अक्षम छ भने अन्तर्राष्ट्रिय सभा/सम्मेलनको ढोंग किन?

शिल्पा कर्ण

काठमाडौँ — परीक्षाको अघिल्लो दिन, शनिबार । खाना पकाउँदै गर्दा ठुल्ममीकी छोरीले फोन गरिन् । ठुल्बुवा निकै सिकिस्त हुनुभएछ, जनकपुरबाट थप उपचारका लागि काठमाडौं रिफर गरिदिएपछि एम्बुलेन्समा ल्याइरहेको खबर पाएँ । पटक–पटक बिरामी पर्ने वहाँको यसपटक पनि निको हुन्छ भन्नेमा विश्वस्त थिएँ ।

त्यो पनि काठमाडौंमा जहाँ पैसा खर्च गर्न सके विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवा दिने स्वास्थ्य संस्थाको कमी छैन।
बुढेसकाल आएपनि ६५ वर्ष पनि छोएको थिएन। ढुक्क थिएँ, केही हुन्न। उपचारपछि स्वस्थ्य हुनुहुनेछ। भोलिपल्टदेखि चिकित्सकले नयाँ मुलुकी ऐनका (संहिता) केही बुँदामा असहमति जनाउँदै आन्दोलन गर्ने भएकाले उपचार प्रभावित हुन सक्ने सम्भावना थियो। सकभर वहाँको उपचार चाँडै होस् र आन्दोलनले केही नराम्रो अवस्था ननिम्त्याओस् भन्न कामना गरिरहेका थिएँ।

Yamaha


बहिनीको बिदा थियो, आफू नगएर दिदीसँगै उनलाई पठाइदिएँ। नजिकका आफन्त बिरामी हुँदा हेर्नुसम्म जानुपर्ने थियो। तर भोलिपल्टदेखि परीक्षा सुरु हुने भएकाले म गइन। दिउँसो १२ बजे बहिनी घरबाट निस्किइन्। कोटेश्वरबाट गाडी चढेर पुग्नु पर्ने ठाउँ पुगिन्। तर जसको पर्खाई थियो, वहाँहरू अझै आइसक्नुभएको थिएन। धेरै अघि नै जनकपुरबाट बनेपा–बर्दिबासको बाटो हुँदै काठमाडौं आइरहनुभएको थियो। कोटेश्वरमा निकैबेर जाममा पर्नुभएछ। वहाँहरूको भनाइलाई आधार मान्ने हो भने, झन्डै १ घन्टा कोटेश्वरको जामले भक्तपुरसम्मै रोकिरह्यो।

अस्पताल पुगुञ्जेल एक बजिसकेको थियो। दिउँसो २ बजे तिर खबर पाएँ, अब वहाँ हामीमाझ रहनुभएन। यहाँ रहनु भएका र अन्य आफन्तलाई खबर गरेँ। कोठाबाट निस्किँदासम्म तीन बजिरहेको थियो। बाँसबारी पुग्नुपर्ने थियो। चढ्ने बित्तिकै खुद्रा नभएकाले खलासीलाई भाडा कटाउन हजारको नोट थमाएँ। बनेपाबाट आइरहेको गाडीमा छेवैमा एक जना विदेशी थिइन्। उनलाई साँखु पुग्नुपर्ने रहेछ। घरि घरि सोध्दै थिइन्, किन यत्रोबेर जाम हो? ड्राइभरले भने, ‘सवारी छ।’

माइतीघरतिर जान खोजिरहेको एम्बुलेन्स साइरन बजाइरहेको थियो। जाम पनि फेरि उपत्यकामा यस्तो हुन्छ कि मान्छे उभिने जत्तिको ठाउँ पनि खाली हुन्न। शनिबारको जाम पनि त्यस्तै थियो। जबकी शनिबार तुलनात्मक रुपले अन्य दिनभन्दा केही कम गाडी सडकमा हुन्छन्। केही गाडीहरुले ठाउँ दिए र एम्बुलेन्स विपरित लेनबाट भएपनि अगाडि जान सक्यो। बल्ल बल्ल एम्बुलेन्स छिरेपछि सार्वजनिक सवारीभित्र बसेका हामीले केही राहत महसुस गर्‍यौं। एम्बुलेन्सभित्र ति बिरामीका आफन्तको हालत कस्तो भइरहेको थियो होला। सायद कल्पना पनि गर्न सकिन्न। हुन त यो पहिलोपल्ट भएको थिएन, लामो जाममा एम्बुलेन्सको साइरन बजिरहेको।

वर्ष दिन अघिको आफैले लेखेको समाचार सम्झिएँ। जाममा एम्बुलेन्स चालकका पीडा र छटपटीका बारे समाचार लेखेकी थिएँ। आज त्यो बेचैनी आफैले अनुभव गरिरहेकी थिएँ। आधा घन्टापछि बल्ल बल्ल जडिबुटीबाट गाडी कोटेश्वर पुग्यो। तर त्यहाँबाट ट्राफिकले उल्टै भक्तपुरतिर फर्काइदिए। म त्यहिँ कोटेश्वर ओर्लें।

सडक काटेर आउँदासम्म केही दुईपांग्रे र निजी चार पांग्रेलाई छोडियो। यता कोही मोटरसाइकल चालक रोक्ने वा लिफ्ट दिने ‘मुडमा’ देखिन्नथे। सबैले ‘बल्ल बल्ल निस्किएँ’ भन्ने भावका साथ गाडी गुडाइरहेका थिए। जबकी धेरैजसो चारपांग्रेमा एक–दुई जना मात्र पनि थिए। धेरै मोटरसाइकलमा चालक मात्र थिए।

यस अवस्थामा ट्याक्सी चालकहरूको ‘रवाफ’ पनि हेर्न लायक थियो। एउटा ट्याक्सी आउने बित्तिकै ३/४ जना चालकको झ्यालमा झुम्मिन्थे। मोलमोलाई गर्थे, मानौं उनीहरुको पैसा कमाउने उचित समय यही हो। ‘दाइ रत्नपार्कसम्म जाने?,’ यो प्रश्नको जवाफ प्रश्नै हुन्थ्यो, ‘५ सय मा जाने हो?’ एकजनालाई गल्तीले मिटरमा जानु भन्न पुगिछु। अनुहार यसरी बटोरर गए, मानौं पक्षघात भएको छ। ‘मिटरमा जाने’ भन्ने प्रश्न सोधेर फेरि कोही ट्याक्सी चालकको रिसाएको अनुहार बनाउन चाहिन। ५ सय भन्दा कममा कोही जान राजी भइरहेका थिएनन्। कम गर्नुस् वा मिलाएर जाउँ भन्ने समय पनि नदिइ ट्याक्सी हुईंक्याउँथे। नजिकै तैनाथ ट्राफिक प्रहरीको काम वाकि टकि समाउने मात्र थियो। कोटेश्वरमा अलपत्र परेका सयौं यात्रुको के मतलब? त्यहाँको दृष्यले यही भन्थ्यो।

यस अघि १४ गत्ते बिहीबार पनि अवस्था यस्तै थियो। त्यो दिन हिँड्दै लोकन्थलीबाट बागबजार हुँदै त्रिपुरेश्वरको बाटो थापाथलीस्थित कार्यालय पुगेकी थिएँ। तर आज हतार थियो, र मेरो लागि पुग्नैपर्ने बाध्यता पनि। जसरी बिमस्टेकका लागि १३ देखि १५ गत्तेसम्म गाडीमा जोर बिजोर प्रणाली अपनाइयो, त्यसैगरी त्यस अवधिमा सर्वसाधारणमा पर्न जाने मर्कालाई बुझ्दै ट्याक्सी चालकलाई कडाइ गर्न सकिन्थ्यो। तर सर्वसाधारणका लागि केही तयारी नगरी पाहुनाको स्वागत तयारी मात्र गरियो।
विद्यालय बिदा दिएपनि क्याम्पसमा परीक्षा भइरहेकै थियो। कति कलेजले त बिदा पनि दिएनन्। यसले धेरै विद्यार्थी बिचल्लीमा परे। एक मेरै बहिनी पनि हुन्, जो दुई दिन बिहान साढे ६ बजेदेखि लाग्ने कलेजबाट, गाडी समयमा नपाउँदा दिउँसो ३–४ बजे फर्किइन्। कम्तिमा यस अवधिमा ट्याक्सी चालकलाई मिटरमा जान निर्देशन दिएको भए हुन्थ्यो।
खैर, शनिबार ट्याक्सी कुर्दै गर्दा अन्य ३ जनाले मिलेर ५ सयमा रत्नपार्क लैजान एक ट्याक्सी चालक सहमत भए। कोटेश्वरबाट थोरै अगाडी गयौं, तीनकुनेमा जाम। धेरै गाडी एकैपल्ट छोडिएपछि जाम हुनु स्वभाविक थियो। बल्ल बल्ल एक घन्टापछि जाम खुलेर शान्तिनगर पुगेपछि ठुलोबुवाको शव फेरि जनकपुर लाने खबर पाएँ। दुवै लेनमा उत्तिकै सवारी र जाम। मैले वहाँको अनुहार समेत हेर्न पाईन। जामले दुख मलाई मात्र दिने त पक्कै होइन र यो पहिलो पल्ट पनि होइन। तर यसपल्ट चित्त नराम्ररी दुख्यो।

यो घटनापछि मेरा मनका उब्जिएका प्रश्नहरु यस्ता छन्, निजी वाहनलाई छोड्ने तर सार्वजनिकलाई रोक्ने किन? सार्वजनिक सवारी प्रयोगकर्ता न्युन आयस्तरका हुन्छन् भनेर हेप्न खोजिएको हो? के निजी वाहनका धनी मालिकहरुको सेवा गर्न ट्राफिक प्रहरी खटाइएको हो? वा सार्वजनिक बसका यात्री आतंकवादी हुन्र?, जसले विदेशी पाहुनामाथि बमवर्षा गर्न सक्ने खतरा छ र सुरक्षाका कारणले उनीहरु रोकिनुपर्छ?

सार्वजनिक सवारी साधनमा निजीमा भन्दा बढी यात्रु हुन्छन्। तर ट्राफिक प्रहरीले उल्टै निजीलाई छोड्छ। मानौं उनीहरुकै सेवा गर्ने जिम्मेवरी ट्राफिक प्रहरीलाई दिइएको छ। यदी हो भने ट्राफिक प्रहरीले निकै राम्ररी आफ्नो दायित्व पुरा गर्ने गरेको छ।

अर्को मनमा लागेको कुरा, जब नेपाल अन्तर्राष्ट्रिय सभा सम्मेलन व्यवस्थापन गर्न अक्षम छ भने आयोजना गर्नुको तात्पर्य के? एक त अन्तर्राष्ट्रिय स्तरको सभाहल वा सम्मेलन स्थल छैन। अर्को कुरा ट्राफिक व्यवस्थापन फितलो र सर्वसाधारणलाई सास्ती पनि उत्तिकै। एकपल्ट ट्राफिक महाशाखामा समाचार संकलनका क्रममा जाँदा ट्राफिक प्रहरीका उच्च अधिकारीले भनेका थिए, ‘सवारी चालकले ट्राफिक नियम पालना गर्ने हो भने अहिलेको जनशक्तिले अझै दशकजति धान्छ।’ खै किन उनले झुट बोलेझैं लाग्छ। जुन हिसाबले सवारीको संख्या बढीरहेको छ, त्यस अनुसार कुनै हालमा उपत्यकाको ट्राफिकलाई अहिलेको जनशक्ति वा प्रविधिले धान्दैन।

निजी सवारीलाई निरुत्साहित गर्नुपर्नेमा उल्टै राज्यले प्रोत्साहित गरेझैं लाग्छ। एक मनले उपत्यकावासी खुशी हुन्छन् पाहुना आउँदा। किनकी धुलाम्मे सडक रातारात पीच हुन्छ। अर्कोतिर पाहुना नफर्केसम्म घरमै सिमित हुनुपर्छ। मानौं नेपाली सर्वसाधारण कुनै नराम्रा बस्तु हुन्, जुन पाहुनाका अगाडि पर्नु हुन्न र लुकाउनु पर्छ। वा नेपाली यस्ता हुन् जसले पाहुनामाथि हमला गर्नेछन्, नेपालीका बीच उनीहरू सुरक्षित हुने छैनन्।

प्रकाशित : भाद्र १७, २०७५ १५:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं उपत्यकाको चोभारमा सुक्खा बन्दरगाह बनाउने सरकारी योजनाको स्थानीयले विरोध जनाएका छन् । उनीहरू सुक्खा बन्दगाहले चोभारको प्राकृतिक सौन्दर्य नष्ट पार्ने दाबीसहित विरोधमा उत्रेका हुन् ।

चोभारको जलविनायक मन्दिर नजिकका बासिन्दा सरोज शाक्यले भने, ‘उपत्यकालाई पर्यावरणीय र सांस्कृतिक हिसाबले ध्वस्त बनाइसकिएको छ । सुक्खा बन्दरगाह यहाँ राखेर झनै कुरूप र अव्यवस्थित बनाउन खोजिँदै छ ।’ उनले स्थानीयको सहमतिबिना नै सरकारले योजना बनाएको दाबी ग्रे ।


सुक्खा बन्दरगाह निर्माणबारे स्थानीय सरकारले भने केही सुझाव दिएको छ । कीर्तिपुर नगरपालिकाले बन्दरगाह निर्माण प्रक्रिया गत चैतमा थालेको वाणिज्य मन्त्रालयको इन्टरमोडेल विकास समितिलाई पत्र लेख्दै ६ बुँदे सुझाव दिएको हो । पत्रअनुसार नगरपालिकाले स्थानीय तहको सहभागिता सुनिश्चित हुनुपर्ने, वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनेलगायतका माग राखेको छ । यसका साथै सामुदायिक वन उपभोग तथा सांस्कृतिक पर्व/जात्रा हुँदै आएको जग्गा प्रयोग नगर्ने विषय पनि समेटिएको छ ।


यसै विषयमा शनिबार चोभार संरक्षण समितिले गरेको चोभार क्षेत्रको संरक्षण र विकासमा सुक्खा बन्दरगाह सान्दर्भिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्र नं. १० बाट प्रतिनिधिसभा सदस्य राजन केसीले पनि स्थानीयका कुरामा सहमति जनाए । ‘हिमाल सिमेन्टले जनस्वास्थ्यमा असर गर्‍यो भनेर स्थानीयले नै हटाएका हुन्,’ केसीले भने, ‘अहिले पनि स्थानीयवासीको इच्छाविपरीत कुनै पनि हालमा सुक्खा बन्दरगाह बन्दैन ।’ उनले आफू जनप्रतिनिधि भएको हैसियतमा यो विषयलाई सरकारसामु राख्ने प्रतिबद्धता जनाए ।


सिमेन्ट काराखानापछि कामै नलाग्ने जग्गामा आफूहरूले रूख रोपी हेरचाह गरेको स्थानीयको भनाइ छ । सिमेन्ट कारखानाले कच्चा पदार्थका लागि ‘ब्लास्टिङ’ गर्दा जमिनमुनिका धेरै संरचना बिग्रिए । भूकम्पले पनि त्यसलाई प्रभाव पार्‍यो । चोभारको उक्त क्षेत्रमा धेरै गुफाहरू छन् । पार्क क्षेत्रका आगन्तुकलाई गाइडले गुफा घुमाउने गरेका छन् । ‘गुफाभित्र ६/७ वटा पोखरी थिए पहिला । अहिले ३ वटा बाँकी छन्,’ महर्जनले थपे, ‘त्यो पानी झथ्र्यो । अहिले पोखरी सुके, झरना छैनन् ।’ पर्यावरण र चोभारको प्राकृतिक बनोट जोगाइराख्न थाप संरचना बनाउन नहुने उनको धारणा छ । वातावरणविद् भूषण तुलाधर पनि महर्जनका कुरामा सही थप्छन् । काठमाडौं उपत्यकामा हावा छिर्ने ठाउँ मुख्य गरी दुईवटा छन् । पहिलो चोभारको गल्छी हो, अर्को धादिङ–थानकोटबाट आउँछ । ‘उपत्यकाको हावा निस्किनेचाहिँ साँगातिरबाट रहेछ । हामीले हावा आउने ठाउँलाई नै सुक्खा र धूवाँयुक्त बनायौं भने भित्रको वायु प्रदूषणको स्तर के होला, कल्पनासमेत गर्न सकिन्न,’ उनले भने ।


खेलकुदका लागि उपयुक्त
अहिले अठारौं एसियाली खेलकुद इन्डोनेसियामा भइरहेको छ । यसको ‘माउन्टेन बाइक क्रस कन्ट्री ओलम्पिक’ को तयारी दुई खेलाडीले चोभारमै गरे । यसलाई माउन्टेन बाइकिङका लागि राम्रो स्थान मान्छन्, साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी । ‘यहाँ र हात्तीवन माउन्टेन बाइकिङ अभ्यास गर्न उपयुक्त ठाउँ हो, नजिक पर्छ,’ राजभण्डारीले भने ।
योजना के छ?


सुक्खा बन्दरगाहको योजना धेरै पहिले आए पनि अहिले शिलान्यास र निर्माण हुने पक्का भएपछि स्थानीयले विरोध गरेका हुन् । २०७३ को पुसतिरै हिमाल सिमेन्टका संरचना भत्काउन थालिएको थियो । २०७१ मंसिरमा तत्कालीन सरकारले हिमाल सिमेन्टको जग्गा सुक्खा बन्दरगाह बनाउनका लागि आपूर्ति मन्त्रालयलाई किन्न दिने निर्णय गरेको थियो ।
विश्व बैंकको डेढ अर्ब रुपैयाँँ सहयोगमा सवा आठ सय रोपनीमा बन्दरगाह र प्रदर्शनीस्थल निर्माण गर्न लागिएको वाणीज्य मन्त्रालयको भनाइ छ । विश्व बैंकसँगको सम्झौताअनुसार सन् २०१९ सम्ममा बन्दरगाह निर्माण भइसक्नुपर्नेछ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT