कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति मन्थन : नरहे बाँस, नबजे बाँसुरी

गणेश राई

काठमाडौँ — भनिन्छ, चेतना सहरबाट गाउँ पस्छ । तर विश्वव्यापीकरणको चापमा अब गाउा गाउा रहेन । सहर सहर रहेन । विज्ञान र प्रविधिको विकासले समान हैसियतमा जोडिदिएको छ । गाउँकाले चलाएको सामसङ ग्याजेट वा आईफोन या अन्य कुनै पनि रोज्जा ब्राण्ड एउटै हुन्छ ।

संस्कृति मन्थन : नरहे बाँस, नबजे बाँसुरी

मात्रै विज्ञान नी उपहार अथवा प्रविधिलाई उपयोग कसरी गर्ने र ती बस्तु चलाउने कसरी भन्ने सीपचाहिं चलाउने व्यक्तिमा भरपर्छ । नेपालको वर्तमान सन्दर्भ यही हो ।


सत्यचाहिं के हो भने गाउँ विशुद्ध अर्गानिक हुन्छ । खानपान, रहनसहन अथवा लवाइखवाई, बोली वचन, व्यवहार, भाषा, संस्कृति, संस्कार, परम्परा सबै चिज ठेट हुन्छ । त्यसैले गाउँबाट सहर छिरेकाहरू जहिल्यै गाउँको सम्झनामा बाँचिरहेको हुन्छ । दसकौं सहरमा जिन्दगी गुजारिरहेको भएपनि उदाहरण गाउँकै दिन्छन् । सहर अवसरको खोजीमा छिर्नुपरेको बाध्यता थियो र छ । जसले छिट्टै आवश्यकताअनुसार कुस्तै पैसा (धन) कमाउँछ, ऊ धनी पनि कहलिन सक्छ । धनी हुने सोंच जासुकैलाई लाग्न सक्छ । तर सबै थोक धनमात्रै पनि होइन । परिवार, समाज, साथीभाइ, इष्टमित्र, नातागोता, छरछिमेक सबै पैसाले किनेर पाइन्न । यद्यपि व्यक्ति बढी आत्म केन्द्रित हुने हुँदा धनमा बढी लोभिनु अस्वभाविक होइन । आठ वर्षे गायक अशोक दर्जी र उनका प्रवर्द्धक संगीतकार टंक बुढाथोकीले गाएजस्तो ‘धन विनको मन ठूलो की मन विनाको धन !’


प्रसंग गायकीको होइन, परम्परागत लोक संस्कृतिको हो । मेरो जन्मथलो ओखलढुंगा जिल्लाको दक्षिण भेगमा पर्छ । यस भेगमा किराती वाम्बुले (ओम्बुले) राईहरूका आदिम थलो रहेको छ । यो समुदायको लोकभाषा, लोक संस्कृति, लोक परम्परा आफ्नै खालको छ । मुन्दुमी संस्कृतिहरू छन् । ऋतृ चक्र अनुसार अनेकन लोक संस्कृतिहरू मनाउँछन् । वैशाखदेखि उभौली लाग्छ । जेठ, असार हुँदै बर्खायाम सुरू हुन्छ । यो साउन महिनाको हो । असार सकिनासाथ देउताहरू धरतीमुनि पन्ध्र दिनसम्म गुफा बस्छ भन्ने मान्यता राख्छन् । त्यसैले नङ र कपाल काट्न हुन्न । महिलाजनले कपाल कोर्दा गुजुल्टो पारेर माथि घरको छानोमा सिउरिने गर्दछन् ।


कुनै किसिमको बाजागाजा बजाउन हुन्न, होहल्ला गर्न, ठूलो स्वरले कराउन हुन्न देउता रिसाउँछन् भन्ने मान्यता राख्दछन् । त्यसैले मादललगायत बाजागाजा केही बजाउँदैनन् । जब साउन १५ गते लाग्छ, त्यस दिनदेखि कालो मैलो, आँध्यारो हट्छ भन्ने लोकमान्यता छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा नयाँ रौनक छाउँछ । समाजका तन्नेरीहरू आगेनोको माथि ध्वासे बलोमा या खोल्मो छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरली झिकेर बजाउान तम्सिन्छन् । गाउँघर, बनपाखा, खोलानाला, दुधकोसी र सुनकोसी नदी गडतीर गुन्जिने गरी बजाउान थाल्छन् । मायाप्रिती या बिरह, मनै हर्ने भाकाहरू बजाउँछन् । लोकभाका जोकसैले नक्कल गरेर बजाउँन तम्सिन्छ ।


