्याइरहेको छ ।

त्यसका स्वाभाविक असरहरू सतहमै देखिन थालेका छन् । भारतमा तिब्बती शरणार्थीका गतिविधिमा कडाइदेखि केही समयअघि सम्पन्न अनौपचारिक उहान समिट र सांग्रिला डायलगको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको लचकताले चिनियाँहरू उत्साहित देखिन्छन् । यसैको परिणाम गत शनिबार चीनको छिङ्दाओमा भएको साङहाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) बैठकमा भाग लिन पुगेका मोदीलाई चिनियाँ राष्ट्रपति स्वागत गर्न पुगे । लगत्तै साइडलाइन बैठक बसेका सी र मोदीले दुईबुँदे समझदारी गरे । जसमा भारतले चीनमा चामल र चिनी निर्यात गर्ने मुख्य छ । दुवै वस्तुको निर्यातले चीनसँगको व्यापार घाटा कम गर्ने र देशभित्र किसानको मन जित्ने मोदीको मनसाय देखिन्छ । सँगसँगै अर्को वर्ष उहान समिटको निरन्तरताका रूपमा भारतमा भेट्ने मोदीको निम्तोलाई सीले स्वीकार गरे । यहाँसम्म आउँदा चीन र भारत दुवै निकै हार्दिकतापूर्ण सम्बन्धमा उभिन पुगेका छन् ।

छिमेकका दुई विशाल देशबीचको बढ्दो हार्दिकतालाई प्रधानमन्त्री ओलीले उपयोग गर्न सक्नुपर्छ । यही मौका ओलीले चीन, नेपाल र भारतको ‘सीएनआई’ त्रिदेशीय साझेदारीलाई अघि बढाउन उपयोग गर्नुपर्छ । यसमा चिनियाँहरू अझ बढी उत्साही देखिन्छन् । केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संयुक्त पत्रकार सम्मेलनमा चीनले त्रिदेशीय साझेदारीमा थप अग्रसरता लिने सन्देश दिइसकेको छ । त्रिपक्षीय साझेदारीलाई अघि बढाउन भारतलाई मनाउने कुरामा चीनको अग्रसरता तीव्र भए नेपालले स्वत: लाभ हासिल गर्न सक्नेछ । त्यस्तो लाभ भनेको साबिकका द्विपक्षीय विकास आयोजनामा भइरहेको गतिहीनता तथा भारतीय सतर्कताले निम्त्याइरहेका कठिनाइ तोडिनेछन् ।

Yamaha

यसबाट नेपालका ठूला पूर्वाधारमा भारतले लगाउँदै आएको अड्कोसमेत स्वत: खुल्दै जानेछ । यसो हुँदा उत्तर दक्षिणका रणनीतिक सडक निर्माणदेखि अन्तरदेशीय रेल्वे र जलविद्युत् आयोजनामा सहयोग बढाउन मद्दत पुग्नेछ । यसरी दुईदेशीय घनिष्ठताको लक्ष्मणरेखा तोडेर त्रिदेशीय रणनीतिक विकासको सम्बन्धमा फड्को मार्न तयार हुनुपर्ने समय आएको छ । त्यसअनुसार परिणाम निकाल्न आँट गर्ने अवसर यसपटक प्रधानमन्त्री ओलीलाई प्राप्त भएको छ । यस्तो अवसर पक्डिएर राजनीतिक तथा कूटनीतिक चातुर्य देखाउन सक्ने या नसक्ने भन्ने कुरा प्रधानमन्त्री ओलीको क्षमतामा भर पर्नेछ ।

अर्को अनुकूलता भनेको हरेक पटक ‘भारतसँग सम्बन्ध सुधार गर’ भन्ने चिनियाँ सुझाव यसपटक प्रधानमन्त्री ओलीले सुन्नुपर्नेछैन । प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुवै देशबीच अब गम्भीर मतभेद छैनन् भन्ने देखाइसकेका छन् । यस अर्थमा भारत देखाएर सहयोगका आश्वासनमा सीमित राख्ने शैली छाडेर प्रत्यक्ष सहयोग बढाउन चीनमाथि दबाब पर्नेछ । यही दबाबमा टेकेर प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो भ्रमणअघि चीनले नै प्रस्ताव गरेको ‘आर्थिक विकासको दीर्घकालीन फ्रेमवर्क’ मा जाने प्रस्ताव अघि बढाउन सक्छन् । यस्तो फ्रेमवर्कमा सहमति भए ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तगर्तका परियोजनामा सहयोग लिन सहज हुनेछ ।

बीआरआईको समझदारी गर्दा नेपालले चिनियाँ मुद्रामा लगानी सकार्ने र स्वतन्त्र व्यापार सम्झौताजस्ता निकै महत्त्वपूर्ण कुरालाई थाती राखिदिएको थियो । त्यसैले बीआरआईमा हस्ताक्षर गरे पनि चिनियाँ लगानीको दर बढ्न सकिरहेको छैन । त्यसबाहेक सहज भनिएका दुई समझदारीमध्ये अन्तरसीमा आर्थिक क्षेत्र निर्माणको काम पनि अघि बढेको छैन । यसबाट दक्षिणी क्षेत्रमा रहेको ‌औद्योगिक उत्पादन तथा वितरणमा आधारित नेपालको अर्थ–राजनीतिक नक्सा बदलिन सक्थ्यो । यसरी बीआरआई प्रवेशसँगै देखिएका कैयौं अवसरलाई छोप्न प्रधानमन्त्रीको यो भ्रमण केन्द्रित हुनुपर्छ ।

अब राष्ट्रिय अनुकूलता हेरांै, पार्टी अध्यक्षको हैसियतमा ओलीले माओवादीसँगको एकीकरणलाई टुंग्याएर बलियो कम्युनिस्ट पार्टी गठन गरेका छन् । संगठन शैलीमा चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याएका छन् । यता प्रधानमन्त्रीको हैसियतमा पनि हालै मधेसमा समेत चीनसँग नजिक भनेर चिनिएका उपेन्द्र यादवलाई सरकारमा ल्याएका छन् । यसले संसद्मा बलियो दुई तिहाइको मत सुनिश्चित मात्रै गरेन, राजनीतिका सबै मित्रशक्तिलाई समेटेर स्थायित्वका लागि मरिमेटेको सन्देश पनि प्रधानमन्त्रीले दिएका छन् । यसले चुनाव अघिसम्म नेपालको अस्थिर राजनीतिक नेतृत्व नै चीन–नेपाल सम्बन्धमा अविश्वासको कारक बनेको चिनियाँ चिन्तालाई धेरै कम गरिदिएको छ । नेपालभित्रको बदलिएको राजनीतिक स्थायित्वले चीन–नेपाल सम्बन्धमा रहेको विश्वासको संकट अब रहन्न भन्नेमा चीन आश्वस्त हुनुपर्नेछ ।

अर्को महत्त्वपूर्ण कुरा, पूर्वाधार निर्माणमा लगानीको हतारोलाई नेपाली पक्षले बुझ्न नसकेको चिनियाँ बुझाइ थियो । यसलाई पनि प्रधानमन्त्री ओलीले चीन जाने तयारीमै समाधान गरिदिएका छन् । नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने चिनियाँ प्रस्ताव मन्त्रिपरिषद्बाटै पारित भएको छ । यो निर्णयले रसुवागढी–केरुङ नाका भएर आउने रेलमार्गलाई ध्यान दिएर ठूला मितेरी पुल निर्माणका लागि सहज भएको छ ।

यसबाट रेलमार्गको हतारोलाई नेपाली पक्षले आत्मसात् गरेको चिनियाँ आकलन देखिन्छ । अझै तातोपानीमा बन्ने पुलका कारण प्रधानमन्त्रीको चीन भ्रमणमै यो नाका खुल्ने मिति नै घोषणा गर्न सहज हुनेछ । २०७२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका खोल्ने विषयलाई काठमाडौंले प्रतिष्ठाको विषय बनाउँदै आएको छ । चीनले तातोपानी नाका सञ्चालनमा ल्याउँदैन कि भन्ने आशंका बलियो थियो । अब धेरै आशंका हटिसकेका छन् । यसरी चिनियाँ पक्ष विश्वस्त हुँदा यो वर्षमै चिनियाँ राष्ट्रपतिको काठमाडौं भ्रमण हुनेमा प्रधानमन्त्री ओलीलाई आश्वस्त पारिने सम्भावना पनि बढी नै छ ।

