थिति बसाल्ने बेला

डा. सूर्यप्रसाद सुवेदी

काठमाडौँ — उच्च शिक्षा र न्यायिक क्षेत्रमा हालै देखिएको विसंगतिबाट पाठ सिक्दै नेपालले सुशासनका लागि बृहत फड्को मार्न जरुरी छ । लोकतन्त्रको आत्मा स्वच्छ प्रतिस्पर्धा र गुणात्मक प्रणालीलाई मानिन्छ । तर नेपालको प्रशासकीय प्रणालीले बहुदल स्थापना भएयता यी दुवैलाई गौण राखी प्रशासकीय संयन्त्रलाई राजनीतीकरण गरेको छ ।

त्यसैले यस्ता विकृति र विसंगति देखिएका हुन् । तसर्थ प्रशासकीय संरचनामा कोर्स करेक्सन गर्दै सरकारले स्वच्छ प्रतिस्पर्धात्मक एवं गुणात्मक प्रणाली पुनर्बहाली गर्नुपर्ने भएको छ ।

नेपालको उच्चशिक्षा र न्यायिक क्षेत्रको नेतृत्वमा हालैका वर्षमा जस्ता व्यक्ति पुगे, त्यस्तो संसारमा विरलै हुन्छ । यो व्यक्तिको मात्र खराबी होइन । प्रणालीको खराबी हो । बहुदलीय व्यवस्था स्थापना हुने बित्तिकै भ्रष्ट र असक्षमको झुन्डले राजनीतिक नेतृत्वलाई भ्रष्टाचारको बाटो देखाइसकेको थियो । प्रशासनिक संयन्त्रको राजनीतीकरण त्यसैबेला सुरु भयो । त्यसैको निरन्तरता कायम छ । उच्च शिक्षा क्षेत्र र न्यायपालिकाको लज्जास्पद रूपमा साख गिरेको छ । यो मुलुकको दीर्घकालीन हितमा छैन । न्यायपालिकाप्रति जनआस्थामा तीव्र ह्रास आएको छ । उच्च शिक्षा क्षेत्रको अस्तव्यस्तताले अभिभावकको लगानी खेर गएको छ । नयाँं पुस्ताले स्तरीय शिक्षा पाएको छैन । यो मुलुकका लागि दूरगामी हिसाबले घातक हो ।

दलको खोल ओढेर भ्रष्ट र असक्षम उच्च पदमा पुगेका छन् । तिनीहरूले नै बलियो संरक्षण पाएका छन् । नेपालले बेलायत र अमेरिकाजस्ता उन्नत देशबाट उच्चशिक्षा र न्यायपालिकाबारे सिक्ने कुरा धेरै छन् । नेपालको आफ्नै परिवेश अनुसार त्यस्ता कुरा लागू गर्न सकिन्छ । न्यायपालिका होस् वा उच्चशिक्षा क्षेत्र, त्यसको नेतृत्व तहमा काम गर्ने योग्यता र क्षमता भएको अब्बल दर्जाको जनशक्ति देशभित्र र बाहिर छ । तर त्यो जनशक्तिलाई पाखा लगाइएको छ । सुशासनको जग दरो भए कांग्रेस वा कम्युनिष्ट जसको सरकार बने पनि भोलि सेवा प्रवाह गर्न सजिलो हुन्छ । संसद्मा दुई तिहाइ बहुमत भएको अहिलेको सरकारलाई प्रशासकीय संरचनामा ठूलो फड्को मार्ने मौका छ । प्रतिपक्षीले पनि यसमा रचनात्मक सहयोग गर्नुपर्छ । सकारात्मक परिवर्तनका लागि सहयात्री बन्नुमै प्रतिपक्षको हित छ ।

संसद्मा ५ वर्षका लागि दुई तिहाइ भएको सरकारले अलमलिएर र झिनामसिना काममा अल्झिएर समय खर्चिरहेको छ । ठूलो परिवर्तनको सम्बाहक बन्न सरकारलाई समय धेरै छैन । त्यसैले प्रशासकीय प्रणालीमा आमूल परिवर्तन ल्याउनेतिर ध्यान केन्द्रित गर्नु र दुई तिहाइ बहुमत सदुपयोग गर्दै लोकतन्त्रका मूलभूत मान्यतालाई व्यवहारमा आत्मसात गर्नु सरकारको चुनौती हो । संविधानसभाबाटै संविधान बनाउँंदा कोर्स करेक्सनको मौका थियो । तर कांग्रेसको पंगुवाद, एमालेको संकीर्ण राष्ट्रवाद र माओवादीको ढुलमुल र मौकापरस्त प्रवृत्तिका कारण मौका चुक्यो ।

चीन र भारत लगायत धेरै देशले विदेशिएको अब्बल जनशक्तिलाई स्वदेशमा आकर्षण गर्ने योजना ल्याए र विकास गरे । नेपालले भने उल्टो यात्रा गर्‍यो र त्यो यात्रा जारी छ । जस्तो– संकीर्ण राष्ट्रवादकै कारण नयांँ संविधानले गैरआवासीय नेपालीको नागरिकताको निरन्तरतालाई आत्मसात गरेन । गैरआवासीय नेपाली संघको नेतृत्व कमजोर व्यक्तिहरूको हातमा पुगेकाले वैचारिक प्रतिरोध हुन सकेन । राजनीतिक अधिकार बिनाको नागरिकताको व्यवस्था हुनपुगेको छ । समष्टिमा, संविधानले अब्बल दर्जाको प्रवासी नेपालीलाई स्वदेशमा आकर्षण गर्नुभन्दा निषेधको नीति अपनाएको छ ।

सबै क्षेत्रमा खुला नीति अपनाउनसके, भागबन्डाको राजनीति दुरुत्साहित गरे र स्वच्छ प्रतिस्पर्धात्मक र गुणात्मक पद्धति आत्मसात गरे कांग्रेस वा कम्युनिष्ट जसको सरकार बने पनि राष्ट्र निर्माण, नेपालको पुनरुत्थान र नेपालीको पुनर्जागरणका लागि सघाउन स्वदेशी र विदेशिएको अब्बल जनशक्ति तयार हुनेछ ।

सुवेदी बेलायतस्थित अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तथा क्युसी हुन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २२, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यका लागि व्रत

रामदेवी महर्जन

काठमाडौँ — एउटी महिला बिहानै ललितपुर सातदोबाटोस्थित निरोगधाम आइन् र आफ्नो तौल जोखिन् । ओजन नघटेको देखेर आत्तिँदै उनले भनिन्, ‘हेर्नुस् न म्याम, म त सोमबार पनि फास्टिङ गर्दैछु, तर पनि तौल घटेन ।’

उनी तनावमा देखेर पहिला कुर्सीमा बसाएँ । र विस्तारै सोधेंँ, ‘फास्टिङमा तपाई के खानुहुन्छ ?’ ‘केही खाँदिन, बेलुकी रोटी र दूध खान्छु,’ उनले भनिन् । हाम्रो समाजमा धेरै महिलाको समस्या यही हो । दिनभर केही नखाई बेलुकी एकैचोटी चिल्लो मिठाइ, सेल, हलुवा, दूध, दही खाने चलन छ । कतिपय त दिनभर पानीसमेत नखाई बस्छन् । यसले स्वास्थ्यमा समस्या ल्याउँछ । खाली पेटमा चिल्लो परिकार, दूध, दही र मिठाइ खाँदा ग्यास बढ्ने, वाकवाकी–रिंगटा लाग्ने, टाउको दुख्ने र बेहोश हुनेसम्म हुन्छ । पछि ग्यास्ट्राइटिस लगायत जीर्णरोग लाग्छ ।

हिन्दु समाजमा साउनका सोमबार व्रत बस्ने चलन छ । अरू बेला तीज, पूर्णिमा, एकादशी या अन्य व्रत त छँदैछन् । साउने सोमबारका दिनचाहिँ दिदी–बहिनीहरू हरिया, राता र पहँेंला पहिरनमा सजिएर व्रत बस्छन् । व्रत बस्ने चलन प्राचीन कालदेखिकै हो ।जुनसुकै उद्देश्यले बसे पनि व्रतबाट स्वास्थ्यलाभ हुन्छ । सामान्यत: दिनभर केही नखाई बस्नुलाई व्रत भनिन्छ । केही नखाई बस्नुमात्र व्रत होइन, शरीर र मनको शुद्धीकरण गर्नु पनि व्रत हो । त्यसैले महिलाले मात्र होइन, हरेक व्यक्तिले हप्तामा एकदिन व्रत बस्नुपर्छ । यसो गर्दा हाम्रो पाचनमार्गमा जमेका फोहोर सफा हुन्छ, शरीर शुद्धीकरण हुन्छ ।

के खाने
हामीले खाएको खानाले नै हाम्रो शरीर बन्छ । हामी जे खान्छौं, त्यही अनुरूप स्वास्थ्य र विचार बन्छ । तर व्रत बस्दा होस् वा अरू बेला कसरी खाने, के खाने र कतिपटक खाने भन्नेमा धैरैजना अल्मलिन्छन् । स्वस्थ रहन के, कति र कसरी खानुपर्छ भन्नेबारे डा. उमेश श्रेष्ठको एउटा सूत्र छ– ‘तीन बराबर आहार’ । प्रकृतिकै काखमा पाकेका चामल, गहुँ, मकै, फापर, कोदोजस्ता अप्रशोधित अन्नहरू पकाइएको एक भाग, पकाइएका हरिया सागसब्जी एक भाग र काँचो सलाद फलफूल एक भागको बरोबर मिश्रण हो यो । यी तीन चिज बराबर मात्रामा खाएमा कब्जियत हुँदैन र सदा स्वस्थ रहन सकिन्छ । यस्तो आहाराले शरीरमा फोहोर जम्न दिँदैन । यस्तो आहार खाँदा तौल बढी हुनेहरूको सातामा एक किलो सजिलै घट्छ । कव्जियत पनि खुल्छ । कुनै जटिल समस्या भएकाले विज्ञसँग परामर्श लिएर मात्र आहार मिलाउनुपर्छ ।

यस्तो आहार जतिबेला र जसरी पनि खान सकिन्छ । व्रत बसेको साँझ पनि । यो आहारका धेरै परिकार बनाउन मिल्छ । जस्तै– आँटाको रोटीसँंग हरियो तरकारी दुई कचौरा र फलफूल लिन सकिन्छ । घरमै चिल्लोरहित सुजीको हलुवा, गाँजरको हलुवा बनाउन सकिन्छ । मकै, गहँुको च्याँख्लाको भातसंँग हरियो तरकारी र सलाद खान सकिन्छ । नुन इच्छा अनुसार राख्नुपर्छ । सामान्यत: नुन प्राकृतिक रूपमै हरिया सागसब्जीमा पाइन्छ । हरिया सागसब्जी उसिनेर खान सकिन्छ । त्यसैले नुन कममात्र लिन सकिन्छ, व्रत बस्दा एकदिन त नखानु नै बेस हुन्छ । यसरी खाँदा पेट सफा हुन्छ र व्रत बस्नुको पूर्णलाभ हुन्छ ।

व्रतमा केही कुरामा भने ध्यान दिनुपर्छ । सामान्य अवस्थामा हप्ताको एकदिन व्रत बस्दा स्वास्थ्यलाभ हुन्छ । तर गर्भवतीले पूर्ण उपवास (निराहार) बस्नु हुँदैन । दैनिक औषधि खाएकाले र जीर्ण रोग लागेकाले विज्ञसँग सल्लाह लिएर मात्र उपवास बस्नुपर्छ । व्रत बसेको साँझ एकैचोटी धेरै खानु हुँदैन । चिल्लो, पिरो, अमिलो, तारे–भुटेका खानु हुँदैन । हरेक घन्टाको फरकमा एक–एक गिलास पानी पिउनुपर्छ । उक्त दिन धपेडी हुने काम गर्नु हुँदैन ।

कतिपटक खाने
चलिआएको व्रत सामान्यत: १ दिन बसेको पाइन्छ । यसलाई ४ प्रकारले लिन सकिन्छ । पहिलो, केही आहार नखाई १–१ घन्टामा एक गिलास पानीमात्र पिएर बस्न सकिन्छ, जसलाई निराहार व्रत भनिन्छ । यसले शरीरलाई पूर्णरूपमा सफा गर्छ । दोस्रो, फल या यसको रसमात्र पिएर बस्नुलाई फलाहार भनिन्छ । फलफूलको जुसमात्र खाँदा २ या ३ घन्टा बीचमा १ गिलास फलको रस लिने र बीच–बीचमा एक गिलास पानी पिउने गर्नुपर्छ । यो हाम्रो शरीर सफाइको प्रभावकारी विधि हो । फलचाहिँ दिनको तीन–चारपटक तीनदेखि चार घन्टा फरकमा खान सकिन्छ । बीचमा एक–एक घन्टा फरकमा एक–एक गिलास पानी पिउनुपर्छ । फल खाँदा एकै प्रकारको खानु उपयुक्त हुन्छ । जस्तै– स्याउ, मौसम । यसले शरीरलाई लाभ गर्छ र मोटोपन घट्छ । तेस्रो, अहिले प्रचलित व्रत एकछाके हो । दिनमा एकपटक मात्र खाएर अरू बेलामा प्रतिघन्टा पानी पिउने ।

पानीको उचित प्रयोग
उपवासका क्रममा शरीरलाई पानी आवश्यक हुन्छ । पानीको कमी भएमा टाउको दुख्ने, रिंगटा लाग्ने, कब्जियत हुने गर्छ । अरू बेलामा पनि पानी नियमित खानुपर्छ । पानीको उचित प्रयोगले धेरै प्रकारका स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ ।

हरेक वयस्क व्यक्तिले बिहान उठ्ने बित्तिकै करिब एक लिटर र बालबालिकाले उमेर अनुसार एकदेखि दुई गिलास पानी पिउनुपर्छ । कुनै पनि ठोस आहारसंँग पानी लिनु हुँदैन । ठोस आहार र पानीको अन्तर करिब १ घन्टा हुनुपर्छ । यसो भएमा पाचन प्रणालीले राम्रोसँग काम गर्न पाउँछ । दिउँसो प्रतिघन्टा एक–एक गिलासका दरले साँझ ६ बजेसम्म पानी पिउनुपर्छ । र बेलुकी सुत्ने बेला एक गिलास मनतातो पानी पिउनुपर्छ ।

खाना र पानीको उचित प्रयोगसँंगै स्वस्थ रहन विहार र विचार पनि उचित हुनुपर्छ । विहार अन्तर्गत शरीर हल्लाएर गर्ने सबै गतिविधि पर्छन् । हिँड्दा, बस्दा, उभिँदा र सुत्दा सदा ढाड खुकुलो र सिधा हुनुपर्छ । टाउको सधैं सिधा हुनुपर्छ । सुत्ने, उठ्ने, व्यायाम गर्ने, खाने समय पनि मिल्नुपर्छ । विचार पनि सदा उचित हुनुपर्छ । विचार नमिलेमा शरीर र मनमा समस्या हुन्छ । स्वास्थ्य र धर्म दुबै हिसाबले लाभ मिल्छ, यसमा ।

साउनको व्रत
साउनमा दिदी–बहिनीहरू परिवारको सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन् । यसरी एकदिन उपवास बस्दैमा परिवार स्वस्थ बन्दैन । साउनमा हरियो लुगामा सजिनुभन्दा दैनिक खानामा हरिया सागसव्जी र फलफूललाई स्थानमा दिएमा सधैं स्वस्थ भइन्छ । सागसव्जी र फलफूलमा प्रशस्त मात्रामा छोक्राबोक्रा हुन्छ, जसले पेट सफा गर्न सघाउँछ । व्रतमा होस् या उपवासमा, अप्राकृतिक खाद्यवस्तु खाएर अस्वस्थ हुनुभन्दा प्राकृतिक खाना खाएर स्वस्थ बनौं । स्वस्थ खाना खाएर सधैं निरोगी रहने कि मनपरी खाएर रोगी भई एकदिन व्रत बसेर स्वास्थ्यको कामना गर्ने ? छनोट तपाईंकै हातमा छ ।

महर्जन प्रकृतिप्रेमी समूहकी सदस्य हुन्।

प्रकाशित : श्रावण २२, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT