भान्सामा पाकेको आक्रोश

सहरका हरेक भान्सामा मुलुक हाँक्ने अख्तियारी लिएका ‘एलिट’ले गरेको निष्ठाच्युत राजनीतिको प्रतिबिम्ब देखिन्छ ।
उज्ज्वल प्रसाईं

काठमाडौँ — सन् १९५९, जुलाई २४ का दिन मस्कोमा आयोजित ‘अमेरिकन नेसनल एक्जिबिसन’ उद्घाटन कार्यक्रममा तत्कालीन अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन र सोभियत युनियनका नेता निकिता ख्रुस्चेवबीच रोचक संवाद भयो ।

प्रदर्शनीमा राखिएका भान्सामा प्रयोग हुने अत्याधुनिक सामान औंल्याउँदै निक्सनले भने, ‘अमेरिकामा हामी महिलाको जीवन सहज बनाउन खोजिरहेका छौं ।’ जवाफमा ख्रुस्चेवले भने, ‘महिलालाई हेर्ने तपाईंको पुँजीवादी नजर साम्यवादमा काम लाग्दैन ।’ विपरीत वैचारिक ध्रुवका यी दुई नेताबीच भएको ‘भान्सा–संवाद’ स्मरणीय छ ।

भान्सा राजनीतिमुक्त ठाउँ होइन । नेपाली घरका भान्सामा मूलत: दुई खाले राजनीति प्रतिविम्बित हुन्छन् । पहिलो, लैंगिक राजनीति । भान्सा त्यस्तो ठाउँ हो, जहाँ कैद गरेर महिलाको श्रम शोषण गरिन्छ । भान्सामा पुरुषले गरेको श्रमको मूल्य तोकिन्छ । श्रमिकका रूपमा भान्सामा पुगेका पुरुष व्यावसायिक कामदार हुन्छन् । नभए, भान्सा सम्हाल्नु उनीहरूको स्वतन्त्र चुनाव हुन्छ । महिलाका लागि भान्सा धेरैजसो बाध्यता हो, त्यहाँ उनीहरूले गरेको श्रमको उचित मूल्याङ्कन हुँदैन ।

Yamaha

दोस्रो, खाद्यान्न उत्पादन र उपभोगसँग जोडिएको राजनीति । कसका भान्सामा कस्ता उपभोग्य वस्तु पुग्छन् ? ती वस्तुको मात्रा र गुणस्तर केले निर्धारण गर्छ ? तिनको उत्पादन र वितरण प्रक्रिया बुझ्न खोज्नु अर्थराजनीति र सांस्कृतिक विमर्शमा प्रवेश गर्नु हो । कृषि, उद्योग, बजार र राज्यका अन्तरसम्बन्ध बुझ्न खोज्नु पनि हो । नेपाली भान्सामा प्रतिविम्बित भइरहेको यो दोस्रो राजनीतिबारे चर्चा गर्नु यो लेखको मुख्य ध्येय हो ।

पानी और जवानी
जवानी शब्दले स्वास्थ्य र तन्दुरुस्तीलाई इंगित गर्छ । कुनै अखाद्य वस्तु मिसावट नभएको, जरुरी मिनरल सहितको शुद्ध पानी प्रशस्त पिउन नपाई कोही स्वस्थ हुँदैन । शुद्ध पानीको अभावमा लाखौं मान्छेको ‘जवानी’ बेकार हुनसक्छ । काठमाडौं त्यसको सबभन्दा ठूलो प्रमाण हो ।

शक्ति र स्रोत केन्द्रीकृत भएको नेपालको सबैभन्दा ठूलो सहर हो, काठमाडौं । यो सहरमा हरेक साता चाहिने ४० करोड लिटरमध्ये उपत्यका खानेपानी लिमिटेड (केयुकेएल…) ले जम्मा ९ करोड लिटर पानी वितरण गर्छ । राज्यको भरपर्न छाडेका सहरवासी बजारमा आश्रित छन् । सबैभन्दा ठूलो स्रोत भनेकै निजी कम्पनीले ट्यांकरमा वितरण गर्ने पानी हो । पिउन निला जारमा भरेर ल्याइने पानी खरिद गर्छन् । बाहिर काम गर्ने सर्वसाधारण र यात्रुले पसलमा थाक लगाएर राखिएका ‘प्रोसेस्ड ड्रिङकिङ वाटर’का बोतल किन्छन् । सरसफाइका लागि पानी जोहो गर्न उस्तै हम्मे छ । निजी कम्पनीका पानी खरिद गर्न नसक्ने हजारौं गरिब परिवारले खतरा मोलेर असुरक्षित पानी उपभोग गर्छन् ।

काठमाडौंका भान्सामा ट्यांकर र जारमार्फत पुगेका खानेपानी शुद्ध भएकामा कोही ढुक्क छैन । बोतलमा पाइने प्रशोधित पानी खानयोग्य हो भनेर बोतल बेच्ने कम्पनी बाहेक अरू कसैले ठोकुवा गर्न सक्दैन । अनेक कारणले गुणस्तर रिपोर्टमा विश्वस्त हुन सकिँदैन । पानीको समस्या सम्बोधन गर्न सुरु गरिएको मेलम्ची आयोजनाले पानी होइन, भत्केका बाटा र धुलोका बाक्ला च्यादरमात्र दिएको छ । मेलम्चीको पानी घरका धारामा झर्ला र त्यो पानी स्वस्थ होला भन्नेमा सहरवासी आश्वस्त हुनसकेका छैनन् ।

काठमाडाैंको पानीको अभाव आफैमा शक्ति अभ्यास गर्ने र स्रोत दोहन गर्नेहरूको अदूरदर्शिताको प्रमाण हो । यो सहरका हरेक भान्सामा मुलुक हाँक्ने अख्तियारी लिएका ‘एलिट’ले गरेको निष्ठाच्युत राजनीतिको प्रतिविम्ब देखिन्छ । बेलैमा नसोचे, काठमाडौंले भोगेको पानीको दु:ख अन्यत्र पुनरावृत्त हुँदै जानेछ ।

गाउँ होस् वा सहर, पानीको दु:ख दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कुनै समझ र योजनाबिना विस्तार गरिएका सहरमा सोचेभन्दा छिटो पानी अभाव बढ्न थालेको छ । हिजो जति सहजै जमिन खनेर पानी निकालियो, आज त्यो काम दुरुह बन्न थालेको छ । पानीको सञ्चय सीमित छ, त्यो सञ्चय कायम राख्न एवं प्राकृतिक रूपमा पानी उत्पादन जारी राख्न असहज हुँदैछ ।

प्रशस्त पानी छ भनेर निश्चिन्त उपभोग वा दुरूपयोग गरिएका ठाउँमा समेत पानी अभाव बढ्न थाल्ने पक्का छ । जल–राजनीतिका अध्येता अजय दीक्षित लेख्छन्, ‘प्रदूषणका कारण पानीको स्रोतमा ह्रास नयाँ चुनौती हो । पानीको आवश्यकता बढेको छ, तर मूल सुक्न थालेका छन् । भू–जलको बढ्दो दोहन, चुरेभावर क्षेत्रमा वनजंगलमा र सिमसारको ह्रास, सहरीकरण र वर्षाको स्वभावमा परिवर्तनका कारण तराई–मधेसमा भू–जल भण्डारणको तह तल पुगेको छ ।’

प्रधानमन्त्री केपी ओलीले हालसालै दिएको पानी बेचेर धनी बन्ने गफ र यथार्थको यो चित्र एकअर्कामा मेल खाँदैनन् । आफै पानी अभावमा काकाकुल भइरहेको मुलुकले अर्बाैंको पानी बेच्ने गफ पचाउन सक्दैन ।

कराहीमा नपाक्ने तरकारी
पानी अभावले गाँजेको भान्सामा महँगो तरकारीले सकस थपेको छ । मुठ्ठीभर बिचौलियाले खाएका अचाक्ली मुनाफाका कारण लाखौं मानिसले उपभोग गर्ने तरकारी महँगो भएको छ । न तरकारी उत्पादन गर्ने कृषकलाई फाइदा पुगेको छ, न त बहुसंख्यक उपभोक्ताले लाभ लिएका छन् । बिचौलियाको प्रभाव सहजै घट्ने देखिँदैन । किनभने अनुगमन गर्न गएका सरकारी प्रतिनिधिलाई नै घेराबन्दी गर्ने ताकत देखाएका छन्, उनीहरूले । राजनीतिक आडबिना कोही त्यति बलियो बन्न सक्दैन ।

