कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि तनाव बढ्छ

सहचालक ठाडो शैलीमा भाडा माग्छन्, यात्रुहरू बगलीको तातोलाई एकछिन भए पनि आफैसंँग राख्न चाहन्छन् ।
उषा थपलिया

काठमाडौँ — प्रा‍त:कालीन हिँडाइमा निस्कँदा मनमस्तिष्क दुवै चंगा थियो । नगरपालिकाका कुचिकारले सफा बनाइसकेको सडक थप उल्लास जगाउने तत्त्व बन्यो । स्वच्छ हावा, सफा सडक, थोरै मात्र सवारी साधन, स्वास्थ्यप्रति जागरुकहरूका कसिलो हिँडाइ, कलेज छात्रछात्राको मस्कामस्की प्रसन्नता बढाउने अतिरिक्त आधार थिए । त्यो बेलासम्म दिमागमा तनावको क्लेस थिएन । 

केही क्षणपछि दृश्य फेरियो । सम्पन्नता झल्काउँदै एक व्यक्ति घरपालुवा जखमले कुकुर बाँधेको साङ्लो समातेर सडकपेटी दौडिए । क्षणमै उनी र कुकुर दुवैको गति रोकियो । कुचिकारले सफा बनाइसकेको सडकमा कुकुरलाई शौच गराउँदा उनमा कुनै संकोच देखिएन ।


घरमा पालेका जनावरको उचित सरसफाइको व्यवस्था आफैं गर्न सकिन्न भने देखावटी रवाफको औचित्य के ? मन नराम्रोसंँग हुँडलियो । उक्त दृश्यबाट तनावको डिग्री निक्कै माथि पुग्यो ।


हरेक बिहान प्रसन्नता विथोल्ने अनेक तत्त्वसँंग सामना गर्नैपरेको हुन्छ । घरको फोहोर पानी पैदलयात्रीको टाउकैमा खस्नेगरी निकास निकाल्ने महानगरका बासिन्दा, सडकको खाल्डामा जमेको पानी बटुवाको शरीरमा फ्याँक्दै अनियन्त्रित गुड्ने सवारी साधन, सफा भैसकेको सडकमा घरको फोहोर लगेर थुपार्ने (अ)नागरिक, आफ्ना गोजीमा व्यवस्थापन गर्न सकिने ससाना चक्लेट, पानपराग आदिका खोल सडकभर छर्दै हिँड्ने बटुवा अनि एकाबिहानैदेखि अनुत्पादक गफको रन्कोमा चिया सुक्र्याउँदै सडकलाई प्लाष्टिक कपमय बनाउने ठेलागाडाका नियमित चिया ग्राहकहरू, जसका गतिविधिले निराश बनाउँछ ।


बिहान जे भए पनि दिउँसो तनावरहित होस् । तर व्यर्थै । सडक प्रवेश गर्नासाथ दुईपाङ्ग्रे सवारी साधनप्रति ठूला सवारी साधनको मिचाह प्रवृत्ति थेगिनसक्नु हुन्छ । त्यसमाथि महिला सवार स्कुटर, छेउकुना गर्दागर्दै पनि ज्यान जोगाउन मुस्किल । जिस्काउने/ तर्साउने नियतले हुइँकिने माइक्रोले आच्छु–आच्छु नपारेको दिन हँुदैन । कहिलेकाहीं त बालबाल बचेको आफैलाई मात्र थाहा छ ।


अनेकौं भुक्तमानलाई पैतालामा दबाएर जोगाइरहेको अति सुन्दर जीवनचोला कहाँ कतिखेर उड्ने हो ? बिहानको तुलनामा झन् डरलाग्दो तनाव । सचेत नागरिकको हिसाबले सडक नियम पालनाप्रतिको सतर्क छु । सडकको बायाँ किनाराप्रतिको आफ्नो लगावलाई म सित्तिमित्ती टुट्न दिन्न ।


तर सवारी जामका बेला आफूभन्दा पछिका पुरुष सवार दुईपांग्रेको हुटहुटीले ट्राफिक नियम उल्लंघनका लागि दिने दबाब उदेक लाग्दै हुन्छ । ठाउँ–कुठाउँ जबर्जस्ती बायाँबाटै ओभरटेक गर्नुपर्ने अरे, अघि बढ्ने बाटो नभए पनि नागवेली चालले सवारी साधन यताउता बंगाइरहनुपर्ने अरे, भलबाढीका ड्रेन, नाली केही नभनी अघि बढेर उनीहरूका लागि बाटो छोडिदिनुपर्ने अरे ।


त्यति हुँदा पनि जाम नखुले हाइँहाइँ र हुइँहुइँ पार्दै तिनका सवारी साधन पैदलयात्रु हिँड्ने पेटीमा उक्लिसकेको हुन्छ । दुईपांग्रे भनेका सवारी नियम उल्लंघनकै लागि बनाइएका हुन् कि जसरी । नियम पालनकर्ता भन्दा उल्लंघनकारी बढी हुँदा ट्राफिक प्रहरी सधैं व्यस्त र तनावग्रस्त देखिन्छन् ।


उनीहरूको अशान्तिको अर्को कारक– सडकमा सवार भैरहने उपल्लो दर्जाका अधिकारीहरू । काम गरिरहेका ट्राफिक प्रहरीले तन्केर स्यालुट ठोक्नुपर्ने नियम लोकतान्त्रिक गणतन्त्रले पनि हटाएन । अभिवादन दोहोरो हुनुपर्ने † तर स्यालुट खानेले हेरेका समेत हुँदैनन् ।


दिउँसोको समय तनावमुक्त बनाउने जुक्ति फुर्छ । दुईपाङ्ग्रेको सट्टा सार्वजनिक यातायात चढ्यो भने सबै टन्टो खत्तम । भोलिपल्ट उत्साहित पाराले गाडी चढ्न लामबद्ध भइयो । राजधानीमा अहिले ठूला गाडी सयौं गुड्छन्, तर भिड उस्तै । आफ्नो गन्तव्यको नेपाल यातायात छिर्न झनै गाह्रो ।


बल्लबल्ल छिरे पनि सासै थुनिएला भन्ने त्रास । यात्रुहरूको भिडले गाडीभित्रको वातावरण जति उकुस–मुकुस, सहचालक/चालकका कर्कस आवाजले त्योभन्दा बढी दिक्दारी दिलाउने । ‘जिब्रोको गरिमा, मिठो बोलीमा’ नाराको ट्याग प्रत्येक गाडीमा टाँसिएकै हुन्छ । तर सहचालकका व्यवहार र बोली भने ठिक विपरीत । आफूले प्रबद्र्धन गरेको नाराबारे आफ्नै कर्मचारीलाई प्रशिक्षित गर्न नसक्नु गाडी कम्पनीको ठूलो कमजोरी हो ।


महिला आरक्षणका नाममा छुट्याइएको चारथान सिटप्रति धेरैजसो पुरुष दाजुभाइको कटाक्ष पोखिएकै हुन्छ । अन्य सिटमा महिलाका लागि सिट छोडेर देखाउने संवेदना पूर्णतया मरिसकेको छ । भिडमा उभिँदाका सास्ती महिला र पुरुष दुवैलाई बराबर हो । तर भिडलाई स्वर्णिम अवसर ठानेर व्यभिचारीहरूको सल्बलाहट । तनाव महिलालाई नै ।


श्रीमतीका साथ बस चढेको पुरुष बीचमा एकजनाको छेलो पर्नासाथ यात्रारत युवतीमाथि दुव्र्यवहार गर्न पछि नपरेको समेत देखेेंँ । भाडाको मामिलामा सहचालक र यात्रु बीचको रस्साकस्सीले टाउको नदुखाएको दिन हुन्न । ठाडो शैलीमा भाडा माग्ने सहचालक अनि आफ्नो बगलीको तातोलाई एकछिन भए पनि आफैसंँग राखुँ भन्ने मानसिकताका यात्रुहरू, दुवै उक्त परिस्थितिमा समान दोषी देखिन्छन् ।


कसै–कसैले त ओर्लने बेला ढोकामा पुगेर पन्ध्र रुपैयाँ भाडा तिर्न हजारको नोट तेस्र्याएपछि चालक/सहचालकलाई के चाहियो ? उनीहरू बीचको विवादले समग्र बस नै तनावग्रस्त । बस चढेदेखि सुरु भएको तनावको शृंखलाले ओँठतालु नै सुकाइसक्छ । त्यतिसम्म त ठिकै थियो, एकदिन बसबाट ओर्लंदा व्यागमा राखेको पर्स नै चट् ।


मोबाइल समेत अट्ने ठूलो पर्स, कसरी पत्तै नपाई व्यागबाट पकेटमारको हातमा पुग्यो ? सुरुमा रिंगटै लाग्यो । धन्न मोबाइल पर्समा रहेनछ र बच्यो । पर्समा भएको नगद, नेपाल यातायातलाई चढाएको ठूलो भेटी नै ठाने । त्यसपछि नगदले मन त्यति दुखाएन । महत्त्वपूर्ण कागजात रहेको सम्झना क्रमश: बढ्दै गयो । दुईपांग्रेको स्मार्ट लाइसेन्स पनि पर्ससंँगै गायव । प्रतिलिपि प्राप्तिका लागि ट्राफिक कार्यालयदेखि सुरु हुने प्रक्रियामा सहभागिता जनाउनुको विकल्प भएन ।


ढिलासुस्ती, बेथिति र दलालको दलदल जतिसुकै मन नपरे पनि पुग्नै पर्‍यो, यातायात व्यवस्था कार्यालय पुगियो । दस्तुरस्वरूप पाँच सय रुपैयाँ तिरेर रसिद लिनु अपरिहार्य भैहाल्यो । ७ महिनापछि प्रतिलिपि लिनपुग्दा एक महिनापछि आउनु भनियो, त्यसयता सोही आज्ञा पालना गर्दै ४ पटक ओहोर–दोहोर भैसक्यो । अहिले एक वर्ष पूरा भैसकेको छ, तर हातमा प्रतिलिपि अझै पर्नसकेको छैन ।


तालुकवाला मन्त्रीले छड्के अनुगमन थालेका दृश्य र खबर सञ्चारमा आएकै हुन् । तर त्यो अनुगमनले किन निरन्तरता पाएन ? सरकारी नारा ‘मेरा ८ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता’ आ–आफ्ना स्वास्थ्यप्रति जिम्मेवार हुन भन्छ । ‘म तनावरहित जीवनशैलीलाई आत्मसाथ गर्छु’ भन्न सिकाउँछ । तर जति गरे पनि सकिएन, तनावरहित जीवन जिउन । नागरिकलाई आह्वान गर्ने सरकार स्वयं आफ्ना संकल्प पूरा गर्न सक्दैन । सरकारकै निकायका अस्तव्यस्त कामकारबाहीले जनतामा निराशा र तनाव थोपर्छ । नागरिकको तनावमुक्ति कसरी हुन्छ ?

प्रकाशित : मंसिर ८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?