हराए सुत्केरी मसला

सुत्केरी मसला वा गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धूलो, ओखर, काजु, नरिवल, गाईको घिउ, दूध हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ ?
डा. अरूणा उप्रेती

काठमाडौँ — हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्याैं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।

‘केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दाेरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।

मेरी हजुरआमालाई चाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन् ।

Yamaha

१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँंगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो ? यसमा कति पौष्टिक तत्त्व हुन्छ ? थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमानलाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?

सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ ? बत्तिसाको धुलोबारे चाहिँ के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिँ सुनेको छु । आफैले चाहिँ प्रयोग गरेको छैन ।

गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन ।

हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान † भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।

सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि । सुत्केरीलाई चिसो लाग्ला भनेर मालिस गर्ने, तातो लुगा लगाइदिने, कपालमा तेल लगाइदिने र केही समय बाहिरै जान नदिने चलन पनि छ । यसले सुत्केरीलाई तङग्रिन मद्दत गर्छ ।

त्योसंँगै सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिँ सुत्केरीले राम्रोसँंग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?

सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

केही महिना अघि एक माओवादी नेतासंँग भेट भयो । पहिले मन्त्री भइसकेको मान्छे राजनीतिबाट दिक्क लागेर अहिले कृषिमा लागेको उनले खुलाए । आफूले उत्पादन गरेको ‘कालो चामल’ उपहार दिए । ‘कालो चामल’ कसरी खाने होला, विचार गर्दै थिएँ । सायद मेरो मनको कुरा बुझेर होला, उनले भने, यो ‘कालो चामल’ एक किलोको प्याकेट झन्डै ५ किलोको अन्य चामलमा मिसाएर पकाउनुहोस् ।

असाध्यै स्वस्थकर र स्वादिलो हुन्छ । एकचोटी चाखेर त हेर्नुस् भनी सल्लाह दिए । मैले उनलाई धन्यवाद दिई त्यो चामल लिएँ । लामो समयसम्म भान्छामा रहिरह्यो । एकदिन विदेशबाट आएका एक साथीकहाँ खान बोलाएका बेला कालो र सेतो चामल मिसाएर पकाएको पुलाउ खाएँ । उनले पनि कालो चामलबारे वर्णन गरे । उनले भने–‘१०० ग्राम कालो चामलको भातमा झन्डै ३४ ग्राम कार्वोहाइड्रेड, ८.५ ग्राम प्रोटिन, झन्डै ५ ग्राम रेशादार पदार्थ, ३.५ लौह तत्त्व र अन्य चामलको तुलनामा प्रोटिन, रेशादार पदार्थ बढी हुन्छ ।’

‘कालो चामल’बारे केही अध्ययनले देखाएको छ : यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । साथै शरीरमा आउने बुढ्यौलीलाई केही हदसम्म रोक्न पनि मद्दत गर्छ । रेशादार पदार्थ पर्याप्त पाइने हुनाले यो खाँदा लामो समय भोक लाग्दैन । साथै कब्जियतको समस्या रोक्छ । कब्जियत पेटको समस्याको कारण हुनसक्ने भएकाले कब्जियत हुनेलाई तरकारी र फलफूलका साथै कालो चामलको प्रयोग राम्रो हुन्छ । रेशादार पदार्थ सेतो चामल वा मैदामा हुँदैन ।

त्यसैले मैदाबाट बनेका बिस्कुट, चाउचाउ, पाउरोटी आदिको प्रयोग गर्न छाड्नुपर्छ । कालो चामलमा ‘ग्लुटेन’ नहुने भएकाले गहुँको प्रयोग गर्दा पेट फुल्ने, दुख्ने समस्या भएकालाई पनि यो प्रयोग गर्न सकिन्छ भनी केही वैज्ञानिकले लेखेका छन् । अहिले अमेरिकातिर ‘ग्लुटेन’ नभएको खाना खाने चलन बढेको छ । सायद कालो चामलमा अध्ययन भएको कारण पनि यही होला ।

कालो चामलको एक रमाइलो इतिहास छ । हजारांै वर्षअघि प्राचीन चीनमा कालो चामल उच्च घरानाका मानिसहरूले मात्र खान पाउँथे । सामान्य मानिसलाई त कालो चामल नउब्जाउने आदेश थियो रे । सायद उच्च वर्गका मानिसहरूमात्र स्वस्थ हुन् भनेर हो कि ? अमेरिकामा पनि कालो चामल सन् १९९० तिर मात्र आयो । जबकि एसियामा यो लामो समयदेखि प्रयोग भइरहेको थियो ।

कालो चामल पकाउँदा ६/७ घन्टाचाहिँ भिजाउनुपर्छ । अन्य सेतो चामलभन्दा यसको बाहिरको बोक्रा कडा हुने भएकाले भिजाएपछि यो सहजसंँग पाक्छ । कालो चामललाई पिसेर सुपमा हालेर पनि खान सकिन्छ । आँटामा पनि मिसाउन सकिन्छ । पुलाउ बनाएर खान सकिन्छ ।

सायद सबैले कालो चामलमात्रै पचाउन सक्दैनन्, उनीहरूले एक भाग कालो चामल र ३ भाग साधारण चामल मिसाएर खाए हुन्छ । मार्सी चामलसँग कालो चामल मिसाए त झनै राम्रो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

गर्भपतन सेवा दुरुपयोग

सुरक्षित गर्भपतनबारे धेरै भन्यौं । गर्भपतन अधिकार हो, कम प्रयोग हुनुपर्छ भन्ने ज्ञान दिएनौं ।
डा. अरूणा उप्रेती

काठमाडौँ — वि राटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।

उनीसँग शारीरिक सम्बन्ध राखेका किशोरले त्यसपछि नचिनेझैं गरे । इज्जत जाला भनेर परिवारले प्रहरीमा रिपोर्ट पनि गरेन ।

किशोर अहिले काठमाडाैंमा उच्चशिक्षा पढ्दैछन् । किशोरी मानसिक रोगको औषधि खाएर घर बसेकी छन् । उनको पढाइ छुटेको छ । ‘किशोर–किशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं, तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी सिकाउन सकेनौं,’ ती किशोरीका स्कुल शिक्षकको टिप्पणी थियो ।

कशोर–किशोरीले राम्रो मार्गदर्शन नपाएकाले सहजै यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गर्भपतन गराउने प्रवृत्ति बढेको छ । म बेला–बेला विभिन्न स्वास्थ्य चौकी र अस्पताल पुग्दा सुरक्षित गर्भपतन गर्न कति महिला आउँछन्, कस्ता चुनौती छन्, असुरक्षित गर्भपतन गर्ने महिला बिरामी भएर आउँछन् कि आउँदैनन् भनेर छलफल गर्छु । छलफलबाट थाहा हुन्छ– सुरक्षित गर्भपतन कानुन र सेवा भएपछि मृत्युदर कम भएको छ । अनिच्छित गर्भ वा बलात्कार वा हाडनाता करणीका कारण रहेको गर्भ पतन गर्न सजिलो भएको छ । यसले महिलाको स्वास्थ्यमा सुधार गरेको छ ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन ३२ वर्ष अगाडि हामीले आवाज उठाउँदा प्राय: कमैले मात्र माग पूरा हुने विश्वास गरेका थिए । यो विषयमा बोल्दा विभिन्न व्यक्तिले हामीलाई होच्याउँथे । ‘नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन आवाज उठाएर कतै गल्ती त गरिएको छैन’ भन्ने पनि लाग्थ्यो । तर सन् २००२ मा गरिएको गर्भपतनको
कानुनी मान्यता महिलाको स्वास्थ्य राम्रो पार्न महत्त्वपूर्ण कदम बन्न पुगेको छ ।

स्वास्थ्यकर्मी, स्वयंसेविका, सामाजिक कार्यकर्ता र स्कुलका शिक्षकसँग छलफल गर्दा सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अझ धेरै काम गर्न बाँकी भएको भान भयो । शिक्षकहरू भन्ने गर्छन्– अहिलेका किशोर–किशोरी स्कुलमै प्रेम गर्न थाल्छन् र शारीरिक सम्पर्क राखिहाल्छन् । किशोरी गर्भवती भएपछि किशोर भागिहाल्छ । शारीरिक र मानसिक पीडाचाहिँ किशोरीले भोग्नुपर्छ ।

इलाममा ९ कक्षाकी १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँंग यौनसम्पर्क भएपछि गर्भ रहेछ । दुबैजना झापाको निजी औषधि पसलमा पुगेर गर्भपतन गराउन खोजेछन् । अति रक्तस्राव भएर किशोरीलाई अस्पताल लानुपरेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछ । घरका मानिस अस्पताल नपुग्दै किशोर भारततिर भागेछ । किशोरीको ज्यानचाहिँ बच्यो । परिवारले बेइज्जत हुने डरले कसैलाई भनेन । निको भएर घर गएपछि परिवारले ती किशोरीको विवाह गराइदिएछ ।

कहिलेकाहीं सामाजिक दबाबले किशोरलाई पनि समस्या पर्ने रहेछ । एक दलित किशोर र बाहुन किशोरीको शारीरिक सम्पर्क भएपछि गर्भ बसेछ । यो थाहा पाएपछि केटीका आमाबुबाले दलित केटालाई मरणासन्न हुनेगरी पिटेछन् । परिवारलाई नै गाउँबाट निस्किन उर्दी लाएछन् । दलित परिवार बसाइँ हिँड्नुपर्‍यो । छोरीलाई चाहिँ भारतमा लगेर गर्भपतन गराएछन् ।

विभिन्न स्वास्थ्यकर्मीसँग छलफल गर्दा बारम्बार सुन्छु, ‘गर्भपतन सुरक्षित छ भन्दैमा जथाभावी, धेरैचोटी गर्भपतन गराउनु हुँदैन भन्ने ज्ञान किशोरीलाई दिन जरुरी छ ।’
सुरक्षित गर्भपतन सेवा उपलब्ध हुनुको अर्थ जहिले पनि, जति बेला पनि वा जतिचोटी पनि गर्भपतन गराउन सुरक्षित हुन्छ भन्ने गलत धारणा समाजमा फैलिरहेको देखिन्छ । हामी जस्ता स्वास्थ्य अधिकारकर्मीले आफ्नो दायित्व राम्ररी निर्वाह गर्न नसकेर पनि यस्ता धारणा निर्मूल नभएको हुनसक्छ । हामीले सुरक्षित गर्भपतन भनेर धेरै कुरा भन्यौं, तर गर्भपतन अधिकार हो, कम प्रयोग हुनुपर्छ भन्ने ज्ञान दिएनौं ।

किशोरीहरूलाई ‘आफ्नो शरीरमाथिको अधिकार’बारे बुझायौं, तर त्यो अधिकारसँंगै शरीरसंँगको कर्तव्य पनि जोडिएको छ भन्न बिर्सियौं । यौन सम्बन्ध राख्दा युवक वा किशोरले जतिसुकै वाचा गरे पनि गर्भ रहेपछि वास्ता गर्दैन । म बारम्बार किशोरी र युवतीलाई भन्ने गर्छु, ‘प्रेम गर्छु भनेर यौन सम्पर्क राख्न खोज्नेसंँग किशोरीहरू जोगिनुपर्छ । तिमीहरूलाई मानसिक र शारीरिक रोगी बनाएर उनीहरू भाग्छन् । आफ्नो शरीरको रक्षा आफै गर्नुपर्छ ।’

कति जनालाई ‘इमर्जेन्सी पिल्स’ छ, जति खाए पनि हुन्छ भन्ने लाग्दो रहेछ । आकस्मिक गर्भनिरोधक चक्की बढी प्रयोग गरे अत्यधिक रक्तस्राव हुने सम्भावना हुन्छ ।

अनुसन्धानकर्ताका अनुसार कलेजोमा संक्रमण हुने, महिलामा बाँझोपन आउने, प्रतिरोधात्मक छातीको क्यान्सर हुने जोखिम ३ गुणा बढ्छ । आकस्मिक गर्भनिरोधक चक्कीको दुरुपयोगले पार्ने असर औषधिको खोलमा लेखेर राख्ने व्यवस्था मिलाउनुपर्छ । दुरुपयोग रोक्न सरकारी तवरबाट केही काम भएको पाइँदैन । यसका फाइदाबारे मात्र प्रचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले त गैरजिम्मेवार तरिकाले रोमान्टिक विज्ञापन बनाएर यौन सम्बन्ध भयो भने ‘इमर्जेन्सी पिल्स’ खाए भइहाल्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । पिल्सले के खतरा निम्त्याउँछ, किशोरीलाई कहिल्यै भनिँदैन । प्रत्येक किशोरी सतर्क हुनुपर्छ । यस्ता विज्ञापनमा विश्वास गर्नु हुँदैन । एक दिनको आवेगले जीवन बर्बाद हुन दिने कि नदिने, आफ्नै हातमा छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT