कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी अमेरिका बस्नेका दुख

नवीन रायमाझी

काठमाडौँ — केही समय पहिले सँगै काम गरेको एक जना नेपाली भाईसँग अचानक भर्जिनियामा भेट भयो । एक घण्टा कुरा गरेर बस्दा उनको फोनमा तीन/चार पटक म्यासेज आयो ।

हामी अमेरिका बस्नेका दुख

यति धेरै केको म्यासेज रहेछ भनेर मलाई खुल्दुली लाग्यो । सोधेपछि उनले सबै म्यासेज देखाए । ति म्यासेज्हरुमा नेपालमा रहेका उनका नाता गोता र साथीहरुले विभिन्न समस्या देखाएर रकम पठाइ दिन अनुरोध गरिएका थिए । सबै म्यासेजको भलै व्यहोरा र भाषा फरक फरक थियो । तर बिषय एउटै थियो, आर्थिक सहयोग ।


उसले कतिलाई माग बमोजिम रकम पठाउँछ वा पठाउँदैन त्यो पंक्तिकारलाई थाहा छैन । तर उसको कुरा सुन्दा प्रायलाई उसले अनेक बहाना बनाएर टार्छ र एक पैसा पनि दिंदैन । उनकै भनाईमा दिएर सम्भव पनि छैन । व्यक्तिगत रुपमा मलाई कसैले पैसा मागेको अनुभव छैन तर यहाँ भेट हुने प्रायः व्यक्तिको साझा गुनासो भनेको नेपालमा रहेका इष्टमित्रहरुले पैसा मागेर हैरान पारे भन्ने रहेको छ । उनीहरु भन्ने गर्छन्, 'लौ न त यसो सहयोग गर्न ऋण दिउँ भनेपनि पछि फर्किने होइन । नदिउँ तारन्तार फोन गरेर हैरान पार्छन् ।'


उनीहरु कति सत्य वा झुठो बोल्छन्, त्यो सकिन्न । तर नेपालमा रहेका अधिकांसले बिदेशमा रहेका मेरो साथी वा नातेदारले पैसा कमायो र त्यो पैसामा मेरो पनि हक लाग्छ भने जसरी पैसाको माग गर्ने कुरा भने शतप्रतिशत सत्य हो ।


अमेरिकामा रहेका उच्च शिक्षित बाहेक अधिकांस नेपालीहरुले राज्य अनुसार प्रतिघण्टा सातदेखि एघार डलर ज्याला पाउँछन् । कागजपत्र नभएकाहरुको हकमा त्यो रकम अझै कम हुन्छ । यस हिसाबले हप्ताको सातै दिन दैनिक आठ घण्टा काम गर्यो भने पनि मासिक आम्दानी भनेको दुई हजार डलरको वरिपरी हुन्छ । यो अधिकतम् हो, यसमा अझ घट्न सक्छ तर बढ्दैन ।

कुनै कारणले वा बिरामी परेर त्यो दिन काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो ज्याला आउदैन । हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ, कामको समयमा एक छिन बस्न पाइदैन उभिएर नै काम गर्नु पर्छ, काम सकिएर डेरा पुग्दासम्म खुट्टा झर्ला जस्तो हुन्छ । अब यति मेहनत गरेर आएको पैसामा कसैले मेरो पनि हक लाग्छ जस्तो गरेर मागेको माग्यै गर्छ भने त्यो व्यक्तिलाई कति रिस उठ्ला? यो सामान्य मान्छेहरुको कुरा हो, तर यतैको विश्वविद्यालयमा अध्ययन गरेका ब्यक्तिहरुको कमाई यो भन्दा धेरै हुन्छ ।


कामको हकमा केहि अपबादलाई छोडेर सबैले गर्ने भनेको भारतीय मुलका ब्यापारीहरुको पसलमा वा घरमा काम गर्ने हो । जसले जति नेपालमा म यस्तो र उस्तो भनेर गफ हाँके पनि उसले त्यो काम गर्ने समयमा कुचो लगाउने, भुँइ र चर्पी पुछ्ने जस्ता काम गर्नै पर्छ । कोहि सानोतिनो भने पनि आफ्नै ब्यवसाय गरेर बसेका छन्, उनीहरुले पनि यी सबै काम गर्छन् तर उनीहरुलाई आफ्नै ठाउँमा काम गरेको छु भन्ने आत्म सन्तोष होला त्यो अर्कै कुरा हो । अझ कसैले म म्यानेजर छु भन्यो भने त त्यो सबैभन्दा दुखी प्राणी हो भन्ने बुझ्दा हुन्छ ।


उसले काम पनि बढी गर्नुपर्ने र जिम्मेवारी पनि बढी हुन्छ तर पैसा भने सबैको जत्ति नै हो । यसमा पनि अपवादमा कोहि उच्च शिक्षित व्यक्ति बहुराष्ट्रिय कम्पनीको म्यानेजर हो भने अर्कै कुरा । स्मरण रहोस्, नेपालमा स्नातकोत्तर उतिर्ण गरेको हो भने पनि उसको हैसियत यहाँ औंठा छाप बराबर नै हो, यदी उसले यता पुन: अध्ययनलाई अगाडी बढाएको छैन भने ।


पंक्तिकारको बिचारमा नेपालमा रहेका आफन्त वा साथीहरुले पैसा मागेर हैरान गर्नुको दुई कारण छन्, पहिलो यहाँ बसेर संघर्ष गरिरहेको व्यक्तिले सत्य भन्दा पनि बढाई चढाइ बोलेको हुन्छ र यो देशमा पैसा रुखमा फलेको र सडक सडकमा पैसा फ्यालेको हुन्छ अनि हामीले त केवल टिप्ने मात्र हो भन्ने जस्तो गफ लगाएको हुन्छ । अब यति सजिलै पैसा आउँछ भने हामीलाई पनि अलिकति दिँदा के फरक पर्ला र भने मनोविज्ञानले काम गरेको हुनुपर्छ । दोश्रो कारण भनेको कोहि मान्छेलाई वास्तविक रुपमै आपद विपद परेको बेला मेरो नजिकको मान्छेसँग यति धेरै पैसा छ, यो समयमा पनि सहयोग नमागे कहिले माग्ने भनेको पनि हुन सक्छ । तर, अधिकांश पैसा माग्नेहरुमा दोश्रो भन्दा पहिलो समुहका व्यक्तिहरु पर्छन् जस्तो लाग्छ ।


लाज पचाएर अरुसँग पैसा मागेर आफ्नै हुर्मत आफैले लिने र केहि पैसा दिएर वा नदिएर पछाडि अर्काको बेइज्जत गर्नुभन्दा माग्नेले पनि आफ्नो समस्या आफैले सुल्झाउन पर्छ भनेर सोच्ने र दिनेले पनि यदि भित्रि मनले दिएर सहयोग गर्ने हो भने फेरी त्यो बिषयमा अरु कसैसँग कुरा नगर्ने र यहाँको यथार्थ बताइदिने हो भने यो समस्या केहि कम हुन्थ्यो कि ?


@twitter#naviinr

प्रकाशित : मंसिर ९, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?