प्रधानमन्त्री ओलीलाई व्यापारको तथ्यांकले पनि केही अनुकूलता थपेको छ । चीनतर्फको निर्यात दोब्बर भएको छ । प्राप्त पछिल्लो दसमहिने तथ्यांक हेर्दा चीनतर्फको निर्यात ८७ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । जब कि अघिल्लो वर्ष यो अवधिमा जम्मा ५ दशमलव ६ प्रतिशत मात्र निर्यात भएको थियो । चीनबाट हुने आयातको तुलनामा निर्यात ज्यादै कम हो । तर चिनियाँ बजारमा बढ्दो खुलापन र नेपाली वस्तुको पुन: निर्यातमा समेत चिनियाँ संलग्न हुन थालेपछि निर्यातको अंश बढिरहेको छ । चिनियाँ व्यापारीहरूले नेपाली चियाको अस्ट्रेलिया तथा अन्य बजारमा पुन: निर्यात गर्न थालिसकेका छन् ।

त्यसबाहेक पनि चीनले बीआरआई फोरमपछि ठूलो महत्त्व दिएर चार महिनापछि सांघाइमा ‘चीन अन्तर्राष्ट्रिय इम्पोर्ट एक्स्पो’ आयोजना गर्दै छ । चीनको अहिलेसम्मको निर्यातमुखी व्यापारको शैलीलाई बदलेर विदेशी सामानका लागि थप खुला हुन चाहेको सन्देश दिनु यसको लक्ष्य हो । चिनियाँ राष्ट्रपति सी स्वयंले विदेशी सरकार प्रमुखहरूसँगको हरेक औपचारिक भेटमा यसलाई महत्त्वका साथ उठाइरहेका छन् ।

त्यसैले चिनियाँ बजार प्रवेशको यो अनुकूलतालाई पनि प्रधानमन्त्री ओलीले उपयोग गर्न जरुरी छ । चीनले पहिले नै आठ हजार नेपाली वस्तुलाई भन्सार छुटमा बजार प्रवेशको अनुमति दिइसकेको छ । तर, यसअनुसार चीनतर्फ व्यापार हुन सकिरहेको छैन । चीनसँगको सम्बन्धलाई क्यास गर्ने अन्य मुलुकको उदाहरण भने हाम्रो भन्दा निकै उत्साहजनक छ । यसलाई मिहिन ढंगले केलाएर भ्रमणलाई व्यापार प्रवद्र्धनको मुद्दामा समेत केन्द्रित गर्ने बेला भएको छ । जस्तै, केही वर्षयताका घटनालाई हेरौं, भ्रमणका क्रममा डेढ वर्षअघि राष्ट्रपति सी चिली पुगेका थिए । त्यहाँको राजकीय भ्रमणमा डेढ दशक पुरानो स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनसँगै चिलियन वाइनको आयातमा उल्लेख्य कर छुट घोषणा भयो । त्यसयता चिलीले चीनमा वार्षिक २ अर्ब रुपैयाँ बराबरको वाइन निर्यात गर्न सक्यो ।

एउटा वस्तु वाइन मात्रको निर्यात परिमाण अझै बढ्दै छ । यता नजिकको देश बंगलादेशले पनि चीनतर्फको निर्यात तीस प्रतिशतले बढाएको छ । चीनको ठूला सहरका सामान्य मार्टमा बंगालादेशी फ्रुट जुस पाउनु सामान्य भइसकेको छ । यसको तात्पर्य के हो भने चीनको बजार प्रवेश केही वर्षअघिको जस्तो जटिल छैन । मात्र सरकारी प्रत्यक्ष पहल र व्यवसायीको तत्परताको खाँचो छ ।

प्रधानमन्त्री ओलीका लागि चीन भ्रमण ‘राम्रो भाग्य हुनेले जहाँ पुगे पनि स्वच्छ हावा भेटिहाल्छ’ भन्ने चिनियाँ कथनजस्तै अनुकूलताले भरिएको देखिन्छ । तर, नेपाली उखान जानेका प्रधानमन्त्रीले ‘भाग्य छ भन्दैमा डोकामा दूध अडिँदैन’ भन्ने कथनलाई सम्झेर भ्रमण फलदायी बनाउन थप मेहनत गर्न जरुरी छ।

himaltv@gmail.com

Esewa Pasal

प्रकाशित : असार ३, २०७५ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अर्जेन्टिनाले अवसर गुमायो

विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा शनिबार सबैको ध्यान अर्जेन्टिना र आइसल्यान्डबीचको खेलले खिचेको हुनु पर्छ । धेरैले अर्जेन्टिनाले जित निकाल्ने अनुमान गरेपनि त्यो सही सावित भएन । अन्तत: अर्जेन्टिनी समर्थक निराश हुनु पर्‍यो । खेल १–१ को बराबरीमा रह्यो । लियोनल मेसी स्वंय पेनाल्टीबाट गोल गर्न चुके । उनका लागि यो दुर्भाग्य हो । 

