छिटो पैसा कमाउ, नेपाल जाउ

गोकुल थोकर

काठमाडौँ — सँगै काम गर्ने कोरियन बुढा छन् । उमेरले साठी काटेका । अनुहार हेर्दा त्यति धेरै उमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । सेतै फुलेको कपाललाई मेहेन्दीले कालो वनाएका । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् ।

कोरियामा काम गर्न जानका लागि दिइने भाषा परीक्षाको फारम भर्न राजधानीमा लाम लागेका युवाहरु । फाइल तस्बिर ।

काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् । कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । कोरियन न परे कताको धर्मकर्म हुनु ? ‘सकुन्जेल आफै काम गर्छु । नसकेको दिन देखा जाएगा’ युवा जोशमा उनी भन्छन् ।

उनले जिन्दगीका सबै रंग देखेका छन् । दु:खको चरम देखेका छन् । भोगेका छन् । उनका दु:खका कुरा सुने हामी नेपालीले के दु:ख भेगेका रहेछौं र भन्ने लाग्छ । सत्तरीको दशकमा उनी युवा थिए । ज्यानमा बल थियो । परे ढुंगा खाएर पचाउने उमेर थियो । देशमा द्वन्द्व सकिएको त थियो तर अभाव र गरिबी चरम रुपमा थियो । त्यो बेला समुद्रको माछा र लेउ खाएर परिवार चलाउनुको बिकल्प थिएन । ‘समुद्रमा माछा मार्न पनि सजिलो थिएन । माछा मार्न नसकेको बेला समुद्रको किनारा छेउछाउ पाइने बिभिन्न किराहरु खाने बानी नै पर्‍यो । त्यो पनि भेटाइन भने लेउ मात्रैले पनि कति छाक टर्‍यो टर्‍यो । कतिदिन त भोक भोकै पनि बित्यो । त्यसको के हिसाब गर्नु ?’ पुराना दिनहरु सम्झदा उनका चिम्सा आँखा झन चिम्सिन्छन् ।
उनी टुटे फुटेका अंग्रेजी बोल्छन् । बिदेशमा काम गर्न जाँदा सिकेका रहेछन् । कुरा गर्न त्यसैले पनि सजिलो भएको छ । बुढा बेला न कुबेला गफिन्छन् । अनि कति खेर हामीले गरेको काम चित्त नबुझे झनक्क रिसाउँछन् । बुढेस काल भएर होला । हामी मन बुझाउँछौं । हुन त उनी कम्पनीका हकिम झैं हुन् । पद केही नदिए पनि उनलाई कोरियनहरुले पनि केही भन्दैनन् । मन लागे काम गर्छन् । मन लागे आराम । सबैले हराबजी अर्थात हजुरबा भनेर सम्मान गर्छन् । सानाले ठूलालाई सम्मान गर्ने संस्कार भएर हो कि?
पुरानो कोरियाको कथा हामीसँग ठ्याक्कै मिल्छ । ‘देशमा काम थिएन । खानाको समस्या उस्तै थियो । अरु साथीहरु बिदेशमा काम गर्न जान्थे । म पनि लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा थिएँ । बिदेशमा गएर केही कमाउने रहर थियो' त्यसैले नेपालीहरु अहिले गए जस्तै मलेसिया गएर काम गरेका थिए बुढाले । ‘गर्मी खुब हुने त्यता कोरियामा त चिसो पनि हुन्छ नी । त्यहाँ त गर्मीका गर्मी’ उनी थप्छन् ।

‘अलिअलि पैसा कमाएँ । देशमा आएर एउटा सानो प्लास्टिकको झोला बनाउने कम्पनी खोलेँ । दिन रात नभनि काम गरेँ । कम्पनी नाफाको नाफामा गयो । जिन्दगीमा नसोचेको पैसा देखियो । जता गयो । त्यतै आनन्द । नोरेवाङ – गीत गाउन पाइने रेष्टुरेन्ट गयो केटीहरु लाइन लाग्थे । साथीभाइ आफन्त सबै थिए । रक्सीको खोला बगाइयो । गाडी किनेँ । बजारमा घर किने । बिहे गरेँ । भाइ यो पैसा भनेको कहिले सकिन्छ थाहै नहुने’ बुढा सुनाई रहन्छन् ।

‘जिन्दगी भनेको घडी जस्तै रहेछ । घुम्दै जाँदा एक दिनमा एक पटक घन्टा, सेकेन्ड र मिनेटका सुई एकै ठाँउमा पुग्ने’ छ दशकको जिन्दगी बाँचेपछि उनले बुझाई हो यो । बुढाको जिन्दगीमा फेरि दु:ख सुरु भो । ‘ब्यापार घाटा भो । भएका जोडेका सम्पति सकिंदै गयो । हुँदा आफन्त बन्नेहरुले छाडे । हुँदाहुँदा भएकी श्रीमतीले पनि डिभार्स गरिन् । जिन्दगीका कुरा हुन् भोलि के हुन्छ यसै भन्न सकिन्न’ उनी हामीलाई सम्झाउँछन् ।
‘हरेस कहिल्यै नखानु । पहिले के खाऊ ? के लाऊ भन्ने बेलाथ्यो । मैले श्रीमती छोड्दा दु:खले बनाको घर पनि छाडेँ । रक्सी खुब खान्थे । रक्सी छाडे । अहिले कोक खान्छु ।’ हो पनि उनी कोकको फ्यान हुन् । मल्टिनेसनल कल्चर पनि हुन सक्छ । जति खेर पनि कोक खान्छन् । ‘म आजकाल गेम खेल्छु’ कोरियामा खुब फेमस छ बेस बल । उनी त्यही खेल्छन् । हातमा बेस बल क्लबको नामभएको फित्ता बानेका छन् ।
‘पैसा हुनेहरुले मैले जसरी नै कम्पनी खोले । कामको अभाब भएन । हाम्रो देशको उत्पादन विदेश जान लाग्यो । देशको आर्थिक अबस्था राम्रो भो । मेरो कम्पनी घाटामा गए पनि
मलाई काम खोज्न गाह्रो छैन । हामीले कस्तो कस्तो दु:ख खेपेका छौं । मलाई कुनै काम पनि गाह्रो लाग्दैन । गर्छु भन्नेलाई कामको अभाव छैन । जीवन चलाउन सक्ने पैसा त जसले जसरी पनि कमाउन सक्छ ।’ हो पनि । कोरियामा कामको अभाव छैन । कामदारको अभाव छ । त्यसैले त बिदेशी कामदार डाक्छन् ।
‘बिदेशमा जति काम गरे पनि आफ्नो देशमा गरे जस्तो हुँदैन । जे भएपनि आफ्नै देशमा गर्नु पर्छ । मेरो पनि मनमा फेरि एउटा कम्पनी चलाउने रहर छ । अहिले पैसा छैन । अपार्ट किनें । गाडी नयाँ लिएँ । अझै कमाउन सके कम्पनी खोल्छु होला । विदेशमा पैसा कमाउनु पर्छ । अनि आफ्नै देशमा सदुपयोग गर्नु पर्छ । 'थोन मानी फर । नेपालखा । त्यसैले छिटो पैसा कमाउ र नेपाल जाउ ।’

प्रकाशित : भाद्र ३, २०७५ १३:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्तै छ कोरियामा हाल !

गोकुल थोकर

काठमाडौँ — नयाँ कम्पनीमा आएको दुई हप्तामात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर चलिरहेको बेल्डमा गुडाउनु, बस् त्यति हो, मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले सजिलै देखेरै आउँछु हुन्छ भनेको हुँ ।

पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो। ठूलो भाँडा फलामको तातो मेसिनमा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो। बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो। त्यस्तै डिजाइनमा बन्थ्यो। काम त त्यो पनि गाह्रो होइन। तर तातो हुने। बाहिर फुस फुस हिउँ पर्दा पनि आफू भने पुरै पसिनाले भिज्नु पर्ने।

जोखिम पनि थियो। भाँडाको आकार बन्नका लागि प्लास्टिकका दाना दुई सय डिग्रीमा झोल नहुन्जेल पगालिन्थ्यो। कतै झुक्किएर ज्यानमा परे के हुन्थ्यो भन्नै परेन। दुई वर्षअघि एउटा भियतनामी काम गर्दा गर्दै चिप्लेर लड्दा हात टेक्यो रे। अनि हात डढ्यो। कम्पनीमा काम गर्न सकेन। थोरै पैसा दिएर कम्पनीले निकाल्देको रे। पहिलेदेखि काम गर्दै आएका फिलेहरु(फिलिफिन्स नागरिक)अंग्रेजीमा कुरा सुनाउँथे। मलाई पनि त्यति राम्रो कोरियन आउँदैन। त्यसैले अंग्रेजीमै बोल्दिन्छु।

एक वर्ष एउटै कम्पनीमा काम गरे वार्षिक भत्ता (थेजिकम) आउँथ्यो नी। जबरजस्ती बस्ने प्रयास त गरेकै हुँ। तर गर्मी मौसम लागेपछि मेसिनको तातो र बाहिरको तातोले मर्नुभयो। काम गर्दा जति पानी खाए पनि जिउबाट पसिना भएर बग्ने। पिसाब त आउँदै नआउने। पन्ध्र दिन दिउँसो पन्ध्र दिन राति काम गर्ने नियम थियो। गर्मीको पन्ध्र दिन दिउँसो काम गरेपछि बिरामी नै परेँ। नेपालमा हुँदा एक लाख रुपैयाँ महिनाको पाए जस्तो काम पनि गर्छु भन्ने मेरो आत्मविश्वास फेल खायो।

अनि ‘थेजिकम सेजिकम हान गोली’ भनेर मैले एक दिन डराउँदै डराउँदै टुटेफुटेका कोरियन भाषालाई मिलाएर साहुलाई मलाई यता काम गर्दा सन्चो भएन कृपा गरेर लेटर दिनुस न भने।

लेटर दिनु भनेको साहुले मुटु कलेजो दिनु भनेको सुनेछ कि क्याहो चिम्से आँखा झन्डै बाहिर निस्किने गरी हेर्‍यो। सेता गाला रिसले राता भए। एक शब्द नबोली फन्केर हिँड्यो। त्यसपछि आफ्नो हालत बिजोग भो। ग्लानी, रिस र खै केले हो मेरो टाउको निहुरिएको निहुरिएकै भयो। शायद एक लाखको बिटोले थिचेको होला कि? विचरा म, साहुका लागि कामदार भन्दा अरु केही थिइनँ। फगत एउटा भाडाको मान्छे।

शरिरमा शक्ति त थिएन नै। भएको अलिअलिको जाँगर पनि मरेर गयो। जतिखेर पनि साहुले आँखा तरेको मात्रै मनमा आएपछि बिरामी झन् बढ्यो। सायद ‘फ्रस्टेशन’ले पनि काम गर्‍यो होला। घरबाट फोन आँउथ्यो। म काम तिरै छु भन्दिन्थेँ। महिना मरेपछि पैसाका कुरा गरे। मैले ‘हुन्डीको रेट’ बढेको छ। अलि घटे पछि पठाउला भनेँ।

विचरा घरका मान्छेलाई छोराले रुपैयाँ छापेको छापेकै छ भन्ने लागेको हुँदो हो। म पनि नेपालतिर हुँदा त्यस्तै सम्झन्थेँ। विदेश पुगेका पैसाका रुखैमा चढ्छन्। गाँउघरमा डालेघाँस झारे जस्तै भकाभक झार्छन्। अनि भारी बाँध्छन् घर फर्कन्छन्।

झन्डै दुई महिना ओछ्यान सुतेको सुतेकै गरिदिएँ। पहिलेपहिले त बिरामी भएरै सुतेको थेँ। पछि त तन ठीक थियो, मन बिरामी भो। कम्पनीमा काम गर्ने अरु दुई जना नेपाली थिए। ती साथी मलाई हेरेर चिन्ता गर्थे। भन्थे ‘विदेश हो भाइ अलि अलि दु:ख त सहनु पर्‍यो नी। नत्र कसरी पैसा कमाइन्छ त?’

तिनका कुरा बेठीक थिएनन्। मेरो मन मात्र बेठीक थियो। मलाई लाग्यो यो कम्पनी छाड्न पाए तातोले सातो जान लागेको म बाँच्छु। अनि अर्को कम्पनीको काम हेरेर सजिलो काम भए मात्र गर्छु। मन एक तमासको भो।

म दुब्लाएर मरन्च्यासे भएँ। हावाको एक झोक्का आयो भने पनि उडाएर लैजाला जस्तो। पच्हत्तर किलोको म एक्कसी पचपन्न किलोको भएँ। खाने कुरा खानै मन नलाग्ने। जे हेरे पनि वाक्क लाग्ने। साथीहरु बिहानै उठ्थे। खाने कुरा पकाउँथे। अनि काममा जान्थे। भात खाने समयमा ती आउँथे। मलाई पनि भाग लाउँथे। म कहिले खान्थे कहिले खान्न थेँ। धन्न यी साथी थिए र पो म टिकेको छु।

साथीहरुले महिना महिनामा हिसाब सुनाउँथे। तेरो भागमा यति पर्‍यो। म टाउको हल्लाउँथे। हुन्छ तिरौला भन्ने भावमा। कोठाको पैसा तिर्न पर्दैनथ्यो। कम्पनीले नै बस्नेको व्यवस्था गरेको थियो। खासै खर्च के हुन्थ्यो र? बाहिर घुम्न जाँदैन्थेँ। म काठमाडौं हुँदा एक घन्टा फुर्सद् हुँदा पनि साथीभाइसँग चिया गफ नगरी बस्न नसक्ने। दुई महिना एउटै कोठामा बस्न सक्छु भनेर सोचेको पनि थिइनँ।

सबै सोचेको जस्तो कहाँ हुन्छ र? बल्ल लेटर पाएँ। अर्को कम्पनीको लागि अवसर। नोदोम्बो (अर्को कम्पनी खोजी दिने सरकारी कार्यलय) गएँ। सोल नजिक जता भए पनि हुने गरि कम्पनी खोजेँ।

यो कम्पनीमा नेपाली धेरै छन्। काम सजिलै लागेकोथ्यो। अहिले गाह्रो भाको छ।अर्को महिना घर तिर पैसा पठाउनु छ। त्यही भएर यस्ता दुखाई र अप्ठ्यारा मतलब नगरी खट्नु छ। जता पनि पेलिनु पर्ने। निरन्तर। निरन्तर। यस्तै छ कोरियामा हाल !

प्रकाशित : असार १२, २०७५ १४:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT