जो राम्रो काम गर्छ, ऊ सिकाउन सक्दैन

सफल जीवनवृत्ति भएकाहरू पढाउन जान्दाछन् भन्ने बुझाइ छ । व्यवस्थापन र व्यापार पढाउने कलेजहरूले पूर्व कार्यकारीलाई प्राध्यापकका रूपमा लिन्छन् । तर हामीले उल्टो गरिरहेका छौं, शिक्षकलाई चाहिँ काम गर्न पठाउनुपर्थ्याे ।
एडम ग्रान्ट

काठमाडौँ — यदि तपाईं कुनै विषयमा महान बन्न चाहनुहुन्छ भने उत्कृष्ट व्यक्तिसँग सिक्नुहोस् । भौतिकशास्त्र पढ्नेले अल्बर्ट आइन्सटाइनसँग सिक्न पाए त्योभन्दा ठूलो के हुन्छ ?त्यो धेरै नै हो ।

आफ्नो जीवनको पहिलो महत्त्वपूर्ण सफलता– रिलेटिभिटीबारे पहिलो शोधपत्र प्रकाशित भएपछि आइन्सटाइनले सुरुमा युनिभर्सिटी अफ बर्नमा प्राध्यापन गरे । तर उनले धेरै विद्यार्थीलाई ‘थर्मोडाइनामिक्स’ विषयमा अध्ययन गर्न आकर्षित गर्न सकेनन् । केवल तीन जनाले रुचि देखाए, ती पनि उनकै साथी थिए । त्यसपछिको सेमेस्टरमा पनि केवल एक विद्यार्थीमात्रै भर्ना भएपछि उनले कक्षा रद्ध गर्नुपर्‍यो ।


त्यसको केही वर्षपछि आइन्सटाइनले स्वीस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी, जुरिचमा काम गर्न थाले । त्यहाँका अध्यक्षले उनको पढाउने तरिकै नभएको भनेर प्रश्न उठाए । आइन्सटाइनले त्यो जागिर साथीको सिफारिसमा पाएका थिए । पछि ती साथीले आइन्सटाइन आफ्नो भनाइ राख्ने कुरामा कमजोर रहेको स्वीकारे । उनको आत्मकथाका लेखक वाल्टर इस्याकसनका अनुसार पनि ‘आइन्सटाइन कहिल्यै पनि प्रेरित गर्नसक्ने शिक्षक भएनन् । उनका सबै लेक्चर अव्यवस्थित हुन्थे ।’

Yamaha


राम्रोसँग पढाउन नजान्नेका लागि एउटा कथन छ– व्यक्तिगत रूपमा राम्रो गर्नेहरू वास्तवमा खराब शिक्षक हुन्छन् ।


दुई दशकअघि म हार्वडमा स्नातक तह अध्ययनका लागि आउँदा नोबल र पुलित्जर पुरस्कार विजेता शिक्षकहरूसँग पढ्न पाइयो भनेर निकै उत्साहित थिएँ । तर पहिलो वर्षको अन्त्यसम्म आइपुग्दा विश्वका चर्चित विज्ञहरू नै मेरा सबैभन्दा खराब शिक्षकहरू बने ।


अधिकांशलाई पढाउनेबारे केही मतलब थिएन । उनीहरूलाई आफ्नो विषयमा यति धेरै ज्ञान थियो, जसमा उनीहरूले धेरै वर्ष अघि महारथ हासिल गरिसकेका थिए । मेरो अनुभवमा उनीहरू अरुको मतलबै राख्दैन थिए । सामाजिक वैज्ञानिकहरू यसलाई ‘ज्ञानको सराप’का रूपमा व्याख्या गर्छन् । हाल बर्नार्ड कलेजका अध्यक्ष रहेका मनोचिकित्सक सायन बेइलक लेख्छन्, ‘जब कोही आफ्नो काममा झन्–झन् पारंगत हुँदै जान्छन्, तब उनीहरूमा अरुलाई त्यही सीप सिकाउने क्षमता भने घट्दै जान्छ ।’


तसर्थ यदि तपाईंलाई केही सिक्नुछ भने नयाँ शिक्षक छनोट गर्न तीनवटा कारकलाई ध्यान दिनुहोस् । चाहे त्यो प्राध्यापक वा संरक्षक वा प्रशिक्षक नै किन नहोस् ।


पहिलो– शिक्षकले पढाउने विषयबारे कति समय अध्ययन गरेका छन्, त्यो पत्ता लगाउनुहोस् । ठूला विश्वविद्यालयहरू आफूकहाँ विभिन्न विधाका विज्ञले कक्षा लिन्छन् भनेर प्रचार गर्न रुचाउँछन् । मेरा सबैभन्दा राम्रा शिक्षकमात्रै स्नातकोत्तर पढेका विद्यार्थी थिए । उनीहरूले उक्त विषयबारे आफैं अध्ययन गरेका थिए । यस्ता शिक्षकलाई आफू सिकारु हुँदाको पीडा थाहा हुन्छ । त्यसैले कुनै विषयका विज्ञभन्दा भर्खरै अध्ययन गरेका व्यक्तिसँग पढ्नु राम्रो हुन्छ ।


दोस्रो– अध्यापकलाई उक्त विषय अध्ययन गर्न कति गाह्रो भएको थियो, जान्न जरुरी छ । आइन्सटाइनसँग सिक्न निकै कठिन हुन्छ । उनको क्षमता अद्भुत थियो भन्नेमा दुईमत छैन । तर कुनै अद्भुत क्षमता नभए पनि कुनै विषयमा राम्रो गरेकाहरूसँग सिक्न सहज हुन्छ ।


उच्च माध्यमिक र माध्यमिक तहमा पढ्दा मैले स्प्रिङबोर्ड ड्राइवरका रूपमा प्रतिस्पर्धा गरेको थिएँ । एक पटक अलोम्पिक खेलेका ड्राइवरलाई ‘थ्री एन्ड हाफ समरसल्ट’ सिक्न कुनै चाल छ कि भनेर सोधेको थिएँ । उनले भने, ‘बलजस्तै डल्लो परेर उफ्र र छिटो घुम ।’ उनले प्राकृतिक रूपमै त्यो क्षमता प्राप्त गरेका थिए । त्यसैले उनलाई त्यो गर्न कुनै चाल सिक्न परेन । उनी त्यो सामान्य रूपमा गर्न सक्थे । मैले त्यसबारे राम्रो ज्ञान कोच एरिक बेस्टबाट पाएँ । किनभने उनले त्यो सिक्न सात वर्ष बिताएका थिए । तर शारीरिक सीमाका कारण उनी ओलम्पिकमा भाग लिन सकेनन् । तर ओलम्पिक स्तरको कोच भने थिए ।


तेस्रो– शिक्षकलाई त्यस विषयबारे कति ज्ञान छ मात्र होइन, उनी त्यसलाई कसरी अभिव्यक्त गर्छन् भन्ने पनि जान्न जरुरी हुन्छ । विज्ञहरूलाई तल्लो तहका कक्षामा पढाएर उनीहरूसँग संवाद गर्न कठिन हुन्छ ।


ल्याबमा घन्टौं बसेर कोषहरूलाई भाग लगाउने वा कम्प्युटर अगाडि बसेर कोडिङ गर्ने महारथीहरूभन्दा कोषलाई भाग लगाउने सीप सिकाउन सक्ने वा जाभामा कोड लेख्न सिकाउनेसँग सिक्नु राम्रो हुन्छ ।


कुनै कुरा सिक्ने सबैभन्दा राम्रो उपाय भनेको त्यो विषय पढाउनु हो । जब त्यसको व्याख्या गरिन्छ, त्यसलाई बुझ्न झन्् सहज हुन्छ । सम्झिन्छ पनि । त्यसपछि उक्त विषयबारे बोल्न झनै सजिलो हुन्छ ।


जब पढिन्छ, एक स्तरको अनुभव प्राप्त हुन्छ । त्यही कुरा अरुलाई बुझाउँदा त्यो सीप पनि बढ्छ । त्यसले सिकेका कुरा लागू गर्ने क्षमता बढाउँछ ।


सफल जीवनवृत्ति भएकाहरू पढाउन जान्दाछन् भन्ने बुझाइ छ । व्यवस्थापन र व्यापार पढाउने कलेजहरूले पूर्व कार्यकारीलाई प्राध्यापकका रूपमा लिन्छन् । तर हामीले उल्टो गरिरहेका छौं, शिक्षकलाई चाहिँ काम गर्न पठाउनुपथ्र्यो ।


कोही एक विषयमा राम्रो छ भन्दैमा ऊ अर्कोमा नराम्रो वा राम्रो छ भन्ने हुँदैन । त्यो आ–आफ्नो क्षमताको कुरा हो । विश्वविद्यालयले ‘ठूला नाम’लाई बोलाउँदा उनीहरूले वास्तवमै पढाउन सक्छन् कि सक्दैनन् भनेर जाँच्न जरुरी छ । उनीहरूलाई के–के थाहा छ मात्र नभई त्यो कहिले सिकेका हुन् र त्यसलाई अरुसमक्ष राख्न सक्छन् कि सक्दैनन् भन्ने महत्त्वपूर्ण छ ।
अधिकांश विश्व प्रसिद्ध वैज्ञानिक, संगीतकार, खेलाडी वा कलाकारको जीवनवृत्ति हेर्ने हो भने उनीहरू कसैले पनि सुरुदेखि महान शिक्षक वा कोचसँग सिके/पढेका हुँदैनन् । उनीहरूले सामान्य व्यक्तिहरूसँग सिके, जसले उनीहरूलाई त्यो काम सिक्न रमाइलो वातावरण प्रदान गरे ।

द न्युयोर्क टाइम्सबाट अनूदित ।

(द ह्वार्टन स्कुल अफ द युनिभर्सिटी अफ पेन्सलभेनियाका संगठनात्मक मनोवैज्ञानिक एडम ग्रान्ट ‘गिभ एन्ड टेक’, ‘ओरजिनल्स’ र ‘अप्सन बी’ पुस्तकका लेखक हुन् ।)

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

अमृता अनमोल

बुटवल — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै गाडीमा लुम्बिनी पुगेका हुन ।

यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै अाएका छन्। राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका छन्।

उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चनागरेका छन् । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा पुगेका छन्। श्रीलंकाद्वारा बनाइएकाे त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिएका छन् । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए।

विमस्टेक सम्मेलनमा भाग लिन आएका सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन्। बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ।


सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ। राष्ट्रपति सिरिसेना आजै काठमाडौं फर्कनेछन्।

प्रकाशित : भाद्र १६, २०७५ ०७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT