गर्भपतन सेवा दुरुपयोग

सुरक्षित गर्भपतनबारे धेरै भन्यौं । गर्भपतन अधिकार हो, कम प्रयोग हुनुपर्छ भन्ने ज्ञान दिएनौं ।
डा. अरूणा उप्रेती

काठमाडौँ — वि राटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।

उनीसँग शारीरिक सम्बन्ध राखेका किशोरले त्यसपछि नचिनेझैं गरे । इज्जत जाला भनेर परिवारले प्रहरीमा रिपोर्ट पनि गरेन ।

किशोर अहिले काठमाडाैंमा उच्चशिक्षा पढ्दैछन् । किशोरी मानसिक रोगको औषधि खाएर घर बसेकी छन् । उनको पढाइ छुटेको छ । ‘किशोर–किशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं, तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी सिकाउन सकेनौं,’ ती किशोरीका स्कुल शिक्षकको टिप्पणी थियो ।

Yamaha

कशोर–किशोरीले राम्रो मार्गदर्शन नपाएकाले सहजै यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गर्भपतन गराउने प्रवृत्ति बढेको छ । म बेला–बेला विभिन्न स्वास्थ्य चौकी र अस्पताल पुग्दा सुरक्षित गर्भपतन गर्न कति महिला आउँछन्, कस्ता चुनौती छन्, असुरक्षित गर्भपतन गर्ने महिला बिरामी भएर आउँछन् कि आउँदैनन् भनेर छलफल गर्छु । छलफलबाट थाहा हुन्छ– सुरक्षित गर्भपतन कानुन र सेवा भएपछि मृत्युदर कम भएको छ । अनिच्छित गर्भ वा बलात्कार वा हाडनाता करणीका कारण रहेको गर्भ पतन गर्न सजिलो भएको छ । यसले महिलाको स्वास्थ्यमा सुधार गरेको छ ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन ३२ वर्ष अगाडि हामीले आवाज उठाउँदा प्राय: कमैले मात्र माग पूरा हुने विश्वास गरेका थिए । यो विषयमा बोल्दा विभिन्न व्यक्तिले हामीलाई होच्याउँथे । ‘नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन आवाज उठाएर कतै गल्ती त गरिएको छैन’ भन्ने पनि लाग्थ्यो । तर सन् २००२ मा गरिएको गर्भपतनको
कानुनी मान्यता महिलाको स्वास्थ्य राम्रो पार्न महत्त्वपूर्ण कदम बन्न पुगेको छ ।

स्वास्थ्यकर्मी, स्वयंसेविका, सामाजिक कार्यकर्ता र स्कुलका शिक्षकसँग छलफल गर्दा सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अझ धेरै काम गर्न बाँकी भएको भान भयो । शिक्षकहरू भन्ने गर्छन्– अहिलेका किशोर–किशोरी स्कुलमै प्रेम गर्न थाल्छन् र शारीरिक सम्पर्क राखिहाल्छन् । किशोरी गर्भवती भएपछि किशोर भागिहाल्छ । शारीरिक र मानसिक पीडाचाहिँ किशोरीले भोग्नुपर्छ ।

इलाममा ९ कक्षाकी १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँंग यौनसम्पर्क भएपछि गर्भ रहेछ । दुबैजना झापाको निजी औषधि पसलमा पुगेर गर्भपतन गराउन खोजेछन् । अति रक्तस्राव भएर किशोरीलाई अस्पताल लानुपरेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछ । घरका मानिस अस्पताल नपुग्दै किशोर भारततिर भागेछ । किशोरीको ज्यानचाहिँ बच्यो । परिवारले बेइज्जत हुने डरले कसैलाई भनेन । निको भएर घर गएपछि परिवारले ती किशोरीको विवाह गराइदिएछ ।

कहिलेकाहीं सामाजिक दबाबले किशोरलाई पनि समस्या पर्ने रहेछ । एक दलित किशोर र बाहुन किशोरीको शारीरिक सम्पर्क भएपछि गर्भ बसेछ । यो थाहा पाएपछि केटीका आमाबुबाले दलित केटालाई मरणासन्न हुनेगरी पिटेछन् । परिवारलाई नै गाउँबाट निस्किन उर्दी लाएछन् । दलित परिवार बसाइँ हिँड्नुपर्‍यो । छोरीलाई चाहिँ भारतमा लगेर गर्भपतन गराएछन् ।

विभिन्न स्वास्थ्यकर्मीसँग छलफल गर्दा बारम्बार सुन्छु, ‘गर्भपतन सुरक्षित छ भन्दैमा जथाभावी, धेरैचोटी गर्भपतन गराउनु हुँदैन भन्ने ज्ञान किशोरीलाई दिन जरुरी छ ।’
सुरक्षित गर्भपतन सेवा उपलब्ध हुनुको अर्थ जहिले पनि, जति बेला पनि वा जतिचोटी पनि गर्भपतन गराउन सुरक्षित हुन्छ भन्ने गलत धारणा समाजमा फैलिरहेको देखिन्छ । हामी जस्ता स्वास्थ्य अधिकारकर्मीले आफ्नो दायित्व राम्ररी निर्वाह गर्न नसकेर पनि यस्ता धारणा निर्मूल नभएको हुनसक्छ । हामीले सुरक्षित गर्भपतन भनेर धेरै कुरा भन्यौं, तर गर्भपतन अधिकार हो, कम प्रयोग हुनुपर्छ भन्ने ज्ञान दिएनौं ।

किशोरीहरूलाई ‘आफ्नो शरीरमाथिको अधिकार’बारे बुझायौं, तर त्यो अधिकारसँंगै शरीरसंँगको कर्तव्य पनि जोडिएको छ भन्न बिर्सियौं । यौन सम्बन्ध राख्दा युवक वा किशोरले जतिसुकै वाचा गरे पनि गर्भ रहेपछि वास्ता गर्दैन । म बारम्बार किशोरी र युवतीलाई भन्ने गर्छु, ‘प्रेम गर्छु भनेर यौन सम्पर्क राख्न खोज्नेसंँग किशोरीहरू जोगिनुपर्छ । तिमीहरूलाई मानसिक र शारीरिक रोगी बनाएर उनीहरू भाग्छन् । आफ्नो शरीरको रक्षा आफै गर्नुपर्छ ।’

कति जनालाई ‘इमर्जेन्सी पिल्स’ छ, जति खाए पनि हुन्छ भन्ने लाग्दो रहेछ । आकस्मिक गर्भनिरोधक चक्की बढी प्रयोग गरे अत्यधिक रक्तस्राव हुने सम्भावना हुन्छ ।

अनुसन्धानकर्ताका अनुसार कलेजोमा संक्रमण हुने, महिलामा बाँझोपन आउने, प्रतिरोधात्मक छातीको क्यान्सर हुने जोखिम ३ गुणा बढ्छ । आकस्मिक गर्भनिरोधक चक्कीको दुरुपयोगले पार्ने असर औषधिको खोलमा लेखेर राख्ने व्यवस्था मिलाउनुपर्छ । दुरुपयोग रोक्न सरकारी तवरबाट केही काम भएको पाइँदैन । यसका फाइदाबारे मात्र प्रचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले त गैरजिम्मेवार तरिकाले रोमान्टिक विज्ञापन बनाएर यौन सम्बन्ध भयो भने ‘इमर्जेन्सी पिल्स’ खाए भइहाल्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । पिल्सले के खतरा निम्त्याउँछ, किशोरीलाई कहिल्यै भनिँदैन । प्रत्येक किशोरी सतर्क हुनुपर्छ । यस्ता विज्ञापनमा विश्वास गर्नु हुँदैन । एक दिनको आवेगले जीवन बर्बाद हुन दिने कि नदिने, आफ्नै हातमा छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २१, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मर्माहत छन् शाक्य

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाक्य राखेपमा जागिरे भएका कारण प्रशिक्षक पदमा नरहेको भने पनि शाक्यले दुई वर्षअगाडि नै राखेपको प्रशिक्षक पदबाट अवकाश पाइसकेका छन् 
सुबास हुमागाईं

काठमाडौँ — ‘अहिले आएर बेकार फुटबल खेलेछु जस्तो लागिरहेको छ । बरु बुवाको व्यापार सम्हालेको भए, अहिले गाडी चढेर हिँड्थें होला । देशका लागि गरेको यत्रो योगदान बेकार भए जस्तो लागेको छ,’ राजुकाजी शाक्यले भने । उनलाई अवकाश जीवनमा आएर पछुतो लागेको हो ।

एक मनले उनलाई फुटबलमा लागेकामा पछुतो छ । पूरा जीवन खर्चेको यस खेलप्रति उनको लगाव अझै पनि बाल्यकालमा छँदा स्कुल छाडेर खेल्ने केटो जत्तिकै छ । त्यही पनि उनी फुटबल छाडेर कहीं जान सक्दैनन् । किनभने उनको रगतमै फुटबल बग्छ ।

भावुक हुँदै शाक्य आफूलाई सम्हाल्ने प्रयास गर्दै फुटबलमै समर्पित हुने दृढता राख्दै भन्छन्, ‘मेरो मन मरेको भए पनि अझै हिम्मत छ । मैले एन्फामा नभए पनि व्यक्तिगत रूपमा देशलाई योगदान दिन एकेडेमी खोल्ने योजना बनाएको छु । नेपाली फुटबल बाहिर जाने केही सोच नभएकाले यहीँ केही गर्नुपर्छ भन्नेछ ।’

राष्ट्रिय फुटबल टोलीमा १७ वर्ष सक्रिय खेलाडी । खेलजीवनपछि २१ वर्ष अनवरत प्रशिक्षकको भूमिका । नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका हरेक सफलतामा महत्त्वपूर्ण भूमिका । शाक्यलाई नेपाली फुटबलका सबैभन्दा सफल व्यक्तित्व हुन् भन्दा सायदै कसैले प्रश्न उठाउला ।

खेलाडी छँदा मैदानभित्र होस् या खेलजीवन सकेपछि प्रशिक्षकका रूपमा मैदानबाहिर, शाक्य नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका सबै सफलताका सारथि रहँदै आएका छन् । समग्र नेपाली खेलकुदकै लागि उदाहरण बनेका शाक्यले आफ्नो पूरै जीवन फुटबलमा व्यतीत गरे । तर उनै शाक्य वर्तमान स्थितिमा असामञ्जसमा छन् । उनी आफूलाई अन्याय परेको भनेर मर्माहत छन् ।


पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा निकै सफलता हात पारेको नेपाली फुटबल टोलीका प्रशिक्षक रहेका शाक्य अहिले च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भेटिन्छन् । सन् २०१८ मा हुने एसियाड तथा दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) का लागि गत पुसमा उनलाई एक वर्षको करार दिइएको थियो । राष्ट्रिय टोली हाल दुई मुख्य प्रतियोगिताको तयारीमा व्यस्त रहँदा शाक्य भने पछिल्लो चार महिनादेखि टोलीसँग छैनन् । उनी नेपाली फुटबलसँग बेखबर जस्तै छन् ।

गत वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्वको आगमनसँगै शाक्यले राष्ट्रिय टोलीको जिम्मेवारी बहन गर्न पाएनन् । एन्फाले उनलाई कुनै खबर नगरी बालगोपाल महर्जनलाई उनको स्थानमा जिम्मेवारी सुम्पियो । लेखा शाखाले तलब उपलब्ध नगराएपछि उनले आफू प्रशिक्षकबाट थाहै नपाई हटाइएको जानकारी पाए । उनलाई एन्फाले अझैसम्म पनि औपचारिक रूपमा केही खबर गरेको छैन ।

एन्फामा यसअघि करारमा प्रशिक्षक नियुक्त गर्ने प्रचलन थिएन । त्यसअघि राखेपअन्तर्गतका प्रशिक्षक काजमा खटाएर भत्ता दिने चलन थियो । एन्फाले करारमा प्रशिक्षक राख्ने निर्णय गरेपछि शाक्यले पुसमा सम्झौता गरे । उनले सम्झौताअनुसार तीन महिनाको तलब पनि लिइसकेका थिए । नयाँ नेतृत्व आएपछि उनले तलब पनि पाएनन् र आफ्नो स्थानमा अर्कै व्यक्ति नियुक्त भएको खबर पाए । प्रत्येक शनिबार एन्फामा हुने साप्ताहिक प्रशिक्षणमा त्यसपछि केही समय गए पनि त्यहाँको वातावरणले उनले त्यहाँ रहेर काम गर्ने सम्भावना देखेनन् । फुटबलको विकासमा अनवरत लागेका उनलाई एन्फाले अन्याय गरेको उनको बुझाइ छ ।

नेपालले अन्तर्राष्ट्रियस्तरमा तीनपटक दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक तथा सन् २०१६ मा एएफसी सोलिडारिटी कप उपाधि जित्नु नै औपचारिक सफलता हुन् । सन् १९८४ को पहिलो सागमा खेलाडीका रूपमा स्वर्ण जितेका शाक्य सन् १९९३ को स्वर्ण जित्दा टोलीका कप्तान नै थिए । त्यसपछि सन् २०१६ मा सागको स्वर्ण र सोलिडारिटी उपाधिमा उनले प्रशिक्षकको भूमिका निभाए । पछिल्लो तीन वर्ष राष्ट्रिय टोलीसँगै रहेका शाक्यले साफ च्याम्पियनसिप जिताउने ठूलो धोको राखेका थिए ।

‘साफ च्याम्पियनसिपकै लागि भनेर मैले एन्फासँग १ वर्षको करार सम्झौता गरेको थिएँ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले पनि साफ च्याम्पियनसिपकै लागि आफ्नो करार लम्ब्याएका थिए । हामीले पछिल्लो दुई वर्ष यसैको तयारीका लागि दीर्घकालीन योजना लिएर अगाडि बढेका थियौं । मेरो एकमात्र लक्ष्य साफ च्याम्पियनसिप जित्नु थियो, तर अब त्यो सम्भव भएन,’ शाक्यले भने ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाक्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि जागिरे भएको र नयाँ नेतृत्वको टोलीमा नपरेका कारण प्रशिक्षक पदमा नरहेका हुन् । ‘उहाँ राखेपको कर्मचारी हुनुहुन्छ । नेपालको कानुनअनुसार एकैजनाले दुई ठाउँको जागिर खान मिल्दैन,’ उनले थपे, ‘हामी नयाँ टिम आएका छौं र हाम्रो छुट्टै उद्देश्य छ । त्यसका लागि हामीले कोही व्यक्ति राख्नैपर्छ भन्ने जरुरी छैन । हाम्रो टोली बलियो बनाउन नतिजा देखाउने व्यक्ति हामीले राख्ने हो ।’

वास्तविकतामा भने शाक्यले दुई वर्षअगाडि नै राखेपको प्रशिक्षक पदबाट अवकाश पाइसकेका छन् । उनले २०७३ असार ४ गते सेवा छाडेका हुन् । उनकै स्थानमा हाल राष्ट्रिय टोलीमा रहेका प्रशिक्षक बालगोपाल महर्जन भने राखेपमा मासिक ज्यालादारीमा आबद्ध छन् । उनले राखेपबाट प्रतिमहिना २३ हजर ५ सय रुपैयाँ बुझ्छन् । २०७३ सालदेखि उनी राखेपसँग आबद्ध छन् । त्यसअघि पनि राखेपमा रहेका उनले २०७२ असोजमा सेवा छाडेका थिए । महर्जनसँगै एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह विगत एक दशकयता राखेपको प्रशिक्षकका रूपमा कार्यरत छन् । २०६३ सालदेखि मासिक ज्यालादारीमा रहेका सिंह २०६८ यता भने करारमा छन् ।

शाक्यका अनुसार चुनाव हुनुअघि नै नयाँ नेतृत्व आएको खण्डमा उनलाई हटाउने हल्ला चलेको थियो । ‘चुनाव हुनुअघि नै नयाँ नेतृत्व आएको खण्डमा मेरो स्थान नरहने केही साथीले सुनाएका थिए । त्यो बेला पत्यार नलागेको भए पनि अहिले थाहा पाएँ । मलाई औपचारिक जानकारी प्राप्त भएको छैन तर एन्फाका केही व्यक्तिले म सेवामा नरहेको बताएका छन्,’ उनले भने ।

साफको तयारी एक ढंगले बढिरहेको अवस्थामा एन्फाको यो परिवर्तनले टोलीको तयारीमा पनि केही असर पर्ने शाक्यको बुझाइ छ । ‘फुटबल टिम गेम हो । मैदान बाहिर बल ब्वाई, व्यवस्थापक सबैको आ–आफ्नो भूमिका हुन्छ । प्रशिक्षक कोजी र मैले दुई वर्षदेखि खेलाडीसँग रहेर योजना बनाएका थियौं । टोलीमा एक–अर्काबीचको समन्वय निकै राम्रो भइसकेको अवस्था थियो । अब नयाँ परिवर्तनसँगै केही असर पक्कै पर्छ,’ शाक्यले भने ।

नयाँ नेतृत्वले बेवास्ता गर्दै सेवाबाट निकालेर अर्को प्रशिक्षक ल्याएकामा शाक्य दु:खी छन् । ‘उहाँहरू परिवर्तन गर्न आउनुभएको हो । मलाई बोलाएर यसबारे छलफल गरेर औपचारिक रूपमा जानकारी दिएको भए म खुसीसाथ छाड्ने थिएँ । म निकै सहज प्रकृतिको मान्छे हुँ । तर कुनै जानकारी नदिई यसरी बेवास्ता गर्दा संघदेखि दुखित छु,’ उनले भने ।

हाल शाक्य केही सहकर्मीसँग मिलेर च्यासलमा खोलेको नेसनल स्पोर्ट्स सेन्टरमा व्यस्त रहन्छन् । केही वर्षअघि उनले आफ्नै एकेडेमी सञ्चालन गरे पनि राखेपको प्रशिक्षक पद छाडेपछि राष्ट्रिय टोलीमा सम्मिलित हुँदा एकेडेमी थाती राख्दै एन्फामा सक्रिय रहे । तर अब उनी व्यक्तिगत तवरबाट नै बृहत् योजना बुन्नमा व्यस्त छन् । ‘मैले पहिलेदेखि नै एकेडेमी खोल्ने सपना देखेको थिएँ । अब स्वदेश तथा विदेशमा रहेका स्रोतबाट नयाँ योजना बुन्ने तयारीमा छु । ग्रास रुटदेखि फुटबल विकासका लागि छिट्टै एकेडेमी सञ्चालन गर्ने योजना छ,’ शाक्यले आफ्नो योजना सुनाए ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT