आदिकविबारे केही तथ्य

सन्दर्भ : भानु जयन्ती
भानुभक्त सम्बन्धी अन्य प्रसंगमा विवाद भए पनि उनको जन्ममिति र जन्मस्थानबारे भने पहिला जीवनीकार मोतीराम भट्टबाट भुल भएको देखिन्छ ।
भवानीशंकर भट्टराई

काठमाडौँ — आदिकवि भानुभक्त आचार्यको जीवनीबारे पहिलो अनुसन्धाता मोतीराम भट्ट हुन् । उनले ‘आदिकवि भानुभक्तको जीवनचरित्र’ (१९४८) प्रकाशित गरेका छन् । उनीपछि भानुभक्तको जीवनीमाथि कलम चलाउने व्यक्ति शम्भुप्रसाद ढुङ्ग्याल हुन् । तर उनको पुस्तकले मोतीरामद्वारा प्रस्तुत जीवनीमा खासै नयाँ कुरा पाइँदैन । सूर्यविक्रम ज्ञवालीले विसं १९८६ मा भानुभक्तको रामायणलाई सम्पादनसहित प्रकाशित गर्दा भूमिका खण्डमा ‘भानुभक्तीय जीवनी’ लेखेको देखिन्छ ।

ब्रह्म शमशेरको ‘कवि भानुभक्त’ (१९९५) त्यसपछि रमानाथकी छोरी (भानुभक्तकी नातिनी) विष्णुमाया शर्माको ‘भानुभक्त मणिमाला’ (विष्णुमायाद्वारा भनिएको तथा रङ्गनाथद्वारा सम्पादित, प्रकाशनकाल–१९९८), भानुभक्तका नाति पण्डित नरनाथ आचार्यको ‘कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ (२०१७), बालचन्द्र शर्माको ‘भानुभक्त’ लगायत कृति प्रकाशित छन् ।

भानुभक्त आचार्य रामायणका माध्यमबाट जति चर्चित र सम्पूज्य छन्, विद्वत् वर्गमा उति नै विवादित पनि छन् । कति विवाद त आम मानिस समक्ष पनि पुगेका छन् । खासगरी यस्ता विवाद उनको जन्ममिति र जन्मस्थान, भानु–घाँसी भेट, रामगीताको अनुवाद काल, भानुभक्तको जागिर, भानुभक्तको आदिकवित्व, गजाधर सोतीकहाँ बास, निधन मिति र अरू पनि थुप्रै घटना/प्रसङ्गमा गरिएका छन् । उनको जन्ममिति र जन्मस्थानबारे पहिलो जीवनीकार मोतीराम भट्टबाटै भुल भएको देखिन्छ । भानुभक्तका भतिजा रमाकान्तलाई स्रोत मानेर आफ्ना चरित्र नायकको जीवनी लेख्ने क्रममा उनले विसं १८६९ लाई भानुको जन्ममिति लेखेको देखिन्छ, जुन पछि गलत सावित भएको छ । प्रस्तुत लेखमा यसबारे छोटो चर्चा गरिन्छ ।

Yamaha

भानुभक्तको जन्ममिति
मोतीराम भट्टले भानुभक्त विसं १८६९ मा जन्मिएका हुन् भन्ने उल्लेख गरेको देखिन्छ । शम्भुप्रसाद ढुङ्ग्याल, सूर्यविक्रम ज्ञवाली र ब्रह्म शमशेरले पनि भानुभक्तको जीवनी लेख्दा मोतीरामकै अनुशरण गरेको देखिन्छ । त्यसपछि विष्णुमायादेखि आजसम्मका सबै जीवनीकारले भने भानुभक्तको जन्ममिति १८७१ नै उल्लेख गरेपछि भने यी दुईमध्ये कुन सही हो भन्ने विषयमा अध्येताहरूमा मतान्तर देखिएको छ ।

