बेलायतबाट यसरी आकर्षित गर्न सकिन्छ पर्यटक

बिराज भट्ट

काठमाडौँ — नेपाल सरकार यतिखेर पर्यटन वर्ष २०२० मनाउने तयारीमा जुटेको छ । देश समृद्धिको पथमा लम्किएको बताइरहंदा पर्यटनलाई प्रत्यक्ष टेवा पुग्ने यो अभियान थप कोशेढुंगा हुनेमा दुईमत छैन् ।

नेपालमा पर्यटन सम्भवतः एकमात्र यस्तो उद्योग हो जसले सबैभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । अर्थतन्त्रलाई गतिशील बनाउन र देशको समृद्धिमा पर्यटन ठूलो सम्भावना भएको क्षेत्र हो । वर्ल्ड टुरिजम काउन्सिलको विश्लेषण अनुसार पर्यटनबाट नेपालको जिडिपीमा ४.९ प्रतिशत प्रत्यक्ष योगदान रहेको देखिन्छ । गत वर्षको पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान झण्डै एक खर्ब रुपैयां रहेको तथ्यांक छ । यही उद्योगबाट करिब ५ लाख नेपालीले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । पर्यटकले हस्तकला सामाग्री, कार्पेट र पश्मिना जस्ता सामानहरु किनेर लैजाने हुँदा यस्ता बस्तु निर्यातमा पनि यसले ठूलो टेवा पुर्याएको छ ।

Yamaha

अब पर्यटन वर्षमै केन्द्रित हौं । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना ल्याएको छ, जुन सुन्दा र पढ्दा खुबै उत्साहित बनाएपनि व्यवहारमा उत्तिकै उदेक लाग्दो छ । नारामा मात्र पर्यटन वर्षको हल्लाले यस अभियान सफल होला त? आशंका पनि उत्तिकै छ । अहिलेको आगमन ट्रेन्ड र वृद्धि हेर्दा सन् २०२० मा बढिमा १५ देखि १६ लाख पर्यटक भित्रने देखिन्छ । यद्यपि २०१८ को पर्यटन आगमन दर उच्च देखिन्छ तैपनि गत वर्ष २०१७ मा ९ लाख ४० हजार पर्यटक आएकामा २०२० मा २० लाख पुग्न करिब २९ प्रतिशतका दरले प्रत्येक तीन वर्ष वृद्धि हुन जरुरी छ ।

तर, २० लाख पर्यटक भित्र्याउने भनेर तामझामका साथ अभियान घोषणा गरिएपनि प्रचार अभियान ज्यादै सुस्त पाइएको छ । घोषणा गरेर मात्र पर्यटक भित्रने भए वर्षै पिच्छे यस्तो अभियान चलाइदिए मात्र हुने थियो । २० लाख पर्यटक भित्रयाउन नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम कागजमा मात्र सिमित नराखी व्यवहारमै देखिने गरि काम अगाडि बढाउन सक्नु पर्छ । सार्क राष्ट्रबाहेक अन्यत्रका पर्यटकहरु होलिडे जान धेरै अगाडि योजना बनाउँछन् । नेपालमा पर्यटक आगमनको आँकडा हेर्दा अमेरिका र बेलायत क्रमशः तेश्रो र चौंथो बढि पर्यटक जाने देशमा पर्छन् । यी देशका पर्यटकहरु आफू घुम्न जानु वर्षौं अगाडि नै कुन देशमा यो वर्ष जाने भन्ने योजना बनाउँछन् । छोटो होलिडे प्लान भएपनि कम्तीमा ५, ६ महिना अगाडि उनीहरु फ्लाइट, होटल आदि बुकिङ गरिसकेका हुन्छन् । तसर्थ, सम्बन्धित निकाय नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले बेलायत अमेरिका जस्तो आफ्नो सम्भावित बजारमा आक्रामक रुपले प्रवर्धन कार्य बढाउन आवश्यक छ ।

नेपाल सरकारले ‘भिजिट नेपाल इयर २०२०’ मनाउन आव्हान गरेपछि विभिन्न मुलुकहरुमा विभिन्न कार्यक्रम आयोजना भइरहेका पनि छन् । तर, ती लक्षित समुदायसम्म पुग्न सकेको छैन् । यसपटक लन्डन ट्राभल मार्ट जस्तो इभेन्टमा पनि विगत वर्ष भन्दा पृथक खासै केहि देखिएन ।

