टयाटु व्यवसायबाटै क्याथिन बनिन् अर्बपति

धनीका कुरा
सन् २००७ मा २४ घण्टामा सबैभन्दा धेरै टयाटु बनाएको भन्दै क्याथरिन ‘गिनिस वल्र्ड रेकर्ड’ नै कायम गर्न सफल भएकी थिइन्
दिनेश यादव

काठमाडौँ — टयाटु कला/व्यवसायबाटै कोही अर्बपति बन्न सक्छन् भन्ने कुरा धेरैलाई पत्याउनै गाह्रो होला । तर, अमेरिकी टयाटो व्यवसायी क्याथरिन भोन ड्रयाचेनबर्ग (क्याट भोन डी) टयाटु कलालाई पछयाउँदै अर्बपति बनेकी हुन् ।

यिनी मेक्सिकन (अमेरिकी टयाटो कालाकारका नामले समेत प्रख्यात छिन् । जटिल र कलात्मक टयाटुको डिजाइन गर्नमा खप्पिस यिनका ग्राहक हलिउडका चर्चित सेलिब्रेटीहरूसमेत छन् । यिनी आफ्नो यो व्यवसाय ‘क्याट भोन डी’ को नामले चलाउँछिन् । क्याथरिनमा सानैदेखि आफ्नो संस्कृति र त्यसको प्रभावहरूबारे राम्ररी थाहा थियो । त्यसैले यिनले यसैलाई आफ्नो आम्दानीको स्रोत बनाउने निधो गरिन् । यिनलाई यो क्षेत्रमा ल्याउनमा महत्त्वपूर्ण योगदान यिनकी हजुरआमाको रहयो ।
बाल मनोविज्ञान बुझेकी क्याथरिनकी हजुरआमाले नातिनीले बनाएको कुनै पनि चित्रलाई मुक्त कण्ठले प्रशंसा गरिदिने गर्थिन् । पुच्ची क्याथरिनलाई आफ्नो कामको प्रशंसा परिवारको सदस्यबाट पाएपछि यिनी झनै उत्प्रेरित हुँदै अघि बढ्न थालिन् । यिनलाई पिआनो सिक्नदेखि विथोपनेको शास्त्रीय रचनाहरू सुनाउन र ल्याटिनोबाट प्रेरित टयाटुको सिर्जना गर्नसमेत परिवारले नै हौस्याएको हो । समयमै प्रतिभाको पहिचान परिवारले गर्न सके सजिलै बालबालिका अगाडि बढ्न सक्छन् भन्ने सन्देश पनि क्याथरिनले दिएकी छन् । त्यसैले त किशोर अवस्थाको सुरुमै यिनलेआफ्नो करियर सुरु गरिन् । अमेरिकामा मात्रै हैन विश्वका अन्य मुलुकमा समेत आफ्नो लोकप्रियता कायम गर्न यिनी सफल भइन् । सुरुमा यिनले टयाटु बनाउनका लागि विभिन्न पसलहरूसमेत चहार्नुपरेको थियो । थोरै तलबमा काम गर्नुपर्दा यिनी कहिलेकाहीँ निराशसमेत हुने गर्थिन् । तर, आफ्नो चाहनाअनुरूपको काम गर्न पाएकामा क्याथरिन दंग र फुरुंग थिइन् । अवसरको खोजीमा यिनी सधैं थिइन् नै, मौका पाएपछि राम्रो काम देखाएपछि रातारात चर्चित भइन् । पछि यिनी अमेरिकाको लस एन्जेलसमा सबैभन्दा व्यस्त टयाटु कलाकारसमेत बनिन् । यिनी चर्चित ‘मिआमी इन्क’ मा प्रवेश गरेपछि त्यहाँ पनि उत्तिकै लोकप्रिय भइन् । त्यसको भरमग्दुर फाइदा क्याथरिनले लसएन्जेलसमा आफ्नै हलिउड टयाटु पार्लरबाट उठाइन् । टयाटु व्यवसाय त छँदै थियो, व्यस्तता पनि उस्तै । यसका बाबजुद यिनी आफ्नो प्रतिभा मोडलिङ र एक्टिङ क्षेत्रमा समेत देखाउन कमर कसिन् । त्यही क्रममा यिनले केही चलचित्रमा भूमिका निर्वाह गर्नुका साथै टेलिभिजनमा समेत कार्यक्रम सञ्चालन गर्न भ्याइन् । करियर ग्याप बढदै गएकै बेला यिनले आफ्नै फेसन ब्रान्ड र मेकअप लाइन र आर्ट ग्यालरी तथा बुटिकसमेत सञ्चालनमा ल्याइन् । विभिन्न चर्चित सेलिब्रेटीसँग क्याथरिनको रोमान्टिक सम्बन्धको चर्चा/परिचर्चा पटकपटक विभिन्न सञ्चार माध्यमहरूमा आएकै छन् । कहिलेकाहीँ यही कारणले विभिन्न विवादमा समेत मुछिन पुगिन् यिनी । तर, हरेस भने कहिले खाइनन् ।