भानुभक्त स्वयंले ‘श्रिशालिवाहन्का...’ (भानुभक्त आचार्यको खोजपूर्ण जीवनी, पृ. १२) पद्यमा उल्लेख गरेअनुसार उनको जन्म श्रीशालिवाहन शक १७३६ (वि.सं. १८७१) असार २९ गते दिनको ३१ घडी र ३२ पला जाँदा (घाम अस्ताउने बेलामा) भएको बुझिन्छ । यसलाई भानुभक्तको जन्मदिनबारे ज्योतिषीय अध्ययन गरेका दिनेशराज पन्तले समेत पुष्टि गरेका छन् । उनको अध्ययन अनुसार वि.सं. १८७१ असार २९ गते श्रावणकृष्ण अष्टमी तिथि पथ्र्यो । सो अष्टमीले त्यस दिन ३३ घडी ३२ पला भोग गरेको थियो । सोही दिनको ३१ घडी र ३२ पला बित्दा भानुभक्त आचार्यको जन्म भएको हो भनेर उनले उल्लेख गरेका छन् (सुवेदी, २०५६ : १) ।

भानुभक्त आचार्यका पनाति मुक्तिनाथले भानुभक्त दिनको करिब ४ घडी बाँकी रहँदा गोधूली बेलामा जन्मिएका हुन् भनेका छन् । उक्त घडीपलालाई घन्टामा परिवर्तन गर्दा सूर्यास्तभन्दा २ घडीअघि अर्थात् ४८ मिनेटअघि उनको जन्म भएको देखिन्छ । असारमा प्राय: ७ बजे सूर्यास्त हुने गर्छ, अत: उनी बेलुकी ६:१२ बजेको आसपासमा जन्मिएका देखिन्छन् । यसबारे माथिको मुक्तिनाथको अध्ययन अनुमानमा आधारित देखिन्छ । भानुभक्तको जन्मसाल एवं समयको वास्तविकता सर्वप्रथम विष्णुमायाले पत्ता लगाएकी हुन् ।

उनले नै भानुभक्तको जन्मकुण्डली प्रकाशित गराएकी (विष्णुमाया, १९९८ : २) हुन् । जन्मकुण्डली प्रकाशित हुनुअघि भानुभक्तको जन्म साल वि.सं. १८६९ मानिएको थियो । भानुभक्तका पहिला अध्येता मोतीराम भट्टले भानुभक्तका भतिजा रामदत्तबाट प्राप्त स्रोतलाई आधार मानेर उक्त साल उल्लेख गरेका छन् । मोतीरामको यही तथ्यलाई आधार मानेर शम्भुप्रसाद ढुङ्ग्याल, सूर्यविक्रम ज्ञवाली र ब्रह्मशमशेर जबराले पनि सोही जन्ममिति उल्लेख गरेका थिए ।

जन्मकुण्डली प्रकाशित भएपछि भने भानुभक्तको जन्म मिति विसं १८७१ नै ठहरिएको छ । तर विष्णुमायाले आफ्नो खोजमा भानुभक्तको जन्म आषाढकृष्ण अष्टमी तिथिमा भएको थियो भन्ने उल्लेख गरेपछि परवर्ती अनुसन्धाता आषाढ वा श्रावणकृष्ण हो भन्ने कुरामा भ्रमित भएका थिए । शिवराज आचार्यले अनुसन्धान गरी उक्त सालको आषाढकृष्ण अष्टमी जेठ ३१ गते र श्रावणकृष्ण अष्टमी आसार २९ गते परेको स्पष्ट पारेका छन् । उक्त अध्ययनसँग दिनेशराज पन्त पनि सहमत छन् । अत: भानुभक्तको जन्मतिथि श्रावणकृष्ण अष्टमी नै हो भन्ने स्पष्ट हुन्छ ।

तर भानुभक्तको द्विशत्वार्षिकीका अवसरमा नरेन्द्रराज प्रसाईंद्वारा प्रकाशित ‘भानुभक्तको जीवनवृत्त’ नामक पुस्तकमा प्रसाईंले भानुभक्तको निधन भएको ७३ वर्षपछि विष्णुमायाद्वारा प्रकाशित भानुभक्तको चिनाको अक्षर उनका अन्य हस्ताक्षरसँग नमिल्ने तर्क गरेका छन् । यद्यपि पाण्डुलिपि परीक्षण विभागले श्रीशालिवाहनका श्लोकको हस्ताक्षर भानुभक्तकै हो भनी प्रमाणित गरिसकेको देखिन्छ । अत: भानुभक्तको जन्ममिति बारे अब तर्क–वितर्क गर्नुको कुनै औचित्य देखिँदैन ।

