कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाले चाहेको कांग्रेस

नेपाली कांग्रेस सशक्त बन्नसके मात्र नेपाललाई अधिनायकवादतर्फ जानबाट बचाउन सकिन्छ ।
विजयसन्ताेषी राई

काठमाडौँ — सक्रिय तथा ऊर्जाशील र समाधानमुखी तथा संघ, प्रदेश तथा स्थानीय तहमा प्रमुख प्रतिपक्षको सशक्त भूमिका निवार्ह गर्नसक्ने आधुनिक कांग्रेस युवाले चाहेका छन् । गुट–उपगुटले गाँजेको, समस्या नै समस्याले भरिएको अनि विकृति–विसंगतिले सताएको र पुरानै शैलीको कांग्रेस अबको चाहना होइन ।

युवाले चाहेको कांग्रेस

तर निर्वाचनमा पराजय भएको यतिका लामो समयसम्म पनि कांग्रेसले पार्टी रूपान्तरणलाई ध्यान नदिएको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको अवस्था छ । पार्टीमा आन्तरिक एकतासमेत कायम गर्न नसक्दा तीनै तहको सदनदेखि सडकसम्म कांग्रेस कमजोर देखिएको छ ।

सरकारबाट जनविरोधी निर्णयहरू भइरहँदा, दैनिक उपभोग्य सामग्रीको चर्को मूल्यवृद्धि हुँदा, बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरिँदा संघीय तथा प्रदेश संसद र सडकमा सशक्त रूपमा विरोध गर्न नसक्नुले प्रतिपक्ष दल प्रभावहीन बनेको महसुस सबैले गर्न थालेका छन् । त्यसैले यी मुद्दालाई अब कांग्रेसले सदन र सडक दुवै ठाउँमा चर्को रूपमा उठाउनुपर्छ ।

लोकतन्त्रलाई गतिशील बनाउन सरकारसंँगै प्रतिपक्ष पनि उत्तिकै शक्तिशाली र बलियो हुनुपर्छ । तर यतिबेला संघ, प्रदेश र स्थानीय तहमा संख्यात्मक हिसाबले र भूमिकाको दृष्टिले पनि कांग्रेसको उपस्थिति अत्यन्तै कमजोर छ । त्यसैले यतिबेला सत्तापक्षसँंगै प्रतिपक्ष दलको बलियो र प्रभावकारी भूमिकाको खोजी महत्त्वपूर्ण विषय भएको छ । उमेर, कर्म र सिद्धान्तले पनि जेठो पार्टी नेपाली कांग्रेस समय अनुरुप आफूलाई रूपान्तरण गर्न नसेकैले यतिबेला इतिहासकै कमजोर स्थितिमा पुगेको हो । यसले गर्दा सरकार स्वेच्छाचारी र अधिनायकवादतर्फ अग्रसर देखिन्छ ।

नेपाली कांग्रेसकै अगुवाइमा राणा र राजासँगको संघर्ष जितेर लोकतन्त्र स्थापना भएको हो । नेपाली कांग्रेसले राजनीति सधैं जितेको छ । अहिले एउटा निर्वाचनमा हार्दा लडाइँमा हारेको सिपाहीको जस्तो मानसिकतामा गुज्रनु हुँदैन । पार्टीलाई नयाँ संरचनाका साथ नयाँ गति दिएर कांग्रेस अघि बढ्नुपर्छ । राज्य पुनर्संरचनापछि भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेसले नयाँ संरचना अनुसार संगठन निर्माण गर्न नसक्दा नराम्रोसंँग पराजय भोग्नुपरेको हो ।

नेपाली कांग्रेसले अब केन्द्र, प्रदेश, स्थानीय तहको वडा–वडासम्म छाया सरकार गठन गर्नुपर्छ । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको नियमित अधिवेशन गरी तिनीहरूलाई देशभरि परिचालन गराउनुपर्छ । विकास निर्माण लगायत जनताको समस्या र आवश्यकता तथा काम र सेवामा अब कांग्रेसको अर्थपूर्ण उपस्थिति बढाउनुपर्छ । युवा नेताहरूले पनि पार्टी नेतृत्वलाई खबरदारी गर्नुको साटो नेताहरूकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटमा विभाजित हुने प्रवृत्ति अन्त्य गर्नुपर्छ । युवा पुस्ताको ध्यान अब पार्टीलाई पहिलो बनाउनतिर हुनुपर्छ । पार्टीका नेताहरूमा पुरातन व्यवहार परिवर्तन हुनुपर्छ ।

राणाशासनले मास्न नसकेको, राजा र पञ्चायतले छेक्न र रोक्न नसकेको कांग्रेस हो । निर्वाचन परिणामले कांग्रेस अहिले कमजोर भएको मात्र हो । यसलाई पहिलेको भन्दा सशक्त र ऊर्जाशील बनाउन सकिन्छ । त्यसका लागि देशभरका कांग्रेस नेता–कार्यकर्ता आत्मसमीक्षा गर्दै कार्यशैलीमा रूपान्तरण ल्याउनुपर्छ । मेचीदेखि महाकाली, हिमाल, पहाड, तराईसम्म सशक्त जागरण अभियान सञ्चालन गर्नुपर्छ । कांग्रेस इतिहास बोकेको, वर्तमान भएको र भविष्य पनि सुनिश्चित भएको पार्टी हो । कांग्रेसका अहिलेका तन्नेरी इतिहास भजाएर खाने होइन, नयाँ इतिहास रच्न जुट्नुपर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर अहिले संविधान कार्यान्वयन चरणमा छ । यो परिवर्तनको युगमा नेपाली कांग्रेसले नयाँ नीति र कार्यक्रमका साथ आफ्नो सिद्धान्त पुनव्र्याख्या गर्दै संगठनको पुनर्निमार्णमा जुट्न अति आवश्यक भएको छ । पार्टीभित्र युवासँगै आदिवासी जनजाति, दलित, मधेसी र महिला तथा सिमान्तकृत वर्गलाई पनि नेतृत्वमा निर्णायक ढंगमा सहभागी गराउँदै पार्टीलाई सबैको साझा बनाउनुपर्छ ।

योग्यता र क्षमताका आधारमा युवा, प्रौढ र पाका तीनै पुस्तालाई पार्टीको नेतृत्वमा समायोजन गर्नुपर्छ । पदाधिकारी तहसम्म युवालाई सहभागी गराएर रूपान्तरण अभियान सञ्चालन गर्नुपर्छ । नेपाली कांग्रेस सशक्त बन्नसके मात्र नेपाललाई अधिनायकवादतर्फ जानबाट बचाउन सकिन्छ । महासमितिको बैठक तत्काल बोलाएर नयाँ परिवेशमा पार्टीको संघीय विधान पारित गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा समेत २१ औं शताब्दीको परिवेश अनुरुप पुनव्र्याख्या गर्नुपर्छ ।

पार्टीलाई पनि नयाँ ढंगबाट संगठित गर्नुपर्छ । नयाँ युगका लागी नयाँ एजेन्डा बोकेर हिँड्न सक्ने कांग्रेसको संगठनको ढाँचा महासमितिको बैठकबाटै तय गर्नुपर्छ । पार्टी चरम संकटमा पँmसेका बेला पार्टी सभापति लगायत संस्थापन पक्षले पनि सबैलाई समेटेर एकताबद्ध ढंगले पार्टी सञ्चालन गर्नुपर्छ र अन्य पक्षले पनि संस्थापन पक्षलाई सहयोग गर्नुपर्छ, अनिमात्र कांग्रेस देशले खोजेको पार्टी बन्न सक्छ ।

राई नेपाली कांग्रेस धनकुटाका सचिव हुन् ।
[email protected]

प्रकाशित : असार २५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?