कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढ्यौली र यसको वर्तमान

काठमाडौँ — हामीलाई थाहा भएकै कुरा हो, बुढ्यौली प्राकृतिक विशेषता हो । यसलाई चाहेर पनि रोक्न सकिँंदैन । यो जीवनका विभिन्न अवस्थामध्ये एक हो । यसलाई सबैले स्वीकार्नुपर्छ । यसलाई हामी यसरी पनि प्रस्ट पार्न सक्छाैं, ब्रह्माण्डमा यावत जीवात्मा तथा निर्जीव वस्तु पनि समयको गतिसँंगै परिवर्तन हुँदै जान्छन् । यसलाई पुरानो भनिन्छ । प्रकृतिको नियम अनुसार पुरानो हुँदै जाने प्रक्रिया बुढ्यौली हो ।

बुढ्यौली र यसको वर्तमान

वास्तवमा मनिसको गर्भाधान अवस्थादेखि बुढ्यौली सुरु हुन्छ । जब ३० वर्ष पुग्न सुरु हुन्छ, उसको काम गर्ने क्षमतामा कमी आउन थाल्छ र ६० पुगेपछि त झनै अरू समस्याले सताउन थाल्छ । यस्ता क्रियाकलाप कोही व्यक्तिमा छिटो देखापर्छ भने कोहीमा ढिलो । यस सम्बन्धमा वृद्ध सम्बन्धी अध्ययन अर्थात् ‘जेरेन्टोलोजी’ले बढी परिश्रम, मानसिक तनाव, आलस्य तथा रोगले मानिसलाई छिटो वृद्वावस्थामा पुर्‍याउने देखाएको छ ।

बुढ्यौली सम्बन्धी विशेषज्ञ अर्थात् ‘जेरेन्टोलोजिस्ट’ले यस अवस्थालाई ४ समूहमा बाँडेका छन् । (हेर्नुहोस् बक्स)


मानिस जन्मदा ऊसंँग निश्चित कोषहरू हुन्छन् । ती कोषको वृद्धि हुने क्रम कुनै निश्चित समयसम्म मात्र हुन्छ । अनि नयाँ कोषहरू बन्ने प्रक्रिया बन्द हुन्छ । फलस्वरूप अङ्गहरूमा ह्रास आउन थाल्छ । व्यक्ति अनुसार फरक त पर्छ, तर समयको अन्तरालमा सबैको क्षमतामा कमी आउने गर्छ । यसरी उमेरको वृद्धि हँुदै जाँदा स्वप्रतिरोध शक्ति (रोगसंँग लड्न सक्ने रोग प्रतिरोध शक्ति) नाश हुँदै जान्छ । अनि वृद्धहरूलाई विभिन्न रोग लाग्छ । कसैलाई मधुमेह, कसैलाई श्वास–प्रश्वास सम्बन्धी रोग अनि कसैलाई मुटुरोग, जोर्नीको रोगजस्ता रोगहरूले आक्रमण गर्न थाल्छन् । उमेर बढ्दै जाँदा कोषका झिल्लीहरूमा तरल पदार्थ कम हुँदै जान्छ । कोषहरू बढी ठोसयुक्त हुँदै जान्छन् । यसले कार्य गर्ने क्षमता घटाउँछ । यी भए जैविक सिद्धान्त ।

यस बाहेक मनोसामाजिक सिद्धान्तमा मनोवैज्ञानिक र सामाजिक तत्त्वहरूले बुढ्यौली हुने प्रक्रियामा ठूलो प्रभाव पारेको हुन्छ । मानिसले आफ्नो जीवनकालमा विभिन्न जटिल चरणहरू पार गर्छ । जस अनुसार आफ्नो जीवनको शैशव कालदेखि आइपरेका समस्यामाथि प्रभावकारी रूपमा समायोजन गर्दै बढ्न नसकेमा पछिल्ला वा वृद्धजीवन कष्टमय बन्छ । बुढेस कालका अझिल्दा प्रवृत्ति, व्यवहार, विश्वास देखिनु यसैका उपज हुन् । त्यसैले वृद्ध जीवनलाई प्रभावकारी बनाउन शारीरिक स्वास्थ्यको साथै संवेगात्मक स्वास्थ्यलाई सम्भार गर्नु आवश्यक मानिएको छ ।

साथै जौविक र मनोसामाजिक तत्त्वहरू बाहेक अन्य वातावरणले पनि बुढ्यौलीमा प्रभाव पारेको हुन्छ । जस्तै– निवास, पानीको आपूर्ति, पारिवारिक बनावट, वरपरको सरसफाइको राम्रो व्यवस्था नभएमा बुढ्यौलीको गति छिटो हुन्छ ।

यसरी हेर्दा वास्तवमा वृद्ध जनसंख्या आफै समस्या नभई वृद्धहरूको अवस्था र व्यवस्थापन समस्या हो । सहरीकरण, एकल परिवार, बसाइँ–सराइ, स्वार्थी भावना, आधुनिक जीवनशैली, कामको व्यस्तता, पारिवारिक बेवास्ता जस्ता कुराले गर्दा वृद्धहरूको समस्या जटिल बन्दैछ । विकासोन्मुख राष्ट्रहरूमा भन्दा विकसित राष्ट्रहरूमा यसलाई थप चुनौतीको रूपमा लिएको पाइन्छ । विकसित तथा औद्योगिक मुलुकहरूमा प्राय: मानिस सानैदेखि एकल परिवारमा बस्छन् ।

परिवारमा ३ पुस्ता बस्नु उनीहरू परम्परागत शैली मान्छन् । अहिलेको बढ्दो सहरीकरण, औद्योगीकरण, बसाइँ–सराइ, अध्ययन तथा कामकाजमा व्यस्त जीवनको कारण परिवारका सबै व्यक्ति एकैथलोमा बस्ने वातावरण हुँदैन । यी समस्या हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा पनि बढेको छ । अध्ययन तथा रोजगारीका लागि टाढा–टाढा जानुपर्ने, खुला वातावरणको अभाव, आयको सीमितता, कानुनको अभावले परिवार एकल परिवारको रूपमा विकसित हुँदैछ ।

यसका कारण बूढाबूढीहरू बेसहारा जीवन निर्वाह गर्न बाध्य छन् । विकासको क्रममा बूढाबूढीको लागि पछिल्लो जीवन अझ कष्टकर हुन गइरहेको छ । यस प्रकारको समस्या विश्वव्यापी रूपमा देखापरेको हुँदा वृद्धवृद्धाको सुखमय जीवनका लागि सरकारी र गैरसरकारी संघ/संस्थाहरूबाट सहयोगको क्रम बढ्दो छ ।

नेपालमा पहिले–पहिले ६० वर्षभन्दा माथिकालाई वृद्ध भनिन्थ्यो । तर पछि ६५+ भनेर वृद्धहरूको संख्या उल्लेख गर्न थालियो । राज्य यस वर्गका नागरिकलाई ज्येष्ठ नागरिक वर्गीकरण गरी केही सुविधा उपलब्ध गराएको छ । भलै यो विकसित मुलुकहरूको तुलनामा कमै छ । पछिल्लो समय राज्य आफ्ना नागरिकहरूप्रति जिम्मेवार भएको यो राम्रो उदाहरण भने हो । राष्ट्रिय जनगणना २०५८ अनुसार ६५ देखि १००+ वर्षका वृद्धवृद्धाको संख्या १३,९७,५८३ रहेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ ।

सनातन हिन्दु परम्परा चलिआएको हाम्रो समाजमा वृद्धहरूको स्थान मान्य छ । जस्तै– पूजा, व्रतबन्ध, भोज, उत्सवमा परिवार, टोलको सबभन्दा पाको उमेरका व्यक्तिबाट कार्य सुरु र सम्पन्न गराउने चलन छ । सबैभन्दा जेठोबाट महत्त्वपूर्ण निर्णय लिने गरिन्छ । समाजमा वृद्धहरूलाई समाजसेवी र अनुभवी ज्ञाताको रूपमा लिइन्छ भने ८४ वर्ष काटेकाहरूलाई देवरूप मानी आस्था प्रकट गरिन्छ । यसरी धार्मिक, सामाजिक उच्च स्थान दिएको पाइन्छ भने यसको विपरीत वृद्ध उपेक्षित पनि भएका छन् । छुच्चो, फोहोरी, कचकच गर्ने भनी परिवारले उपेक्षा गरेको पाइन्छ । यस्ता गलत धारणले गर्दा वृद्धहरू वृद्धाश्रममा बस्न बाध्य छन् । सन्तति मोहले समयमा आफूले कमाएको आम्दानी आफ्नोलागि बचत नगर्दा कति वृद्धहरू मागेर खान पनि बाध्य छन् ।

नेपालमा ज्येष्ठ नागरिक सम्बन्धमा अहिलेसम्मका प्रयासलाई खोतल्दा सातांै योजना (विसं २०४२–०४७) देखि सामाजिक सुधार अन्तर्गत सुरक्षाको अवधारणा सुरु भएको पाइन्छ । त्यसै समयबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा सुरु भएको हो । त्यसपछि ज्येष्ठ नागरिकहरूको समस्या समाधान गर्न राज्यले विभिन्न समयमा प्रयास गरेको पाइन्छ । वृद्ध भत्ता व्यवस्थाको सुरुआत २०५१/५२, ज्येष्ठ नागरिक नीति तथा कार्यनीति प्रकाशन २०५८, ज्येष्ठ नागरिक सम्बन्धी ऐन निर्माण २०६३ र ज्येष्ठ नागरिक स्वस्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका लागु २०६१ महत्त्वपूर्ण छन् ।

ज्येष्ठ नागरिकको स्थितिले कुनै पनि देशको सामाजिक, आर्थिक तथा अन्य पक्षमा प्रभाव पार्छ । विकसित देशहरूमा वृद्ध जनसंख्या चुनौती बन्दैछ । १९ औं शताब्दीमा विकसित राष्ट्रका कामदारहरूको औसत आयु २२ वर्ष र अन्य पेसेवारहरूको ४४ वर्षमात्र थियो । समयको क्रमसँगै खोप, औषधी तथा औषधोपचारमा भएको विकासले जटिल स्वास्थ्य समस्या हल हुनथाले पश्चात मृत्युदर घटी जिउने सरदर आयु बढ्दै जान थाल्यो ।

सन् २०५० सम्ममा युरोपमा सबैभन्दा बढी वृद्ध नागरिक हुनेछन् भने सबैभन्दा कम वृद्ध नागरिक अफ्रिकी मुलुकहरूमा हुनेछन् । सरदर आयु बढ्दा वृद्धको संख्या बढ्ने गर्छ । अनि यसले निम्त्याउने चुनौती पनि बढ्दै जान्छ । स्वास्थ्य सम्बन्धी प्रविधिले सरदर आयु बढाए पनि बुढ्यौलीका लक्षणहरू भने रोक्न सक्दैन । यो प्राकृतिक विशेषता हो । जति बुढ्यौली अवस्था बढ्दै जान्छ, उति यसले तनाव र पीडा बढाउँदै लैजान्छ । यसलाई खोतल्दा जैविक तथा मनोसामाजिक कारणहरू देखा पर्छन् ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?