कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आशिषको सान्दर्भिकता

प्रचलित आशिष असम्भव र असान्दर्भिक छ, हाँसउठ्दो समेत मानिन्छ । यो पुरुषलाई मात्रै केन्द्रित बनाएर रचना गरिएको प्रतीत हुन्छ ।
भरत सेर्नाली

काठमाडौँ — बडादसैंमा टीका लगाउने प्रचलन सर्वाधिक महत्त्वको मानिन्छ  । टीका लगाउँदा वाचन गरिने प्रचलित आशिष समाज र समय–सापेक्ष कत्तिको छ भन्ने विषयमा यो लेख केन्द्रित छ  ।

आशिषको सान्दर्भिकता

दसमीका दिन सुरु भएको टीका थोरै अपवादलाई छोडी प्राय: गाउँ–समाजमा पूर्णिमासम्मै लगातार चल्छ । यसमा नेपाली समाज खासगरी हिन्दु–आर्य परिवारमा पाका पिढीका वा मान्यजनले तदनुरूप कनिष्ठ वयका आफन्त, कुलकुटुम्ब वा इष्टमित्रलाई टीका लगाइदिने र यससँगै संस्कृतको ‘आयुद्रोणसुते...’ आदि आशिषको श्लोक वाचन गर्ने परम्परा छ । यो श्लोक शतप्रतिशत शुद्ध पाठ गर्ने पण्डित थोरै हुन्छन् । केही पठितले यो श्लोक न्युनाधिक शुद्धसँग भन्लान् पनि अरे, यसको अर्थ पनि धेरथोर अनुमान गरेकै हुन्छन् । तर कतिपय साक्षर, अर्धसाक्षर वा निरक्षरसम्मकाले पनि शुद्धाशुद्ध जेसुकै होस्, अर्थ–सर्थको पत्तै छैन, निधारमा अक्षता पुर्‍याउनासाथ ‘आइन्द्रो नसुते सिरिञ्च दसरते’ भन्दै फलाको हाल्न थालिहाल्छन् । संस्कृतको उक्त चतु:श्लोकी चरण सकेपछि मात्र बल्ल नेपाली भाषा वा आ–आफ्नै स्थानीय लवजमा यस्तो भएस्, उस्तो भएस् भनेर फलाक्छन् ।


भौतिक उपलब्धिका हिसाबले आशिषको महत्त्व छुट्टै विमर्शको विषय होला । प्रेरणा, उत्साह, सौजन्य, साख्य, अपनत्व, माया–ममता आदि अमूर्त तर अमूल्य मानवीय मूल्यका हिसाबले आशिषको महत्त्व मापनातीत छ । यो सामाजिक सम्पदा र संस्कृति हो ।


हाम्रा कर्मकाण्डीय अन्य अवसरका आशिर्वचनका जस्तै दसैंको टीकाको परम्परागत आशिष पनि संस्कृत भाषाको श्लोकमा सूत्रबद्ध छ । यो आशिष हजारौं वर्ष अगाडिको मानव समाजका लागि लक्षित भएर बनाइएको हुनुपर्छ । यो आजको जमाना, युग, समाज र समय–सापेक्ष मिल्दैन । श्लोकको आशय र अर्थको कुरो गर्ने हो भने आशिष बरु औचित्यहीन, निरर्थक र हाँसउठ्तो प्रतीत हुन्छ । दसैंको टीकाको आशिष यस्तो छ–
आयुद्रोणसुते श्रियं दसरथे शत्रुक्षयं राघवे ।
ऐश्र्वयं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते वलं हलधरे सत्यं च कुन्तीसुते ।
सज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
आशिषका श्लोकको आशय र अर्थ यस्तो हुन्छ–
द्रोणका छोराको जस्तो आयु होस् । दसरथको जस्तो श्रीसम्पत्ति होस् । राघव अर्थात् रामचन्द्र जस्तो शत्रुहन्ता हुनु । नहुष जस्तो ऐश्वर्यशाली हुनु । हावा जस्तै गतिशील हुनु । दुर्योधनको जस्तो मान–सम्मान होस् । सूर्यपुत्र कर्णजस्तै दानी हुनु । हलधर बलराम जस्तै बलशाली हुनु । कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनु । विदुर जस्तै ज्ञानी हुनु, अनि नारायण जस्तै कीर्तिशाली हुनु ।


यो श्लोक सुललित छ । यसको अर्थ र आशय विम्बात्मक छ, सुुन्दर छ । तर आजको जमानामा यस्ता पदावली समिचीन र सार्थक अनुभूत हुँदैनन् । यस्तो आशिष महाभारत, रामायणकालीन युगपछि लगत्तै विकास भएको समाजका लागि प्रेरक र सार्थक मानिन्थ्यो होला । आजका मानिसलाई ती मिथकीय पात्रजस्तै हुनु भनेको सर्वथा असम्भव र व्यङ्ग्य सिवाय अरु हुँदैन । जस्तै– आख्यानमा वर्णित भए अनुसार माथि उल्लिखित पात्रहरूको प्रकृति हेरौं ।


द्रोणसुत महाभारतका पात्र हुन् । कौरव–पाण्डवका गुरु द्रोणाचार्यका छोरा अश्वत्थामा हुन् र उनी कहिल्यै नमर्ने अष्ट चीरञ्जीवीमध्ये मानिन्छन्, तर आजीवन कष्टपूर्ण कुष्ठरोगीका रूपमा । आशिष पाउने सबै अश्वत्थामा जस्तै अमर होलान् त ? या आशिष पाउनेजति सबै अमर भए धर्तीले थेग्ला ? या कुष्ठरोगले डल्लिएर पनि अमर हुनु राम्रो हो ?
सूर्यवंशी राजा, अयोध्याका सम्राट रामका पिता दसरथलाई त्रिलोककै सम्पत्ति र वैभवका स्वामीको रूपमा चित्रित गरेको पाइन्छ । आजको समयमा एकाध खर्बपति बाहेक यस्तो वैभवशाली सबै आशिष प्राप्तकर्ता हुँदैनन् र हुनु पनि छैन । राघव भनेका रघुवंशी उनै दसरथपुत्र राम हुन् र शत्रु–सम्बन्ध राख्ने लङ्काधिपति रावणजस्तो दुर्दान्त वीरसहित सम्पूर्ण राक्षस कूलको संहार गरेकाले उनी शत्रुहन्तामा उदाहरणीय मानिन्छन् । आज त्यस्तो मिथकीय पुरुष राम कसैलाई हुनु छैन ।


नहुषको कथा पनि रमाइलो छ । स्वर्गको राजा इन्द्र अत्यन्त वैभव र ऐश्वर्यशाली पद हो । यो पद अद्वितीय पुण्यको प्रभावको परिणामस्वरूप मात्रै कसैलाई मिल्छ । आख्यान अनुसार वैवश्वत मनुको युगमा पुरन्दर भन्ने कुनै क्षेत्रीय पुरुष इन्द्रको पदमा आसीन थियो । यो इन्द्र अत्यन्त ऐयासी र कामुक प्रकृतिको थियो । आफ्नो पद, प्रतिष्ठा जोगाउन र ऐश्वर्य भोग्न ऊ बेला–बेला जस्तोसुकै कुकर्म पनि गथ्र्यो । गौतमकी पत्नीलाई छल गरेर भोग्नु, त्वष्टापुत्र त्रिशिराको वध गर्नु, मित्रतामा धोका गरी वृत्रलाई मार्नु आदि इन्द्रबारे रोचक आख्यान पाइन्छ, पुराणमा । यस्तै कुकर्मका कारण उसले बेलाबखत धेरै हन्डर खानुपरेको थियो । यस्ता पाप र श्रापको परिणामस्वरूप कुनै बखत इन्द्रले स्वर्गबाट पलायन गरी अज्ञातबास भएका बेला स्वर्ग इन्द्र (राजा) रहित भएको थियो । अगाडि स्वर्गका लागि अर्को राजा इन्द्र खोज्ने क्रममा धर्तीलोकबाट नहुष भन्ने कुनै पुण्यशाली पुरुषलाई चयन गरी इन्द्र बनाइन्छ । यद्यपि यो इन्द्र पनि पछि स्वर्गको विभवले मात्तिएर कुकर्म गर्छ र उसको पतन पनि हुन्छ । त्यो आफ्नै ठाउँमा छ, तापनि धर्तीको एउटा सामान्य पुरुषलाई एकाएक स्वर्गको पनि राजा हुने ऐश्वर्यशाली अवसर प्राप्त हुनु भनेको अद्वितीय अवसर हो । आज यस्तो अद्वितीय र मिथकीय अवसर कुनै आशिष लिनेलाई मिल्ला र ? मिले पनि त्यस्तो पतनको स्रोत के गर्नु र ?


यसैगरी पवन अर्थात् हावाजस्तै गतिशील हुनुले हामी मान्छेलाई के मजा आउला ? महाभारतमा दुर्योधनलाई जतिसुकै खलपात्रका रूपमा चित्रित गरे पनि आफ्नो हठजन्य अडान र महत्त्वाकांक्षी स्वभावका कारण उसको मान र सम्मान अद्वितीय मानिन्छ । तर आजका मानिसमा त्यस्तो मान एउटा बोझमात्र हो । त्यस्तै आफ्नु ज्यानको समेत पर्वाह नगरी आफ्नै सुरक्षातत्त्व कुण्डल र कवच दान गर्ने सूर्यपुत्र कर्णजस्तै दानी भएर के गर्नु र ? हलधर भनेका वसुदेवपत्नी रोहिणीपुत्र, कृष्णका दाजु बलराम हुन् । हलधारी यी बलरामले रिसाएर हलो चलाए भने धर्ती पल्टाइदिन्थे भन्ने आख्यान छ । यस्तो बेमतलवको बलवान कसलाई हुनुछ र ? कुन्तीसुत भन्नाले पाण्डव र खासगरी युधिष्ठिरलाई मानिन्छ । सत्यवादी र धर्मपरायणमा यिनी अनुपम मानिन्छन् । आज यही कुरो असम्भवप्राय: छ । नीतिपरायण र महाज्ञानीमा महाभारतका पात्र विदुर अद्वितीय मानिन्छन् । त्यस्तो नीतिज्ञ र परमज्ञानी आजका सबै आशिषप्राप्त मानिस होलान् ? नारायणकै जस्तो कीर्ति होस् अरे † नारायण अर्थात् परब्रह्म, परमात्मा सबै आशिषप्राप्त मानिस भए के रमाइलो हुन्थ्यो † एउटा व्यड्ग्यमात्रै होइन र यो ?
प्रचलित आशिष असम्भव र असान्दर्भिक त छँदैछ, आजको जमानामा हाँसउठ्दो समेत मानिन्छ । सबैभन्दा विसङ्गत कुरो त के छ भने प्रस्तुत आशिष पुरुषलाई मात्रै केन्द्रित बनाएर रचना गरिएको प्रतीत हुन्छ । त्यसैले टीका लाउँदा प्राय: पुरुषका लागिमात्र यो श्लोक वाचन गरिन्छ । महिलाका लागि यी पंक्ति गाइँदैन । उनीहरूलाई टीका लाउँदा ‘जयन्ती मङ्गला काली...’ आदि दुर्गा सप्तशतीका दुई–चार श्लोक फलाक्ने गरेको पाइन्छ । त्यसमा आशिष हुँदैन । त्यसैले नेपाली भाषामै अरु–अरु नयाँ, वैकल्पिक र ऐच्छिक आशिष प्रचलनमा ल्याए के बिग्रला ? संस्कृत भाषा देवभाषा हो र मान्त्रिक, तान्त्रिक या आशिषका कुरा संस्कृतमै हुनुपर्छ भन्ने मान्यता परम्परा र ढर्रामात्र हो । हरेक मातृभाषा देवभाषा वा देववाणी हुन्छ ।
यस्तै लहडबाजीबाट प्रेरित भएर मैले प्रचलित आशिषको गायकी, गेयगुण, लय एवं परम्परागत छन्दलाई समेत नबिगारी शार्दूलविक्रीडितमै चतुश्लोकी सीमाभित्र रहेर नेपाली भाषामा दसैंको टीकाको आशिषका लागि एक पाउ श्लोक रचना गरेको छु–
निद्र्वन्द्वी मनले र स्वस्थ तनले दीर्घायुजीवी बन ।
विद्या, बुद्धि र आफ्नु सीप–श्रमले ऐश्वर्यशाली बन ।।
आँखामा नबिझाउने सहृदयी प्यारो सबैको (प्यारी सबैकी) बन ।
आशीर्वाद ! सदा प्रसन्न मनले हाँस्दै बितोस् जीवन ।।

[email protected]

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?