भानुभक्तको जन्मस्थान
मोतीराम भट्टले भानुभक्त आचार्य हालको तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका हुन् भन्ने उल्लेख गरेका छन् । यस विषयमा मोतीरामदेखि नरनाथपूर्वका जीवनीकारमा मतभेद पाइँदैन । भानुभक्तका नाति नरनाथ आचार्यले भने उनका बाबु (भानुभक्तका बाबु) धनञ्जय आचार्यले त्यतिबेला जागिर खाएको ठाउँ पाल्पा वा तनहुँ तामाकोटको श्रीकृष्ण आचार्यको मूलघरमै उनको जन्म भएको हुनसक्छ (आचार्य, २०३६ : १९) भनी तर्क गरेपछि भने जन्मस्थानबारे उत्तरवर्तीहरूमा भ्रम उत्पन्न भयो । त्यसैगरी आचार्य परिवारकै सदस्यहरूमध्ये पनि एकथरीले चुुँदी रम्घा डाँडामा र अर्काथरीले चाहिँं चुँदी बेंँसीमा नै उनको जन्म भएको भनेका छन् । यसले आम मानिसमा उनको जन्मस्थान बारे अन्योल उत्पन्न भएको थियो ।

भानुभक्त पाल्पातिरै अथवा मूलघर तामाकोटतिरै जन्मिएका हुन् भन्ने नरनाथ आचार्यको कथनलाई उनका नाति आमोदबद्र्धन कौण्डिन्न्यायनले पनि समर्थन गरेको देखिन्छ । अर्का सन्तान मुक्तिनाथ भने रम्घा धर्मशालामै भानुभक्तको जन्म भएको स्वीकार गर्छन् । यस भनाइलाई समर्थन गर्दै व्रतराज आचार्य लेख्छन्– ‘विसं १८७१ को परिवेशमा नेपालमा युद्धको बादल मडारिइरहेको हुनाले धनञ्जयले आफ्नी पत्नीलाई पाल्पा लैजानु सम्भव देखिँदैन ।

अर्को कुरा भानुभक्तको जन्म समयमा श्रीकृष्ण आचार्यको परिवारको बसाइ गाउँ र बेंँसी दुबैतिर पाइन्छ, तापनि वर्षायाममा भानुभक्त जन्मेका हुँदा उनको जन्मस्थल शिखर कटेरी (हालको चुँदी रम्घा डाँडाको धर्मशाला) हो भन्ने कुरा किटानीका साथ भन्न सकिन्छ । (आचार्य, २०५८ : २९) ‘यस विषयमा मुक्तिनाथ आचार्य आफ्नी हजुरआमा (भानुभक्त पुत्र रमानाथकी पत्नी) बाट सुनेका कुरालाई आधार मान्दै लेख्छन्– ‘रम्घालीहरू गर्मी याममा औलोबाट बच्न गाउँमा जाने हुँदा भानुभक्त रम्घा धर्मशालामा नै जन्मिएका हुन् ।’ फेउनी अगाडि लेख्छन्– ‘पहिले हाम्रो रम्घाको घर हालको धर्मशालामा थियो । मेरी हजुरआमालाई विवाह गरी भित्र्याएको पनि सोही घरमै हो ।’ यस विषयमा भानु जन्मस्थल विकास समितिले उक्त घडेरीको उत्खनन गरी जुटाएको प्रमाण पनि थप आधार भएको छ ।

