भम्पालाई साढे ६ डलर राहत

देश–विदेश
देवेन्द्र भट्टराई

काठमाडौँ — एउटा व्यक्तिलाई मासिक दालभात खान र दैनिक गर्जो टार्न कति खर्च चाहिएला ? राष्ट्रसंघीय निकायले पछिल्लो एउटा तथ्य–तथ्यांकले भन्छ– साढे ६ डलर अर्थात ६ सय ५० रुपैयाँ ।

१ लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा आप्रवासनमा गइसकेपछि पूर्वी नेपालको झापा (दमक) र मोरङ (पथरी) मा बँचेखुचेका ७ हजार ४७ (दर्तावाल) भुटानी भने गाँस–बास–कपासको हकबाट विमुख हुने स्थिति आइसकेको छ । अघिल्लो महिनामात्रै शरणार्थी सम्बन्धी राष्ट्रसंघीय निकायले दिने रासनपानी अन्तिमपटक लिएपछि आफूसँग रहेको शरणार्थी पहिचानसमेत खोसिनै लागेको अनौठो स्थितिमा बसिरहेका यी अनागरिकका नाममा अब छुट्टिएको राष्ट्रसंघीय राहतले बहसको रूप लिने भएको छ– मासिक साढे ६ डलर ।


राष्ट्रसंघीय शरणार्थी नियोगको रेकर्ड बाहेक झन्डै २ हजार भुटानी ‘दर्ताहीन’ अवस्थामा शिविर बाहिर बसिरहेका छन् । २०१६ को डिसेम्बर अन्त्यदेखि टुङ्गिएको पुनर्बसोबास कार्यक्रमपछि अब बाँकी रहेका र पुनर्बसोबासमा जान नसकेका (अथवा नचाहेका) भुटानीका हकमा के गर्ने भनी नेपाल सरकारले अझै निर्णय दिनसकेको छैन । कार्यभार र जिम्मेवारी कम हुँदै गएका अवस्थामा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय नियोग (युएनएचसीआर) ले पनि नेपाल कार्यालय हटाउनेबारे बहस थालिसकेको स्थितिमा यी ‘अनागरिक’ ७ हजार भुटानीको भविष्य के हुने ? तत्कालका लागि थामथुम शैलीमा स्थानीय प्रशासनले भुटानी शरणार्थी बालबच्चाको जन्मदर्ता गर्न सुरु गरिसकेको स्थिति एकातर्फ छ भने स्थानीय बसोबास गराइने भनी नेपाल सरकारले ‘स्पष्ट वक्ता’ बन्न पनि आँट जुटाइसकेको छैन ।

Yamaha


दमक र पथरीमा रहेका शरणार्थीमा पनि २ हजार व्यक्ति त शारीरिक रूपमा अशक्त, एकल वा वयोवृद्ध मात्रै छन् । धन्य, यो समूहले भने निगाहस्वरुप मासिक १३ डलर (१३ सय रुपैयाँ) राहत पाउने भएका छन् । जीवनमा ठूला अधिकार र स्वतन्त्रताका आधारहरूभन्दा ‘जीवन बाँच्न पाउने अधिकार’ समेतबाट विमुख भइरहेका यी अनागरिकबारे आज आवाज उठाइदिने पनि कोही छैन । किनभने हिजोसम्म जो आवाज उठाइरहेका थिए, ती सबै पुनर्बसोबासको विकल्पमा तानिएर तेस्रो देश पुगिसकेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदाय समक्ष ‘शरणार्थी समस्या समाधानको पहिलो विकल्पमा स्वेच्छिक घरफिर्ती’ भनेर बुँदागत व्याख्यान सुनाउँदै हिंँड्ने, तर यो पहिलो विकल्पमा एक कदम पनि अघि बढ्न नसकेको कटु यथार्थमाझ आज स्वयम् नेपाल सरकारले ७ हजार व्यक्तिको एउटा समाजलाई हाकाहाकी गैरकानुनी र अनधिकृत बनाइरहेको छ ।


शरणार्थी समस्या सुरु भएको २५ वर्ष बितिसक्दा पनि शरणार्थी समस्या समाधानमा धेरै प्रकारका समिति बने, वार्ताटोलीहरू गठन भए । नेपाली अधिकारी थिम्पु पुगे, थिम्पुका काठमाडौं आइपुगे । तर स्वेच्छिक घरफिर्तीका पक्षधर रहेका र शरणार्थी हक–अधिकारका अभियन्ता बनेका टेकनाथ रिजाल, भम्पा राईहरूको आवाज कहिल्यै सुनिएन । आज स्वयम् रिजाल र राई पनि अनागरिक बनेका छन् । न भुटानी शरणार्थीको हैसियत छ, न नागरिककै । राष्ट्रिय–अन्तर्राष्ट्रिय नियमको सुनुवाइ हुने हो भने रिजाल, राई वा शिविरका ७ हजार ‘अनागरिक’ पनि गैरकानुनी आप्रवासी बनेका छन्, अवैध बनाइएको छ ।


कानुनी दायरा वा राष्ट्रिय–अन्तर्राष्ट्रिय नियमनका कुरा आफ्ना ठाउँमा भए पनि नेपाल सरकारले २५ वर्षयता देखाउन नसकेको र नचाहेको एउटै पक्ष भनेको ‘मानवीय’ हो । जानाजानी ‘अनागरिक’ बनाइएका २ हजारभन्दा बढी भुटानी नागरिकको हकमा मात्रै होइन, खुरु–खुरु पारिवारिक विखण्डन गर्दै पुनर्बसोबासमा तेस्रो देश पठाइएका शरणार्थीको परिवारले झेलिरहेको मानसिक द्वन्द्वको सूचांक कहालीलाग्दो छ । ९० वर्षको छेउ लागेका शरणार्थी देवीचरण आचार्य दम्पत्तिका एक छोरा लोकनाथ भुटानी जेलमा छन् भने अरु छोराछोरी अमेरिका र क्यानाडा पुगेका छन् । यो महिनादेखि राष्ट्रसंघीय शरणार्थी नियोगले शरणार्थी हैसियतको रासनपानी दिन छाडेपछि यिनीहरूको कन्तविजोग शिविर पुगेमा सजिलै देख्न सकिन्छ ।


१ लाखभन्दा बढी भुटानीलाई तेस्रो देश पठाइसकेपछि अब ‘दर्ता’ र ‘दर्ताहीन’ शरणार्थीको सूची उतार्न थालिएको दृश्य पनि रमाइलो छ । दर्तामा रहेकै पनि अब दर्ताहीनझैं स्थितिमा पुगेका छन् । सयौं र हजारौं शरणार्थीलाई विशुद्ध मानवीय अर्थमा स्वास्थ्यसेवा पुर्‍याउन भुटानबाट स्वेच्छिक रूपमा पूर्वी नेपाल आएका न्युरो–सर्जन डा.भम्पा राई अहिले यस्तै अनागरिक विजोग बेहोरिरहेका छन् । पेट र खाद्यनली बीचको आन्द्रा (इसोफेगल) मा बल्झिएको घाउको अप्रेसन गर्न पश्चिम बंगालको सिलिगुढी धाइरहेका भम्पाका अघिपछि आज कोही छैन । आफन्तझैं रहेका ती हजारौं शरणार्थी आज पुनर्बसोबासमा गइसकेका छन् भने जीवनभर अरुलाई नि:शुल्क उपचार गर्दै आएका चिकित्सकसँग आज सिटामोल किन्ने पनि जोगाड छैन । सिलिगुढीको आनन्दलोक अस्पतालबाट ७२ वर्षीय डा.राई मंगलबार बिहान फोनमै भनिरहेका थिए, ‘घर फिर्तीको अनिश्चित सपना मनमा साँचेरै भए पनि हामी केही भुटानीहरू आज बाँचिरहेका छौं । घर फर्कन चाहने हामी संख्यामा थोरै भए पनि सक्दो सरसहयोग, सद्भाव र मानवीय सहयोग चाहिएको छ । घर फिर्तीको एउटै आसमा बाँचिरहेका हामीलाई सम्झिदिनु होला ।’


डा. भम्पा राई पूर्वी नेपालमा भुटानी शरणार्थीका लागिमात्रै होइन, स्थानीयबासी सबैका लागि हितैषी चिकित्सक हुन् । आफ्नो गाउँठाउँमा बसिरहेका नेपालीभाषी ल्होत्साम्पा समुदाय भुटानी शासकको थिचोमिचोबाट रातारात भागिरहेको दृश्य देखेर ‘दरबारिया चिकित्सक’को सुलभ जागिर छाडेर भम्पा स्वेच्छिक रूपमा नेपाल आएका थिए । २६ वर्षअघि माइखोलाको किनारमा तम्बु टाँगेर थालेको उपचारको त्यो क्रम दमक शरणार्थी शिविर आसपासमा पनि निरन्तर रह्यो । पाकिस्तानका विख्यात लोककल्याणकारी पात्र अब्दुल सत्तार इधीझैं डा. राईले देश, भूगोल, जाति र वर्ग नभनी मानवीय नाताको सहयोग गर्दै आएका छन् । आज यिनै पात्र भरथेग र सहयोग नपाएर एक्लिएका छन् । दुर्भाग्य, यही बेला राष्ट्रसंघीय निकायको सूचना आएको छ– शरणार्थीलाई मासिक साढे ६ डलर रासनभत्ता दिने भनेर ।


शरणार्थी समस्या समाधानमा पहिलो बुँदा बनाएर सुरुमै तोकिएको घर फिर्तीको विकल्पमा कुनै बहस चल्नसकेको छैन । भुटानी राज्य संयन्त्रका अघि नेपाल सरकारको कार्यपद्धति र कूटनीतिक तदारुकता ‘होप्लेस’ बनेको छ । सयौं र हजारौं शरणार्थीको हक–अधिकारका पक्षमा हिजोसम्म मुखर बन्दै आएका टेकनाथ र भम्पाहरू लोपोन्मुख प्राणीझैं बनेका छन् । कोही कसैले त बोलिदेओस्– भम्पाहरूका पक्षमा । कहीं कतै त बहस चलोस्– साढे ६ डलरमा निहितार्थ राहतको धर्म र अर्थबारे ।

registandiary@gmail.com

प्रकाशित : असार २०, २०७५ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक क्रान्ति

डा. अरुणा उप्रेती

काठमाडौँ — ३५ वर्षअघि मेरो बुबाको मृत्यु हुँदा मेरा दाइ र आमा बडो दु:खपूर्वक किरिया बसेका थिए । सुकुलमा सुतेर, एक छाक दाउरामा पकाएर, नुन नखाएर, कसैलाई पनि नछोएर शारीरिक र मानसिक रूपमा थकित उनीहरूले १३ दिने संस्कार पुरा गरे ।

त्यसपछि एक वर्षसम्म मेरी आमाले सेतो लुगा लगाएर बसिन् । एक वर्षसम्म घरबाटै बाहिर निस्किनन् । त्यसको १५ वर्षपछि मेरो ठूलो बुबाको मृत्यु हुँदा उनको छोराले ग्यासमा पनि खाना बनाएर खानुपरेन । रोटी र तरकारी घरको भान्साबाटै गयो । ठूली आमाले नाकको फुली पनि फुकालिनन् । १३ दिनपछि ४५ दिनसम्म हल्का निलो, पहेँलो रंगको लुगा लगाइन् । ४५ दिनपछि त उनले लसुन, प्याज, मासु सबै खान थालिन् । वास्तवमा त्यो हाम्रो सामाजिक जीवनमा आएको ‘क्रान्ति’ नै थियो ।


काजकिरियाको कठोर संस्कार समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । किरिया बस्दा दाउराको चुलोको सट्टा ग्यासमा भात पकाउने चलन आयो । सुत्दा पनि सुकुलको सट्टामा खाटमै पराल विछ्याउन थालियो । मोबाइलको प्रयोग सुरु भइसकेपछि किरिया बस्नेले मोबाइल चलाउने छुट पनि पाए । पति मरेपछि महिलाले एक वर्षसम्म सेतो लुगा लगाएर घरमै कुँजिएर बस्नुपर्ने चलन हटिसकेको छ ।


एकल महिलाले थरीथरी रंगको लुगा लगाउन थालेका छन् । अहिले समाज झन् ठूलो परिवर्तन आउँदैछ भन्ने डा. उपेन्द्र देवकोटाको परिवारबाट देखियो । डा. देवकोटाको दागबत्ती श्रीमती र छोरीहरूले दिए । ‘छोरा नभएर दागबत्ती दिने कोही हुँदैन’ भन्ने पिरलो गर्नेहरूलाई सायद डा. देवकोटाका छोरीहरूले शव उठाएको र अन्तिम अग्नि दिएको घटनाले निकै शीतल पारेको हुनुपर्छ । मेरा दुई छोरी छन्, नजानिँदो पाराले समाजले मलाई सोधिरहन्छ, ‘तिम्रो मृत्युपछि किरिया को बस्छ ?’ मैले भन्ने गरेकी छु, ‘आँखा दान गरिसकेकी छु । शरीर पनि केही समयपछि दान गर्छु । मलाई त जलाउनै पर्दैन । मेरो किरिया बस्नै पर्दैन भनेर छोरीहरूलाई भनिसकेकी छु ।’


डा. देवकोटाको देहावसानपछि डा. मधु देवकोटालाई भेट्न उनको घरमा गएकी थिएँ । सेतो कुर्ता–सुरुवाल र सेतो चप्पलमा आँगनमा उभिरहेकी डा. मधुले आफूलाई निकै सम्हालेकी अनुभव भयो । आउने–जाने मानिससंँग उनी सहज भएर कुरा गरिरहेकी थिइन् । मैले डा. उपेन्द्र देवकोटाले हामीलाई महाराजगन्जमा पढाउँदाका केही रमाइला संस्मरण डा. मधुलाई सुनाएँ । उनको अनुहारमा मुस्कान पनि आयो । नजिकै सेतो कुर्ता–सुरुवाल लगाएर उभिरहेकी छोरीको हात समातेर मलाई चिनाउँदै उनले भनिन्, ‘उहाँ तिम्रो बाबाकी विद्यार्थी ।’ डा. मधुलाई सहानुभूति दिन आउनेहरूको लर्को थियो । डा. देवकोटाको काजकिरिया १३ दिनबाट छोट्याएर ७ दिनमै सकियो ।


केही दिन अघिमात्र २ छोरीले कपाल खौरेर बाबुको किरिया बसेको फोटो मिडियामा आयो । छोरीले किरिया बसेको भनेर कतिले नाक पनि खुम्च्याए होलान्, तर धेरै मानिसबाट ‘यो राम्रो काम हो’ भनेर कुरा गरेको सुनियो ।


मृत्युपछि काजकिरिया ७ दिन, ५ दिनमा छोट्याउने कि भन्ने बहस चलिरहेका बेला डा. मधुले पनि किरियाकर्ममा परिवर्तन ल्याइदिइन् । ‘चुपचाप क्रान्ति’ भनेको यही होला । डा. मधुलाई सहानुभूति दिँदै मैले भनेँ, ‘यस्तो शोकको समयमा तपाईसंँग भेट्न आउँदा पनि एउटा कुरामा चाहिँ मेरो चित्त शान्त भएको छ । तपाईले कतिपय अन्धविश्वास तोड्नुभयो ।’


समाजमा प्रतिष्ठित व्यक्तिहरूले गलत संस्कार परिवर्तन गर्न साहस देखाए सामान्य मानिसमा पनि आत्मविश्वास बढ्छ । कति ठाउँमा त श्राद्धकर्ममा कम मान्छे बोलायो भने लोभ गर्‍यो भनेर टिप्पणी पनि गर्ने गरिन्छ र त्यही डरले धेरैलाई निमन्त्रण गर्ने चलन छ । मृतकको आत्मा शान्तिका लागि परिवारजनले सम्झेर श्राद्ध गर्ने हो भने विवाहको भोज गरेजस्तो किन धेरै मानिसलाई बोलाउनुपर्‍यो र भनेर विचारै गरिँदैन ।


घिमिरे थरकी ४० वर्षीया एक महिलाले मलाई सुनाएकी थिइन्, ‘मेरो परिवारमा एक वृद्धाको मृत्यु हुँदा श्राद्धमा झन्डै १२०० जनालाई बोलायौं । त्यही अनुसार प्रसाद पनि तयार गर्‍यौं । तर ३०० जनामात्र प्रसाद ग्रहण गर्न आए । अरु खाना खेर गयो । मानिसहरू बोलाउँदा पनि श्राद्धमा आउँदैनन् भन्ने थाहा त थियो । तर फेरि आए भने त भोजन नपुगेर लाज हुन्छ भन्ठानेर बनाएका थियौं । भोलिपल्ट खाल्टो खनेर पुर्नुपर्‍यो । थोरै मान्छेमात्रै बोलाउँ भन्ने कुरालाई घरपरिवारले अस्वीकार गरे ।


बरु त्यो खानाको पैसा त कुनै स्कुल, वृद्धाश्रममा दिएको भए पो आत्माले बढी शान्ति पाउँथ्यो होला । तर मेरो कुरा सुनेनन् । तर कमसेकम म मरेपछि चाहिँ मेरो श्राद्धकर्म नगरिदिनु भनेर मेरा छोराछोरीलाई भन्छु । आत्मालाई किन भोजन चाहियो र ?’ साधारण लेखपढ गरेकी ती महिलाको विचार सुनेपछि मलाई लाग्यो, वास्तवमा हामीले थाहा नै नपाइकन समाजमा परिवर्तन भइरहेछ ।


समाज परिवर्तन आउनुमा सायद हिन्दु धर्मका कतिपय प्रगतिशील विद्वान र गुरुहरूले पनि पक्कै भूमिका खेलेका छन् । कतिपय धर्ममा त धर्मग्रन्थमा लेखेको बाहेक अरु केही गर्न सकिँदैन भनेर हजारौं वर्ष अघिका कठोर नियम समाजमा लागु गरेरै छाड्छन । कतिपय धर्ममा त धर्मगुरुसंँग कसैले बहस गर्न सक्दैनन् । तर हिन्दु धर्म र दर्शनमा जति भने पनि बहसको गुञ्जाइस छ । त्यसैले होला, हिन्दु धर्म मान्ने तामाङले एक तरिकाले, नेवार, बाहुनले भिन्नाभिन्नै तरिकाले श्राद्ध गर्छन् ।


पछिल्लो समय १३ दिनको मृत्यु संस्कार ५–७ दिनमा झार्न पनि धर्मगुरुले बहसले चलाइदिएका छन् । हिन्दु धर्मगुरुले एकल महिलाले रङ्गिन वस्त्र लगाए पनि हुन्छ भन्ने कुरालाई पनि सहज रूपमा लिए । यसले गर्दा सामान्य मानिसलाई सजिलो भयो । घरमा आमा, फुपू, काकी, दिदीलाई जहिले पनि सेतो लुगा लगाएर, उदास भएर बसिरहेको देख्नुपर्ने मानसिक तनाबबाट मुक्ति मिल्यो ।


घरमा कसैको मृत्यु भएपछि परिवारका सदस्यको मनस्थिति कमजोर हुन्छ । त्यो बेला कुनै प्रभावशाली व्यक्ति, गुरु, पुरोहितले ढाडसका शब्द भनेर पुराना, गाह्रो रीतिरिवाजको सट्टामा सबैलाई सहज हुने रीतिरिवाज चलाउ भन्दा परिवारलाई सहज हुन्छ । नत्र अरु मानिसले के भन्लान्, हामीलाई अपमान गर्लान् कि भन्ने भावनाले भयभित भएर परिवारले पुरानै, रुढीवादी संस्कार चलाइरहन्छ । विश्वेश्वरप्रसाद कोइरालाको मृत्युपछि उनको किरिया नबसेर परिवारले पनि ठूलो क्रान्तिकारी कदम चालेको थियो । तर यो सामाजिक क्रान्तिलाई उनका विचारमा विश्वास राख्ने प्राय: कसैले पछ्याएको पाइएन ।


मृत्युपछि दिवंगत आत्मालाई सम्झन सबैले आफ्नो तरिकाले श्राद्ध गर्छन् । तर यसमा गाह्रोपन, मानसिक तनाव भएन भनेमात्र सायद दिवंगत आत्मालाई शान्ति मिल्छ कि !


प्रकाशित : असार २०, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT