कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राति दाँत माझ्नुभो ?

डा. रेशा शर्मा

काठमाडौँ — प्रश्नको उत्तर सोच्दा तपार्इं अकमकिन सक्नुहुन्छ । किनकि यसले तपाईंको व्यक्तिगत आनीबानीबारे सोधेको छ । ब्रस नगरेकाले उत्तर भन्न तपार्इंलाई अप्ठ्यारो पनि लाग्न सक्छ । यसो भए, खुसी हुनुस् । मेरो अनुभव भन्छ तपाईं बहुमतमा पर्नुभयो । कसरी ? यसरी ।गएको तिहारपछि चितवन मेडिकल कलेजमा म दन्तचिकित्सामा स्नातक तहको इन्टर्नसिप गर्थें । मैले धेरै बिरामीको मुख जाँच गर्नुपर्थ्याे ।

राति दाँत माझ्नुभो ?

लगभग दुई महिनामा ४ सयभन्दा बढीको मुख जाँच गर्दा मेरो प्रश्न हुन्थ्यो, दैनिक कतिपटक ब्रस गर्नुहुन्छ ? मात्र एकपटक, बिहान मात्र । ९० प्रतिशतभन्दा बढीको उत्तर यही थियो ।

यो तथ्यले मलाई अचम्ममा पार्‍यो । तपार्इंलाई बहुमतमा । बहुमतमा परेँ भनेर खुसी भइराख्न भने पाउनुहुन्न । तपाईंका लागि दु:खको समाचार छ । तपाईं गलत दैनिकीमा फस्नुभएको छ । सामान्यतया दैनिक दुई पटक ब्रस गर्नुपर्छ । त्यो पनि खानापछि, साँझ र बिहान ।अमेरिकी डेन्टल एसोसिएसन र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) यूकेले दैनिक दुई पटक र हरेक पटक कम्तीमा दुई मिनेट राम्ररी ब्रस गर्ने सल्लाह दिएको छ ।

एक पटक ब्रस गर्दा दाँत र गिजामा मञ्जनको प्रभाव अधिकतम १२ घण्टासम्म मात्र सीमित हुन्छ । त्यसपछि कीटाणु पुन: सलबलाउन थाल्छन् । हाम्रो शरीरमा सबैभन्दा बढी रोग लाग्ने भागलाई के यसरी बेवास्ता गर्न मिल्ला ?इन्टर्नसिपमा मैले मुख जाँच गरेका धेरै जनाले बिहान उठ्नेबित्तिकै ब्रस गर्थे । यसमा पनि तपाईं बहुमतमा पर्नुभयो भने अझ दु:खको समाचार छ । तपाईं गलत समयमा ब्रस पनि गरिरहनुभएको छ ।

दैनिक दुई पटक त ब्रस गर्नुपर्छ नै, त्यसमाथि बिहान र साँझ खानापछि मात्र गर्नु फाइदाजनक हुन्छ । खानेकुरा खाँदा दाँतको बीचमा खाना अड्कने गर्छ । तिनै खानाका टुक्रा कीटाणुका लागि ठूलै भोज हुन्छ । उनीहरूले ती खाना खाएर एसिड उत्पादन गर्छन् । एसिडले दाँतलाई गलाउने गर्छ । खाना खाएको सामान्यता २० मिनेटसम्ममा एसिडको उत्पादन उच्चतम बिन्दुमा पुगेको हुन्छ । त्यसैले खाना खाएपछि ब्रस गर्नाले धेरै समयसम्म एसिडले दाँतमा असर पुर्‍याउन पाउँदैन । दु:खको कुरा, हामी बिहान उठ्नेबित्तिकै ब्रस गर्ने र साँझ नगर्ने बानीमा फसेका छौं ।

राति कम जिब्रो चलाइन्छ । त्यसले गर्दा कीटाणुलाई दाँतबाट यताउता फ्याँक्ने बल पनि पुग्दैन । अर्को कुरा, कीटाणुसँग लड्ने क्षमता हुने थुकको उत्पादन रातमा कम हुन्छ । भनेपछि रातमा कीटाणुसँग लड्ने पक्षहरू सुस्त हुन्छन् । यतिबेला कीटाणु एकदमै सक्रिय हुने र आफ्नो संख्या भटााभट वृद्धि गर्ने गर्छ । त्यसैले रातमा खानापछि ब्रस गरेर दाँत जोगाउनुको विकल्प छैन ।

ब्रस गर्नुभएन भने गलेका खानेकुरासँगै कीटाणु पनि दाँतमा टाँसिन्छन् । त्यसमा कीटाणुले उत्पादन गरेको एसिड मिलेर च्यापच्याप लाग्ने प्लाक बन्छ । एक ग्राम प्लाकमा एक खर्बभन्दा बढी कीटाणु हुन्छन् । ब्रस गर्न जति ढिलो गर्छौं, उति नै कीटाणुको संख्या बढ्दै जान्छ । उति नै बढी एसिड उत्पादन हुन्छ । यसले दाँतलाई गलाउँछ र गिजामा पनि समस्या ल्याउँछ । थुकमा भएको खनिज तत्त्वले प्लाकलाई ठोसमा परिवर्तन गर्न सघाउँछ । त्यो ठोस पदार्थलाई क्यालकुलस भनिन्छ ।

ऐनाअघि उभिएर कहिल्यै तल्लो दाँतको भित्री भाग हेर्नुभएको छ ? त्यहाँ खैरो वा पहेंलो ठोस कुरा दाँतमा टाँसिएको देख्नुभयो भने त्यो नै क्यालकुलस हो । धेरै समय वा वर्ष ब्रस नगर्ने मानिसको मुखमा क्यालकुलसले दाँतै ढाकेको पनि मैले भेटेकी छु । जसरी कुनै कुनै भाँडामा टाँसिएको कटकटिएको कालो फोहोर लुँडो लगाउँदा जाँदैन, यसैगरी यो क्यालकुलस ब्रस गरेर मात्र जाँदैन । वरपर फोहोर भयो भने हामी आनन्दले बस्न नसकेझंै खानापछि ब्रस नगर्दा दाँतलाई उस्तै सकस भइरहेको छ भन्ने हामीले बुझ्नुपर्छ ।

मुख जाँचका क्रममा मैले एक जना भाइ भेटेकी थिएँ, १८ वर्षका । उनी दाँत माझ्न नभ्याएर कलेज जाँदा चुइगम चपाउँदा रहेछन् । अचम्म लाग्यो, दाँत माझ्नुको विकल्प चुइगम चपाउनु कहिल्यै हुँदैन । हामीलाई बीस मिनेट मोबाइलमा सामाजिक सञ्जालमा हराउँदा हतार हुँदैन । दस मिनेट कसैका बारेमा गफिएर बस्दा हतार हुँदैन । तर सुन्दरता देखाउने र चपाउन सघाउने दाँतका लागि दुई मिनेट छुटयाउँदा हतार हुन्छ । हामीले नै नियमित नियमसंगत ब्रस नगरे हाम्रा केटाकेटीले के सिक्ने होला ? अल्छी, थकाइ लाग्छ भन्नुहुन्छ भने यसको औषधि तपाईंबाहेक अरूसँग हुँदैन । बरु ब्रस गर्दा यसले तपाईंमा स्फूर्ती ल्याएर थकाइ मार्न र अल्छीपना हटाउन सघाउँछ ।

दाँत माझ्ने भन्दैमा जथाभावी र बलजफती ब्रस दाँतमा घोट्नु भने हुँदैन । यसले दाँतलाई झन् खियाउने र कमजोर बनाउने गर्छ । अहिले दाँत उपचारको आधुनिक उपकरण र विधि आए पनि आफूले मुसारेर हुर्काएको आफ्नै दाँतजस्तो बलियो नक्कली दाँत हुँदैन । प्रत्येक छ महिनामा दाँतको नियमित जाँच गर्नु जरुरी छ ।
कोरियन डेन्टल एसोसिएसनले त ट्रिपल थ्रीको नियम पालना गर्न सल्लाह दिएको छ । ब्रेकफास्ट, लन्च र डिनरपछि । हरेक दिन तीन पटक, खाना खाएको तीन मिनेटमा, हरेक पटक तीन मिनेटसम्म ब्रस गर्न प्रोत्साहन गरेको छ । सन् २०१७ मा कोरियन नेसनल हेल्थ एन्ड न्युट्रिसनले गरेको अध्ययनअनुसार यो नियम पालना गर्ने कोरियाली युवामा अमेरिकी र बेलायती युवामा भन्दा गिजाको समस्या कम आएको देखिएको छ ।

तपाईं अब कुन–कुन समयमा, कति पटक दाँत माझ्नुहुन्छ त ? अर्को पटक मैले प्रश्न गर्दा तपाईंले खानापछि बिहान र बेलुका भन्दै खुलेर हाँसेको हेर्न मन छ । यसो गर्दा तपाईंको दाँतको चमक तपाईंको आत्मविश्वासमा झल्कन थाल्नेछ ।

- डा. रेशा शर्मा

resha061@gmail.com
शर्मा दन्तचिकित्सक हुन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?