कसरी हुर्किएली मेरी छोरी ?

२१ औं शताब्दीको बीच पछिका दशकमा मेरी छोरी वयस्क भइसकेकी हुन्छे । उसले विश्व स्तरका अनेक प्रकोप भोग्नुपर्ने हुन्छ ।
राेय स्कार्न्टाेन

काठमाडौँ — मेरी छोरी जन्मिँदा म दुईपटक रोएँ । सुरुमा खुसीले– २७ घन्टाको पीडादायी व्यथापछि हामीले बनाएको सानो प्रकृतिको पहिलो रुवाइ सुनेर मेरा आँखा रसाए । पछि दु:खले– यस पृथ्वीको नयाँ प्राणीलाई च्यापेर अस्पतालको झ्याल बाहिर हेर्दा पार्किङ लटमा राखिएका कारहरू, सडक पारिको मल, अल्कत्रे सडक, ढल र नाली, फोहोर फाल्ने ठाउँ जहाँ कुनै बेला कटुसको घारी हुन्थ्यो, त्यो देखेर दोस्रोपटक रोएँ ।

तस्बिर स्रोत : ड्यामन विन्टर/द न्यूयोर्क टाइम्स

विलुप्त हुनलागेको, प्रकोपले घेरिएको विश्व ! त्यो विश्व जसको प्रकृतिसँगको मधुर सम्बन्ध धेरै अघि नै टुटिसकेको छ । मेरी जीवनसाथी र मैले आफ्नो स्वार्थपूर्तिका लागि हाम्री छोरीको भाग्यमा दु:ख र पीडाले भरिपूर्ण यो ग्रहको बास लेखिदियौं । यो पीडाबाट उसलाई जोगाउने कुनै उपाय मैले देखिरहेको छैन ।

जलवायु परिवर्तनलाई नजिकबाट नियालिरहेकाहरूलाई थाहा होला– भविष्य कति कठोर हुनेछ । यो युगका मानिसहरूले भोगिरहेको चुनौती मानव इतिहासकै ठूलो हो भन्दा अतियुक्ति हुँदैन । र अहिलेको राजनीतिक अवस्थालाई नियाल्नेहरूलाई थाहै होला, यो अवस्थामा सुधार आउने कुनै छाँट छैन । झनै बिग्रने अवस्था छ, बरु ।

Yamaha

जलवायू परिवर्तनलाई रोक्न अबको ५ देखि १० वर्षभित्र कार्बन ग्यास उत्सर्जन पूर्णरूपमा बन्द गर्न हामीले हाम्रो सम्पूर्ण आर्थिक र सामाजिक उत्पादनमा पुनर्विचार गर्नुपर्छ । अहिलेको अवस्थामा यो धेरै आर्थिक भार पर्ने भएकोले अकल्पनीय काम हो । यसो गर्न विश्व स्तरमै आर्थिक क्षेत्रलाई नियन्त्रण गर्न केन्द्रीकृत व्यवस्था चाहिन्छ । कार्बन उत्सर्जन कम गर्नकै लागि राज्यले यसमा ठूलो लगानी गर्नुपर्छ ।

यो यति ठूलो हुन्छ कि विश्वले अहिलेसम्म यस प्रकारको लगानी नै देखेको छैन । तर अहिलेकै अवस्थामा दोस्रो विश्वयुद्धपछि अमेरिकाको नेतृत्वमा राजनीतिक र अर्थिक गतिविधिलाई अगाडि बढाइरहेका पुँजीवादी देशहरूको समूहमै फाटो आउन थालेको छ । त्यसैले पनि एक विश्व नीतिमा एकताबद्ध भएर अगाडि बढ्ने कुरा आफैंमा अकल्पनीय हुन्छ ।

कदाचित विश्वका शीर्षस्थ नेताहरू मिलेर कार्य गर्न तयार भए पनि अहिलेसम्म वायुमण्डलमा उत्सर्जन भइसकेको कार्बन डाई–अक्साइडले पृथ्वीलाई तताउन छोड्ने छैन । कार्बन डाई–अक्साइडको मात्रा वायुमण्डलमा बढ्न र त्यसको प्रभाव पृथ्वीमा देखिन केही समय लाग्छ । त्यो भनेको बिउ रोप्ने र बाली काट्ने बीचको समय भिन्नताजस्तै हो । हामी त्यही बीचको समयमा बाँचिरहेका छौं । मेरी छोरी पनि यसैमा जन्मिएकी हो ।