दस गुणासम्म बढी दाम हालेर ल्याइने तरकारी स्वस्थ छ भनेर ढुक्क हुन सकिँदैन । तरकारीमा मिसाइएका विषादी पानीले धोएर सफा तुल्याउन नसकिने विज्ञहरूले बताउने गरेका छन् । त्यसमाथि तरकारीको वजन बढाउन एवं तिनको रङ्गरूप राम्रो पार्न अखाद्य वस्तु प्रयोग गर्ने गरिएको प्रमाण फेला परेका छन् । सुई लगाएर ठूलो पारिएका काँक्रा र लौकाका किस्सा सुनाउनेहरूले भय थपेका छन् । सिमी र बोडीजस्ता तरकारी कराहीमा नपाकेका कारण कुकरमा हालेर दुई–चार सिटी लगाउनुपर्ने बाध्यता नभोगेका मान्छे कति होलान् र सहरमा !

तरकारी र फलफूलमा मात्रै समस्या होइन, दूध र मासुको गुणस्तरमा पनि विश्वस्त हुन सकिँदैन । ब्रोइलरमा प्रयोग हुने एन्टिबायोटिकका कथा रोचक छैनन्, दु:खदायी छन् । दूधमा कोलिफर्म जस्ता जीवाणुको मात्रा बढेको, दूध उत्पादन गर्ने कम्पनीले गुणस्तरमा ध्यान नदिएका खबर उस्तै डरलाग्दा छन् । चामलमा पालिस लगाइएको, पोषण कम भएको, आँटा र खानेतेलमा मिसावट भएका उदाहरण थुप्रै भेटिन्छन् । समय गुज्रेका फाष्टफुडको त कुरै नगरौं । सहरका भान्सामा आजकल तरकारीसँगै शंका र आक्रोश पनि पाकिरहेको छ ।

भान्सामा प्रधानमन्त्री
भान्सामा त्यसरी पाकिरहेको शंका र आक्रोशलाई सम्बोधन गर्न निष्ठा र इमानदारीको राजनीति जरुरी छ । तर प्रधानमन्त्री जस्तो जिम्मेवार संस्था दलाल र बिचौलियाको घेराबन्दी भएको खबर सार्वजनिक हुनुले राम्रो संकेत गर्दैन । गर्नुपर्ने कामका प्राथमिकता पहिल्याउन नसकी समृद्धिको आधारहीन गफ गर्दै हिँड्दा समस्या अझ विकराल बन्दै जानेछ ।

भान्साका मुख्य समस्यालाई सम्बोधन गर्ने कुनै ठोस कदम नचालेका प्रधानमन्त्रीले बरु सर्वसाधारणका भान्सालाई लोकरिझ्याइँका माध्यम बनाएका छन् । प्रत्येक भान्सामा पाइपमार्फत खाना पकाउने ग्यास पुर्‍याउने आश्वासन दिएका उनले गोबर ग्यास प्लान्टबाट विराटनगरमा बाँडिएका ३२ घरका चुला देखाएर आफूले देखेका समृद्धिका सपना पुरा हुनथालेको दाबी गरे ।

दशकौंदेखि गोबर ग्यासको उपयोग गरेर त्यसका फाइदा र सीमितताबारे जानकार बनेका सर्वसाधारणले उनको दाबी पत्याएनन् । सस्तो लोकरिझ्याइँले सर्वसाधारण जनताको भान्साको चासो सम्बोधन हुँदैन।

Esewa Pasal

प्रकाशित : भाद्र ७, २०७५ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लिंगपूजा र यौनहिंसा

मैले पढेका, सुनेका धार्मिक–पौराणिक प्रसंगमा ईश्वर तथा शिवलिंगको सन्दर्भ पितृसत्ता र यौन उत्पीडनसँग कहीँकतै जोडिएको पाएकी छैन ।
साधना प्रतीक्षा

काठमाडौँ — महिला तथा बालिका यौनजन्य हिंसाले आक्रान्त भइरहेका बेला शिवलिङ्ग र लिङ्गपूजालाई नारी उत्पीडन तथा यौन हिंसासँग जोडेर केही अभिव्यक्ति आए । सामाजिक सञ्जाल तथा केही पत्रिकामा विचारका रूपमा प्रस्तुत यस्ता अभिव्यक्ति आपत्तिजनक मात्र नभएर हास्यास्पद पनि देखिए ।

हिन्दु सनातन परम्पराको मूलसम्म नपुगी लहैलहैमा लागेर कुनै व्यक्ति विशेषका व्यक्तिगत गतिविधिमाथि टिकाटिप्पणी गर्न प्रस्तुत यस्ता अभिव्यक्तिले कसैलाई उत्तेजित र आक्रोशित मात्रै बनाउँछ । यसले सामाजिक परिवर्तन ल्याउन सक्दैन । आफूलाई महिला हक–अधिकारप्रति संघर्षरत भन्ने पक्षबाट महिलाले आ–आफ्नो धार्मिक–सांस्कृतिक आस्था अनुरूप गर्ने व्यक्तिगत कार्यप्रति यसरी नकारात्मक टिप्पणी गर्नु शोभनीय देखिँदैन ।

हिन्दु सनातन परम्परामा आस्थाको उच्चासनमा अवस्थित शिवलिङ्ग न यौनिक आधारमा पुलिङ्गको प्रतीक हो, नत लैङ्गिक दृष्टिले पितृसत्ताको प्रतीक । ज्योतिर्लिङ्ग उत्पत्तिको कथा–प्रसङ्गमा जाने हो भने यो आदिशक्ति हो, जसको आदि र अन्त्य छैन । सिद्ध योगीहरूले साधनामा मग्न भएर यही ज्योतिस्वरूप ईश्वरको अनुभव गरी परमानन्दमा लिन हुन्छन् र उनीहरू सांसारिक माया–मोह तथा मान–अपमानभन्दा पर हुन्छन् । यस्तो दिव्य ऊर्जाको केही अंश हरेक मानिसमा हुन्छ भने त्यसलाई जाग्रित गर्न सक्नु र नसक्नुमा त्यसको उपयोग र निस्प्रयोग निर्भर गर्छ । मानव भएर संसारमा आएर पनि दिव्य चमत्कार गर्न सफल महापुरुष यसैका उदाहरण हुन् ।

म न कुनै धर्म–संस्कृतिको ज्ञाता हुँ, नत धार्मिक व्याख्याता । तर मैले पढेका, सुनेका र हेरेका केही धार्मिक–पौराणिक प्रसङ्गमा ईश्वर तथा शिवलिङ्गको सन्दर्भ पितृसत्ता र यौन उत्पीडनसँग कहीँ कतै जोडिएको पाएकी छैन । पुरानो तथा पवित्र हिन्दु परम्परालाई पछि विकसित कर्मकाण्डीय संस्कृतिले अपव्याख्या गर्दागर्दै आलोच्य बनाएको छ । सृष्टिको आरम्भको कथामा हिरण्यगर्भ अर्थात् जहाँबाट त्रिदेवको उत्पत्ति भएको मानिन्छ, त्यो पराआदिशक्ति महाकाली थिइन् । उनले ब्रह्मा र विष्णुलाई आफ्नो एक–एक अंश प्रदान गरेर लक्ष्मी र सरस्वती स्वरूप नारीशक्तिका रूपमा साथ दिइन् ।

शिवसँग आफू स्वयम् सतीका रूपमा जन्मेर साथ दिइन् । यस्ता कथालाई भ्रामक तरिकाले प्रचार गरिएको छ । उदाहरणका लागि, त्रिदेवमध्ये ब्रह्माको पूजा गरिँदैन । त्यसको कारण हो, आरम्भमै उनले आफू श्रेष्ठ ठहरिन झुटो बोलेका थिए । कथा अनुसार ब्रह्मा र विष्णुको उत्पत्ति एकैसाथ भएपछि दुवैबीच को श्रेष्ठ भन्ने विवाद बढ्यो । एउटा ज्योतिपुञ्जबाट ज्योतिर्लिङ्गको उत्पत्ति भएर ती दुईमध्ये ब्रह्मालाई त्यसको टुप्पो र विष्णुलाई फेद पत्ता लगाउने जिम्मेवारी दिए । जसले त्यसमा सफलता प्राप्त गर्छ, उही श्रेष्ठ ठहरिने र अर्कोले उसको पूजा गर्नुपर्ने सर्त राखियो ।

ब्रह्मा अकाशिँदै अनन्त उचाइमा पुगे भने विष्णु पातालिँदै अनन्त गहिराइमा पुगे, तर कसैले पनि ज्योतिर्लिङ्गको फेद–टुप्पो पहिल्याउन सकेनन् । ब्रह्माले सोचे, यति उचाइमा आएँ, मैले टुप्पो पत्ता नलगाएको देख्ने साक्षी को छ र ? अत: उनले केतुकीको फूललाई आफ्नो सफलताको साक्षी बनाएर आफूले सो लिङ्गको टुप्पो पत्ता लगाएको दाबी गरे । विष्णु फेद पत्ता लगाउन नसकेको सत्य स्वीकार गर्दै ब्रह्माको पूजा गर्न राजी भए ।

त्यसपछि ज्योतिर्लिङ्गबाट शिव प्रकट भएर ब्रह्माले झुटो बोलेका कारण उनको पूजा नहुने श्राप दिए । केतुकीको फूलले झुटको साथ दिएको हुँदा श्रापको भागी भएकाले शिवको पूजामा त्यसलाई चढाइँदैन । यसले अपराध गर्ने तथा त्यसलाई साथ दिने दुबै दण्डनीय हुन्छन् भन्ने देखाउँछ । तर यस्तो प्रसङ्गको भ्रामक प्रचार गरी ब्रह्माले आफ्नी छोरी सरस्वतीलाई कामभावले पिछा गरेको हुनाले उनको पूजा नगरिएको भन्ने गरिन्छ । यस्ता अन्य प्रसङ्ग पनि अपभ्रंश गरी प्रस्तुत गरिएका छन् ।

भनिन्छ, साकार ईश्वर काल्पनिक कथाका पात्र हुन् । त्यसो हो भने किन ईश्वरको सकारात्मक छवि कल्पना नगरेर नकारात्मक प्रचार गरिन्छ ? जब पुस–माघ आउँछ, ‘स्वस्थानी व्रत कथा’जस्तो प्राथमिककालीन गद्याख्यानका आधारमा बलात्कारी विष्णु, छली महादेव आदि भन्दै बहस चलाइन्छ ।

तीज आउँदा यौनहिंसा र पितृसत्ताको प्रतीक शिवलिङ्ग भन्दै शिवपूजा र धार्मिक आस्थाप्रति प्रहार गरिन्छ । यथार्थमा कुनै पनि धर्मले हिंसालाई प्रेरित गर्दैन, कुनै पनि ईश्वरले बलात्कारलाई प्रोत्साहन गर्दैन । धर्म र ईश्वर सदा कल्याणकारी हुन्छ । सागर मन्थन तथा महादेवले सृष्टिको रक्षार्थ हलाहल विषपानको प्रसङ्गले यही यथार्थ पुष्टि गर्दैन र ? धर्म मानिसलाई अनुशासन र नैतिक घेरामा राख्ने अंकुश हो ।

सामाजिक सुव्यवस्थाका लागि सही अर्थको धार्मिक मूल्य–मान्यता र आस्था आवश्यक हुन्छ । हिन्दु सनातन परम्परामा नारीको स्थान सदैव उच्च तथा वन्दनीय शक्तिका रूपमा देखिएको छ । यसको प्रमाण शक्तिपूजाको परम्परा हो । स्वयम् महादेवले पार्वतीलाई आफ्नो शक्ति अनि अस्तित्व मान्दै ‘शक्तिबिना शिव केवल शव हो’ भनेका प्रसङ्ग पाइन्छन् । हामी यस्ता प्रसङ्गको प्रचार गर्दैनौँ ।

नारीलाई होच्याइएका, उनीहरूमाथि अन्याय गरिएका प्रसङ्गका आधारमा समग्र हिन्दु सनातन परम्परामाथि प्रहार गर्छाैँ । यसले समाजमा असष्णिुतालाई प्रोत्साहित गर्दै साम्प्रदायिक विद्वैष फैलाउने यथार्थतर्फ पनि सचेत हुनु आवश्यक देखिन्छ । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने ईश्वर सम्बन्धी मान्यता समाज निर्मित हो । उही ईश्वर कहीँ शाकाहारी हुन्छ भने कुनै समाजमा मांसाहारी । कुनै समाज–संस्कृतिमा भगवानलाई दूधमात्र चढाइन्छ भने कुनै संस्कृतिमा मदिरा ।

कसैलाई पूजाआजा नगरी पानी पनि नपिउने बानी होला । कसैलाई पूजा तथा ईश्वरमा विश्वास नहोला । यसो भन्दैमा अरूले पुज्ने मूर्तिमा हिलो छ्याप्ने अधिकारको दाबा भने गरिनु हुँदैन । कसैलाई हातभरि चुरा र गलाले धान्न नसक्ने पोते लगाउन मन लाग्ला । कसैलाई रित्तो हात र खाली गला हिँड्न मन लाग्ला । कुनै विवाहित स्त्री रुद्राक्ष धारण गरेर हिँड्न रुचाउलिन् । यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । समाजमा असर नपारुन्जेल व्यक्तिगत क्रियाकलाप आलोचनाको विषय बन्नु हुँदैन । किनभने मान्छेको व्यक्तिगत तथा सामाजिक दुबै भूमिका हुन्छ ।

यौन हिंसा न्यूनीकरणका लागि कानुनी प्रावधान र कारण खोजी जरुरी देखिन्छ । कुन सामाजिक–सांस्कृतिक परिवेश, कस्तो आर्थिक तथा शैक्षिक अवस्था र कुन भौगोलिक परिवेशमा यस्ता घटना बढी हुने गरेका छन्, पहिचान हुनुपर्छ । कस्तो परिवेशका महिला तथा किशोरी यौनहिंसा विरुद्ध कानुनी उपचार नखोजी घटनालाई लुकाउन बाध्य हुन्छन् ? यौन हिंसाका सन्दर्भमा व्यक्ति तथा समाज मनोविज्ञानको खोजी र पहिचान पनि आवश्यक हुन्छ । कारण पहिल्याएर मात्र समस्या समाधान सहज हुन्छ । कसैको आस्थामाथि प्रहारले मात्र समस्या समाधान हुन सक्दैन ।

यसै सन्दर्भमा महिला तथा बालबालिका मन्त्रालय तथा त्यस मातहतका सरोकारवाला निकायले यौनजन्य हिंसा न्यूनीकरणका लागि हालसम्म तय गरेका नीति तथा तिनको कार्यान्वयनको खोजी हुनुपर्छ । सरकारी तथा गैरसरकारी संथाद्वारा भए–गरिएका कार्यको मूल्याङ्कन र प्रभावकारिता अनुगमन पनि उत्तिकै आवश्यक छ । नाराले मात्र परिवर्तन सम्भव हुँदैन । ठोस कार्यक्रम र त्यसको प्रभावकारी कार्यान्वयन चाहिन्छ ।

जहाँका महिला उत्पीडन विरुद्ध सर्वप्रथम मैदानमा उत्रिएका थिए, त्यहाँ लिङ्ग पूजाको संस्कृति थिएन । उनीहरू न पुरुष श्रेष्ठतालाई शिरोधार्य गरेर व्रत बस्थे, नत पुरुषका हातको टीका नै थाप्थे । त्यस्तो समाज र संस्कृतिभित्र पनि उनीहरू केबाट शोषित–पीडित भए ? यथार्थमा उनीहरूको उत्पीडनको कारक धर्म नभएर पुरुषप्रधान सामाजिक संरचना र त्यसैले निर्माण गरेको सांस्कृतिक मान्यता थियो ।

मन्दिर, मस्जिद, चर्च वा गुम्बा जहाँ रहे पनि, ईश्वर, खुदा, गड वा गुरु जुन रूपमा मानिए पनि भगवान सदा कल्याणकारी हुन्छ । कुनै पनि धर्मले हत्या–हिंसा, विभेद र उत्पीडनलाई प्रश्रय दिँदैन । जस्तै– मन्दिरमा पशुबलि दिएर कल्याणको कामना गर्नु भगवान निर्देशित नभएर निश्चित समाजले निर्माण गरेको संस्कृतिमात्र हो । धर्म र यौन हिंसाका बीचमा कुनै सम्बन्ध देखिँदैन ।

धर्म र ईश्वरलाई आफू अनुकूल व्याख्या गर्ने धर्मभिरु तथा त्यसलाई अन्धानुकरण गर्ने अपरिपक्व मानसिकताका कारण हाम्रो सनातन परम्परा र आस्थामाथि प्रहार भैरहेको छ, जुन निन्दनीय छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT