मानवता हराएको मान्छे

आफ्नै परिवेश
मानसिक सन्तुलन गुमाएको व्यक्तिले कुटाइ खाइरहँदा हाम्रा मुख किन बन्द ?
झमक घिमिरे

काठमाडौँ — मेरो आँखामा नाचिरहेको छ एउटा दृश्य । टेलिभिजनको पर्दामा एउटा निर्दोष मानसिक असन्तुलित मानिसलाई बर्दीधारी प्रहरीले निर्मम कुटिरहेको छ । निर्ममसँग कुटिएको मानिस जोगिन यता र उता, घर–पसल भएतिर भाग्न खोजिरहेको थियो ।

तर उसलाई अनाहकमा कुटाइ खानबाट बचाउन त परै जाओस्, उल्टो उसलाई कठालोमा समातेर कुट्दै प्रहरी भएतिरै धकेलिदिँंदै थिए, त्यहाँका मान्छे ।


लोकतन्त्र, गणतन्त्रको दुहाइ दिनेहरूको मनभित्र अलिकति पनि मानवता छैन । हाम्रा मनमा अलिकति दयामायाको भाव छैन ? मानसिक सन्तुलन गुमाएको मानिसले आफ्नो आँखा अगाडि निर्ममसँग कुटाइ खाइरहँदा पनि हाम्रा मुखहरू किन बन्द छन् ? अनि सरकार शिक्षा, स्वास्थ्य, घरबासको अधिकारलाई नैसर्गिक अर्थात् प्रत्येक व्यक्तिको मौलिक अधिकारभित्र पार्ने अनि उपचार आवश्यक भएको नागरिकलाई निर्मतासँग कुट्ने प्रहरीलाई कारबाहीको कठघरामा उभ्याउने कि नउभ्याउने ?


मानव अधिकार र स्वतन्त्रताको सम्मान गर्ने सरकारले बनाएको कानुन विपरीतका क्रियाकलाप हुँदा र पटक–पटक मानव अधिकारको हननका घटना घट्दा पनि आफ्ना संयन्त्रका दोषीलाई कारबाही नगर्नुले अपराध गर्नेहरूको मनोबल बढेको देखिन्छ । त्यसो त वर्षौंदेखि आफ्नो छोराको हत्यारालाई सजायको माग गर्दै अनशन बसिरहेकी गंगामाया अधिकारीले न्याय अझै पाएकी छैनन् । उल्टो उनले पति नन्दप्रसाद अधिकारीलाई अनशनकै क्रममा गुमाइन् ।


पटक–पटक शासन व्यवस्था फेरिए पनि न्याय पाउन नसकेका नागरिक हाम्रा वरिपरि धेरै छन् । हिजोको द्वन्द्वरत अवस्थामा जे–जे भयो, भयो भनेर वास्तविक दोषीहरूलाई न्यायिक छानबिन गर्नबाट बचाएर राख्न हुँदैन । हिजो सरकारमा रहेकाहरूले पनि गलत काम गरेका छन्, दोषको भागिदार हुनैपर्छ । दोषीहरूले सजाय भोग्नैपर्छ । अनि मात्र गंगामायाहरू जस्ता पात्रले न्यायको अनुभूति गर्न पाउनेछन् । सरकार कुनै पनि दोषीलाई सजाय दिन सफल भएको हेर्न चाहन्छन्, नेपाली जनता ।


प्रहरी प्रशासन भनेको जनतासँग सिधै जोडिएको निकाय हो । यो निकायका मान्छे सुरक्षाको सवालमा विशेष संवेदनशील भएनन् भने आम जनतामा आक्रोश, निराशा, छटपटी बढ्छ । यसले सरकारप्रति असन्तुष्टि जन्माउँछ । त्यसैले सरकार बेलैमा नागरिकको सुरक्षाको सवालमा गम्भीर बनोस् । जनताको शान्ति सुरक्षामा खटिएको निकायका मान्छे नै संवेदनहीन बनेपछि जनताले सुरक्षा संयन्त्रप्रति कसरी विश्वास गर्ने ?


केही समय अगाडि सुनसरीमा एक शिक्षकको हत्या भयो । भारतीय सुटर आएर उनीमाथि गोली वर्षाएर फरार भए । भारतीय अपराधीहरू सजिलै नेपाल पसेर नेपाली निर्दाेष नागरिकको हत्या गरेर भाग्न मिल्ने कस्तो फितलो हाम्रो नाका ?


भारतीय नागरिक जतिबेला मन लाग्यो, त्यतिबेला नेपाली भूमिमा पसेर यहाँ नृशंस ताण्डव मच्चाएर भाग्न भ्याउँदा नेपाल प्रहरी प्रशासन ट्वाल्ल परेर तमासा हेरिरहन्छ । नेपाल सरकारले यस्ता आपराधिक घटना हुन नदिन विशेष सतर्कता अपनाउनुपर्छ ताकि आफ्ना नागरिक सुरक्षित हुन् । सरकार, प्रहरी प्रशासन, मानव अधिकारको सन्दर्भमा सचेत र संवेदनशील बन्न अत्यन्तै आवश्यक छ ।


प्रकाशित : आश्विन १०, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

निर्मलाको आत्मालाई शान्ति

झमक घिमिरे

काठमाडौँ — उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ? हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डमा प्रहरी प्रशासन आफैं विवादमा तानिनुले हाम्रो सुरक्षा संयन्त्रमै प्रश्न उठेको छ । सरकारी छानबिन समितिका एक सदस्यले आफ्नो ज्यानको सुरक्षा माग गर्दै राजीनामा दिए यद्यपि पछि फिर्ता लिए।

अपराधी जतिसुकै शक्तिशाली होस्, त्यसलाई कानुनको कठघरामा उभ्याएर सजाय दिने काम सरकारको हो, राज्यको हो । सरकार वा राज्य प्रत्येक नागरिकको अभिभावक हो । आफ्ना नागरिकको सुरक्षाको सवालमा गम्भीर बन्नुपर्छ ।

निर्मला हत्याकाण्डपछि पनि किशोरीहरूको बलात्कार गरेर हत्या गर्ने घटना बढिरहेका छन् । तसर्थ राज्य उनीहरूको जीवनको सवालमा विशेष संवेदनशील बन्नु पर्छ । किशोरावस्थामा उसले उचित मार्गदर्शन पाएन भने जस्तोसुकै कर्म गर्न पनि तयार हुन्छ । अहिले विज्ञान प्रविधिको युग छ, त्यसबाट कोही पनि अछुतो रहन सक्दैन । त्यसैबाट साइबर अपराध मौलाउँदै गएको छ । यसबाट युवा वर्ग आफैं सचेत हुनुपर्ने देखिन्छ । अभिभावकले आफ्ना छोराछोरीमाथि विशेष निगरानी राख्नुपर्छ ।

नागरिकले आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन मिल्दैन । किशोरावस्थामा पुगेका छोराछोरी के गर्दैछन् ? कस्तो संगत गरिरहेका छन् ? उनीहरूको क्रियाकलापमा कस्तो परिवर्तन आइरहेको छ ? जानकारी राख्नु प्रत्येक अभिभावकको कर्तव्य र दायित्व हुन्छ । आफ्ना छोराछोरीसँग मित्रवत् व्यवहार गर्दै सही मार्गमा हिँंड्न मद्दत घर–परिवारका सदस्यले गर्नु पर्छ । शारीरिक, मानसिक परिवर्तनका कारण उनीहरू जीवन र जगतका धेरै कुराप्रति जिज्ञासु हुन्छन् । यी जिज्ञासालाई स्वाभाविक रूपमा लिएर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अभिभावकले मेटाइदिनु आवश्यक छ ।

निर्मलाको हत्याले स्वतन्त्र नागरिकले सडक तताएका छन् । सरकारको गैरजिम्मेवारीप्रति खबरदारी गरेका छन् । अब अरु निर्मलाहरूप्रति कति सचेत छन्, आम नागरिक । गृह प्रशासन यतिन्जेलसम्म के गर्दैछ ? बालिका, महिला दिनानुदिन बलात्कार, हत्या, हिंसामा परिरहेका छन् । यी घटना नियन्त्रण गर्ने रणनीति बनाउनु र त्यसलाई कार्यान्वयन तत्काल गर्नुको सट्टा उल्टो मूकदर्शक बनेर बसेको भान हुन्छ । सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले किन आफ्नो ज्यानको सुरक्षा माग गरे? उनको भनाइ छ– निर्मलाको आत्माले शान्ति नपाउने अवस्था देखेपछि राजीनामा दिएँ । यसको अर्थ के हो ? निर्मलाको हत्यारा को हो ? स्वयं निर्मलाका बाबु यज्ञराजको भनाइ छ– छोरीको हत्याराको प्रमाण छोपछाप पार्ने र वास्तविक अपराधीलाई सजाय मिल्ने कुरामा आशा मरिसकेको छ । किन आम नागरिकको सरकारी सुरक्षाप्रति यति धेरै निराशा ?

सरकारले उनको जीवनको सुरक्षाको प्रत्याभूति दिएर उनीमार्फत सत्य कुरा बाहिर ल्याउनु पर्छ । वास्तविक अपराधीको पहिचान गरेर कुकर्मको सजाय दिने वातावरण सिर्जना गर्नु सरकारको कर्तव्य र दायित्व दुवै हो । यो कुराबाट पछि नहटोस्, सरकार । अरु निर्मलाहरूको यस्तो नृशंस हत्या नहोस् ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्