नेपाली मोह, अमेरिकी भोगाइ

दधिराम खतिवडा

काठमाडौँ — अधिकांश नेपालीहरूको सपनाको देश मानिने अमेरिका जान ज्यानै जोखिममा पार्नेको पनि कमी छैन् । लाखौँलाख खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । एक वर्षअघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन् ।

चाहे विद्यार्थी भिसामा होस, डिभी चिट्ठा मार्फत होस या त मेक्सिकोको सीमा काटेर नै किन नहोस् । वैधानिक र अवैधानिक दुवै माध्यमबाट बर्सेनि नेपाललगायतका अन्य देशका नागरिकहरू अमेरिका छिर्ने गर्छन् ।

अहिले नेपालमा असाध्यै फेसनको विषय बनेको छ अमेरिका, अष्ट्रेलिया । कलिला युवायुवती लाखौँ नगद बोकेर कन्सलटेन्सितिर धाउँछन् । खेतबारी बेचेरै भिसा लगाउँछन् । अनि फलानो अमेरिका जाने, ढिस्कानो अष्ट्रेलिया जाने भनेपछि चर्चा परिचर्चा सुरु हुन्छ । बिबाहको साइत जुराउने, डिपेन्डेन्ट पार्टनर खोज्ने । उपल्लो तहका व्यक्ति समेत मरिहत्ते गर्छन् भिसा लागेको केटोलाइ छोरी दिन । न त उमेरको सन्तुलन मिलोस न त कुलघरान, व्यवहारिकता र क्षमता नै । जसरी हुन्छ अमेरिका उडाउने मनसाय हुन्छ बाबु आमाको । मेरो छोरो वा छोरी अमेरिका छन् भनेर गाउँदेखि सहरसम्म प्रचारप्रसारमा जुट्नेको पनि कमी छैन समाजमा ।

हाम्रो समाजमा सुनेको भरमा अमेरिका सबै थोक हो, पैसा सोहोर्न पाइन्छ । पैसाको भारी हाल्न पाइन्छ । काम गर्नुपर्दैन, सारा सबै सुविधैसुविधा हुन्छ भन्ने 'मनोरोग'युक्त गलत कथ्यहरू छन् । जहाँ गए पनि शारिरीक, बौद्धिक श्रम गर्नेपर्छ भन्ने सतही मूल्यांकन गरिँदैन । अनि देखिन्छ सपना सफा सुन्दर, र चिटिक्क न्युयोर्क सहरको । नेपालमा बसेर अमेरिकाबारे देखेको सपना र अमेरिका पुगेपछि भोग्नुपर्ने बिपनामा धेरै अन्तर छ । नेपालमा सपना देख्दादेख्दै अमेरिका पुग्ने जो कोही त्यहाँ पुगेपछि झल्याँस्स ब्युँझिन्छन् ।

अमेरिका बस्नेले समुद्री किनार, स्ट्याचु अफ लिवर्टी, टाइम्स स्क्वायर, गोल्डेनगेट, हलिउडमा बसेर खिचेको तस्बिर देखेर नेपाली समाजले मूल्यांकन नगर्दा उपयुक्त हुन्छ । यहाँ रहेका उच्च शिक्षित बाहेक अधिकांश नेपालीहरुले राज्य अनुसार न्युनतम प्रतिघण्टा सातदेखि एघार डलर ज्याला पाउँछन् । कागजपत्र नभएकाहरुको हकमा त्यो रकम अझै कम हुन्छ । यस हिसाबले हप्ताको सातै दिन दैनिक आठ घण्टा काम गर्‍यो भने पनि मासिक आम्दानी भनेको दुई हजार डलरको वरिपरी हुन्छ । यो अधिकतम् हो, यसमा अझ घट्न सक्छ तर बढ्दैन । कुनै कारणले वा बिरामी परेर त्यो दिन काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो ज्याला आउँदैन । हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ, कामको समयमा एक छिन बस्न पाइँदैन उभिएर नै काम गर्नु पर्छ, काम सकिएर डेरा पुग्दासम्म खुट्टा झर्ला जस्तो हुन्छ । मेरूदण्द खुस्केको अनुभव हुन्छ ।