३५ वर्षअघि मेक्सिकोको मोन्टेमारेलसमा अर्जेन्टियाली दम्पतीकी सन्तानका रूपमा जन्मेकी यिनी हाल अमेरिकी नागरिक हुन् । यिनले ६ वर्षको छँदै पियानो बजाउन सिकेकी थिइन् भने शास्त्रीय गायनकी पारखी पनि बनिसकेकी थिइन् । क्याथरिन १२ वर्षकी छँदा ‘पुंक रक ब्यान्ड’ का प्रस्तुतिहरू सुन्न खप्पिस भइसकेकी थिइन् । त्यो उमेरमा यिनी आफ्नो अधिकांश समय मिसफिट्स र र्‍यामोन्सलाई सुन्ने गरेकी थिइन् । १४ वर्षको उमेरमा यिनले आफ्नो खुट्टामा अंग्रेजीको ‘जे’ अक्षर लेखेर पहिलो टयाटुको सुरुआत गरेकी हुन् । पछि उनको कलाकारितामा बिस्तारै चमक र आकर्षण बढदै गएको हो । केही समयपछि यिनले एउटा टयाटु यन्त्र उठाइन् र आफ्ना एकजना साथीको शरीरमा मसिफिट्सको खप्पर बनाइदिइन् । त्यसपछि त यिनको खोजी व्यापक हुन थालेको हो ।
सन् १९९८ मा क्याथरिनले १६ वर्ष उमेरमा पढाइ छाडेर एकजना टयाटु कलाकारका रूपमा आफूलाई स्थापित गर्नतिर पाइला चालेकी हुन् । त्यसैक्रममा एकजना व्यवसायीले पसल ‘सिन सिटी टयाटु’ पसलमा यिनलाई काममा राखेका थिए । केही वर्ष ‘ब्लु बर्ड टयाटु’ र ‘इन्फिसन’ लगायत नाम चलेका विभिन्न पसलमा पनि आफ्नो अनुभव र प्रतिभालाई चम्काउने काम गरेको क्याथरिनले अन्तर्वार्ताहरूमा बताएकी छन् । यिनले ‘ट्रयु टयाटु’ मा टिम हेन्ड्रिक्स, क्ले डेकर र सिरिस गार्भरजस्ता चर्चित टयाटु कलाकारसँग काम गर्ने अवसर पाइन् । तिनीहरूले नै यिनलाईआफ्नो भाग्यको परीक्षा गर्न ‘मिआमी इन्क’ मा काम गर्न आग्रह गरेका थिए । सन् २००५ मा यिनले मिआमीस्थित ‘३०५ इन्क’ लाई भाडामा लिएर सञ्चालन गरिन् । त्यहाँ यिनले दुई मौसम मात्रै काम गरिन्, त्यसपछि ‘टीएलसी’ मा रियलिटी टेलिभिजन शृंखला सञ्चालन गर्न थालिन् । यो काम यिनको मालिक अमी जेम्सलाई मन परेन, कामबाट हटाइदिए । केही दिन कामविहीनको अवस्थामा पुगेपछि लसएन्जेलस फर्कने निधो गरिन् । पछि त्यहीँ आफ्नै पसल खोलिन्, नाम लिइन् ‘हाई भोल्टेज टयाटु’ । जुन पछिसम्म चर्चित रहयो । आफ्नो व्यवसायमा कसैको भनसुन खेप्न नपरेपछि उनले टीएलसीमा ‘एलए इन्क’ नामको टीभी शृंखला सुरु गरिन् । यसमा विभिन्न ग्राहकहरूबारेका टयाटुका कथाहरू प्रसारण गरेकी थिइन् ।
सन् २००९ मा यिनले आफ्नो पहिलो पुस्तक ‘हाई भोल्टेज टयाटु’ सार्वजनिक गरिन् । त्यसमा क्याथरिनले टयाटु र आर्टवर्कबारे विस्तृत जानकारी समेटेकी छन् । उक्त पुस्तक ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा छैटौं स्थान ग्रहण गर्न सफल भयो । एक वर्षपछि सन् २०१० मा यिनले अर्को पुस्तक ‘द टयाटु क्रोनिकल्स’ प्रकाशित गरिन् । यो पुस्तक पनि ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा तेस्रो स्थान कब्जा जमाउन सफल भयो । सन् २०११ को अन्त्यसम्ममा ‘एलए इन्क’ चारवटै मौसममा खुल्ने अवस्थामा पुग्यो । त्यसपछि यिनले टीएलसीको करार भंग गर्दै आफ्नो सो नचलाउने निर्णय गर्न पुगिन् । सन् २००८ मा साउदर्न क्यालिफोर्नियामा ‘मसइन्क टयाटु’ सम्मेलन र संगीत महोत्सवको आयोजनामा यिनको योगदान महत्त्वपूर्ण रहयो । त्यही वर्ष यिनले आफ्नो कस्मेटिक लाइन सेफोराका लागि ‘क्या भोन डी’ को सिर्जना गरिन्, त्यसलगत्तै यिनले आर्ट ग्यालरी र बुटिकसमेत सञ्चालनमा ल्याइन् ।
क्याथरिनले ‘पिम्प माई राइड’ (२००८), ‘ब्याम्स अनहोली युनियन’ (२००७), ‘एमएडीटभी’ (२००८) र ‘आई लभ जेन्नी’ (२०१३) जस्ता चर्चित च्याट सोज र टीभी शृंखला चलाइन् । सन् २००८ मा यिनले ‘ब्याम मर्गेरा प्रजेन्टस : वेयर दि फक इज सन्ता ?’ र सन् २००९ मा ‘दि ब्लिडिङ’ लगायतका केही चलचित्रमा कलाकारको भूमिकासमेत निर्वाह गरिन् ।
यिनी आफ्नो कला/व्यवसायमा यति सफल भइन् कि सेबास्टिन ब्याच, इरिक बालफोर, रियान डन, जेन्ना जेमेसोन, निकाले रिची, ट्रयाभिस बार्कर, ग्रिन डे, मिरा सर्भिनो र भिल्ले भालोजस्ता चर्चित सेलिब्रेटीलाई आफ्ना नियमित ग्राहक बनाउन भ्याएकी थिइन् । क्याथरिनको प्रतिभा यतिमै भने सीमित रहेन, सन् २००७ मा २४ घण्टामा सबैभन्दा धेरै टयाटु बनाएको भन्दै ‘गिनिस वल्र्ड रेकर्ड’ नै कायम गर्न सफल भइन् । यिनले त्यस्ताका चार सयवटा टयाटु बनाएकी थिइन् । पछि यिनको रेकर्ड तत्कालीन पति ओलिभर पेकले सन् २००८ मा तोडेका थिए । पेकले २४ घण्टाभित्र ४ सय १५ वटा टयाटु बनाएका थिए ।
क्याथरिन आफ्नो कला/व्यवसायमा सफल भए पनि वैवाहिक जीवनलाई सफल बनाउन सकिनन् । सन् २००३ मा ‘ट्रयु टयाटु’ मा काम गर्ने क्रममा ओलिभसँग नजिकिएपछि विवाह गरिन् । तर, पछि क्याथरिनले सम्बन्ध विच्छेद गरिन् । सन २००८ मा अमेरिकी ‘रक ब्यान्ड मोटले क्रयु’ का निक्की सिक्ससँग डेटिङमा जान थालेकी थिइन् । सन् २०१० मा उनीसँग पनि सम्बन्ध टुटयो । सन् २०११ मा यिनले वेस्ट कोस्ट चोपर्सका प्रमुख कार्यकारी अधिकृत र टीभी व्यक्तित्व जेसे जेम्ससँग इन्गेजमेन्ट गरिन् । आठ महिनापछि दुवैजना अलग्गिए । सन् २०१२ मा क्यानाडेली संगीतकार जोएल जिम्मरम्यानसँग डेटिङ सुरु गरिन्, तिनीसँग इन्गेजमेन्ट पनि गरिन् । सन् २०१३ मा दुवैबीच सम्बन्ध बिग्रियो ।
‘द फेमस पिपुल’ अनलाइनका अनुसार यिनको कुल सम्पत्ति १ करोड अमेरिकी डलर (१ अर्ब १ करोड ८२ लाख ५० हजार रुपैयाँ) रहेको छ । क्याथरिनको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरेको टयाटु व्यवसाय/कला, टीभी सोज र पुस्तकहरू रहेका छन् । मेक्सिकोमा जन्मेकी र अमेरिकामा हुर्केकी ३५ वर्षीया यिनले अझै पनि आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छन् । कम उमेरमै सफलताको शिखर चुम्न सफल यिनको व्यावसायिक जीवन साँच्चिकै धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
(एजेन्सीहरू)

प्रकाशित : पुस २९, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

खाना पकाउने ग्यासमा मूल्य नबढाउने तयारी

मूल्य स्थिरीकरण कोषबाट ग्यासको मूल्य समायोजन हुने
उपभोक्तालाई केही राहत दिन खोजेका छौं : आपूर्तिमन्त्री चन्द
राजु चौधरी

काठमाडौँ — एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ । ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो ।

‘अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढयो । आवश्यकत भए पनि बजारमा असन्तुष्टि देखियो,’ आपूर्तिमन्त्री जयन्त चन्दले भने, ‘मूल्य स्थिरीकरण कोषबाट रकम झिकेर भए पनि जनतालाई केही राहत दिन खोजेका छौं ।’
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढदै गएको छ । शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो । मूल्य थप बढेर ८० डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढदा स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य बढ्छ । ग्यासमा मूल्य वृद्धि न्यून वर्गलाई समेत धेरै असर पर्ने भएकाले कोषबाट रकम झिकेर घाटा परिपूर्ति गर्न खोजिएको मन्त्री चन्दको भनाइ छ । यसका लागि शुक्रबार आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अर्थ र आयल निगमका अधिकारीबीच छलफलसमेत भएको थियो । २०७१ असोजमा स्वचालित मूल्य लागू भएपछि आयल निगम नाफामा छ । निगम नाफामा गएपछि भविष्यका लागि केही रकम जोगाउन भन्दै कोष स्थापना गरेको थियो । निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार हाल कोषमा करिब ४ अर्ब १५ करोड रुपैयाँ छ । इन्धनको मूल्य वृद्धि हुँदा कोषको रकम परिचालन गरेर सर्वसाधारणलाई सस्तोमा इन्धन उपलब्ध उद्देश्यले ‘मूल्य स्थिरीकरण कोष’ खडा भएको थियो । तर, कोष परिचालनका लागि बनाइएको ‘मूल्य स्थिरीकण कोष सञ्चालन विनियमावली’ जटिल हुँदा कोषको रकम परिचान हुन सकेको छैन । शुक्रबारको बैठक कोषलाई चलायमान बनाउने सम्बन्धमा छलफल भएको कार्यकारी निर्देशक भट्टराईले बताए । ‘खाना पकाउने ग्यासमा धेरै मूल्य समायोजन गर्दा जटिलता आउन सक्छ । मूल्य समायोजन नहुँदा निगम घाटामा जान्छ,’ उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्न ग्यासको मूल्य कोषबाट समायोजन गर्ने कुरा चलेको छ तर निर्णयमा पुगिसकेका छैनौं ।’ हालका प्रावधानहरू हेरेर थप छलफल गरी निर्णय हुने बताए । यसका लागि कमिटी गठन गर्ने निर्णय भएको उनले बताए ।
कोष चलायमान हुँदा उपभोक्तालाई पनि सहयोग पुग्ने कार्यकारी निर्देशक भट्टराईले बताए । कोषबाट धेरै आशा गर्न नहुने उनले बताए । ‘इन्धनमा रसिया, साउदी, अमेरिका र इरानको मुख्य चासो छ । साउदी घाटामा रहेकाले ओपेकले इन्धन उत्पादनमा कटौती गर्दै आएको छ,’ उनले भने, ‘इन्धन उत्पादन उत्पादन कटौती गर्दा मूल्य बढ्दै गएको छ ।’ निगमका अनुसार यसअघि बिक्री मूल्यको ०.५ प्रतिशत कोषमा जम्मा हुन्थ्यो । गत चैतबाट १ प्रतिशत बचत गर्ने निर्णय भएको छ । जसअनुसार वार्षिक करिब १ अर्ब ७० करोड रुपैयाँ सकलन हुने निगमको दाबी छ ।
मन्त्री चन्दले पनि आपतकालीन अवस्थामा चलाउने कोष भए पनि थोरै मात्रामा राहत दिन खोजेको बताए । ग्यासबाहेक अन्य इन्धनको हकमा भने स्वचालित मूल्यअनुसार नै समायोजन गरिने उनले बताए । निगमको तथ्यांकअनुसार कोषमा सबैभन्दा बढी रकम ग्यासबाट उठाएको छ । तथ्यांकअनुसार एक सिलिन्डर ग्यासबाट १३ रुपैयाँ ७५ पैसा उठ्छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ २ पैसा, डिजेल र मटितेलमा प्रतिलिटर ० दमशलव ७९ पैसा उठाउँदै आइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ० दशमलव ९०, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ० दशमलव ९२ रुपैयाँ असुल्दै आएको तथ्यांकमा उल्लेख छ ।
हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । उक्त मूल्यमा निगमलाई प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ ३० पैसा घाटा छ । जनवरी १५ तारिखसम्ममा ग्यासबाट २३ करोड ३३ लाख रुपैयाँ नोक्सान भएको निगमले जनाएको छ । डिजेल प्रतिलिटर ७९ रुपैयाँमा बिक्री हुन्छ । डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७१ पैसा घाटा छ । जनवरी १५ तारिखसम्ममा डिजेलबाट १८ कारोड ७३ लाख नोक्सान हुने जनाएको छ । पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ पर्छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८३ पैसा नाफा छ । १५ दिनको अवधिमा पेट्रोलबाट ५ करोड ४३ लाख हुने जनाएको छ । यस्तै मटितेल प्रतिलिटर ७९ रुपैयाँ पर्छ । १५ दिनको अवधिमा मटितेलबाट १ करोड ६१ लाख नाफा रहेको निगमको तथ्यांकमा छ । हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय) मा २१ करोड ८२ लाख नाफा रहेको जनाएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्