कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीति, सपना र बहस

समय रेखा
गरिब जनताका छोराछोरी स्कुल जान नपाउने, औषधि उपचारको प्रचार गरिएको भए पनि त्यसको केही उपयोग गर्न नपाउने विपन्न मानिसका दिन–रात उस्तै रहेका चित्रहरूले भन्छन्, त्यहाँ कसैले माक्र्सवाद पढाएका छैनन् । छन् भने भ्रम र शब्दजाल पढाएका होलान् ।
अभि सुवेदी

काठमाडौँ — पछिल्लो समय नेपालमा समय र घटनाका केही बिम्बको बबन्डर उठेको अनुभव गरिँंदैछ । यो चक्रवात चानचुने होइन । निबन्ध वा एउटा छोटो नाटक लेख्नु पर्‍यो भनेर बसेको थिएँ तर त्यो बबन्डरसामु मेरा ध्यानातित बिम्ब टिक्न सकेनन् ।

राजनीति, सपना र बहस

नेपालको इतिहास र त्यसलाई बनाउने र भत्काउने मानिसका बिम्बसामु असम्पृक्त भएर लेख्नु सम्भव भएन । सबैभन्दा ठूलो इतिहासको विषय आयो । तर वर्तमानमा इतिहास कहिलेकहीं आँधीजस्तो गरेर फर्किन्छ भन्ने वाल्टर बेन्जामिन भन्ने जर्मन दार्शनिकको विचारजस्तै भयो ।


मार्क्स र मार्क्सवादीका विचार पद्धतिको कुरा आयो । नेपालको राजनीतिक इतिहासलाई लोकतान्त्रिक मोडतिर लानेहरूको विषयमा चर्चा भए । कुनै दल विशेषको मानिस नभएकाले यी सबै बिम्बको बबन्डरभित्र केही स्वतन्त्र विचार राख्न चाहन्छु ।


भर्खरै मलाई हल्लाउने एउटा बिम्बबाट आरम्भ गर्छु । हिजै एउटा टेलिभिजनमा यस्तो समाचार देखें जसले मेरो मन छियाछिया भयो । त्यसपछि यसैबाट नेपालको राज्य र राजनीति अनि सत्तासीन मानिसका बर्षौंका चरित्रबारे झल्याँस्स ज्ञान भयो । त्यसमा मलाई फ्रान्सेली दार्शनिक मिसेल फुकोको शक्ति सिद्धान्तले सहयोग गर्‍यो ।


एकजना भूकम्पपीडित विपन्न मानिसले गोर्खादेखि आएर सरकारको शक्तिशाली र धनवान् आयोगलाई भूकम्पमा भत्केको घर बनाउन लिएको ५० हजार रुपैयाँ फिर्ता दिए । तिनले टीभीका संवाददातालाई भनेको सार यस्तो छ, ‘यो रकमबाट यसै उनीहरूले भनेजस्तो र अमुक ठाउँमा घर बनाउन नसक्ने भएँ । मापदण्डविपरीत यसै हुने भयो, बनाउन नसक्ने भएँ । पछि मेरा छोराछोरीलाई तिमी मापदण्ड मिचेकाले कालोसूचीमा परेको मानिसका सन्तान रहेछौ, यस्तो सुविधा वा छात्रवृत्ति वा अन्य केही पाउन सक्तैनौ भन्ने भए । त्यसकारण यो ५० हजार त मेरो र परिवारको अभिशाप बन्ने भयो भनेर मैले अनेकौं गरेर ऋण लिई यो रकम जम्मा गरेर बुझाएँ । मसँग केही छैन । घर पनि छैन तर अब यो रकम बुझाएपछि हल्का भएको अनुभव गरेको छु ।’


त्यो देखेपछि टीभी समाचारमा बाहिरबाट सहयोगका निम्ति आएका हजारौं छाना छाउने पाताहरू अनि जापान र अन्य मुलुकबाट भूकम्पपीडितलाई पठाएका हजारौं बोरा चामल भन्सारमा सड्दै गएका चित्र आँखासामु नाचे । मलाई यसबाट ठूलो ज्ञान भयो जुन कुरा फ्रान्सेली मिसेल फुकोले आफ्ना लेख र ग्रन्थहरूमा भनिसकेका छन् ।


फुकोले भनेका छन्, ‘कुनै विपन्न मानिस (उनको उदाहरणमा पागल भनिएको मानिस पनि छ) लाई राज्यले सम्बोधन गर्छ र ऊ त्यसको निम्ति काम गर्ने बहाना गर्छ । पागल भनिएका निरीह मानिसको निम्ति भनेर पागलखानाहरू खोल्छ, आफ्ना पाठ र भाषाबाट त्यसको प्रचार गर्छ, प्रोपगन्डा गर्छ अनि त्यही हस्पिटल भन्ने संस्थाद्वारा तिनमाथि शासन गर्छ । ती निरीह नरनारी उसको शक्तिका शिकार हुन्छन् ।


मानिसका निरीहतालाई संस्था बनाएर ऊ अविजेय हुन्छ । पहिले रूसमा धेरै र अमेरिकी तथा अन्य मुलुकमा पागलखानामा लेखकहरू राखिने पद्धतिको प्रसङ्ग सम्झिन्छौं । यसो गर्ने सरकार र शासकहरूले विपत्तिलाई त्यस्तै संस्थागत गरेर आफ्नो पार्छन् । अनुसन्धान गर्ने विद्यार्थीले फुकोको सिद्धान्त लिएर यसको अध्ययन गरून् । मेरो इच्छा छ ।


नेपालको ७२ सालको महाभूकम्पपछि मानिसले भोगेका विपत्तिलाई फुकोले भनेजस्तै नेपालका कम्युनिष्ट र कांग्रेस साथै अन्य दलहरू पनि सहभागी भएको सरकारले एउटा आफ्नो हैकम जमाउने संस्था बनाए । त्यसमा धन जम्मा भयो जसको हिसाबकिताबको कुरा भएकै होला । त्यसपछि उनीहरूले त्यो एउटा संस्था बनाए । धेरै धन, तलब र भ्रमणका संरचना बनाए । भूकम्पपीडित त्यहाँ रहेन, शासकले तिनका नाममा बनाएको संस्था रह्यो ।


त्यसैले भूकम्पपीडितलाई सहयोग गर्ने होइन, कज्याउने नियम बनाए । त्यो नियम शक्तिको ‘ब्युरोक्रेसी’ भयो, अब पीडित होइन, उद्धार गर्नेहरू शक्तिशाली र मुख्य भए । नियम पालना गराउनु भनेको तिनले रचना गरेको नियन्त्रणको सञ्जाल हो । पीडितलाई उद्धार गर्ने, मद्धत गर्ने तरिका सोझो थियो र छ । पीडितलाई गतिलो गरी स्थलगत अध्ययन गरेर जति दिन सकिने हो सीधै दिने अनि उसले जसरी प्रयोग गर्छ उसैलाई छोडिदिने सहयोगको सही रूप हो ।


तर त्यहाँ सहयोग होइन एउटा शक्तिको सञ्जाल, पदहरूको बहाली, तलब, दलगत नियुक्ति अनि शक्तिको संस्थाको रचना गर्नुपर्ने भएकाले नेपालका सबै दलको बीचमा आन्टोनियो ग्राम्चीले ‘हेजिमोनी’ भनेको मौन सहमति भयो । त्यस्तो सहमति संस्थागत शक्तिरचना पद्धति हो । फेरि अर्को प्रसङ्गमा, ‘नेपाल’ पत्रिकामा माधव बस्नेत भाइको ‘पादरीको पाउमा प्रभावशाली’ लेख पढेपछि झन् झस्कें ।


निकै कुरा खुले । यो विषयमा प्रधानमन्त्री, दुई तिहाइमा भएको शासक दल र प्राज्ञिक र पत्रकारहरूबीच छलफल, विश्लेषण र छेडछाड भइरहेका छन्, सर्वविदित छ । म यसमा अरू कुराका एकाध छलफल गर्न चाहन्छु ।


अहिले नेपालमा कम्युनिष्टको सरकार छ । कम्युनिष्टहरूका केही काल्पनिकीहरू हुन्छन् । सबैलाई जोड्ने सिद्धान्त हुन्छन् । विद्यार्थीहरूलाई वस्तुगत अध्ययन गर्न सल्लाह दिन्छु । त्यसमा माक्र्स र एङ्गेल्सले लेखेका ‘गोठा कार्यक्रमको आलोचना’ र ‘द जर्मन आइडियोलोजी’ भन्ने दुईटा ससाना किताब पढ्ने सल्लाह दिन्छु । उनीहरूले यी किताबमा कम्युनिष्टको भविताको विषयमा लेखेका छन् ।


‘आइडियोलोजी’ मा भोलि गएर एउटा आदर्श, सहज र सबै पुगिसरिआएको समाजको विषयमा लेखिएको छ । ‘गोठा’ मा इतिहासको पूर्ववर्ती काल अथवा ‘पोस्टहिस्टोरिकल’ कालको स्वर्णिम अवस्थाको व्याख्या गरिएको छ । कम्युनिष्ट सिद्धान्तलाई क्रान्ति र यस्तै सुन्दर काल्पनिकीले जोडेको हुन्छ । कम्युनिष्ट नै भएर त्यो हासिल गर्न सक्छन् भनिएको छ ।


तर जब माक्र्स र एङ्गेल्सले भनेको काल्पनिकी र माक्र्सवादमाथिको विश्वास आवरण मात्रै हुन्छ, त्यसबेला तथाकथित कम्युनिष्टहरूले दुईटा कुरा गरेका देखिएका छन् । पहिलो, तिनले इतिहासका कठिनाइ बिर्सन लगाउने र त्यसै सपना बाँड्ने काम गर्छन् । त्यसलाई ‘एम्नेसिया’ वा विस्मृति भन्छन्, जस्तो नेपालमा कम्युनिष्ट र कांग्रेसका सरकरले भूकम्पपीडितलाई नियमको जालो संस्था रचेर पीडाको कुरा गर्ने होइन बबुरा हो, नियमको कुरा पो गर्नुपर्छ, हामीले नियुक्त गरेर गतिलो तलब र भत्ता दिएका मानिसको कुरा सुन्नुपर्छ, भनेर बिर्सन सिकाए ।


हिजो पैसा फिर्ता बुझाउने मानिस त्यो शक्तिको सञ्जालको जालो च्यात्ने साहसी व्यक्ति हो । अर्को, कम्युनिष्ट र त्यसको प्रभाव परेका मानिस माक्र्स र एङ्गेल्सले माथि भनिएका स्वर्णिम अवस्था र सिद्धान्तले बाँध्न छाडेपछि विपकल्पको खोजी गर्छन् । नेपालका यी पात्रहरू दशकौंदेखि कम्युनिष्टको भाष्यमा भन्दा प्रतिक्रियावादी पादरीहरूका धन र तामझाममा रमाउनु त्यही खोजी होइन भन्न सकिँदैन ।


पूर्वी युरोपेली देशको ‘पोस्टहिस्टोरिकल’ कालका उदाहरण छ्याप्छ्याप्ती छन् । तर नेपालको ठूलो पुरानो हिन्दु राज्यको वकालत गर्ने नेपाली कांग्रेस र राप्रपा पनि त्यो गाडीमा उफ्रेर पसेको कुरा (ब्यान्ड वागेन एफेक्ट भन्छन्, आजकाल) ले कुरा झन् बाचाल बनाएको छ ।


छोटो लेख भएकाले एउटा प्रसङ्ग जोडिहाल्छु । भर्खरै कांग्रेसको राजनीतिक प्रस्तावमा एउटा कुरा राखिएको छ । त्यसमा अहिलेको कम्युनिष्ट सरकारको आलोचना गर्ने क्रममा भनिएको छ– अहिलेको कम्युनिष्ट सरकार र दलबाट ‘सुनयोजित रूपमा माक्र्सवाद पढाउने काम भएको’ छ । मलाई लाग्छ माक्र्सवाद पढाउने कामभन्दा पनि अरू नै काम भएको होला ।


नेपालका माक्र्सवादी राजनीतिज्ञ मैले बुझेअनुसार बीपी कोइराला, मनमोहन अधिकारी र पुष्पलाल थिए । बीपीका लेखनीबाट र उनको दलका सक्रिय व्यक्ति मेरा दाजु स्व. दयानन्द सुवेदी, रंगेलीबाट थाहा पाएअनुसार बीपी माक्र्सवादी थिए । मनमोहनजीसँग प्रत्यक्ष कुरा गरेको र उनलाई अमेरिकी माक्र्सवादी दार्शनिकसँग भेट्न लगेर कुरामा सहभागी भएको व्यक्ति हुँ र पुष्पलालका विचारसँग प्राज्ञिक रूपमा परिचितै छु ।


पहिला पनि लेखें, उखु उमारेर उद्योगपति र सरकारले लगेको र आफूले एक पैसा पनि नपाएका किसान, बीउबिजन नपाएर बाँझो जमिन कुरेर बसेका किसान, उचित तलब र ज्याला नपाएका साना मजदुर, सरकार आफैं ले तोकेको धानको भाउ नपाएर यसै बसेका किसान, हजारौं दु:ख बोकेर विदेशमा जाने तर बिचौलियालाई धन खुवाउनुपर्ने, ती सरकार र दलको नजिक भएका मानिस हुने अनि आमगरिब जनताका छोराछोरी स्कुल जान नपाउने, औषधि उपचारको प्रचार गरिएको भए पनि त्यसको केही उपयोग गर्न नपाउने विपन्न मानिसका दिन–रात उस्तै रहेका चित्रहरूले भन्छन्, त्यहाँ कसैले पनि माक्र्सवाद पढाएका छैनन् । छन् भने भ्रम र शब्दजाल पढाएका होलान् ।


यी सबैभन्दा, एउटा गाई र एक हल गोरु अनि सानो जमिन भएको किसानको कल्पना गर्ने बीपी कोइराला, सामन्तीको अत्याचारमा परेका किसानको अधिकार दिने र तिनको स्थायी व्यवस्था गर्नुपर्ने काल्पनिकी भएका मनमोहन अधिकारी र लोकतन्त्र र समाजवादको साम्य गराएर कल्याणकारी काम गर्नुपर्छ भन्ने पुष्पलाललाई अहिले आएर माक्र्सवादी काल्पनिकी भएका व्यक्ति थिए भन्दा भित्रसम्म विश्वास जागेर आउने मेरो मनले भन्छ सही आरम्भ हुनै बाँकी छ ।

प्रकाशित : मंसिर २९, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?