तर समयको परिवर्तनसँगै त्यो लोकमान्यताहरू विस्तारै छेउलाग्दै छन् । किनभने पुराना पुस्ता ढल्दै जाँदो छ । बाजेपुस्ताले धानेको त्यो बाँसुरी, मुरली संस्कृति आज नाति पुस्तामा बिर्सिदै गएको या ओझेलमा पर्दै गएको अवस्था छ । शिक्षा र चेतनाको खोजीमा सहर पसेका बाबुपुस्ताहरूमा त्यो बाँसुरीको धङ्धङी बाँकी छ । नयाँ पुस्ताले थोरैतिनो सुनेकामात्र छन्, साउन १५ बाँसुरी बजाउने दिन भनेर । यसरी जानेर जानी नसक्नु, बिर्सेर बिर्सिनसक्नु, समाजको गहिराइ, लम्बाइ, चौडाइ, उचाइ अथाह छ । लोक परम्परा भोग्नेहरूले पुस्तारण गर्न नजान्नु र नयाँ पुस्ताले पुरानो पुस्तालाई नगन्नु उस्तै उस्तै हो । सायद नेपाली समाजको समसामयिक समस्या यही नै हो ।

खातिरको कुरा छ । बाजे पुस्ताले सोच्दछ कि समाजमा मैले भोगेको सामाजिक परम्परा नयाँ पुस्ताले अवलम्बन गरिदिए हुन्थ्यो । बाबु पुस्ताले सोच्छ कुरीतिलाई पन्छाएर सुसंस्कृतिलाई आंगालिदिए हुन्थ्यो । छोरा पुस्ताले सोच्छ, यी बूढाहरूले भनेको कुरा अलिअलि ठिकै हो । नाति पुस्ताले सोच्छ, उहिलेका कुरा खुइले, हाम्रो पुस्ताचाहिं अब्बल हो । उहिलेका बहिखाता, तमसुक, सावाँ, ब्याज सबै असुल उपर हुँदैजाँदा पश्चिमा संस्कृतिले नेपाली परम्परागत संस्कृतिलाई झ्याप्पै गाँजेको स्थिति छ । जिब्रो लटपटाउँदै अंग्रेजी बोल्न नसक्नेहरू मान्छे होइनन्झैं छ । नेपालमा बोलिने मातृभाषाको के कुरा खस–नेपाली बोल्नेहरूको स्थिति समेत नाजुकै छ ।

यही मेसोमा किराती वाम्बुले राईहरूको ‘साउन १५ : बाँसुरी दिवस’ मनाउने थालनी भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०७४ सालबाट यो थालनी गरेको हो । मूलत: काठमाडौं उपत्यकामा । यही मेसोमा मैले ओखलढुंगाको हिलेपानी गाउँका युवा शिक्षक गगनबहादुर राईसित फेसबुक म्यासेन्जरमा संवाद गरेको थिएँ । ‘यो पटक (२०७५ साल) बाँसुरी दिवस कसरी मनाइदै छ?’ मैले सोधेको सवालमा उल्टै सोधे उनले भने, ‘बाँसुरी दिवस मनाउन काठमाडौंबाट वाम्रास संस्थाले बजेट उपलब्ध गराउँछ?’


ति शिक्षकलाई मैले भनें– ‘बाँसुरी दिवस मनाउने दसजना शिक्षकले दुई–दुई सय वा बीस जनाले एक–एक सय रूपैयाँ उठाए दिवस मनाउन सकिन्न र?’ शिक्षक भनेका समाजका संवाहक हुन् । उनले आफ्ना कुरा राख्दै भने, ‘सामाजिक काममा संगठित हुन गाह्रो छ । लोक संस्कृतिका निम्ति केटाहरूको उपस्थिति शून्य छ । युवा जागरणको खाँचो छ । भाषा संस्कृति हाम्रो पहिचान हो भन्ने कुरा प्रथमत: स्थानीय सरकारलाई थाहा छैन । जनजाति शीर्षकको बजेट असार महिनाको अन्तिम्मा उद्घोषण र पत्रकारिता तालिममा खर्च भएको प्रत्यक्ष देखियो । हामी को हौं ? हाम्रो इतिहास, परम्परा के हो ? हाम्रो बाटो कुन हो ? गर्नु पर्ने, निभाउनु पर्ने भूमिका र कर्तव्य के हो ? इत्यादि पक्षमा टोलटोलमा सेमिनार चलाउन ढिलो भइसक्यो । अब पनि ढिलो गर्‍यौं भने केही गर्न सक्दैनौं ।’


अनि सोचें, सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजाति र सूचिकरणमा पर्न नसकेका अन्य आदिवासी जनजातिहरू छन् । ती जातिका आ–आफ्नै जातीय संस्थाहरू छन् । ती संस्थाहरूको मूल उद्देश्य भनेकै परम्परागत भाषा, साहित्य, संस्कार, संस्कृतिको जगेर्ना गर्नु हो । इतिहासको खोजी गरेर उजागर गर्नु हो । त्यस्ता संस्थाहरू अधिकांश राजधानी काठमाडौं केन्द्रित भएर गठन गरिए, संघ/संस्था ऐन २०३४ अनुसार गैरसरकारी संस्थाका रूपमा दर्ता प्राप्त पनि छन् । पहिचानको मेसोमा ति कतिपय जातीय संस्थाहरू बेलायत, युरोप, अमेरिका, मलेसिया, अरबी मुलुकमा समेत विस्तार भएका छन् ।


विदेशमा त्यसरी संगठित हुनुमा रहर र बाध्यता दुवै छन् । तर, त्यही जातीय संस्था सम्बन्धित जिल्ला र गाउँहरूमा महत्व दिइएको छैन । चेतनाको विस्तार हुन नसक्दा सहर पसेका ग्रामवासीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित संस्थाहरू आदिम थलोमा बेवास्ता गरिएका छन् । त्यसैले सहरमा थालनी गरिएको ‘बाँसुरी दिवस’ सहरकै निम्ति मात्र ठान्ने गरिएको छ । अर्कोतर्फ गाउँघरमै बाँसुरी दिवस मनाउन सहरबाट खर्चबर्च पठाउनु पर्ने आशा गरिन्छ ।


राजनीतिक परिवर्तनसँगै चेतनाका उपजका रूपमा जातीय संस्थाहरू गठन भएका हुन् । कतिपय अवस्थामा जातीय विद्वेषको तुषका रूपमा समेत व्याख्या गर्ने गरेको पाइन्छ । सामाजिक संस्थालाई राजनीतिक संस्थाले उपयोग गरेपछि त्यो स्थिति आएको हो भने कतिपय व्यक्तिले स्वार्थसिद्धिमा प्रयोग गर्दा प्रतिकुल बनेको हो भन्नुमा दुई मत नहोला । यद्यपि कतिपय आदिवासी जनजातिको सामाजिक गुठी परम्पराअनुसार गठन भएका छन् । तर कानुनी दायरामा आउनु पर्ने भएकाले एनजीओका रूपमा दर्ता प्राप्ति र नविकरण हुनुपर्ने बाध्यता छ ।


कुरो सहर र गाउँको हो । गाउँबाट सहर पसेकाहरूले सामाजिक संस्था दर्ता गरेर सञ्चालन गर्नु धेरै हदसम्म कष्टकर छ । किनभने त्यो एनजीओ होइन । एनजीओ भएमा दर्ता खोजेर सम्झौताअनुसार कार्ययोजना शीर्षकमा रकम खर्च गर्ने र बिल भर्पाइसहितको प्रतिवेदन बनाएर बुझाएपछि काम सकिन्छ । सामाजिक संस्था भनेको परम्परागत मूल्य मान्यतालाई उजागर गर्दै निरन्तर अघि बढ्ने, बढाउनु हो । त्यो काम देश वा विदेशमा बसेकाहरूले बढी आवश्यकता महसुस गरेका हुन सक्छन् । गाउँकाले कम महत्व दिन्छन् । त्यसैले सहरमा बसेकाहरूले समय, आर्थिक स्रोत, तन, मन, वचन र कर्म जुटाएर सामाजिक संस्था टिकाउने काम गरेका हुन्छन् । गाउँघरकाले आफ्नोपनप्रति कम चासो दिन्छन् ।


परिवर्तित समयले सहरभन्दा गाउँ बढी साधन, स्रोत सम्पन्न हुँदै गएको स्थिति छ । गाउँबाट सहर पसेकाहरू अधिकांशको आफ्नै स्वामित्वमा घरबार छैन । त्यसैले अर्काको घरमा किराया तिरेर बसेका हुन्छन् । खाद्यान्न, नुन, तेल, बिजुली, पानी, इन्टरने, फोहरमैला, शौचालय, यातायात, शिक्षा, स्वास्थ्य खर्च आदि इत्यादि कदम कदममा खर्च गर्नुपर्ने बाध्यता हुन्छ । तर, गाउँमा आफ्नै घरबार, जग्गा, खेतीपाती हुन्छ । पशुचौपाय पालिन्छन् । केहीको किराया तिर्नु पर्दैन । बोल्दैआएको मातृभाषामा व्यवहार गर्‍यो । हाटबजार गएर आवश्यक सामग्री किन्यो । ल्यायो । थोरैतिनो आय आर्जनले सजिलै गर्जो टर्छ । तर सोचाइको स्तर उल्टो हुन थालेको स्थिति छ । सहरकाले अंग्रेजी बोल्न जानेर सप्रिए । गाउँकाले मातृभाषा बोलेर पछाडि परेका हौं । परम्परा धान्नु हाम्रो के को खाँचो ? भनेझैं स्थिति छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि प्रतिकुल परिस्थित ज्यूँकात्युँ छन् । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बनेका छन् । तहगत सरकार आफ्नो भूमिकाप्रति अन्योलमा छन् । माथि शिक्षक राईले भनेझैं आदिवासी जनजातिका निम्ति छुट्टिएको बजेट अर्कै शीर्षकमा ‘असारे विकास’ हुन पुगेको छ । अबका दिनमा स्थानीय सरकारले आफ्नो शासकीय क्षेत्रमा रहेका जात, जाति, भाषा, भाषीहरूको भाषा, साहित्य, संस्कृति, परम्पराको जगेर्ना, विकास, प्रवर्द्धनमा जोड दिन जरूरी छ । 'नत्र नरहे बाँस, नबजे बाँसुरी' हुने निश्चित छ ।


वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०७४ साउन १५ मा आयोजना गरेको बाँसुरी दिवसमा सहभागीहरु ।


प्रकाशित : श्रावण १४, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?