सामान्य सीप, दक्षता अनि अंग्रेजी भाषामा कमाण्ड नभएकालाई यो संसार निकै कठिन ठाउँ हो, स्वर्ग होइन नर्क हो । यहाँ आएर डिप्रेसनमा परेर आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेका केही उदाहरण पनि छन् । अमेरिका पुगे भने मैले काम पाउनसक्छु ? काम पाइन भनेपनि कति महिना खाली हात बस्नसक्छु ? त्यति समयसम्मका लागि मलाई सहयोग गर्ने आफन्त, साथीभाई छन् कि छैनन् ? अनि जस्तोसुकै काम पनि गर्छु भन्ने हिम्मत छ भनेमात्र अमेरिकी गोलार्द्धमा टिक्न सकिन्छ । किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि आवश्यक परेको आफन्तले समेत मुन्टो अर्कातिर बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो । भारतीय या पाकिस्तानीका स्टोर, ग्यास स्टेशन, रेस्टुरेन्टहरुमा काम गर्नुको विकल्प छैन । त्यो पनि तालिम अवधि भनेर महिनौ निःशुल्क काम गर्नुपर्ने बाध्यता हुन्छ । नेपालमा यति पढेको उति भनेर गफ नगरेको राम्रो अमेरिका यस्तै हो । जहाँ आइसकेका पनि पछुताएका छन् र आउन नपाएका पनि पछुताइरहेका छन् ।

जसले जति नेपालमा म यस्तो र उस्तो भनेर गफ हाँके पनि उसले त्यो काम गर्ने समयमा कुचो लगाउने, भुँइ र चर्पी पुछ्ने जस्ता काम गर्नैपर्छ । नेपालमा स्नातकोत्तर उत्तीर्ण गरेको हो भने पनि उसको हैसियत यहाँ औंठा छाप बराबर नै हो । अझ कसैले म म्यानेजर छु भनेर दाबि गर्छन भने त त्यो सबैभन्दा दुखी प्राणी हो भन्ने बुझ्दा हुन्छ । त्यस्ता केहि ब्यबसायिक रूपले सफल ब्यक्तिहरू पनि छन जसलाइ बोल्ने फुर्सद हुदैन ।

अमेरिकालाई मान्छेहरु अवसरै अवसरको देश भन्छन् । त्यस्तो अवसर कसले कति पायो मुलुकलाइ कति फाइदा भयो त्यो थाहा भएन । तर, अमेरिकाले सबैलाई कडा परिश्रम गर्न भने सिकाउँछ । कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शंका छैन । समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ, यहाँ बेरोजगार भनेको अल्छी मान्छे मात्र हो ।

कुनै कम्पनी वा व्यवसायको मालिक, सिईओ वा प्रबन्धकले पनि सामान्य कामदार जस्तै काम गर्न वा ग्राहकलाई सेवा दिन तत्पर हुने संस्कार । रेस्टुरेण्टको वेटरलाई प्रोफेसरले सर भनेर सम्बोधन गरेको वा कुनै व्यवसायको प्रवन्धक, मालिक वा कार्यालयको हाकिमलाई कामदार/कर्मचारिले नामले बोलाएको किन नहोस यहाँ देखिने यस्ता व्यवहारहरुले कसैलाई काम र कामको प्रकृतिको आधारमा सानो र ठूलोको विभेद छैन । कार्यस्थलमा हुने यस्ता व्यवहारहरुले काम र व्यवसायको सम्मान गर्ने र प्रत्येक व्यक्तिको आत्मसम्मान नै प्रधान र महत्वपूर्ण हो भन्ने कुरा सिकाउँछ न कि को के गर्छ, कति कमाउँछ वा कस्को कुन पद हो भन्ने कुरा ।

नेपालको भन्दा रितिथिति ठ्याक्कै उल्टो भएको अमेरिकामा त्यस्तो के छ ? जहाँ जानको लागि मानिसहरु दिनरात मेहनत गर्न पछि पर्दैनन् । ज्यानको माया भन्दा अमेरिकी मोह ठूला मान्छन् । उता, अमेरिका बसेकाहरूले आफूलाई सम्पन्न र खुशी देखाउन सामाजिक सञ्जालमा किसिम किसिमको फोटो अपलोड गरिरहन्छन् । भित्र पीडा बोकेर अरुलाई आफू खुशी भएको देखाएर नाटक गर्नु भन्दा आफैं भित्रबाट खुशी हुनु महत्वपूर्ण हो । यो मान्छे जीवनदेखि खुशी छु भनेर कसैले प्रमाणपत्र दिनु पर्दैन ।

अमेरिका बस्ने भारतीयमूलका नागरिकहरूको सामुदायिक सम्बन्ध यति पारस्परिक छ कि उनीहरू एकअर्कालाइ सहयोग गर्छन् । भावनात्मक एकता र सामाजिकता छ । नेपालीहरूको भावना सकेसम्म ठग्ने, कार्यक्षेत्रमा चम्चागिरी गर्ने, कुरा काट्ने प्रवृत्ती ज्यादा छ, मानवीय सहयोग गर्ने त टाढाको कुरा । नेपालीबाटै जोगिन मुश्किल छ यहाँ ।

नेपालमा रहेका बाबुआमा वा आफन्त नातागोता साथीभाइले बुझ्नुपर्ने कुरा के हो भने अमेरिकामा टपटप डलर टिप्ने हैन । अधिकांशले ८/१० घन्टा उभिएर खलखली पसिना बगाएपछि बल्ल केही आर्जन हुन्छ । त्यसको एक तिहाई कर, रेन्ट तिर्दै सकिन्छ । बाँकी रहेको एक तिहाईले आफनो अन्य किनमेल र बच्यो भने नेपालमा पनि पठाउनुपर्छ । यहाँ बसेर आइफोन ल्याइदे र ऊ ल्याइदे, यो पठाइदे भन्न सजिलो हुन्छ तर उता त्यति जोहो गर्न डडाँल्नो अर्अरिनेगरि घोटिनुपर्छ । लुगा त्यसै सफा हुन्छ ठाउँ राम्रै छ फेसबुकमा हप्ताको एकचोटि रमाइलो गरेको फोटो सुकिलो र मुहार हँसिलो देख्दैमा यहाँ बसिबसि भावनात्मक शोषण गर्नु अत्याचार हो ।

अत: सीपमुलक वा स्वरोज़गारमूलक शिक्षा, रोज़गार सृजना, कामको सम्मान गर्ने संस्कार, उध्योग, कृषि र पर्यटनमा जोड दिँदै देशको युवाशक्तिलाई सृजनात्मक काममा लगाउन सके अर्थात सबैलाई काममा व्यस्त बनाउन सके नेपाल समृद्ध देश बन्न धेरै समय लाग्दैन । विदेशमा विज्ञान, प्रविधि र अन्य क्षेत्रमा उच्च विशेषज्ञता हासिल गरेका धेरै नेपालीहरु छन् । नेपाललाई चाहिने ठूलो श्रमशक्ति विदेशमा छ । भारत र चीनले त्यस्तो विदेशिएको दक्ष जनशक्ति फर्काएर देश विकासमा लगाएका छन् । नेपालले पनि त्यस्तो वातावरण बनाउनुपर्छ ताकी नेपालीहरु विदेशिन होइन, स्वदेश फर्कन लालायित हुन् । अमेरिका उड्न होइन ।

हाल : टेक्सस, अमेरिका

प्रकाशित : पुस १०, २०७५ १७:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेलायतका घरवारबिहीन बढ्दो, सहयोगमा जुटे नेपाली

नविन पोखरेल

लन्डन — सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित मुलुक बेलायतमा घरवारबिहीनहरुको सङ्ख्या बढिरहेको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ‘अफिस फर नेशनल स्टयाटिसटिक्स्’ ले केही दिनअघि मात्र पहिलो पटक सार्वजनिक गरेको एक तथ्याङ्कमा यो क्रम बढिरहेको पाइएको हो । 

पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायती घरवारबिहीनलाई क्रिसमसमा दिएको पार्टी पछि फोटो खिचाउँदै । उनले शनिवार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रबन्ध गरिदिएका थिए ।

तथ्याङ्क अनुसार गत वर्ष सन् २०१७ मा कम्तीमा ५९७ घरवारबिहीन नागरिकको सडक वा अस्थायी बसोबास स्थलमा मृत्यु भयो। उक्त मृत्युदर सङ्ख्या पाँच वर्ष अवधिमा २४ प्रतिशतले बढी हो। सन् २०१३ मा ४८२ जना घरवारबिहीनको मृत्यु भएकामा सन् २०१७ मा यो सङ्ख्या ५९७ पुगेको हो। पाँच वर्ष अवधिमा करिब २ हजार ६२७ जनाले ज्यान गुमाएका छन्।

बेलायतको लन्डन र उत्तर पश्चिम क्षेत्रमा घरवारबिहीनहरुको मृत्युदर बढी पाइएको छ। म्यानचेस्टर, लिभरपुल सहरमा पाँच वर्षयता मृत्यु हुने घरवारबिहीनको सङ्ख्या दोब्बर बढी छ। सन् २०१३ मा त्यहाँ ५५ जनाले ज्यान गुमाएकामा सन् २०१७ मा यो सङ्ख्या ११९ थियो। सन् २०१७ मा आधाभन्दा बढी मृत्यु लागूऔषध वा मदिरा सेवन, आत्महत्या र कलेजोमा खराबीका कारण भएको तथ्याङ्क छ। गत बुधवार बेलायतको संसद् भवन अगाडि नै एक घरवारबिहीनको मृत्यु भयो। संसद् भवन सामुन्ने मर्ने ती घरवारबिहीन यस वर्षको दोस्रो व्यक्ति हुन्।

गत मङ्गलवार सामुदायिक मामिला हेर्ने मन्त्री जेम्स ब्रोकनसायरले सडक छेउ सुत्ने मानिसहरूको सङ्ख्या बढ्नुमा सरकारी नीति जिम्मेवार नरहेको बीबीसीसंग बताएका छन्। मन्त्री ब्रोकनसायरले पारिवारिक विखण्डन र स्पाइस जस्ता लागू औषधको प्रयोगले यस्तो समस्या बढाएको र यसरी सुत्नेहरूमा ब्रिटेन बाहिरबाट आएका मानिसहरूको सङ्ख्या बढी रहेको बताए। सरकारी तथ्याङ्क अनुसार सन् २०१० यता सडक छेउमा सुत्ने मानिसको सङ्ख्यामा १६९ प्रतिशतले बढेको देखाएको छ, तर वास्तविक सङ्ख्या त्यो भन्दा पनि बढी भएको ठानिन्छ।

अफिस अफ न्यासनल स्टाटिस्टिक्सको स्वास्थ्य तथा जीवन परिघट्ना इकाई प्रमुख बेन हम्बरस्टानले भने, ‘हरेक वर्ष सयौँ घरबारविहीन मानिसहरूको ज्यान गइरहेको छ। हाम्रो अध्ययनले मृत्यु हुने घरबारविहीनहरुको औसत आयु ४४ वर्ष र तीमध्ये ८४ प्रतिशत पुरुष रहेको देखाएको छ। यसरी ज्यान गुमाउनेमध्ये आधाजसोको आत्महत्या, अत्यधिक रक्सी सेवन वा लागूऔषधका कारण भएको पाइएको छ।’

बेलायती राजनीतिमासमेत संलग्न डार्टफोर्ड काउन्सिलर बच्चु कैलाश कैनी हरेक स्थानीय निकायमा घरबारबिहीनहरुको व्यवस्थापन गर्न निर्देशिका हुने र सोही निर्देशिका बमोजिम सबै व्यवस्था काउन्सिलले गर्नुपर्ने बताउँछन्। ‘बेलायतमा घरबारबिहीनको सङ्ख्या घटाउन यसै वर्षको अप्रिलदेखि ‘होमलेसनेस रिडक्सन एक्ट २०१८’ लागू भएको छ। घरबारबिहीनहरुका लागि बेलायतमा काउन्सिल वा स्थानीय निकायले अस्थायी बसोबास र दीर्घकालीन बसोबासको व्यवस्थापन गर्नुपर्ने हुन्छ’, कैनी भन्छन्, ‘हरेक काउन्सिलमा त्यस्ता ब्यक्तिकाबारेमा तथ्याङ्क सङ्कलन गरेर राखिएको हुन्छ। जस्तै म बसोबास गर्ने काउन्सिलमा गत वर्ष जम्मा ९ जना घरबारबिहीन व्यक्ति भएको तथ्याङ्क थियो।’

त्यस्ता व्यक्तिलाई कुनै सहयोग जरुरत परे हटलाइन टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने गरी सम्पर्क व्यक्ति पनि तोकिएको हुन्छ। बेलायतमा स्थानीय निकायले गैरसरकारी निकायहरूसँग सहकार्य गरेर घरवारबिहीनका लागि विभिन्न किसिमको सहयोग गर्ने व्यवस्था मिलाएको हुन्छ। विशेष गरी जाडोको बेला घरवारबिहीनलाई खाने, बस्ने व्यवस्था गर्न र आपत्कालीन रूपमा बसोबास व्यवस्थापन गर्न स्थानीय निकायले थप रकम वा बजेट छुट्ट्याउने कैनीले बताए।

घरवारबिहीनलाई नेपालीको सहयोग

पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस पार्टी दिएका छन्। मातृभूमिबाहेक बेलायतमा पनि च्यारिटी कर्ममा संलग्न रहँदै आएका गुरुङले शनिवार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रबन्ध गरिदिएका थिए।

गोर्खा मेमोरियल गार्डेन अफ रिमेम्बरेन्समा आयोजित क्रिसमस पार्टीमा घरवारबिहीनले नेपाल र नेपाली मन, खाना एवं गोर्खाको प्रशंसा गरेका थिए। ‘मैले अझ धेरै सहभागिताका लागि प्रयास गरेँ तर सकिन’, बेलायतमा नेपाली मूलका पहिलो काउन्सिलर गुरुङले भने, ‘सर्वत्र क्रिसमस रमझम भइरहेका बेला ती घरवारविहीनहरुको दयनीय अवस्थाले मेरो मन छोयो र आफ्नो क्षमताले भ्याएको गरेँ।’

गत साता बेजिङस्टोकमा बसोबास गर्ने पूर्व डिएसपी शिवजी श्रेष्ठले पनि स्थानीय घरबारबिहीनहरुका लागि खाना र न्यानो कपडा व्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरेका थिए। उक्त च्यारिटी कार्यक्रममा सङ्कलित रकमबाट क्याम्रोज डे सेन्टर र नाइट लाइट वीन्टर सेल्टर नामक संस्थामार्फत ती असहाय घरबारबिहिनलाई अत्यावश्यक सामाग्री व्यवस्था गरिने श्रेष्ठले बताए।

प्रकाशित : पुस १०, २०७५ १७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT