बेलायतको कठोर अध्यागमन नियमविरुद्ध स्कटल्याण्डका व्यवसायी

नवीन पोखरेल

लन्डन — बेलायत सरकारको कडा अध्यागमन नियमका कारण स्कटल्याण्डका रेष्टुरेन्ट व्यवसाय संकट उन्मुख भएका छन्  । दक्ष जनशक्ति (सेफ) अभावले स्कटल्याण्डका झण्डै ९० प्रतिशत रेष्टुरेन्टले संकट झेलेका वा बन्द हुने तरखरमा रहेका भन्दै व्यवसायीहरुले बचाउ अभियान थालेका छन् ।

नेपाली तथा एसियन व्यवसायीहरुले बेलायत सरकारसमक्ष आफ्ना समस्या अवगत गराइ समाधानको बाटो पहिल्याउन अभियान शुरु गरेका हुन्। स्कटल्याण्डका एकजना नेपाली रेष्टुरेन्ट व्यवसायी काशिराम भण्डारीले यसको नेतृत्व गरेका छन्। ‘हामीहरुको व्यापार त चौपट्टै भयो’, भण्डारीले कान्तिपुरसंग भने, ‘हाम्रा समस्या स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने सांसद, काउन्सिल लिडर र अन्य स्थानीय अधिकारीहरुलाई अवगत गराउन फेब्रुअरी १५ मा स्कटल्याण्डको काउडनबीच टाउनस्थित नमस्ते सिम्ला प्यालेसमा विशेष भेला डाकेका
छौं।’

लामो प्रयासपछि उक्त भेलामा सांसद लेस्ली लेर्डसहित अन्य बरिष्ठ अधिकारी सहभागी हुने कार्यक्रम छ। त्यस क्रममा व्यवसायीहरुले सरकारका प्रतिनिधिसमक्ष समाधानका केही उपाय प्रस्ताव गर्ने योजना बनाएका छन्। ‘कम्तीमा दुई वा तीन वर्षका लागि मात्र अस्थायी भिषा दिने प्रावधान भएपनि यस संकट तत्काल समाधान गर्न सकिने थियो’, व्यवसायी एकै स्वरमा भन्छन्, ‘सरकारको नियमले बाहिरबाट वर्क परमिटमा सेफ झिकाउन वार्षिक ३५ हजार पाउण्ड तलव दिनुपर्छ जुन असम्भव छ। अर्को समस्या टेक वे
गर्ने रेष्टुरेन्टहरुले वर्क परमिट स्पोन्सरसीप लाइसेन्स नै पाउंदैनन्। स्थानीय बेलायती करी हाउसमा काम गर्दैनन्।’

भण्डारीले सरकारको कठोर अध्यागमन नियमका कारण बाहय मुलुकबाट दक्ष जनशक्ति ल्याउन नसकिएकाले रेष्टरेन्ट व्यवसाय झण्डै ९० प्रतिशत सुकेको बताए। ‘सेफ पाइएन भन्दा तलब राम्रो दिए किन नहुने भनिन्छ, तर हामीले चाहेको दिन्छौं भन्दा पनि अहिले सेफ पाउन मुश्किल छ’, भण्डारीको गुनासो छ, ‘मान्छे पाइए पनि बेनिफिट लिएर बसेकाहरु नगद दिएमात्र आउंछौं भन्छन् जुन नियमसंगत र व्यवहारिक छैन्।’

एसियन क्याटरिङ फेडेरेसनले बेलायत सरकारको कठोर नियम रहिरहे दश वर्षभित्र बेलायतका करिब १७ हजार रेष्टुरेन्ट बन्द हुने चेतावनी दिएको छ। उक्त फेडेरेसनले बेलायतका ३५ हजार इथ्नीक रेष्टुरेन्ट (इण्डियन, चाइनिज, बंगलादेशी, थाइ, मलेसियन, नेपाली आदि) र टेक वे रेष्टुरेन्टको प्रतिनिधित्व गर्छ। ४ दशमलब २ बिलियन पाउण्डको यस करी उद्योगले कम्तीमा एक लाख जनालाई रोजगारी दिइरहेको अनुमान छ।

बंगलादेश क्याटरर्स एसोसिएसनले केही समय अघि होम अफिसले अनावश्यक रुपमा रेष्टुरेन्टहरुमा छापा मारेर दु:ख दिइरहेको आरोप लगाएको थियो।

बेलायतमा नेपालीहरुले गरेको सबैभन्दा धेरै व्यवसाय रेष्टुरेन्ट नै छ। नेपलिज क्याटरिङ एसोसिएसन यूकेको अनुमानमा बेलायतमा नेपालीका करिब तीन सय ७५ रेष्टुरेन्ट चालु छन्। सरकारको कडा अध्यागमन नियमका कारण ब्रिटेनका नेपाली रेष्टुरेन्टले गैर युरोपेली मुलुकबाट सेफ र दक्ष कामदार झिकाउन असमर्थ भएको र यसले रेष्टुरेन्ट व्यवसाय नै संकटमा परेको बताउंदै आएका छन्।

प्रकाशित : पुस २८, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

एन्फा नवलपरासी विभाजित, पंगेनी समूहले गर्‍यो समिति घोषणा

नारायण शर्मा

नवलपरासी — १४ वटा क्लबले अधिवेशन रोक्न गरेको मागलाई अस्वीकार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)नवलपरासीको एक समूहले शुक्रबार नेतृत्व चयन भएको घोषणा गरेको छ । 

जिल्ला अधिवेशन गराउने एन्फाबाट खटिएका केन्द्रीय प्रतिनिधि रमेश रायमाझीलाई समेत थाहै नदिई लगातार १३ वर्षदेखि जिल्ला अध्यक्ष रहेका प्रकाश पंगेनी समूहले अधिवेशन सम्पन्न भएको घोषणा गरेको हो । यससँगै जिल्ला फुटबल संघका क्लबहरु दुई खेमामा विभक्त भएका छन् । एन्फा प्रतिनिधि रायमाझीले आफु तोकिएकै समयमा अधिवेशन स्थलमा पुग्दा कोही पनि नभेटेका कारण अधिवेशन नै नभएको बताए । उनले अधिवेशन वैध नहुने कान्तिपुरलाई बताए । एन्फाको निर्वाचन निर्देशिकाको बुँदा नम्बर ७ मा केन्द्रीय प्रतिनिधिको रोहवरमा अधिवेशन सम्पन्न गनुपर्ने प्रस्ट उल्लेख छ ।
एकलौटी घोषणा गरिएको चौथो कार्यकालका लागि अध्यक्षमा प्रकाश पंगेनी, उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा र सदस्यहरु सर्वसम्मत चयन भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।

एन्फाका प्रवक्ता सञ्जीव मिश्रले केन्द्रीय प्रतिनिधिलाई थाहै नदिइ अधिवेशन गर्नु गैरकानूनी हुने टेलिफोनमा कान्तिपुरलाई बताए । उनले केन्द्रीय प्रतिनिधिको प्रतिवेदन आइसकेपछि एन्फा केन्द्रले यसबारेमा थप निर्णय लिने बताए ।

जिल्ला फुटबल संघमा आबद्ध २९ वटा क्लबमध्ये १४ वटालाई मताधिकारबाट बन्चित गरेर जिल्ला अध्यक्ष प्रकाश पंगेनीको समूहले अधिवेशन सकाएको असन्तुष्ट पक्षका धनबहादुर गुरुङले बताए । गैडाकोट खेलकुद विकास समिति, सूर्यज्योति, बिग बुद्ध, देशभक्त, सुनौलो बिहानी, डायमण्ड युथ सोसाइटी, भैरहब स्पोर्टस, अभिदय, सूर्ययुवा क्लब, मनकामना युवा क्लब अधिवेशनमा भाल लिनबाट बन्चित भएका छन् ।

पंगेनीले आफू अल्पमतमा पर्ने निधो भएपछि १४ वटा क्लबलाई मताधिकार र अधिवेशनमा सहभागी हुनबाट बन्चित गरेको मनकामना युवा क्लबका अध्यक्ष गुरुङले दाबी गरे । उनले भने, 'एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले एकलौटी अधिवेशन गरेर नेतृत्वमा आउने दबाब दिएका कारण जिल्लाले उनकै इसारामा काम गरेको छ ।' पंगेनी एन्फा केन्द्रीय सदस्य पनि हुन् ।
असन्तुष्ट समूहले अधिवेशन अवैधानिक रहेकोले रोक्न माग गर्दै एन्फा केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपरासीमा निवेदन दिएको थियो ।

तर, अध्यक्ष प्रकाश पंगेनीले भने सबै प्रक्रिया पूरा गरेको दाबी गर्दै नियम नमान्ने र समयमा दर्ता नवीकरण नगरिएका क्लबलाई विधानले रोकेको प्रस्टीकरण दिए ।

प्रकाशित : पुस २८, २०७४ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्