नेपालले बेलायती पर्यटकहरुलाई नेपाल भित्रयाउने ठूलो सम्भावना रहेपनि त्यसको एकछेउ पनि दोहन गर्न सकेको छैन् । २०० वर्ष भन्दा लामो द्विपक्षीय सम्बन्ध रहेको र सर्वोच्च शिखर सगरमाथा तथा गोर्खा सैनिकका कारण सबै बेलायतीहरुले चिन्ने र माया गर्ने बेलायतबाट वर्षेनी झण्डै ५० हजार पर्यटकमात्र नेपाल भ्रमण गर्न जानु निकै न्यून हो । नेपाल अझै पनि बेलायती मानसपटलमा ट्रेकिङ र वाकिङ बाहेकको गन्तब्य बन्न सकेको छैन् । सन् २०१७ मा बेलायती नागरिकहरुले ४५ बिलियन पाउण्ड (नेपालको पुरै अर्थतन्त्र भन्दा दोब्बर) होलिडेमा खर्च गरेको यहाँको तथ्यांकले देखाउँछ । सन् २०१७ मा स्पेनले एक करोड ५८ लाख बेलायती पर्यटक भित्र्याएको थियो । नेपालमा भने करिब ५० हजारले मात्र पाइला हाले । अवश्य पनि स्पेनसँग नेपालको तुलना गर्नु सान्दर्भिक हुँदैन्, यद्यपि बेलायतबाट नेपाल भन्दा ३ घण्टा पर रहेको कम्बोडियाले नेपालले भन्दा ४ गुणा बढि करिब २ लाख बेलायती पर्यटक भित्रयाएको छ भने सँगैको भियतनामले ६ गुणा भन्दा बढि ३ लाख हाराहारी बेलायतीलाई आफ्नो देशमा स्वागत गरेको छ ।

बेलायतको सन्दर्भमा वर्षेनी करिब ५० हजार पर्यटक नेपाल जान्छन् । प्रभावकारी अभियान चलाउन सके पर्यटन वर्ष २०२० मा एक लाख बेलायती पर्यटक सजिलै भित्रयाउन सकिन्छ । आँकडा अनुसार बेलायती पर्यटकको नेपाल बसाइ सरदर १२ दिन छ र उनीहरुले सालाखाला दिनमा ९९ डलर खर्च गर्ने गर्छन् । यस हिसाबले पनि १५ अर्ब रुपैयाँ नेपालको अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्ने देखिन्छ ।

हामी कम्बोडिया, भियतनाम देशका जति पर्यटक भित्रयाउन किन सक्दैनौं ? यसका लागि प्रभावकारी अभियान चलाउन जरुरी छ । नेपालको पर्यटन विकासका लागि जति पनि कामहरु भएका छन् त्यतिले मात्र नेपालले विश्वस्तरको गतिलो गन्तब्य बनाउन सम्भव छैन् । तसर्थ, तुरुन्त गर्न सकिने सुधारहरु र दीर्घकालिन रुपमा गर्न सकिने सुधारका कामहरुलाई पहिचान गरि शीघ्र अवलम्बन गर्नु आवश्यक छ । राम्रोसंग प्रचारप्रसार गर्ने हो भने दुई, तीन वर्षभित्रै नेपाल भ्रमण गर्ने ब्रिटिश पर्यटकको संख्या दोब्बर पार्न सकिन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड, लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र स्थानीय काउन्सिलहरुसंग मिलेर काम गर्न आवश्यक छ । खासगरी स्थानीय मेनस्ट्रिम मिडियाहरुमा लक्षित विज्ञापन दिनुका साथै नेपालसँग सम्पर्कमा रहेका ट्राभल एजेन्सी, टुर अपरेटर तथा विमानसेवा कम्पनीहरुसँग अरु निकटमा रहेर काम गर्न जरुरी छ । त्यस्तै बेलायतका व्यापारिक संघसंस्थाहरु, स्थानीय काउन्सिल तथा विश्व विद्यालयहरुसँग सहकार्य गरेर पनि बेलायतीहरुलाई नेपालतर्फ आकर्षित गर्न सकिन्छ ।

सर्ट टर्ममा तुरुन्त गर्न सकिने केहि अभियानहरु जस्तै ट्राभल ट्रेड जर्नालिष्ट, टुर अपरेटर, ट्राभल प्रोफेशनल्स् आदिलाई नेपाल घुमाउन आवश्यक छ, जसले आफ्नो देशमा फर्किएर प्रचार प्रसार गरुन् । बेलायती राष्ट्रिय मिडियामा नेपाल ट्रेकरका लागि मात्र होइन, यो आम मानिस सबैका लागि होलिडे गन्तव्य पनि हो भन्ने प्रचार प्रसार गर्न जरुरी छ । नेपाल पर्यटन बोर्डले बीबीसीमा गरेको नेपाल सम्बन्धि विज्ञापन बेलायतमा बज्दैन । बीबीसी यूकेमा विज्ञापनरहित सेवा भएका कारणले अरु देशमा विज्ञापनसहित भएपनि यहाँ कसैले सुनेको मैले थाहा पाएको छैन् ।

अर्को कुरा भिजिट नेपाल २०२० अभियान घोषणा गरिए पनि मुख्य पर्यटन आउने देशहरु जस्तै भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका जस्ता देशमा यसबारे अहिलेसम्म केही अभियान भएको छैन् । माथि उल्लेखित देशहरुमा प्रचार गर्न तथा त्यहाँस्थित टुर अपरेटर र सरकारी निकायलाई निम्तो दिने जस्ता कार्य गर्न अब ढिलाइ गर्नु हुन्न । यस अलवा विदेशमा रहेका नियोग र पर्यटन प्रतिनिधिमार्फत बजार प्रवर्धनका लागि अभियान थालिहाल्न आवश्यक छ । नेपाल आउने एयरलाइन्सहरुसंग साझेदारी गरि भिजिट नेपाल एउटा अभियान भनि प्रचार प्रसार गर्न जरुरी छ । व्यापार मेलाहरुमा नेपालको सहभागिता केवल औपचारिकता मात्र भएको हुंदा यसलाई सशक्त र पृथक शैलीमा जोडदारका साथ अब अगाडि बढाइनुपर्छ । विकसित र क्रयशक्ति ज्यादै भएका देशहरुका राष्ट्रिय सञ्चारमाध्यममा नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्न अब बिलम्ब गरिनुहुन्न । विभिन्न देशका ट्राभल जर्नालिष्ट साथै टुर अपरेटरहरुलाई २०२० अभियान अगावै भ्रमणको निम्तो दिइ प्रचार प्रसारमा साथ लिन सक्नुपर्छ । नेपालको अस्तव्यस्त विमानस्थल, बस सेवा र सरसफाइमा सुधार गर्नुपर्छ । झन्झटिलो र समय धेरै लाग्ने भिसा नियमलाई इभिसा लागू गरि कन्जेस्टेड भएको त्रिभुवन विमानस्थलमा आउने पाहुनालाई अलिकति भए पनि छिटो बाहिर निकाल्न सकेमा राहत हुने देखिन्छ ।

दीर्घकालीन रुपमा भने नेपाल पर्यटनबाट प्रशस्त फाइदा लिन सक्ने सम्भावना बोकेको देश हो । तर, यसका लागि सडक, विमानस्थल, होटेल तथा रिसोर्टलगायतका पूर्वाधारहरुको व्यापक विकास गर्नुपर्छ । एकीकृत वस्ती बसाउनु, विभिन्न मनोरम होलिडे रिसोर्टहरुको विकास गर्नु, हिल स्टेशनहरु बनाउनु, रेल तथा मेट्रोहरु जस्ता आधारभूत सेवाहरु विकसित देशमा जस्तै बनाउँदै लैजानु पर्ने हुन्छ । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायुसेवाले छिट्टै युरोपतर्फ पनि आफ्नो सेवा विस्तार गर्न पहल गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले त कालोसूचीबाट नेपाल हट्न सक्नुपर्छ । त्यसोभयो भने युरोपबाट नेपालमा जाने पर्यटकहरुको संख्या बढ्न गई नेपालको राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुग्नेछ । नेपाल वायुसेवाले ब्रिटिश एअरवेज र अन्य युरोपेली वायुसेवासँग कोड शेयर गरेर मात्रै पनि राम्रो फाइदा लिन सक्छ । लाखौं यूरोपेली गर्मीको छुट्टीमा युरोप तथा मध्यपूर्वका मुलुकहरुमा जान्छन् भने अक्टोबरदेखि फेब्रुअरीसम्म नेपाललगायतका मुलुकहरुको भ्रमणमा जान्छन् । हवाइसम्पर्क, पर्यटन पूर्वाधार तथा लक्षित मार्केटिङ गर्न सकेमा युरोप धेरै नजिक छ भन्ने समय आउने छ । अझै दक्षिण र उत्तरमा रहेका ८०० करोड मध्यम वर्गलाई लक्षित गर्दै नेपाल एउटा विश्वस्तरीय पर्यटक क्षेत्र बन्न सक्दछ ।
पश्चिम नेपालमा नयाँ ट्रेकिङ रुटहरु विकास गर्न, पर्वतारोहीहरुलाई थप सुविधा दिन, आतिथ्य उद्योगलाई अरु बढी व्यावसायिक बनाउनुका साथै साहसिक खेलमा भाग लिन रुचाउने युवा पुस्ताकालागि नेपाल सर्वोत्तम गन्तव्य हो भन्ने सन्देश दिन आवश्यक रहेको मेरो बुझाइ छ ।

अहिले प्रविधिको विस्तारसंगै पर्यटकहरुको रुची पनि बदलिंदै गएको छ, त्यसकारण उनीहरुका रुची अनुसारका उत्पादन तथा सेवा उपलब्ध गराएमा मात्रै प्रतिष्पर्धी बन्न सकिनेछ । अहिले मानिसहरु नयाँ ठाउँ हेर्न मात्रै होइन्, नयाँ अनुभवका लागि पनि घुम्न जान्छन् । त्यसका लागि नेपाली खाना, संगीत, उपहार दिन मिल्ने नेपाली सामान र नेपालको भौगोलिक तथा जैविक विविधतालाई पनि सँगसँगै राखेर प्रवर्धन गर्न जरुरी छ । अहिले पश्चिमा मुलुकहरुमा योग तथा ध्यानप्रति मानिसहरुको रुची बढ्दै गएको छ, त्यसलाई पनि लक्षित गरेर प्रचारसामग्री तयार पार्नुपर्ने देख्छु म ।

– लेखक बिराज भट्ट लन्डनस्थित ट्राभल कन्सोलका प्रवन्ध निर्देशक हुन् । २० वर्षदेखि पर्यटन व्यवसायसंग सम्वन्धित उनी ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष र एनआरएन युकेका सल्लाहकार पनि हुन् ।

प्रकाशित : मंसिर २०, २०७५ १५:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतको जनगणना फाराममा ‘नेपाली’ राख्न प्रधानमन्त्रीसँग माग

कान्तिपुर संवाददाता

लन्डन — आगामी मार्च २०२१ मा बेलायतमा हुने जनगणना फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’ राखिनुपर्ने माग यहाँका नेपालीले प्रधानमन्त्री टेरेजा मेसँग गरेका छन् । 

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को नेतृत्वमा बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिले बुधबार ज्ञापन बुझाएका हुन् । सुरुमा प्रधानमन्त्रीलाई नै भेट्ने प्रचार गरिए पनि मेले समय नदिएपछि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको ढोकामा ज्ञापनपत्र दिइएको हो । प्रधानमन्त्री मे यतिबेला ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन
गराउन संघर्ष गरिरहेकी छन् । ब्रेक्जिट अन्योल र आफ्नै पद अनिश्चयको घेरामा रहेका बेला मेले नेपालीलाई समय दिने सम्भावना झिनो थियो ।

बेलायतको केन्द्रीय तथ्यांक विभागले आउँदो अटममा संसदमा पेस गर्न लागेको श्वेतपत्रमा जनगणना फाराममा चारवटा ‘इथ्नीक माइनोरिटी’ समुदायलाई सिफारिस गरिए पनि ‘नेपाली’ नराखिएको ज्ञापनमा गुनासो छ ।

गत २२ अगस्टमा अल्डरसटमा युके सेन्सस नेशनल स्ट्याटिसटिसियनका जोन पुलिन्जरलगायत ओएनएस
पदाधिकारी तथा नेपाली समुदायबीच यसबारे गहन छलफल भएको थियो । छलफलमा सकारात्मक संकेत दिइए पनि अहिले नेपाली छुटाइएकोमा नेपाली समुदायको रोष छ । बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धमात्र होइन, गोर्खाहरुको साहस र योगदान एवं बेलायतमा झण्डै दुई लाख नेपाली रहेको अवस्थामा फाराममा ‘नेपाली’ टिक लगाउन मिल्ने विकल्प राखिनुपर्ने नेपालीको माग छ ।

ज्ञापन बुझाउन रसमोर क्षेत्रका सांसद लियो डोचेर्टी, रसमोर बरो काउन्सिल लिडर डेभिड क्लीफोर्ड, काउन्सिलर लक्ष्य गुरुङ, युके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष अलान सान्का, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ, सहारा युके अध्यक्ष मिनबहादुर गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासेलगायत बेलायतको विभिन्न सहरबाट आएका नेपाली सहभागी थिए ।

जनगणना फाराममा नेपाली विकल्प राख्दा आफ्नो पहिचान स्थापित गर्न थप टेवा पुग्ने विश्वास नेपाली समुदायको छ । नेपाली समुदायकै पहलमा ग्रीनवीच बरो काउन्सिलले भने आफ्ना हरेक फाराममा ‘नेपाली’ समावेश गरिसकेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT