कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्टिबायोटिक्स सदुपयोग

एन्टिबायोटिक्स चाहिने मात्राभन्दा कम वा बढी प्रयोग गरिदिँदा जीवाणुको प्रतिरोध क्षमता बढ्छ ।
डा. सुरेन्द्र कार्की

काठमाडौँ — औषधि प्रतिरोधी जीवाणुका कारण विश्वभर वर्षेनि करिब सात लाख मानिसको मृत्यु हुने अनुमान छ । अहिलेकै दरमा प्रतिरोध क्षमता बढ्दै गए सन् २०५० सम्ममा यो संख्या वर्षेनि करिब एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ ।

एन्टिबायोटिक्स सदुपयोग

यसबाट करिब एक सय ट्रिलियन डलर बराबरको आर्थिक क्षति हुने चेतावनी पनि संगठनले दिएको छ । यसको असर नेपालजस्ता न्युन आय भएका अल्पविकसित देशमा बढी पर्छ ।


रोग लगाउने जीवाणुले छिटो–छिटो स्वरुप परिवर्तन गर्छन् । त्यसैले तिनको उपचारमा प्रयोग गरिने एन्टिबायोटिक्स औषधिले क्रमश: काम गर्न छाड्ने गरेका छन् । सन् १९२८ मा पहिलोपटक वैज्ञानिक एलेक्जेन्डर फ्लेमिङले एक किसिमको ढुसीबाट पेनिसिलिन नामक एन्टिबायोटिक्स औषधि पत्ता लगाएका थिए । अन्य केही वैज्ञानिकको समेत योगदानपछि सन् १९४० को दशकमा व्यावसायिक रूपमा पेनिसिलिन बजारमा आउन सक्यो ।


सामान्य संक्रमणकै कारण ठूलो संख्यामा मानिस मर्नुपर्ने त्यो बेला पेनिसिलिनले क्रान्ति ल्यायो । अन्य समूहका एन्टिबायोटिक्ससमेत बजारमा उपलब्ध हुनथाले । गम्भीर प्रकृतिका संक्रमण हुंँदासमेत सन्चो हुने वातावरण बन्यो । तर धेरै एण्टिबायोटिक्सविरुद्व जीवाणुले प्रतिरोधी क्षमता विकास गर्दै गएको देखिन्छ । नयांँ प्रभावकारी एन्टिबायोटिक्सको विकास भने ढिलो भैरहेको छ । कतै फेरि एन्टिबायोटिक्स विकास हुन अघिकै युगमा त फर्कनुपर्ने होइन भन्ने चिन्ता वैज्ञानिकहरूले गरेका छन् ।


आफ्नो अस्तित्वको लडाइँका लागि जीवाणुले स्वरुप परिवर्तन प्राकृतिक रूपमा गरिरहन्छन् । तर अहिले अपेक्षित प्राकृतिक गतिभन्दा निकै छिटो जीवाणुले स्वरुप परिवर्तन गरिरहेको पाइन्छ । यसले गर्दा एन्टिबायोटिक्सहरूले जीवाणुलाई चिन्न सक्दैनन् र रोग निको हुँदैन । मानिसले जानअन्जानमा एन्टिबायोटिक्सको चाहिने मात्राभन्दा कम वा बढी प्रयोग गरिदिँदा जीवाणुको प्रतिरोध क्षमता बढ्छ । नेपालमा सोझै औषधि पसलबाट एन्टिबायोटिक्स खरिद गर्न पाइन्छ ।

औषधि नचाहिने ठाउंँमा पनि प्रयोग भएको हुनसक्छ । जनचेतना अभावमा एन्टिबायोटिक्स रुघाजस्ता भाइरल समस्यामा समेत प्रयोग भैरहेको छ । अस्पतालमा भरपर्दो प्रयोगशाला नहुनाले चिकित्सकलाई समेत एन्टिबायोटिक्स सिफारिस गर्न कठिन बन्दै गएको छ ।


एन्टिबायोटिक्स औषधि पशुपन्क्षीमा पनि प्रयोग हुन्छ । पशुपन्क्षीमा एन्टिबायोटिक्स प्रयोग गरेपछि बजारमा उत्पादन ल्याउनु अघि न्युनतम कुर्ने अवधि तोकिएको हुन्छ । त्यो अवधि पुरा हुनुअघि नै मासु, माछा र अन्डा बजारमा आए त्यसमा थोरै मात्रामा एन्टिबायोटिक्स रहन सक्छ । यसरी खाद्य पदार्थमार्फत थोरै–थोरै एन्टिबायोटिक्स खांँदा भोलि आफू बिरामी परेका बेला एन्टिबायोटिक्सले काम नगर्न सक्छ ।


पशुपन्क्षी छिटो हुर्काउन पनि एन्टिबायोटिक्स प्रयोग गर्ने गरेको पाइन्छ । बिरामी नै नपरेको पशुपन्क्षीलाई न्युन मात्रामा दानामार्फत निरन्तर एन्टिबायोटिक्स खुवाउने अभ्यासले जीवाणुमा एन्टिबायोटिक्स प्रतिरोधी क्षमता विकास हुने सम्भावना अत्यधिक हुन्छ ।

यस्ता प्रतिरोधी जीवाणु पशुपन्क्षीको सुलीमार्फत वातावरणमा आइपुग्छन् । संक्रमित वातावरण र खाद्यान्नमार्फत ती जीवाणु मानिससम्म आइपुग्न सक्छन् । पशुपन्क्षीमा प्रयोग हुने एन्टिबायोटिक्स बजारमा सजिलै खरिद गर्न पाइन्छ । त्यसकारण यिनीहरूको प्रयोग स्थिति र खपत कति छ भन्ने भरपर्दो तथ्यांक छैन ।


औषधि प्रतिरोधी जीवाणु बहुआयामिक समस्या हो । यसको समाधानका लागि सबै सरोकारवालाको उत्तिकै सहभागिता र प्रतिबद्वता चाहिन्छ । यसमा नेपाल सरकारका मानव स्वास्थ्य, पशुपन्क्षी स्वास्थ्य र वातावरण हेर्ने तीनै निकायले मिलेर काम गर्नुपर्छ । नीति नियम तर्जुमा गर्नुपर्छ । सर्भिलेन्स कार्ययोजना बनाई मानिस र पशुपन्क्षीबाट नमुना संकलन र परीक्षण गरी अवस्थाको निरन्तर आंँकलन गर्नुपर्छ । एन्टिबायोटिक्सको सही प्रयोगबारे जनचेतना जगाउने काम गर्नुपर्छ ।
लेखक इपिडेमियोलोजीमा विद्यावारिधि हुन् ।

प्रकाशित : आश्विन १७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?