कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स–साना खुशी

जनकराज सापकोटा

काठमाडौँ — एक महिना अघि पोखरा पुग्दा फेवातालको पानी हरियो थियो । मेरो मन पनि हरियो नै । किनकी म विहे गरेपछि पहिलोपल्ट साथीसहित पोखरा पुगेको थिए । तालको बीचमा रहेको तालबाराही मन्दिर घुमेपछि उनले भनिन्, ‘मन्दिरमा आईयो, एउटा गज्जवको फोटो खिचुम् ।’

स–साना खुशी

केहीबेर त मैले आनाकानी गरे । सामान्य मोबाईलबाट खिचिक्क पारेर के गर्नु । मन्दिरको छेवैमा एसएलआर क्यामेरा घाटीमा झुण्डाएर बसेका रहेछन्, महेन्द्रमान पालिखे ।

उनी मन्दिर आउने पर्यटक र भक्तजनको फोटो पृष्ठभूमिमा मन्दिर र फेवाताल देखिने गरी खिचिक्क पार्थे । नजिकै रहेको ल्यापटपमा फोटो सार्थे र सानो रंगिन प्रिन्टरबाट छापेर फ्रेममा हालेर दिन्थे । त्यसवापत पाउने शुल्क उनको नियमित आम्दानी थियो । हामीले पनि उनीसँग फोटो खिचायौं । फोटो प्रिन्ट हुन्जेल एकाध बात माऱ्यौं । खिचेको फोटो मेल गरिदिनुस् है भन्दै मैले उनलाई भिजिटिङ कार्ड दिएँ । फेवाताललाई उतै छाडेर काठमाडौंको धुलोमा छिरेको केहीदिनसम्म मेरा यादमा पोखराको आईरह्यो ।

एकदिन उनै फोटोग्राफरको फोन आयो । उनले हतारिएको जस्तो स्वरमा भने, ‘एउटा सहयोग चाहियो ।’ बताएपछि थाह भयो कि, उनले मन्दिर परिसरमा एउटा पर्स फेला पारेछन् । पर्सभित्र पाँच हजार वीस रुपैयाँ रहेछ । ‘अर्काको पैसा खाए पाप लाग्छ भनेर तपाईलाई भनेको’, उनले भने, ‘तपाई पत्रकार मान्छे । जसरी हुन्छ यो पर्स धनी पत्ता लगाई दिनु पऱ्यो ।’ उनको भनाईमा ईमान्दारिता झल्कीएको थियो । लोभ र पाप मौलाई रहेको समयमा अर्काको पैसा भेटाएर खोजी खोजी दिने मान्छे बिरलै भेटिन्छन् । त्यही माथी उनले आफ्नो मोबाईलको ब्यालेन्स खर्च गरी गरी मलाई गुहारीरहेका थिए ।

केहीबेरमा उनले पर्स, पैसा र त्यसभित्र रहेको सबै कागजातको फोटो खिचेर ईमेल गरे । फोटोमा पैसा थियो, शेयरधनी प्रमाणपत्र थियो, नेपाल बैंक लिमिटेडको घुर्मैलो परिचयपत्र र सेलवेज डिर्पाटमेन्ट स्टोरको मेम्बरसीप कार्ड थियो । पर्सधनीको नाम रहेछ, शालिग्राम दास मुल्मी । प्राप्त कागजातमा न उनको ठेगाना थियो, न फोन नम्बर न कुनै संस्थागत संग्लनता नै । अब कसरी पर्सधनी फेला पार्ने ? एक बिहान मैले फेसबुकमा आधा घन्टा जति प्रयास गरे । अनेकन तस्बिरधारी शालिग्राम दास भेटिन्थे । तर फेसबुकमा भेटिएको फोटो र पर्सभित्र रहेको कार्डमा रहेको पासपोर्ट साईजको फोटोको हुलिया मिल्दैनथ्यो ।

सामाजिक सञ्जालको जंजालबाट केही उपाय नलागेपछि मैले सेलवेजमा फोन गरें । आफ्नो पुरै परिचय र उद्देश्य बताएर भने, ‘मेम्बरसीप कार्डको नम्बरका आधारमा मेम्बरको ठेगाना सम्पर्क नम्बर पत्ता लाग्ला?’ कस्टमर केयरका कर्मचारीले हेड अफिसको नम्बर दिए । हेड अफिसले मेम्बरसीप नम्बर सुनेपछि कार्ड पुल्चोक ब्रान्चबाट जारी भएको बताए । पुल्चोक ब्रान्चमा बारम्बार फोन र ताकेता गरेपछि पत्तो लाग्यो, कार्डबहाकले कार्ड निकाल्दा आफ्नो नाम मात्रै दर्ता गराएका रहेछन् । उनको नम्बर र ठेगाना केही छैन् । लौ पऱ्यो फसाद अब कसरी पत्ता लगाउने ?

पोखराबाट फोटोग्राफरले फोन गरेर सोधेको सोध्यै छन् । म खोजेको खोज्यै छु । फोटोग्राफर पालिखे फोनमा भन्छन, ‘जसरी हुन्छ पत्ता लाउनुस् है । अर्काको पैसाले मन पोल्छ ।’ मैले सहकर्मी कृष्ण आचार्यलाई गुहारें । उनले जुक्ती लगाए, शेयर प्रमाणपत्र नम्बरका आधारमा पत्ता लगाउन सकिन्छ कि ? एक पटक बैंकिक रिपोर्टिङ गर्ने यज्ञ बन्जाडेलाई गुहारौं । मैले यज्ञलाई सबै कथा सुनाएर पहल गरिदिन अनुरोध गरें । उनले हसिलो स्वरमा भने, ‘अरे सरजी भईहाल्छ नि ।’ नभन्दै एकाध दिनमा यज्ञले एउटा नम्बर मलाई म्यासेज् गरे र फोन गर्दै भने, त्यो नम्बरमा फोन गर्नुस् त ।

फोन एकजना पाका मान्छेले उठाए । मैले मेरो परिचय दिंदै वहांको परिचय मागे । नभन्दै तिनी शालीग्राम दास मुल्मी रहेछन् । मैले पर्स उनको हो कि होईन भनेर जाँच्न केही प्रश्न गरे । उनी छोरासंग पोखरा घुम्न गएका रहेछन् । पर्सभित्रका सबै चिजबिजको सबै फेहरिस्त बताएपछि त्यो उनकै पर्स रहेकोमा शंका रहेन । त्यसपछि मैले गुह्य खोले, तपाईको पर्स बाराही मन्दिरमा बस्ने फोटोग्राफरसंग छ । नम्बर पठाईदिन्छु, उता कुरा गर्नुस् है ।

शालीग्रामले हराएको पर्स हप्तौं पछि भेटिंदा चकितै परेको बताए । उनको स्वरमा खुशी लहराईरहेको थियो । उनले भने, ‘यो जमानमा पनि यस्ता ईमान भका मान्छे भेटिंदा रहेछन् । तपाईको जय होस । फोटोग्राफरको पनि जय होस ।’ फोटोग्राफरसँग कुरा गरेपछि र पर्स भेटिएको पक्का भएपछि शालिग्रामले मलाई फेरी फोन गरे र फेरी जयजय भने । उनले भने, ‘कस्तो ईमान भाको मान्छे ।’ उनको स्वरमा खुशी र सन्तुष्टी दुवै मिसिएको थियो ।

फोनबार्ताको एक सातापछि पालिखे काठमाडौंमा बसेर पढ्दै गरेकी छोरीलाई पनि भेट्नेगरी सपत्नी काठमाडौं आए । त्यही बेला उनले पर्सधनी शालीग्रामलाई लिएर कान्तिपुर अफिस आए । पाका उमेरका शालिग्रामको अनुहारमा असार १४ मा हराएको पर्स हात परेको खुशी पोतिएको थियो । शालिग्रामले म तिर हेर्दै भने, ‘भेट्ला भन्ने त आशा त छदै थेन । सपना जस्तो भयो । तपाईहरु दुवैलाई धन्यबाद ।’ पाटनका रैथाने मुल्मी नेपाल बैंकका अवकाशप्राप्त कर्मचारी रहेछन् । २९ बर्ष काम गरेर २०६१ सालमा अवकाश पाएपछि उनी रिटायर्ड लाईफ बिताईरहेका रहेछन् ।

मैले पालिखेलाई सोधे, ‘भेटेको पर्सको पैसा पनि खोजी खोजी दिने जाँगर कसरी आयो ?’ उनले भने, ‘अर्काको पैसा खानु हुन्न । ईमानको कमाई मात्रै खानुपर्छ भन्ने संस्कार मैले बुबाबाट सिकेको ।’ पालिखेले आफुले तालबाराही मन्दिर घुम्न आउने कैयनको हराएको समान मान्छे खोजी खोजी दिने गरेको कथा सुनाए । ‘हराएको समान धनी पत्ता लगाएर दिंदा बडो आनन्द आउँछ’ उनले भने, ‘अरुको खान हुन्न । ईमानमा टिक्न पर्छ भन्ने सबैले थाह पाउन् ।’ पर्स भेटेपछि आफुलाई खुल्दुली भएको र आफुले मन्दिर छेउमा उभिएर पर्स कस्को हो भन्दै कराउन लगाएको बताए । उनले मोबाईलमा रहेको भिडियो देखाउँदै भने, ‘पर्स धनी भेटिन्छ कि भनेर एकछिन खोजें । नभेटेपछि एकजनालाई कार्डमा रहेको नाम फलाक्दै कराउन लगाएँ । तर अहं पर्सधनी भेटिन ।’

हराएको पर्सले पोखराका पालिखे र पाटनका मुल्मीलाई नजिक्याईदियो । उनीहरुले एक अर्काको बारेमा, आफ्नो परिवारको बारेमा धेरै कुरा साटासाट गरे । हामी छुटिएपछि मुल्मीले पालिखे दम्पत्तीलाई आफ्नो घर देखाउन पाटनतिर लगेर गए । म भने स–सानो खुशीमा गदगद हुँदै न्युजरुम छिरें ।

प्रकाशित : श्रावण २, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?