कुनै चमत्कार नहुने हो भने अबको २० वर्ष विश्वले अराजकता पूर्ण जलवायु परिवर्तनका शृङखला, नसोचिएको जैविक परिवर्तन र क्रूर बन्दै गइरहेको राजनीतिक र आर्थिक क्रियाकलाप र युद्ध भोग्नेछ । त्यसपछिको अवस्था झनै भयावह हुनेछ । २१ औं शताब्दीको बीचपछिका दशकमा मेरी छोरी वयस्क भइसकेकी हुन्छे । उसले अवश्य नै विश्व स्तरका ती प्रकोप भोग्नैपर्ने हुन्छ ।

त्यसैले केही व्यक्तिहरू यो पृथ्वीमा अब बच्चा जन्माउनु नै गलत हो पनि भन्छन् । म्यागी एस्टोरले लेखेझैं अहिले केही मानिस जलवायु परिवर्तनकै कारण बच्चा जन्माउन चाहँदैनन् । यो निकै चिन्तन गर्नुपर्ने विषय हो । जानेर वा नजानेर अमेरिकामा निकै कम भइरहेको जन्मदरमा यसको पनि योगदान छ ।

केही मानिस अहिले आफूले भोगिरहेको भन्दा पनि दयनीय अवस्था आफ्नो सन्ततिले भोग्नु पर्नेछ भन्ने विषय सोच्नै चाहँदैनन् । अरू भने कार्बनले भरिपूर्ण उपभोक्तामुखी समाजमा बस्छन् र आफ्नो नैतिकतासँग आफैं भिडेर बच्चा जन्माउनु भनेको स्वार्थी हुनु र वातावरण विनाश गर्नु हो भन्छन् ।

सन् २०१७ मा भूगोलवेत्ता सेथ वाइन्स र वातावरण वैज्ञानिक किम्बर्ली निकोलसले प्रकाशित गरेको ‘रिसर्च लेटर’मा कार्बन उत्सर्जन कम गर्न हामी सबैलाई शाकाहारी खाना खान, हवाइयात्रा नगर्न, कार नचढ्न र बच्चाहरू थोरै जन्माउन सुझाइएको छ ।

उनीहरूका अनुसार शिक्षाले नै समाजमा परिवर्तन ल्याउने हुनेले यी सवाल स्कुलमै बच्चाहरूलाई सिकाउन जरुरी छ । सरसर्ती हेर्दा यी उपाय ठिक हुन् जस्तो पनि लाग्छ । तर जब स्कुलमा सिकाइएका कुराहरू बाहिर समाजभन्दा फरक हुन्छ, तब कक्षाकोठाको सिकाइले विरलै जित हासिल गर्न सक्छ ।

यस प्रस्तावनाको प्रमुख समस्या यसले सुझाएका उपायहरू कदापि होइनन् । शाकाहारी हुनु, गाडी नचढ्नु, आफूसँग भएका स्रोतसाधनको उचित उपयोग गर्नु अनुचित हुनै सक्दैन । फेरि उनीहरूले भनेको जस्तो व्यक्तिगत उपभोग्य वस्तुहरूको प्रयोग कम गरेर सामाजिक व्यवस्थामै परिवर्तन गुर्नपर्छ भन्ने सुझावलाई भने कसैले मान्नेवाला छैनन् । हामी सक्दैनौं ।

समाज केवल लाखौं वा करोडौं मानिसको एकीकृत चाहनाले मात्रै चलेको होइन । यो जटिल र प्रक्रियागत रूपमा नै गतिशील हुन्छ । जहाँ चाहनाहरू संस्थागत बन्छन् र विचारहरू समय क्रमसँगै परिवर्तित हुन्छन् । यही चाहनाले संरचनाको विकास गर्छ, जसलाई हामी सफल ठान्छौं । यो सफल मानिएको संरचनालाई धेरै प्रकारका बाहिरी र भित्री शक्तिहरूले प्रहार गरिरहेका हुन्छन्, जसमा वातावरणीय, वस्तुगत र सामाजिक आविष्कार र समय–समयमा आइपर्ने विपत्ले प्रभाव पारेको हुन्छ । यसको अर्थ हामी जसरी भौतिकशास्त्रका नियमहरूभन्दा बाहिर रहेर बाँच्न सक्दैनौं, त्यसरी नै आफूले चाहेको हिसाबमा स्वतन्त्र भएर जीवन जिउन असक्षम छौं । हामी उपलब्ध विकल्पमध्ये उत्तम विकल्पलाई मात्र छान्न सक्छौं ।

वास्तवमै कसैले पनि बच्चा जन्माउनु जरुरी छैन । तर यो नै मानवीय गुणको सबैभन्दा चरम अभिलासा हो । यो सबै जनालाई एक सूत्रमा बाँध्ने सिद्धान्त हो, जुन मानव समाजलाई अगाडि बढाएर अर्थपूर्ण बनाइराख्न निकै आवश्यक छ । तसर्थ सन्तान उत्पादनले नै मानवीय संस्कृतिलाई सबै बाधाहरूका बीच पनि अगाडि बढाउन सक्छ ।

वाइन्स र निकोलसका सुझावहरू अवलम्बन गर्नु भनेको आफूलाई अहिलेको आधुनिक जीवनबाट छुट्याउनु हो । यसको अर्थ भविष्यसँग नाता तोडेर हामी नितान्त एक्लो हुनु हो । तसर्थ उनीहरूको तर्कलाई गम्भीर भएर सोच्दा विश्वमा भइरहेको मौसम परिवर्तनको नैतिक जिम्मेवारी लिएर आत्महत्या गर्नुपर्छ † आफ्नो कार्बन पदचापलाई कम गर्ने योभन्दा सहज उपाय पनि छैन । आफू नै नरहेपछि न बिजुलीको प्रयोग गरिन्छ, न कुनै मासु खाइन्छ, नत मट्टितेल नै बालिन्छ र कुनै बच्चा पनि जन्माइँदैन†त्यसैले यदि हामी साँच्चिकै ग्रहलाई जोगाउन चाहन्छौं भने मर्नु नै उचित हुन्छ ।

डेभिड बक्कलले पनि त्यस्तै गरे । एकाबिहानै आफ्नो ब्रुक्लिनस्थित अपार्टमेन्टबाट निस्किएर प्रोस्पेक्ट पार्क गए, र आफूलाई मट्टितेल खन्याएर आगो लगाए । उनी स्वस्थ्य थिए । उनको जीवनसाथी र छोरी पनि थिइन् । केहीले आत्महत्यालाई मानसिक आवस्थासँग जोड्छन् । तर उनले छोडेर गएको चिठ्ठी अनुसार त्यो कुनै मानसिक अवस्थाको कारण थिएन । उनको कदम राजनीतिक थियो ।

‘प्रदूषणले हाम्रो ग्रहलाई ध्वस्त पारेको छ । हावा, पानी, जमिन र मौसम प्रदूषित छन्,’ उनले लेखेक थिए, ‘अहिले यो पृथ्वीका सबै मानिसले पेट्रोलियम पदार्थ बालेर भएको प्रदूषित हावामा सास फेर्छन् र त्यसको नतिजा अल्पायुमै मर्छन् । मैले आगो लगाएर अल्पायुमै आफ्नो देह त्याग गर्नु पछाडिको धेय सबैलाई त्यही नै सम्झाउनु हो ।’

आत्महत्या गर्नु बक्कलको व्यक्तिगत रोजाइ हो । तर हामीजस्तो धेरैले त्यसलाई रोज्न सक्दैनौं ।

म आफ्नो यो जीवनप्रति कटिबद्ध छु । म बाँचिरहेको विश्वप्रति यसका मौजुदा मुर्खता र दु:खका बाबजुद कटिबद्ध छु । किनकि यो विश्वमा ममात्रै नभएर अन्य धेरैजना बस्छन्– मेरा सहकर्मी र विद्यार्थी, मेरा साथीहरू र तिनका परिवार, मेरी जीवनासाथी र छोरी ।

यो विश्वमा रहँदामात्रै मेरा चाहनाहरूको अर्थ रहन्छ । र यो विश्व जेजस्तो छ, त्यसले हामीलाई आफ्नै तरिकाले खुसी पनि त दिन्छ ।

जब मेरी छोरीको जन्म भयो, तब मैले यसअघि कहिल्यै महसुस नगरेको प्रेम र लगाव महसुस गरेंँ । साथै भयानक प्रकारको सहनशीलता । म उसका लागि मर्न र मार्न सक्छु । उसको लागि जस्तोसुकै बलिदान पनि दिन सक्छु । यो भावना ऊ जन्मिएको सुरुका दिनमा धेरै कठोर रूपमा थियो । अहिले त्यसको कठोरता कम भए पनि भावना भने मरेको छैन । तर जब म उसले भविष्यमा जिउनुपर्ने विश्वका बारेमा सोच्छु, रिस र पीडाले मेरो मन भरिन्छ ।

हरेक नयाँ दिनले भिन्न प्रकारको दु:ख लिएर आउँछ । मेरो नवजात छोरीको आँखाबाट हेर्दा यो विश्वका सबै कुरा नवीन लाग्छ । यद्यपि हरेक नयाँ खोजमा मृत्युको भय रहन्छ । उसका लागि काल्पनिक कथाका किताब पढ्दा त्यहाँ उल्लेख भएका जनावरहरूको नामले मलाई ग्लानि महसुस गराउँछ । उसले सायद देख्नै पनि नपाउने जनावरका नाम म उसको खाली दिमागमा भर्दै गइरहेको छु जस्तो लाग्छ । कहिले उसलाई बाहिरको दुनियाँमा के भइरहेको छ भनेर बताउने ? जहिले बताए पनि त्यो ढिला नै हुन्छ ।

हाम्रा सन्तानसँग हामीसँग भएजति विकल्प पनि हुने छैनन् । हामीसँग अहिले केही गर्नका लागि भएका अवसरहरू उनीहरूले प्राप्त गर्ने छैनन् । हाम्रो निर्णयहरूले संकुचित बनाइसकेको अवसरमा उनीहरूले आफूलाई सीमित राख्नुपर्ने हुन्छ । बितिरहेको हरेक दिन र हरेक महिनाले यथोचित परिणामका आशालाई मारिरहेको छ । यसले मानवीयताको ढोका पनि बन्द गरिरहेको छ ।

केही हुनु र नहुनु बीचको समयलाई हेरेर सबै ठिक हुन्छ भनेर सोच्नु गलत हो । अहिले जे भइरहेको छ, त्यो नै एक प्रकारको प्रकोप हो, जसलाई हामीले देखिरहेका छैनौं वा देखेर पनि वास्ता गरिरहेका छैनौं । हाम्रो युगको यो सत्यलाई बेवास्ता गरेर बस्नु हाम्रो द्वैध चरित्र हो ।

हामीले अहिले सोच्नुपर्ने विषय भनेको हामी विमानमा उड्ने कि नउड्ने वा बच्चा जन्माउने कि नजन्माउनेभन्दा पनि अहिले भत्किएको विश्वमा उच्च नैतिकताका साथ कसरी बाँच्ने भन्ने हो । अहिलेको विश्वमा हामी मानवजाति सम्पूर्ण रूपमा प्रकृतिको दया र एक–अर्काप्रति आश्रित भएर बाँचिरहेका छौं । अहिलेलाई यो पृथ्वीभन्दा बाहिर न कुनै अर्को बस्नलायकको ग्रह छ, न हामी भाग्न सक्ने अवस्थामै छौं । हामी सबै यहाँ अड्किएका छौं ।

उच्च नैतिकतासँग बाँच्नु भनेको आफ्नो कार्यले सिर्जना गर्ने समस्यालाई विचार गर्दै त्यसको जिम्मेवारी स्वयंले लिनु हो । हाम्रो क्रियाकलापले हामीलाई मात्र नभई अरूलाई पनि असर गर्नेमा कुनै दुईमत राख्नु हुँदैन । आफ्ना इच्छाहरूलाई संकुचित गरेर प्रकृतिमा रहेका अन्य वस्तुका साथै एक–अर्काप्रतिको आन्तरिक सम्बन्धलाई सम्मान गर्नु पनि नैतिकता प्रदर्शन गर्नु हो ।

यो ग्रहमा हुनु भनेको जीवनले हामीलाई दिएको एउटा ठूलो उपहार हो, जुन कुनै पनि बेला खोसिन सक्छ । म मेरी छोरीलाई भविष्यबाट त जोगाउन सक्दिन र उसलाई योभन्दा राम्रो जीवनका लागि वाचा गर्न पनि सक्दिन । म त उसलाई केवल कसरी अरूको सम्मान गर्ने, अरूमाथि दयाभाव राख्ने र कुन तवरले प्रकृतिको दयामा बाँच्ने भनेर सिकाउन सक्छु । भविष्यमा बाँच्नका लागि गर्नुपर्ने संघर्षका लागि म उसलाई तयार पार्न सक्छु । यति गर्दागर्दै सत्यका लागि लड्न पनि सिकाउन सक्छु । किनकि सत्यको लडाइँमा हामी कहिल्यै एक्लो हुँदैनौं ।

मैले उसलाई पृथ्वीका सबै वस्तु नश्वर छन्, ऊ अनि म र उसकी आमा अनि हामीले जानेको विश्व नै पनि एक दिन मर्छन् भनेर सिकाउनु पर्नेछ । यही सत्यलाई आत्मसात गरेर अगाडि बढ्नु नै विवेकपूर्ण कार्य हो ।

न्युयोर्क टाइम्सबाट अनुदित 
(रोय स्कार्न्टाेन नर्टेडम विश्वविद्यालयका अंग्रेजी भाषाका प्राध्यापक हुन् । यो निबन्ध उनको नयाँ किताब ‘वी आर डुम्ड : नाउ ह्वाट ? एस्सेज अन वार एन्ड क्लाइमेट चेन्ज’बाट लिइएको हो ।)

प्रकाशित : श्रावण ३१, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दलालको दलदलमा महिला 

सचेतनाको कमीले महिला अरूको देशमा जुठा भाँडा माझेर शोषण सहँदै तल्लो स्तरको काम गर्न पुग्छन् ।
गीता शर्मा (ढुंगाना)

काठमाडौँ — भारतीय सहरबाट नेपाली महिलाको उद्धार गरिएका खबर आइरहेका हुन्छन् । भारतीय महिला आयोगले दिल्लीबाट १६ नेपाली महिलाको उद्घार गर्‍यो । त्यसको एक सातामै बनारसबाट १६ महिलाको उद्घार गरियो । फेरि दिल्ली र बनारसमा छापा मारेर थप नेपाली महिलालाई घर फर्काइयो ।

एक महिनाअघि बनारसमा डेढ सय नेपाली महिला बन्धक बनाइएको समाचार आयो । त्यति धेरै नेपाली चेलीलाई कसले र कसरी त्यहाँ पुर्‍याउँछन् ? प्रश्न मनमा उठिरहेको छ ।खुला सिमाना भएकाले भारत र नेपाल सहज आउ–जाउ छ । रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको रुपैडिया र कञ्चनपुरको महेन्द्रनगर ठूला नाका हुन् ।

पूर्वमा पनि वीरगन्ज, जोगवनी, काँकडभिट्टा लगायतका नाका छन् । दुई देशबीच खुला सिमाना छ । खुला सिमाना र सहज आउ–जाउ हुनाले नेपाली महिलालाई विभिन्न बहानामा सीमा कटाउने गरिएको छ ।

राजनीतिक अस्थिरताका कारण मुलुकमा रोजगारी समस्या बढेको छ । अहिले राजनीतिक पहुँच वा आफ्नै लगानीमा मात्र रोजगारी सम्भव देखिन्छ । गरिब तथा निम्न वर्गका लागि रोजगारी आकाशको फलसरह छ । आयस्रोत नभएका युवती काम खोज्दै भारत वा खाडी मुलुक जान लालायित छन् । त्यसैको फाइदा केही दलालले उठाइरहेका छन् ।

दिल्ली महिला आयोग अध्यक्षको टोलीले छापा मारेर उद्धार गरेका महिला राम्रोसँग पढ्न नजान्ने खालका थिए । आर्थिक अभाव भएको क्षेत्रमा गएर नेपाली दलालले नै युवतीलाई प्रलोभन देखाउने गरेको पाइन्छ । उनीहरूले भारत पुर्‍याएर त्यहाँका दलाललाई बेच्ने गर्छन् । ती युवती फरक–फरक ठाउँमा बन्धक बनाएर राखिन्छ । पत्ता लाग्नसके उद्धार हुन्छ । उद्धार हुन नसकेका नेपाली महिला भारतमा थुप्रै हुन सक्छन् ।

नेपाली महिला खाडी लगायतका तेस्रो मुलुकमा समेत पुगेका छन् । कतिपयलाई नयाँदिल्ली हुँदै अवैधानिक बाटोबाट ती मुलुकमा पुर्‍याइन्छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ म्यानपावर कम्पनीबाट विदेश जाने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । नेपालबाट महिला अन्य मुलुक जान किन बाध्य छन् ? नेपालमा पनि थुप्रै काम पाइन्छ । सरसफाइ गर्ने महिलाले एक घरमा २/३ घन्टा काम गर्दा पाँच हजार कमाउँछन् । दिनमा ५/६ घर काम गर्दा मासिक पचिस/तीस हजार कमाइ हुन्छ । खेती किसानी गरेर, तरकारी रोपी बजारमा बेचेर, विभिन्न तालिम लिई घरमै सिलाइ–बुनाइ गरेर, अचार बनाएर जसरी पनि आम्दानी गर्न सकिन्छ । कमाउने माध्यम छ । तर ध्यान पुगेको छैन । अरूको देशमा जुठो भाँडा माझेर शोषण सहँदै तल्लो स्तरको काम गर्न पुग्नु जनचेतनाको कमी हो ।

नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल महिलालाई भारत तस्करी गर्नबाट रोक्न सीमामा कढाइ गर्नुपर्ने र महिलालाई सीप प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिन्छन् ।

पहिले नेपाल टेलिभिजन, रेडियो नेपालजस्ता सरकारी सञ्चार माध्यमले चेलीबेटी बेचबिखनबारे चेतना जगाउने कार्यक्रम दिन्थे । तिनमा राजनीतिक विषय–वस्तुले प्राथमिकता पाएको देखिन्छ । अहिले जो पनि फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्छन् । तिनमा वैदेशिक रोजगारीमा दु:ख पाएका र ठगिएका विषयमा समाचार पनि राखिएका हुन्छन् । तर त्यसबाट कसैले पाठ सिक्नसकेको देखिँदैन ।

अधिकांश महिला काम के हो, त्यहाँबाट फर्किन सकिन्छ कि सकिन्न भन्ने नबुझी विदेश जान्छन् । उनीहरूले विदेश गएपछि टन्न कमाइन्छ भन्नेमात्र सोचेका हुन्छन् । आफूसँग भएको पैसा दलाललाई दिएर सिध्याउँछन् । अर्काको लहैलहैमा लागेर पैसा होइन, दु:खकष्ट कमाउँछन् । वैदेशिक रोजगार जोखिमपूर्ण भएकाले महिलाले मुलुकमै सीप सिक्ने, रोजगार पाउने वातावरण सरकारले तयार गरिदिनुपर्छ । विदेश जानै खोज्नेलाई वैधानिक बाटो रोज्न लगाउनुपर्छ ।

महिलाहरू सचेत हुनुपर्छ । प्रलोभन देखाउने दलालको फन्दामा फँस्नबाट जोगिनुपर्छ । शङ्का लागे नजिकको प्रहरी चौकी वा सामाजिक संघ–संस्थालाई जानकारी गराउनुपर्छ । दिल्लीकी महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले भारतको एक मिडियामार्फत आर्थिक रूपमा कमजोर युवतीलाई तुरुन्तै रोजगारको व्यवस्था तथा सीमामा कढाइ गर्न नेपाल सरकारलाई अपिल गरेकी छन् । उनको अपिललाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । चेतनामूलक कार्यक्रम चलाउनुपर्छ ।

geetasharma2067@gmail.com

प्रकाशित : श्रावण ३१, २०७५ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT