कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राणाशासन ढाल्ने बन्चरो

भैरव रिसाल

काठमाडौँ — ‘म आफ्नो खुट्टामा आफैंले बन्चरो हान्दै छु,’ १९७६ चैतमा त्रिचन्द्र कलेज उद्घाटन समारोह सकिएपछि सबै समक्ष चन्द्रशमशेर जबराले भनेछन् । त्रिचन्द्र नेपाल मुलुकको पहिलो कलेज हो ।

राणाशासन ढाल्ने बन्चरो

त्यसै बेला भाइ भीमशमशेर र जुद्धशमशेर दुवैलाई औँल्याउँदै फेरि थपेछन्, ‘यस्ताले पछि कसो गरी राजकाज चलाउलान्, जंगबहादुरको समयमा जनता भेडा समान सोझा थिए भने वीरशमशेरको समयमा जनता साँढे समान भइसकेका थिए, मेरो समयमा अहिले जनता सिंहसमान भइरहेछन् । पछि हुने यस्ता नाथेहरूको समयमा जनता के–के कस्ता–कस्ता हुने हुन् र यी नाथेहरूले कसो गरी राजकाज समाल्ने हुन् ।’

मेट्रिकुलेसन जाँच पटनामा
चन्द्रशमशेरको माथिको भनाइले धेरै कुरा भने जस्तो लाग्छ । जंगबहादुर कुँवरले १९०३ असोज १ गते प्रधानमन्त्री र प्रधानसेनापति पद पाएका थिए महारानीबाट । चन्द्रशमशेरका अनुसार जंगबहादुरको समय भेडा समान सोझा रहेका जनता ५० वर्षमा साँढे समान सिँगौरी खेल्ने भइसकेछन् । त्यसको १०/१५ वर्षमै आफ्नो पालामा सिंह समान भइरहेको देखेछन् उनले । ६५/७० वर्षमै जनतामा त्यत्रो परिवर्तन भेडाबाट सिंह समान † चन्द्रशमशेरको यो मर्मस्पर्शी बिलौनाबाट पनि सिद्ध हुन्छ त्रिभुवन चन्द्र कलेज उनले स्वयं आफ्नो इच्छाबाट खोलेका थिएनन् ।

कलेजको नाम ‘त्रिभुवन चन्द्र’ रहेछ सन् १९१८ मा । ६ वर्षपछि त्रिभुवनको ‘त्रि’ मात्र राखिएछ र चन्द्रशमशेरको चन्द्र मात्र राखी ‘त्रि–चन्द्र कलेज’ नाम रह्यो । यो कलेज पटना विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हो । सुरुमा ६ विषयको पढाइ हुन लागेछ । परीक्षार्थीले सन् १९२८ सम्म म्याट्रिकुलेसन परीक्षा दिन पनि पटना जानुपर्ने रहेछ । तर १९२९ देखि परीक्षा नेपालमै हुन थालेछ । त्यतिबेला पढेलेखेका नेपाली कम थिए तसर्थ दरबार हाईस्कुलका हेडमास्टर बटुकृष्ण मैत्रलाई कलेजको प्रिन्सिपल बनाइएछ ।

अंग्रेजको बलबाट कलेज र बैंक
अंग्रेजले बीसौ शताब्दीमा स्वतन्त्र राष्ट्रको हैसियतमा उभिन केही न केही पूर्वाधार चाहियो भनी प्रत्यक्ष–परोक्ष सम्झाएर, दबाब दिएर खोल्न लगाएको रहेछ त्रिचन्द्र कलेज र नेपाल बैंक । एउटा कलेजसम्म पनि नभएको, एउटा बैंकसम्म पनि नभएको देश पनि कहीं सार्वभौम, स्वतन्त्र राष्ट्र हुन्छ र भन्ने तर्क गरी यी संस्था स्थापना भएका रहेछन् । यो कुराको रहस्य डायमण्डशमशेर राणाले मसँग रेडियो सगरमाथाको ‘उहिले बाजेको पालामा’ कार्यक्रममा २०५६ जेठ ३ मा भन्नुभएको हो ।

नोट काटेर हुलाकमा
नेपालको दौत्य सम्बन्ध अंग्रेज सत्तासँग मात्र थियो त्यति बेला । अंग्रेज शक्तिसँग व्यवहार गर्न पनि टाकनटुकन अंग्रेजी भाषामा बात मार्न पनि अंग्रेजी भाषाको पढाइ आवश्यक ठानी राणाहरूले थापाथली दरबारमा अंग्रेजी स्कुल सुरु गरेछन् । त्यही स्कुल पछि रानीपोखरी पश्चिम स्थानान्तरण हुँदा पनि नाम भने दरबार हाईस्कुल नै राखिएछ ।

अंग्रेजी भाषा नभई नहुने रहेछ भन्ने बोध गरेछन् टाठाबाठा राणाहरूले र छोराहरूलाई कलकत्तातिर अध्ययनार्थ पठाउन थालिसकेका रहेछन् । कैयौं राणाका छोरा त स्नातक मात्र हो र स्नातकोत्तरसम्म पनि गरेका सुवर्णशमशेरहरू थिए । हिमालयशमशेरले बम्बईमा पढ्दा नेपालबाट खर्च पठाउनुपर्ने । हुलाक भरपर्दो रहेनछ । तसर्थ भारतीय नोट आधा हुने गरी काट्यो र आधा पारिएका नोटहरू पठायो एकपल्ट । त्यो पाएँ भन्ने उताबाट जवाफ आएपछि अनि बाँकी आधा पठाउने । दुवै टुक्रा नोट पाएपछि हिमालयले नोट टाँसेर चलाउँथे रे ।

पहिलो ढलान घर सरस्वती सदन
मैले जानेबुझेसम्म सरस्वती सदन नेपालको पहिलो सिमेन्ट ढलान घर हो । वेदप्रसाद लोहनी इन्जिनियरिङ शास्त्र पढेर आएछन् । उनलाई ढलान घर ठड्याउन हुटहुटी लागेपछि सन् १९४५ मा सरस्वती सदन बनेको हो । त्यसअघि चितवनको कसरामा विसं १९६८ मा ब्रिटिस सम्राट जर्ज पञ्चम सिकार खेल्न आउँदा उनका निम्ति बाथरुम सिमेन्ट लगाएर बनाइएको थियो रे ।

२००७ सालको क्रान्तिपछि बनेको मन्त्रिमण्डलमा नृपजंग राणा शिक्षामन्त्री थिए । शिक्षा मन्त्रालय र शिक्षामन्त्री सरस्वती सदनबाटै काम गर्थे । त्यहाँ साहित्य, कला, संस्कृतिसम्बन्धी अनेक अनुष्ठान भइरहन्थे । त्यस्ता आयोजनाको सभापतित्व वा प्रमुख आतिथ्य इतिहासशिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, धरणीधर कोइराला, महानन्द सापकोटा, चित्तधर हृदय, हृदयचन्द्रसिंह प्रधानलगायतले गर्थे । पुण्यप्रभा ढुंगानाहरू पनि यदाकदा झुल्कन्थे । ढलान घर सबको रोजाइ हुन्थ्यो त्यतिबेला ।

सिमेन्ट संस्कारले दोहन
नेपालमा सिमेन्ट संस्कार प्रवेश गरेकै थिएन । सरस्वती सदनको प्रवेशद्वारमाथि बाछिटा छेक्न भनी ह्याङिङ पोर्टिको पनि बनाइएको थियो रे । त्रिचन्द्र कलेजका एउटा कार्यकालका प्रिन्सिपल आशुतोष गांगुली सरस्वती सदन पस्दा त्यो पोर्टिको खस्ला र टाउको फुट्ला भनी जहिले पनि दौडेर पस्थे रे ।

त्यो पोर्टिको अझै छ । हुतराम दाई (वैद्य) भन्ने गर्नुहुन्थ्यो– सिमेन्ट उत्पादन भएपछि खोला, नदीनालाको दोहोलो हुन थाल्यो । सिमेन्टका लागि बालुवा नभई नहुने । बालुवाका लागि नदीखोलाको अत्यधिक दोहन हुने । वाग्मतीजस्ता संस्कृति र सभ्यताका मुहान विनाश हुने । सिमेन्ट नआउँदासम्म खोलानदीमा यथेष्ट बालुवा हुन्थ्यो । खराब पानी पनि प्रशोधन हुन्थ्यो । वाग्मती सभ्यता जोगाउन धौधौ छ अहिले । सिमेन्ट, निर्माण र सभ्यतालाई कसरी सन्तुलनमा राख्ने ?

सरदार बाजेको बुद्धि
त्रिचन्द्र कलेजलाई सम्बन्धन दिने बेला नेपालले एउटा विषय नेपाली पनि राख्न खोज्यो । त्यसका निम्ति नेपाली भाषामा कति पुस्तक उपलब्ध छन् भनेर पटना विश्वविद्यालय यकिन हुन खोज्यो, जुन स्वाभाविक हो । त्यतिबेला सरदार रुद्रराज पाण्डेले पुस्तक धेरै देखाउने बुद्धि लगाएछन् । कुनै यता फर्काएर कुनै उता फर्काएर पुस्तक चाङका चाङ गरी मिलाएर राखेछन् । नेपाली भाषा र संस्कृत भाषाका थुप्रै ग्रन्थ रहेछन् भन्ने परेछ जाँचबुझ टोलीलाई । स्वीकृति मिल्यो ।

तर्केर हिंड्ने ज्वाइँ–ससुरा
डिल्लीबजारका विष्णुप्रसाद पन्तका छोरा यादवप्रसाद पन्त त्रिचन्द्र कलेजमा पढ्थे । त्यति बेला रुद्रराज पाण्डे कलेजका प्रिन्सिपल थिए । प्रिन्सिपललाई विद्यार्थीले गोडामा ढोग्ने रीत बसालिएको रहेछ । छोरीबुहारी कलेज पढ्ने युग थिएन । यादवप्रसाद पन्तसँग रुद्रराज पाण्डेकी छोरी रमादेवीको बिहे भयो । त्यसपछि एउटा गाँठो आइपर्‍यो– ज्वाइँले ससुरालाई खुट्टामा ढोग्नुपर्ने । नेपाली अझ बाहुन जातको संस्कारमा त ज्वाइँले ससुरालाई दण्डवत् गर्नु निषेधै छ । ढोग्ने प्रथा हटाउनु पनि सहज थिएन ।

सरदार बाजेले एउटा उपाय निकालेछन्– ज्वाइँ–ससुरा आमनेसामने नपर्ने, जम्काभेट नगर्ने । एउटाले अर्कोलाई देखेपछि परैबाट तर्केर हिंड्ने । यादवप्रसाद नेपालकै पहिलो विद्यावारिधि हुन् । महिला शिक्षाका सन्दर्भ सन् १९५० मा अंगुरबाबा जोशीले विशेष अनुरोध गरेर प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिनुभएछ । त्यो घटना अपवाद हो ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?