मेरो विश्लेषणमा अर्जेन्टिनाले अवसर गुमाएको खेल हो, यो। त्यस खेलमा अर्जेन्टिनाले सकेसम्म बलमाथि बढी नियन्त्रण राखेर आइसल्यान्डको पेनाल्टी एरियामा खेल्ने रणनीति लिएको देखियो। त्यसैले बल अधिकांस समय आइसल्यान्डको पेनाल्टी एरिया वरीपरी नै देखियो। बलमाथि अर्जेन्टिनाको नियन्त्रण पनि अत्याधिक नै थियो।

त्यसको ठीक विपरित आइसल्यान्डले रक्षात्मक रणनीति लिएको थियो र काउन्टर एट्याकको प्रयास गरेको देखियो। आइसल्यान्डले ‘डिप’ र ‘कम्प्याक्ट’ डिफेन्समा खेलिरहेको थियो। अर्जेन्टिना आफ्नो रणनीतिमा केही हदसम्म सफल पनि देखियो, किनभने बलबमाथि पूर्ण नियन्त्रण राख्दै लगातार आक्रमण गर्न पनि सफल रह्यो। तर त्यसमा गोल भने निस्केन्।

अर्जेन्टिनाले सुरुमै गोल गर्न सफल रह्यो, सर्जियो एगुरोको मदतले। तर आइसल्यान्डले तुरुन्तै गोल फर्काउन पनि सक्यो। विश्वकपमा पहिलो पल्ट खेलिरहेको र प्रतियोगिताकै इतिहासमा जनसंख्याको आधारमा सबैभन्दा सानो देशका लागि बराबरीको नतिजा पनि राम्रो उपलब्धी हो। यसले विश्वकपमा राम्रो सुरुआत लिन सफल रह्यो। यहाँनिर अर्जेन्टिनाले खेलबाट अंक गुमाएको हो भने आइसल्यान्डले अंक बटुलेको हो भन्दा फरक नपर्ला।

सायद अर्जेन्टिना धेरै हदसम्म मेसीमा पनि भर पर्‍यो कि उनले लगातार आक्रमण गरे। उनको पोस्ट आक्रमण नै आधा दर्जन भन्दा बढी थियो। मेसीले आफ्नो काम त गरे, तर फल पाएनन्। पेनाल्टी प्रहारमा उनको यसअघिको प्रदर्शन पनि राम्रो थिएन्। विश्व फुटबलकै एकसेएक स्टार खेलाडीले भरिएरको अर्जेन्टिनाविरुद्ध आइसल्यान्डले रक्षात्मक भएर खेल्ने ठीक पनि हो।

शनिबारको पहिलो खेलमा भने विश्वकपका अर्को दावेदार टिम फ्रान्स अस्ट्रेलियाविरुद्ध उत्रेको थियो र त्यसमा पनि फ्रान्सको युवा खेलाडीले भरिएको टिमले २–१ को जित हात पार्न सफल रह्यो। त्यसै क्रममा सुरुआती दुवै गोल पेनाल्टीमा भए। फ्रान्सले अग्रता लिएको केही समयमै अस्ट्रेलिया गोल फर्काउन सफल रह्यो। यो जितले फ्रान्सलाई राहत दिएको हुनु पर्छ।

अस्ट्रेलियाले यस खेलमा बलियो डिफेन्ससँगै विस्तारै आक्रमणको जिम्मा लिएको थियो। फ्रान्सले भने लगातार बल पास गरेर बल अगाडि बढाउन खोजेको देखियो। हिजो राति पनि दुई खेल रहे, त्यसमा डेनमार्क र क्रोएसिया विजयी रहे। डेनमार्कले पेरुलाई १–० ले हरायो भने क्रोएसियाले नाइजेरियालाई २–० ले पन्छायो। यी दुई विजयी युरोपेली टिम आफैमा बलिया छन्।

डेनमार्क र क्रोएसियासँग विश्वकपको राम्रो अनुभव छ तथा उनीहरूले अबका खेलमा राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ। यसपल्टको विश्वकपमा अफ्रिकी देशले भने राम्रो सुरुआत लिन सकेन। अहिलेसम्म मैदानमा उत्रेका तीन टिममध्ये इजिप्ट, मोरक्को र नाइजेरिया पराजित भइसकेका छन्। यो अफ्रिकी फुटबल समर्थकका लागि निराशाजनक प्रदर्शन हो।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार ३, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्