विसं २०५४ साल कात्तिकमा इतिहास केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापक राजाराम सुवेदीको नेतृत्वमा रम्घा डाँडाबाट १ किमि तल उत्खनित सो भग्नगृहमा घरमा प्रयोग हुने सामग्रीहरू ‘पनियो, फलामे टुकटुके, तामाको एक पैसा, चाँदीको आधा बालो, घैंटाको प्रशस्त खपेटा, चुलामा डढेको रातोमाटो, अङ्गार, खरानी, कोइला, अगेनो, ओछ्यानको अंश, पूजाकोठा, चन्दनखोरी, सिलौटी, लोहोरो आदि’ वस्तुका अवशेष पाइएका थिए भनी सुवेदीले उल्लेख गरेका छन् । उक्त अवशेषका आधारमा उत्खनक सुवेदीले सो घर भानुभक्तकै हुनुपर्ने ठहर गरेका छन् ।

हालको धर्मशाला नै भानुभक्तको जन्मघर हो भन्ने कुरामा चँ‘दीका बुढापाका र अध्येता व्रतराज आचार्य पनि सहमत छन् । धर्मशाला भएको ठाउँमा अहिले घना जङ्गल भई पहिले बस्ती नबसेको जस्तो देखिए पनि विसं १९४३ सम्म भानुभक्तका सन्तति बसेका थिए भन्ने कुरा मुक्तिनाथले अनुश्रुतिलाई आधार मानेर उल्लेख गरेका छन् । निष्कर्षमा चुँदीवासीको परम्परागत कथन, अध्येताको अध्ययन र भग्नगृहको उत्खननबाट पाइएका अवशेषका आधारमा सो स्थल भानुभक्तको जन्मस्थल हो भन्ने प्रमाणित हुन्छ । तर भानुभक्त जतिबेला जन्मिए, त्यतिबेला धर्मशाला मुनिको उक्त घरमा मानिसको बसोबास नभएको बुझिन्छ । त्यसैले रम्घा डाँडो (शिखर कटेरी/रम्घा धर्मशाला) मा नै भानुभक्तको जन्म भएको हो भन्ने कुरा जनश्रुतिले बताएको छ ।

dikshitbhattarai072@gmail.com

प्रकाशित : असार २९, २०७५ ०७:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लोकतन्त्रमाथि अधिनायकवादको छाया

सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ ।
मिलन पाण्डे

काठमाडौँ — पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’मा स्टेभिन लिभित्स्की र डेनियल जिबलटले लेखेअनुसार लोकतन्त्रबाटै अधिनायकवादी बनेका शासकहरूमा केही समानता भेटियो । ती अधिनायकवादी नेताहरूले लोकतन्त्रको पद्धतिलाई बेवास्ता गर्ने, प्रतिपक्षको वैधानिकतालाई उपेक्षा गर्ने, नागरिक वा विरोधीको अधिकारलाई निलम्बित गर्ने अनि सञ्चार माध्यमलाई नियन्त्रणमा लिने जस्ता चरित्र प्रदर्शन गरेका थिए । नेतृत्वमा यी चरित्र देखिन थालेपछि लोकतन्त्र खतरामा पर्नथालेको हामीले देखेका अनि पढेका छौं ।

लोकतन्त्रमा मूलभूत पाँच स्तम्भ हुन्छन्– सरकार, प्रतिपक्ष, अदालत, प्रेस अनि नागरिक समाज । लोकतन्त्रका निम्ति यी पाँच स्तम्भबीच सन्तुलन अनि नियन्त्रण एकदमै आवश्यक छ । हालको अवस्थामा एउटै पार्टीको बहुमतसहित दुई तिहाइको बलियो सरकार छ । तर प्रतिपक्ष आफै अन्योलमा छ । अदालत कमजोर छ । प्रेस स्वतन्त्र रहनसकेको छैन । नागरिक समाज पार्टीको ट्यागले लत्पतिएको छ । अधिनायकवादी चरित्र यस्तै अवस्थामा उदाउने हो ।

ल्याटिन अमेरिकी नेताहरू अल्बर्टो फुजिमोरी, ह्युगो चाभेज, इभो मोरालेज, लुसियो गुटिरेज लगायतका नेताले ‘पपुलिस्ट’ नारा लिएर चुनाव जितेर व्यवस्था भित्रैबाट व्यवस्थालाई खोक्रो बनाउँदै अधिनायकवाद लादेका थिए । हंगेरी, निकारागुवा, पेरु, फिलिपिन्स, पोल्यान्ड, रूस, टर्की र युक्रेन पनि अधिनायकवादको सिकारबाट बच्न सकेनन् । ती देशहरूमा अतिवाद, उग्रराष्ट्रवाद अनि लोकप्रियतावाद अँंगालेर अधिनायकवाद आएको थियो । अहिले नेपालमा पनि यस्तै केही हुन लाग्दैछ कि भनेर शंका उब्जिएको छ ।

केन्द्रदेखि प्रदेशसम्म कम्युनिस्ट पार्टीकै सरकार छन् । सरकारलाई तुलनात्मक रूपमा नागरिकको साथ छ । तर सरकारले एक्कासी लोकतन्त्र अनि संविधानको मर्म मिचेर राजधानीमै ७ ठाउँ बाहेकलाई निषेधित क्षेत्र तोकेको छ । यसले सरकारको लोकतन्त्रप्रतिको आस्थामा ठूलो शंका अनि प्रश्न उब्जाएको छ । प्रदर्शन अनि विरोध गर्न पाउने आम नागरिकको मौलिक हक हो । संवैधानिक हक अनि लोकतन्त्रमाथि भएको यो अनावश्यक प्रहारले सरकारको अनुदार चरित्र छताछुल्ल बनाएको छ ।

चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर हतार–हतार पास गर्न खोज्नुले सरकारको स्वार्थ अनि अपारदर्शिता उजागर गरेको छ । सरकार आफू निकट व्यापारी अनि समर्थकका निम्ति खुलेर वकालत गर्दैछ । जसका निम्ति उसले नैतिकता अनि नीति दुबैमा सम्झौता गरेको प्रस्ट देखिन्छ । सत्तारूढ नेकपाले संविधान र कानुनको मर्म अनुरुप आफ्नो पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन सकेन ।

सभामुख अनि उपसभामुख फरक पार्टीको हुनुपर्ने संविधानमै लेखिएको छ । तर नेकपाले यो विषयलाई पनि पेलेरै लान खोज्दैछ । संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिएर सरकारले पञ्चायतको झल्को दिएको छ । सरकार गठनयता पार्टीका कार्यक्रम अनि बैठक सरकारी निवासमा गर्दै सरकारी स्रोतसाधन दुरुपयोग गरिँदैछ । जवाफदेहिता छैन । छ त केवल दुई तिहाइको दम्भ । सरकारका कदमहरूमा अधिनायकवादको गन्ध आउन थालेको छ ।

सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ । तर शक्ति नागरिकलाई साथमा लिएर, नागरिकको दिनचर्यामा परवर्तन ल्याउने सानो–सानो काम गरेर आउने हो । पानीजहाज, रेल, रकेट आदिका गफले जनताको मन जित्न सकिँदैन ।

केपी ओली सरकार नागरिकलाई विरोध गर्न नदिने अनि गोविन्द केसीलाई गलाउने रणनीतिमा देखिन्छ । केसीलाई जागिरबाट निकाल्न खोज्दैछ । प्रधानमम्त्री ओली नै वक्तव्यबाजीमा उत्रँदैछन् । पुरै देशको अभिभावक प्रधानमन्त्री यसरी केही व्यक्तिमा खुम्चनु सरकारकै निम्ति राम्रो संकेत होइन । लोकतन्त्रका निम्ति शुभ होइन । हुन त सत्ता कब्जाको प्रशिक्षण लिएर आएका नेतृत्वहरूले सरकार सञ्चालन गरिरहँदा यस्तो देखिनु अनपेक्षित होइन ।

साथै अहिलेका राजनीति अनि सरकार सञ्चालनका प्रमुख दुई व्यक्तिहरू ओली अनि प्रचण्डलाई सैद्धान्तिक हिसाबमा लोकतन्त्रप्रति विश्वास छैन । हुँदो हो त जसरी पनि दुई तिहाइ बहुमत पुर्‍याउने होडमा लाग्दैनथे । लोकतन्त्रको सुन्दरता नै प्रतिपक्ष हो । तर ओली संसदलाई एकलौटी बनाउनतिर लागे । यसबाट पनि उनीहरूको लोकतन्त्रप्रतिको आस्था बुझ्न सकिन्छ । यो सरकारले के बुझ्न जरुरी छ भने लोकतन्त्रमा मत अनि सत्ता एउटा पाटोमात्र हो । सर्वसम्मतले निर्णय गरे पनि जनताको हितमा छैन भने त्यो लोकतान्त्रिक हुन सक्दैन ।

ली क्वान युले सिंगापुरमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाएको प्रतिबन्ध अनि त्यसपछि गरेको उपलब्धिबारे पढेर वा पढेकाको सुझावमा ली क्वान यु बन्न निस्केका नेताहरूले के बुझ्न जरुरी छ भने नेपाली समाज अनि अहिलेको यो डिजिटल युगमा त्यो सम्भव छैन । यो खुला समाज हो । नेपाली समाजको चरित्र लोकतान्त्रिक छ । नेपालमा अंकुश लगाएर शासन गर्न सम्भव छैन । विगतमा जसले प्रयास गरे, सबै असफल भएका छन् ।

२०६५ सालमा प्रचण्डको बहुमत सरकारले प्राथमिकता तोकेर काम नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको थियो । शक्ति प्रदर्शन गर्न सेनापतिमा हात हाल्दा सत्ताबाटै हात धुनुपर्‍यो । करिब १० वर्षपछि ओलीको सरकारले पनि आफ्नै घोषणापत्रमा उल्लिखित प्राथमिकता छाडेर निषेधित क्षेत्र तोक्ने, वक्तव्यबाजी गर्ने, गोविन्द केसीको आन्दोलनलाई अवमूल्यन गर्ने काम गरिरहेको छ ।

२० औं शताब्दीमा धेरै देशमा लोकतन्त्रकै सिँढी टेकेर अधिनायकवाद आएको थियो । सैनिक आक्रमण, संवैधानिक कू, राजनीतिक दलमाथि प्रतिबन्ध, नरसंहार, बल प्रयोग गरेर अधिनायकवादीहरू सत्तामा पुगेका थिए । तर २१ औं शताब्दीमा अधिनायकवादीहरू चुनावबाटै जितेर सरकारमा पुग्छन् । जनतालाई सपना अनि योजनाका ठूलठूला वाचाले लठ्याइन्छ ।

साथै कार्यकर्ता अनि राजनीतिक दलालहरूमार्फत नागरिकलाई अलमल्याउने, झुक्याउने काम गरिन्छ । अनि गणितको राजनीतिमार्फत नियम, कानुन बनाउँदै लोकतन्त्रको आवरणमा अधिनायकवादलाई प्रोत्साहन दिइन्छ । ओली सरकार पनि त्यही पथमा अग्रसर देखिन्छ । उसले प्रतिपक्ष मानेको देखिएको छैन । प्रेसलाई अंकुश लगाउन खोज्दैछ । सरकार नागरिक समाजलाई कमजोर बनाउने अनि बेवास्ता गर्ने रणनीतिमा देखिन्छ । नागरिकको हक–अधिकार कटौती गर्दैछ । आफ्नो प्राथमिकताभन्दा बाहिरका विषयहरूमा हात हालेर शक्ति आर्जन गर्न खोज्दैछ । तसर्थ लोकतन्त्र खतरामा छ । लोकतन्त्र बचाउन हामीले सरकारलाई कमजोर बनाउनेतर्फ होइन कि प्रतिपक्ष, मिडिया, नागरिक समाज अनि अदालतलाई बलियो बनाउने दिशातर्फ अघि बढ्नुपर्छ । यो अधिनायकवादको छायालाई लोकतन्त्रको प्रकाशले हटाउन जरुरी छ ।

पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : असार २९, २०७५ ०७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT