कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुर्का र कालो साडी

डा. अरुणा उप्रेती

काठमाडौँ — सन् १९७८ मा इरानी महिला कालो बुर्का लगाएर सडकमा उत्रिएका थिए । उनीहरू राजाको निरंकुशता, राजाको ‘सावाक’ नामको गुप्तचर संस्थाले गरेको अमानवीय व्यवहारको विरोध गर्दै आन्दोलित थिए । राज्यबाट बेपत्ता पारिएका मानिस पत्ता लगाउनुपर्ने माग पनि सँगै अघि सारेका थिए ।

बुर्का र कालो साडी

म १९ वर्षकी थिएँ । राजाको पनि किन विरोध गरेको होला भनेर मलाई अचम्म लाग्यो ।

मुस्लिम देश भए पनि इरानमा बुर्का प्राय: हटिसकेको थियो । तर घरमा तर बुर्का राखिएको थियो होला । त्यसलाई उनीहरूले सरकारको विरोध गर्ने हतियार बनाए । इरानी महिलाले बुर्का लगाएर बाटोमा हिँडेको दृश्यले संसारको ध्यान खिचेको थियो । त्यतिबेला राजनीति उति धेरै म बुझ्दिनथेँ । तर महिलाको साहस देखेर ‘गजब’ लागेको थियो ।

भारतबाट आउने ‘धर्मयुग’ र ‘दिनमान’ पत्रिकामा इरानको २५ सय वर्ष लामो शाही शासन अन्त्य हुनलागेको भनिएका लेख हुन्थ्यो । जनदबाब झेल्न नसकेर सन् १९७९ को सुरुमै इरानका राजा मोहम्मद रेजा पहलवी ‘विदामा’ फ्रान्स गए । राजाले जनतामाझ आफ्नो शासनप्रति कति वितृष्णा फैलिएको छ भन्ने बुझ्नै सकेनन् । कालो बुर्काले इरानको सडक ढाकिँदा सायद उनी झसंग त भए होलान् । तर त्यतिबेला ढिलो भइसकेको थियो । अमेरिकाको पूर्ण समर्थन भए पनि जनता नै विरुद्धमा लागेपछि २५ सय वर्ष पुरानो संस्था ढलमल भयो । विश्वविद्यालयका विद्यार्थीले ‘पढाइ महँगो भयो’ भनी गरेको हडतालबाटै इरानका शाहको जग हल्लन सुरु गरेको थियो ।

यसपालि तीजको दिन मलाई त्यही घटना याद आयो । कञ्चनपुरका महिला प्रतीकात्मक रूपमा कालो लुगा लगाएर प्रदर्शनमा उत्रिए । पत्नीले पतिलाई साँच्चै परमेश्वर मान्ने समाजमा महिलाले कालो लुगा लगाएर तीजको दिन सडकमा उत्रिनु सामान्य कुरा होइन । काठमाडौंको बालुवाटारमा बस्ने नेता र प्रहरीका उच्च अधिकारीले यो कत्तिको बुझे कुन्नि † महिलाले कालो लुगाको प्रतीकात्मक अर्थ छ । यो लुगाले नेताको बदमासी, प्रहरी र राजनीतिक व्यक्तिको सम्बन्ध र प्रहरी निकम्मालाई संकेत गरेको छ ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले बलात्कारका घटनामा बोलिरहेको छ । तर आफू सत्तामा बस्दा समाजका समस्यामा कांग्रेस मौन बसेको कि उट्पट्याङ कुरा गरेको दृष्टान्त छ । धेरै वर्षअघि कांग्रेसका एक नेताले भनेका थिए, ‘बलात्कारबाट बच्न महिलाले नङ पाल्नुपर्छ । खल्तीमा खुर्सानीको धुलो बोकेर हिंँड्नुपर्छ । बलात्कार गर्नखोजे धुलो आँखामा हालिदिनुपर्छ ।’ वामपन्थीको सरकार बन्दा पनि न बलात्कारका घटना न्यूनीकरणमा न पहलकदमी भएको छ, नत भएका घटनाको अनुसन्धान र कानुनी कारबाही प्रभावकारी छ ।

बलात्कारको घटना हुँदा व्यक्ति, परिवार र समुदाय आक्रोशित हुन्छन् । तर नेता र प्रहरीलाई केही प्रभाव पर्दैन । पश्चिमी देशमा पनि बलात्कारका घटना नघट्ने होइनन् । तर त्यहाँ प्रहरी र राजनीतिक नेता अपराधी बचाउन लाग्दैनन् । कहिलेकाहीं मनमा लाग्छ, किन शासकहरूले सडकमा हिँंड्ने जनताको दु:ख बिर्सन्छन् ? सायद शक्तिको नशा चढेर हो कि † यस्ता काण्डमा धर्मगुरु पनि मौन हुन्छन् ।

भारतमा भएको निर्भया काण्डमा ‘आशाराम बापु’ नामक पाखण्डी बाबाले भनेका थिए, ‘बलात्कार हुनलागेका बेला निर्भयाले बलात्कारीलाई भाइ मलाई छाडिदेउ भनेको भए यस्तो हिंसा हँुदैनथ्यो ।’ आशाराम बापुका जस्ता तर्क दिने मानिस नेपालमा पनि छन् होला ।

देशमा महिला हिंसा, बलात्कारका घटना भएको र न्याय नपाएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्रीले जनआक्रोशको आगोमा घिउ थपेका छन् । उनले ‘रेडलाइट एरिया’ तोक्नुपर्ने र परिचयपत्र वितरण गर्नुपर्ने कुरा गरेका छन् । महिला लुकिछिपी देहव्यापारमा लागेका छन् । तिनलाई कानुनी रूप दिऊँ, कर संकलन पनि हुन्छ भन्ने उनको भनाइ आयो । भोलि अर्को प्रदेशबाट कुरा आउला, ‘बालबालिकामाथि यौन दुराचार भइरहेकै छ । त्यसलाई कानुनी रूप दिऊँ । यौन दुराचारी (वा सदाचारी) बाट कर लिऊँ ।’

यस्तै विचार नेताले पालेकैले यौन दुराचार, बलात्कार र हत्या ‘केही होइन, साधारण समस्या हो’ बुझाइ जनमानसमा रहेको हुनसक्छ । संसारका विभिन्न ठाउँमा महिला बलात्कृत हुन्छन् । पुरुष पनि बलात्कृत हुन्छन् । तर नेपाल, भारतमा जसरी यस्ता घटनालाई हलुका रूपमा लिइँदैन । उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री मुलायम यादवले एक बलात्कारीका विषयमा भनेका थिए, ‘बच्चा हो, गल्ती गर्‍यो ।’ अपराधलाई गल्ती मान्ने नेतालाई के भन्ने ! नेता र प्रहरीले के बुझ्नुपर्छ भने जनता चुप लागेर बस्दैनन् । निर्मलालाई न्यायका निम्ति सञ्चालित अभियानमा अनेक छोरी र आमाको आवाज मिसिएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?