कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेट सफा भए पेट सफा

१४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नुअघि ४ मिनेट मुखको सरसफाइमा दिन सक्नुपर्छ ।
डा. प्रकाश बुढाथोकी

काठमाडौँ — चाडबाडमा सधैं गुनासो गर्ने आफन्त भन्छन्– मेरो त दाँतमा मासु अडकिन्छ  । अनि कटकट खान थाल्छ  ।

गेट सफा भए पेट सफा

के गर्ने डाक्टर बाबु ? मलाई त चाडबाड पनि किन आउँदो हो जस्तो लाग्छ । सिने कलाकार भन्छन्– पछाडिको दाँतको बीचमा चेप छ, खाना खाएपछि टन्किन थाल्छ । खाना नखाएर वा नअड्कने खाना के–के हुन् । अर्का अधबैंसे युवक दाँत दुख्छ, मासु त मल्याकमुलुक पारेर निलिन्छ, तर निलिसकेको केही मिनेटमा पेट अलि गड्याङगुडुङ गर्न थाल्छ भन्दै गुनासो बिसाउँदै थिए । यी त प्रतिनिधि समस्या हुन् । घर, परिवार र समाजमा यस्ता समस्या बोकिरहेका तथा भएका अनगिन्ती बिरामी भेटिन्छन् ।


१ लाख २० हजार जनालाई १ दन्त चिकित्सकजस्ता भ्रामक तथ्यांक र अनधिकृत व्यक्तिका सल्लाह बारम्बार मिडियामा आउने गर्छन् । हाल १२ हजार जनसंख्यालाई १ दन्त चिकित्सक पर्छन् । दन्त चिकित्सामा सहायक आवश्यक हुन्छ, किनभने कम्तीमा ४ हाते दन्त चिकित्साको अभ्यास चाहिन्छ । तर गाउँघरमा दाँत दुख्दा धामी–झाँर्कीबाट उपचार गराइन्छ । दाँत हल्लिँदा आरनमा गई तातो चिम्टाले दाँत निकाल्ने गर्छन् ।


दाँत दुख्ने कारण बिभिन्न छन् । चाडबाडका बेला धेरै साह्रो कुरा जस्तै– मासुको हड्डी, सुपारी, छुर्पी चपाउँदा दाँत चोइटिन सक्छ । सानो चोइटाइले दाँत तातो, साह्रो, चिसो खाँदा सिरिङ–सिरिङ भई पीडा र गिँजा तथा जिब्रोमा घाउ बनाउन सक्छ । धेरै साह्रो खाँदा जटिलता सोचेर मात्र चपाउने गर्नुपर्छ । थरी–थरीका तथा नयाँ–नयाँ स्वादिला परिकार खाने बेला
पनि दुई दाँतको बीचमा खाना अड्कन सक्छ । चेप वा किराले खाएको छ भने झनै खाना अड्कन्छ । अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र अम्ल निकाल्छ । कुहिएको खाना र अम्लले दाँतलाई कुहाएर पीडा दिन्छ । गिँजामा समेत संक्रमण बनाउँछ । गिँजा संक्रमित हुँदा गिँजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुन्छ । हड्डी कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन टन्किन र चसचस दुख्न थाल्छ ।


दसंैका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन् । मिठो कुरा खाएर गपिँmदै मज्जाले मनोरञ्जन गरी बस्ने कि अस्पताल जाने ? टिकाटालो र आशिर्वाद लेनदेनमा संलग्न हुने कि अस्पताल ? पिङ खेल्न जाने कि अस्पताल ? यो समस्याबाट मुक्तिका लागि निम्न कुरामा ध्यान पुर्‍याऔँ ।


१. दाँत एवं मुखको सरसफाइ : मुख हाम्रो शरीरको ब्यस्त अंग हो । यसभित्र असंख्य जीवाणु सक्रिय रहन्छन् । हानिकारक जीवाणुले हाम्रो दाँत तथा गिँजालाई क्षति पुर्‍याउँछन् । खाना खानु अघि र पछि हातमुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु उत्तिकै अनिवार्य छ । दिनको २ पटक बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्ने गरौँ । सम्भव भए टुथब्रस नभए दतिवन र फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गरी दाँतका सबै सतह सफा गरौँ । खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसालौँ । साथै दुई दाँत बीचको सतह फलामको पिन, आलपिन, काठले होइन, डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्छ ।


२. खानेकुरामा नियन्त्रण : टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्यपदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारी प्रयोग नगरौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मुला, गाँजर, बन्दागोबी, सकरखण्ड जस्ता रेशादार फलफूल, हरिया सागपात सेवन गरौं । रेशादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खाना प्रयोग गरौं ।


प्राय: सबैले नियमित दन्त परीक्षण गराउँदैनन् । असह्य पीडा, जटिलता र समस्या भए मात्र चिकित्सककहाँ पुग्ने चलन छ । दुुखाइ कम गर्ने औषधि एस्प्रिन, बु्रफिन खाँदा समस्याको निराकरण नभई तत्काल दुखाइबाट मात्र राहत मिल्छ । यसले कलेजो, मृगौला रोगी बनाई शरीरलाई नकारात्मक असर पार्छ । ल्वाङ वा अन्यको तेल प्रयोग गर्दा आँेठ, गिँजा पोली घाउ बन्न सक्छ । जसरी घर सुरक्षित राख्न ढोका बलियो बनाउँछांै, त्यस्तै शरीर स्वस्थ र बलियो राख्न मुख सफा राख्नुपर्छ ।


नयाँ नरम ब्रस, दाँत सफा गर्ने धागो– डेन्टल फ्लस, अलि राम्रो खालको छेस्का– टुथपिक, मुख सफा गर्ने माउथ वास वा गार्गल र कम पाश्र्व प्रभाव भएको दुखाइ कम गर्ने पेनकिलर औषधि खरिद गरी ‘फस्ट एड किट’ बनाऔं । रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ । समयमै सचेत भई १४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नुअघि ४ मिनेट मुखको सरसफाइमा दिन सक्नुपर्छ । विज्ञापन र चिनजानको पछि मात्र नदौडी उपचार गर्ने चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भए–नभएको, चिकित्सकद्वारा प्रयोग गरिने सामान, उपकरण र पदार्थहरू पूर्ण निर्मलीकरण भए–नभएको राम्रोसँग ध्यान दिनुपर्छ ।


लेखक स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा अन्तर्गत मुख स्वास्थ्य शाखा प्रमुख हुन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?