कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–चीन सम्बन्ध : साझेदारीको सम्बन्ध

राजदूतको पद सम्हालेदेखि यता मैले दुई देशबीच विभिन्न क्षेत्रका सहकार्य तीव्रतासाथ वृद्धि भएको देखेकी छु ।
यु हाेङ

काठमाडौँ — सन् २०१८ जुलाई १२ का दिन चिनियाँ जनताप्रति नेपाली जनताको स्नेह र सद्भाव बोकी नेपालले चीनलाई उपहार दिएको एकजोडी १ सिंगे गैँडा चीनको क्वाङ्चौ सहरमा पुग्यो । अर्को एकजोडी १ सिंगे गैँडा पनि चीनमा पुर्‍याउने तयारी हुँदैछ ।

नेपाल–चीन सम्बन्ध : साझेदारीको सम्बन्ध

प्राचीन कालका चिनियाँ गैँडालाई अत्यन्त शुभ तथा पवित्र जनावर ठान्थे । चिनियाँ साहित्यमा ‘लिङ्सी’ अर्थात् ‘अलौकिक गैँडा’ शब्दले प्रत्यक्ष वार्तालाप विना नै एकअर्काको मनको कुरा बुझ्ने र समान भाव उत्पन्न हुने अवस्था बुझाउँछ । चीनको थाङराज वंशका एक प्रसिद्ध कवि ली शाङयिनले एउटा कवितामा लेख्नुभएको छ : ‘मनमा गैँडाको जस्तै अलौकिक भाव भए सानै संकेतले पनि पुरै कुरा बुझिन्छ ।’ यस कविताले अहिलेको चीन र नेपालको सम्बन्ध वर्णन गर्नु अति उपयुक्त हुन्छ ।


चीन र नेपाल पहाड तथा नदीबाट जोडिएका मुलुक हुन् । पाँचौँ शताब्दीमा चीनका महान भिक्षु फासियान र नेपालका महान भिक्षु बुद्धभद्रले दुई देशबीच धार्मिक तथा सांस्कृतिक आदान–प्रदानको शुभारम्भ गरेका थिए । भृकुटीको विवाह स्रङचङ गम्पोसँग सम्पन्न भएपछि यी दुवै देशबीच पुस्तौं–पुस्ताको मित्रताको बिउ रोपिएको थियो । स्यवियान चाङ र अरनिकोले पनि चीन र नेपाल बीचको मित्रताका लागि नयाँ अध्याय थपेका थिए ।


सन् १९५५ मा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भयो । त्यसपछि दुई देश बीचको सम्बन्ध नयाँ युगमा प्रवेश भयो । विगत ६३ वर्षदेखि चीन र नेपालले अन्तर्राष्ट्रिय समुदाय तथा क्षेत्रीय परिस्थितिको परिवर्तन एकसाथ भोगेका छन्, प्राकृतिक प्रकोपको संयुक्त सामना गरी विजय हासिल गरेका छन् । जस्तोसुकै परिस्थितिमा पनि दुई देशका सरकार र जनताले एकअर्कालाई बुझेर एकै साथमा पुस्तौं–पुस्ताको मैत्रीपूर्ण चौतर्फी सहयोगी साझेदारी सम्बन्धको संयुक्त सिर्जना गर्दै आएका छन् ।


नेपालका लागि चिनियाँ राजदूतको पद सम्हालेदेखि यता मैले दुई देशबीच विभिन्न क्षेत्रका सहकार्य तीव्रतासाथ वृद्धि भएको देखेकी छु । हाम्रो दौत्य सम्बन्ध स्थापना भएदेखि विभिन्न क्षेत्रको सहकार्यमा प्राप्त भएका उपलव्धिहरूमा मलाई गौरव लागेको छ । दुई देशका सरकार, संसद, पार्टी र सेनाको उच्चस्तरीय भ्रमण समय–समयमा हुनुका साथै पारस्परिक राजनीतिक विश्वास पनि दिन–प्रतिदिन बढ्दै आएको छ ।


केही समयअघि नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चीनको सफल भ्रमण गर्नुभयो । भ्रमणको समयमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली ख छ्याङ र चिनियाँ राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशु लगायतका चिनियाँ नेताहरूसँग मैत्रीपूर्ण भेटवार्ता गर्नुभएको थियो ।


उहाँहरूले चीन र नेपाल बीचको परम्परागत मित्रतालाई अझ मजबुत पारी दुई देश बीचको पारस्परिक हितको सहकार्यलाई विस्तार गर्दै लैजाने विषयमा वैचारिक आदान–प्रदान गरी सहमतिमा पुग्नुभएको थियो । दुई देशका नेताहरूले चीन–नेपाल सम्बन्धको विकासका लागि स्पष्ट दिशानिर्देश गर्नुभएको छ ।


चीन सधैं नै नेपालको विकासको साझेदार हो । अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान आदि परियोजनाहरू नेपाललाई चीनले दिएको सदिच्छापूर्ण सहयोगका साक्षी हुन् । २०१५ अप्रिल २५ मा नेपालमा ठूलो भूकम्प गएपछि चिनियाँ जनता दृढतापूर्वक नेपाली जनताका साथमा रही तुरुन्तै उद्धार कार्यमा सहयोग गर्न जुटे ।


चीनले नेपालको भूकम्पपश्चात् पुनर्निर्माण कार्यमा आधारभूत संरचना, जनजीवनको पुनरुत्थान, पुरातात्त्विक सम्पदाको पुनर्निर्माण, प्राकृतिक प्रकोप निवारण र चिकित्सा तथा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको छ । चीनले नेपालको जलविद्युतको विकास, आधारभूत संरचनाको निर्माण, सञ्चार, कृषि प्रविधि, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन आदि क्षेत्रमा नेपालसितको सहकार्यलाई निरन्तर विस्तार गरी नेपालको चौतर्फी आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउँदै आएको छ ।


चीनले नेपालमा ‘७ पटक चिनियाँ महोत्सव र ८ पटक चिनियाँ शिक्षा प्रदर्शनी’को आयोजना गरिसकेको छ । दुई देशबीच साहित्य, प्रकाशन, सङ्गीत र ललितकला आदि क्षेत्रमा समय–समयमा आदान–प्रदान हुनुका साथै बौद्धिक समूहबीच पनि सक्रिय वार्ताहरू भएका छन् । ‘सी चिनफिीङको चीनको प्रशासन व्यवस्था’ (पहिलो भाग) लाई नेपाली भाषामा अनुवाद गरिएको छ । र यो पुस्तक नेपालका विभिन्न क्षेत्रका पाठकहरूबीच लोकप्रिय बनेको छ ।


सन् २०१७ मा नेपालको राष्ट्रिय संग्रहालयका अमूल्य पुरातात्त्विक वस्तुहरू प्रदर्शनीको आयोजना चीनको छङ्तु सहरको आनरेन नगरमा गरियो । नेपालको राष्ट्रिय संग्रहालयका अमूल्य वस्तुको प्रदर्शनी चीनमा आयोजना गरिएको यो पहिलोपटक हो । गतवर्ष चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ४ सयजति पुगेको छ ।


सन् १९९८ देखि चीनले निरन्तर रूपमा नेपालमा ११ वटा चिकित्सा टोली पठाइसकेको छ । ती टोलीले चीनको सहयोगमा निर्मित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गर्दै आएका छन् । चीनको तिब्बत, सछुवान, क्वाङतुङबाट आएका चिकित्सा टोलीहरूले पनि नेपाली जनतालाई स्वास्थ्यसेवा प्रदान गरेका छन् ।


चीन र नेपालबीच ल्हासा, छङ्तु, खुन्मिङ, क्वाङ्चौ, सिआन, हङकङबाट काठमाडौंसम्म सिधा हवाइसेवा सञ्चालन भइरहेको छ । प्रत्येक साता दुई देशबीच करिब ९० उडान हुने
गर्छन् । नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूको संख्या निरन्तर बढ्दैछ । नेपाल घुम्न आउने पर्यटकहरूमा चिनियाँहरू दोस्रो स्थानमा छन् ।


चीन र नेपालले आआफ्नो देशको विकासमा उल्लेखनीय उपलव्धि हासिल गरेका छन् । यो वर्ष चीनमा सुधार तथा खुलापन नीति लागू भएको ४० औं वर्ष हो । विगत ४० वर्षमा चीनले अथक प्रयासद्वारा आफूलाई अझ खुला बनाउँदै समाजवादी आधुनिक शक्तिशाली मुलुक निर्माणको दिशातिर अग्रसर गर्दै लगेको छ । चीन आफ्नो विकासप्रति पूर्ण विश्वस्त छ । त्यस्तै नेपालमा नयाँ संविधान लागू भएपछि संघीय प्रणालीमा पहिलोपटक तीन तहको निर्वाचनद्वारा तीन तहको सरकारको गठन भएको छ । जनताको इच्छा अनुसार नेपालले सफलतापूर्वक ऐतिहासिक राजनीतिक परिवर्तन गरेको छ ।


दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षदेखि चीन र नेपालले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरी एकअर्काको आधारभूत हितलाई ख्याल राखी एकअर्काद्वारा अवलम्बन गरेको विकासको बाटोलाई सदिच्छापूर्वक समर्थन गरी ठूलो र सानो अनि भिन्न सामाजिक–राजनीतिक व्यवस्था भएका मुलुकबीच मेलमिलापयुक्त सम्बन्धको उदाहरणीय नमुना प्रस्तुत गरेका छन् ।


चीन ‘घनिष्ठ, इमानदार, सौहार्द, समावेशी’ अवधारणामा आधारित भई छिमेकी मुलुकसँग राम्रो व्यवहार गर्ने, छिमेकी मुलुकलाई सच्चा मित्र सम्झने, आपसी सम्मान, समान व्यवहारद्वारा पारस्परिक हितमा सहविजयी हुने छिमेकी कूटनीतिको कार्यान्वयन गरी नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गरेर नेपालसँगै चीन–नेपाल साझा भाग्ययुक्त समुदाय सिर्जना गर्न चाहन्छ ।


चीन र नेपाल आपसी सहयोगलाई मजबुत पारी हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणलाई अघि बढाएर व्यापारिक लगानीलाई सहज बनाई सीमापार आर्थिक सहयोग क्षेत्रको निर्माण गरी ‘बेल्ट एन्ड रोड’ सहकार्यद्वारा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुई देशका जनताका लागि अझ उज्ज्वल भविष्यको सिर्जना गर्न प्रतिबद्ध छन् ।


विश्वमा अभूतपूर्व परिवर्तन देखापरिरहेको छ । विश्वको बहुध्रुवीकरण तथा अर्थतन्त्रको विश्वव्यापीकरण गहन रूपमा हुँदैछ । समाजको सूचनाकरण तथा संस्कृतिको विविधीकरण निरन्तर बढ्दैछ । शान्तिपूर्ण विकास, सहयोग तथा दुवै पक्षको जितमा जोड दिने युग अगाडि बढिरहेका छन् । विश्वका विभिन्न मुलुकसित सहकार्य गरी दीर्घकालीन शान्ति, सुरक्षा, साझा समृद्धि, खुला तथा समावेशी र स्वच्छ तथा सुन्दर विश्व निर्माण गर्न चीन इच्छुक छ ।


चीन आपसी छलफल, सहनिर्माण तथा सहउपभोगको सैद्धान्तिक आधारमा अन्य मुलुकसँग ‘बेल्ट एन्ड रोड’ निर्माणलाई वास्तविकतामा परिणत गरी त्यसको दीर्घकालीन सञ्चालन गर्न चाहन्छ । अवसर र चुनौतीले भरिपूर्ण यस महान युगमा चीन नेपालसँग साझेदार भएर अघि बढ्न चाहन्छ ।


हजारौं वर्षसम्म नङ र मासुजस्तै रहँदै आएका यी दुई मुलुक विगत ६३ वर्षदेखि अझै घनिष्ठ र असल मित्र बनेका छन् । कूटनीतिक सम्बन्धको ६३ औं वर्ष पुगेको शुभअवसरमा हार्दिक बधाई र शुभकामना ।

यु नेपालका लागि चिनियाँ राजदूत हुन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?