कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फाइट ब्याक’ समाधान होइन

समस्या पुरुषमा छ र त्यसलाई हटाउनु छ भने महिलालाई तालिम किन ? कि महिला कमजोर हुन्छिन् भन्ने पुष्टि गर्न ?
सरस्वती पनेरु

काठमाडौँ — मुलुकमा बलात्कारका घटना वृद्धि भएको हो वा घटना सार्वजनिक हुने क्रम बढिरहेको हो, यकिनसाथ भन्न कठिन छ  । यही त्रासदीपूर्ण वातावरणमा विभिन्न ठाउँमा ‘फाइट ब्याक’ नाम दिएर बालिकालाई यौनहिंसा र बलात्कारबाट बच्न तालिम दिइँदैछ  ।

‘फाइट ब्याक’ समाधान होइन

प्रहरीले नै विभिन्न स्कुल र कलेज गएर प्रशिक्षण गराइरहेको छ । यौन हिंसाको मूलजड पत्ता नलगाई फाइट ब्याक तालिमले हिंसा न्युनीकरण हुन्छ वा हिंसाबाट बच्न सकिन्छ भन्ने भ्रम फैलाइँदैछ । बलात्कारका घटना सार्वजनिक भइरहेका बेला आफ्ना छोरीचेलीलाई बचाउन सकिने आशामा अभिभावकले पनि होस्टेमा हैंसे गरिरहेका छन् । तर यस विषयमा गहन विमर्श भएको छैन ।


एकचोटी सोचौँ, के आत्मरक्षा गर्न नसकेर महिला बलात्कारमा परेका हुन् ? महिलाले आत्मरक्षा गर्न नसक्नु बलात्कारको कारण हो भन्नुमा सत्यता छैन । मुख्य कारण बालक वा पुरुषमा विकसित हिंसात्मक मानसिकता हो, जुन यौनतृष्णाको अप्राकृतिक स्वरूपमा महिलामा केन्द्रित भइरहेको छ । समस्या पुरुषमा छ र त्यसलाई हटाउनुछ भने महिलालाई तालिम किन ? कि महिला कमजोर हुन्छिन् भन्ने पुष्टि गर्न यस्ता तालिम दिइँदैछ ?


कतिपयलाई लाग्छ, महिलाले छोटा लुगा लगाउनु, राति अबेरसम्म बाहिर हिँड्नु, पुरुष साथीहरूसँग एक्लै हिँड्नु, पुरुषसँग हाँसेर बोल्नु आदि बलात्कारका कारण हुन् । यी सबै बहाना महिलालाई गलत पुष्टि गर्ने दुष्प्रयास मात्रै हुन् । समस्या पुरुषको मानसिकतामा छ, महिलालाई हेर्ने नजरमा छ । कतिपयले सनातन धर्म र संस्कृतिलाई दोष देख्छन् । उस्तै धर्म र संस्कारमै हुर्केका धेरै पुरुष छन्, जो बलात्कारका घटना र घटनाको प्रकृति देखेर आफै चकित छन् । कुनै धर्म, संस्कृतिलाई दोष दिएर हिंसाका घटना हुन्छन् भन्नु निराधार हो । धर्मको अभिप्राय: यौनहिंसा हुनै सक्दैन ।


कतियय विद्वानले बलात्कारको कारण तीव्र यौन चाहना वा दबिएको यौन चाहना हो भन्छन् । यौन चाहना प्राकृतिक हो, तर बलात्कार प्राकृतिक होइन । यौन चाहना जैविक आवश्यकता होला । तर मानिससँग सोच्ने र सही–गलत छुट्याउने क्षमता छ । संसारका सबै पुरुष बलात्कारी होइनन्, ती पनि मानिस हुन् । तिनको पनि जैविक आवश्यकता छ ।
केही महिना अगाडि नयाँदिल्लीमा आठ महिने बालिका आमाबुबा बाहिर गएका बेला नातेदारबाट बलात्कृत भइन् । आपराधिक र हिंसात्मक मानसिकता भएको पुरुष अगाडि एउटा काखे बालकसमेत बलात्कृत हुन्छिन् भने फाइट ब्याक वा सेल्फ डिफेन्स तालिमको अर्थ छैन । बरु त्यस्तो तालिमबाट अपराधीको मनोबलमात्रै बढ्न सक्छ । अपराधीले शारीरिक हिंसा गरेर महिलालाई कमजोर बनाउने तयारी गर्न थाल्छ । गर्भवती र वृद्धा आमा बलात्कारीबाट कसरी जोगिन सक्छन् ? तालिम लिँदैमा एउटी किशोरी सामूहिक बलात्कारबाट कसरी बच्न सक्छे ? अनि वैवाहिक बलात्कार नि ?


कतिपयले यौनहिंसाका घटनामा महिलालाई नै दोषी देखाउँछन् । पहिरनका कुरा गर्छन् । आठ–नौ महिनाको बालिकालाई छोटो र लामो लुगाले के असर गर्छ ? शिशुहरू बलात्कार भएका घटनाले महिलाको हिँडाइ, बोलाइप्रति औंला ठड्याउनेलाई लज्जाबोध हुन्छ कि हुँदैन ? यहाँ छोरालाई सुधार्ने बारेमा बढी छलफल हुँदैन । एउटी छोरीलाई सानैदेखि विभिन्न नियमभित्र बस्न सिकाइन्छ । छोराहरूलाई नारी सम्मान र मानवीय स्वभाव सिकाउनेपट्टि ध्यान जाँदैन ।


कुनै आमाबाबुले चाहेको हुँदैन कि उसको छोरा बलात्कारी बनोस् । तर समयमै असल स्वभाव र संस्कार सिकाउन बेवास्ता गरियो भने त्यसले भोलि नराम्रो घटना सिर्जना हुनसक्छ । तर यहीमात्र कारण भने होइन । कतिपय आमाबाबुले असल संस्कार दिँदादिँदै पनि छोरा हुर्कंदै जाँदा नराम्रो संगतमा पर्न सक्छ ।


आफ्ना सन्तानप्रति अति विश्वास गर्नुको सट्टा उमेर बढ्दै जाँदाको शारीरिक र मानसिक विकासका क्रममा हुने परिवर्तनप्रति अभिभावक चनाखो र सचेत हुन जरुरी छ ।
यौन हिंसा निराकरणका लागि महिलालाई आत्मरक्षा तालिम दिनु भनेको टाउको दुख्दा पेटको अपरेसन गरे जस्तै हो । छोरीलाई आत्मरक्षा तालिम होइन, छोरालाई नारीप्रति हेर्ने दृष्टिकोण बदल्न अभिप्रेरित गरौँ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?