टयाटु व्यवसायबाटै क्याथिन बनिन् अर्बपति
काठमाडौँ — टयाटु कला/व्यवसायबाटै कोही अर्बपति बन्न सक्छन् भन्ने कुरा धेरैलाई पत्याउनै गाह्रो होला । तर, अमेरिकी टयाटो व्यवसायी क्याथरिन भोन ड्रयाचेनबर्ग (क्याट भोन डी) टयाटु कलालाई पछयाउँदै अर्बपति बनेकी हुन् ।
यिनी मेक्सिकन (अमेरिकी टयाटो कालाकारका नामले समेत प्रख्यात छिन् । जटिल र कलात्मक टयाटुको डिजाइन गर्नमा खप्पिस यिनका ग्राहक हलिउडका चर्चित सेलिब्रेटीहरूसमेत छन् । यिनी आफ्नो यो व्यवसाय ‘क्याट भोन डी’ को नामले चलाउँछिन् । क्याथरिनमा सानैदेखि आफ्नो संस्कृति र त्यसको प्रभावहरूबारे राम्ररी थाहा थियो । त्यसैले यिनले यसैलाई आफ्नो आम्दानीको स्रोत बनाउने निधो गरिन् । यिनलाई यो क्षेत्रमा ल्याउनमा महत्त्वपूर्ण योगदान यिनकी हजुरआमाको रहयो ।
बाल मनोविज्ञान बुझेकी क्याथरिनकी हजुरआमाले नातिनीले बनाएको कुनै पनि चित्रलाई मुक्त कण्ठले प्रशंसा गरिदिने गर्थिन् । पुच्ची क्याथरिनलाई आफ्नो कामको प्रशंसा परिवारको सदस्यबाट पाएपछि यिनी झनै उत्प्रेरित हुँदै अघि बढ्न थालिन् । यिनलाई पिआनो सिक्नदेखि विथोपनेको शास्त्रीय रचनाहरू सुनाउन र ल्याटिनोबाट प्रेरित टयाटुको सिर्जना गर्नसमेत परिवारले नै हौस्याएको हो । समयमै प्रतिभाको पहिचान परिवारले गर्न सके सजिलै बालबालिका अगाडि बढ्न सक्छन् भन्ने सन्देश पनि क्याथरिनले दिएकी छन् । त्यसैले त किशोर अवस्थाको सुरुमै यिनले आफ्नो करियर सुरु गरिन् । अमेरिकामा मात्रै हैन विश्वका अन्य मुलुकमा समेत आफ्नो लोकप्रियता कायम गर्न यिनी सफल भइन् । सुरुमा यिनले टयाटु बनाउनका लागि विभिन्न पसलहरूसमेत चहार्नुपरेको थियो । थोरै तलबमा काम गर्नुपर्दा यिनी कहिलेकाहीँ निराशसमेत हुने गर्थिन् । तर, आफ्नो चाहनाअनुरूपको काम गर्न पाएकामा क्याथरिन दंग र फुरुंग थिइन् । अवसरको खोजीमा यिनी सधैं थिइन् नै, मौका पाएपछि राम्रो काम देखाएपछि रातारात चर्चित भइन् । पछि यिनी अमेरिकाको लस एन्जेलसमा सबैभन्दा व्यस्त टयाटु कलाकारसमेत बनिन् । यिनी चर्चित ‘मिआमी इन्क’ मा प्रवेश गरेपछि त्यहाँ पनि उत्तिकै लोकप्रिय भइन् । त्यसको भरमग्दुर फाइदा क्याथरिनले लसएन्जेलसमा आफ्नै हलिउड टयाटु पार्लरबाट उठाइन् । टयाटु व्यवसाय त छँदै थियो, व्यस्तता पनि उस्तै । यसका बाबजुद यिनी आफ्नो प्रतिभा मोडलिङ र एक्टिङ क्षेत्रमा समेत देखाउन कमर कसिन् । त्यही क्रममा यिनले केही चलचित्रमा भूमिका निर्वाह गर्नुका साथै टेलिभिजनमा समेत कार्यक्रम सञ्चालन गर्न भ्याइन् । करियर ग्याप बढदै गएकै बेला यिनले आफ्नै फेसन ब्रान्ड र मेकअप लाइन र आर्ट ग्यालरी तथा बुटिकसमेत सञ्चालनमा ल्याइन् । विभिन्न चर्चित सेलिब्रेटीसँग क्याथरिनको रोमान्टिक सम्बन्धको चर्चा/परिचर्चा पटकपटक विभिन्न सञ्चार माध्यमहरूमा आएकै छन् । कहिलेकाहीँ यही कारणले विभिन्न विवादमा समेत मुछिन पुगिन् यिनी । तर, हरेस भने कहिले खाइनन् ।
३५ वर्षअघि मेक्सिकोको मोन्टेमारेलसमा अर्जेन्टियाली दम्पतीकी सन्तानका रूपमा जन्मेकी यिनी हाल अमेरिकी नागरिक हुन् । यिनले ६ वर्षको छँदै पियानो बजाउन सिकेकी थिइन् भने शास्त्रीय गायनकी पारखी पनि बनिसकेकी थिइन् । क्याथरिन १२ वर्षकी छँदा ‘पुंक रक ब्यान्ड’ का प्रस्तुतिहरू सुन्न खप्पिस भइसकेकी थिइन् । त्यो उमेरमा यिनी आफ्नो अधिकांश समय मिसफिट्स र र्यामोन्सलाई सुन्ने गरेकी थिइन् । १४ वर्षको उमेरमा यिनले आफ्नो खुट्टामा अंग्रेजीको ‘जे’ अक्षर लेखेर पहिलो टयाटुको सुरुआत गरेकी हुन् । पछि उनको कलाकारितामा बिस्तारै चमक र आकर्षण बढदै गएको हो । केही समयपछि यिनले एउटा टयाटु यन्त्र उठाइन् र आफ्ना एकजना साथीको शरीरमा मसिफिट्सको खप्पर बनाइदिइन् । त्यसपछि त यिनको खोजी व्यापक हुन थालेको हो ।
सन् १९९८ मा क्याथरिनले १६ वर्ष उमेरमा पढाइ छाडेर एकजना टयाटु कलाकारका रूपमा आफूलाई स्थापित गर्नतिर पाइला चालेकी हुन् । त्यसैक्रममा एकजना व्यवसायीले पसल ‘सिन सिटी टयाटु’ पसलमा यिनलाई काममा राखेका थिए । केही वर्ष ‘ब्लु बर्ड टयाटु’ र ‘इन्फिसन’ लगायत नाम चलेका विभिन्न पसलमा पनि आफ्नो अनुभव र प्रतिभालाई चम्काउने काम गरेको क्याथरिनले अन्तर्वार्ताहरूमा बताएकी छन् । यिनले ‘ट्रयु टयाटु’ मा टिम हेन्ड्रिक्स, क्ले डेकर र सिरिस गार्भरजस्ता चर्चित टयाटु कलाकारसँग काम गर्ने अवसर पाइन् । तिनीहरूले नै यिनलाई आफ्नो भाग्यको परीक्षा गर्न ‘मिआमी इन्क’ मा काम गर्न आग्रह गरेका थिए । सन् २००५ मा यिनले मिआमीस्थित ‘३०५ इन्क’ लाई भाडामा लिएर सञ्चालन गरिन् । त्यहाँ यिनले दुई मौसम मात्रै काम गरिन्, त्यसपछि ‘टीएलसी’ मा रियलिटी टेलिभिजन शृंखला सञ्चालन गर्न थालिन् । यो काम यिनको मालिक अमी जेम्सलाई मन परेन, कामबाट हटाइदिए । केही दिन कामविहीनको अवस्थामा पुगेपछि लसएन्जेलस फर्कने निधो गरिन् । पछि त्यहीँ आफ्नै पसल खोलिन्, नाम लिइन् ‘हाई भोल्टेज टयाटु’ । जुन पछिसम्म चर्चित रहयो । आफ्नो व्यवसायमा कसैको भनसुन खेप्न नपरेपछि उनले टीएलसीमा ‘एलए इन्क’ नामको टीभी शृंखला सुरु गरिन् । यसमा विभिन्न ग्राहकहरूबारेका टयाटुका कथाहरू प्रसारण गरेकी थिइन् ।
सन् २००९ मा यिनले आफ्नो पहिलो पुस्तक ‘हाई भोल्टेज टयाटु’ सार्वजनिक गरिन् । त्यसमा क्याथरिनले टयाटु र आर्टवर्कबारे विस्तृत जानकारी समेटेकी छन् । उक्त पुस्तक ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा छैटौं स्थान ग्रहण गर्न सफल भयो । एक वर्षपछि सन् २०१० मा यिनले अर्को पुस्तक ‘द टयाटु क्रोनिकल्स’ प्रकाशित गरिन् । यो पुस्तक पनि ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा तेस्रो स्थान कब्जा जमाउन सफल भयो । सन् २०११ को अन्त्यसम्ममा ‘एलए इन्क’ चारवटै मौसममा खुल्ने अवस्थामा पुग्यो । त्यसपछि यिनले टीएलसीको करार भंग गर्दै आफ्नो सो नचलाउने निर्णय गर्न पुगिन् । सन् २००८ मा साउदर्न क्यालिफोर्नियामा ‘मसइन्क टयाटु’ सम्मेलन र संगीत महोत्सवको आयोजनामा यिनको योगदान महत्त्वपूर्ण रहयो । त्यही वर्ष यिनले आफ्नो कस्मेटिक लाइन सेफोराका लागि ‘क्या भोन डी’ को सिर्जना गरिन्, त्यसलगत्तै यिनले आर्ट ग्यालरी र बुटिकसमेत सञ्चालनमा ल्याइन् ।
क्याथरिनले ‘पिम्प माई राइड’ (२००८), ‘ब्याम्स अनहोली युनियन’ (२००७), ‘एमएडीटभी’ (२००८) र ‘आई लभ जेन्नी’ (२०१३) जस्ता चर्चित च्याट सोज र टीभी शृंखला चलाइन् । सन् २००८ मा यिनले ‘ब्याम मर्गेरा प्रजेन्टस : वेयर दि फक इज सन्ता ?’ र सन् २००९ मा ‘दि ब्लिडिङ’ लगायतका केही चलचित्रमा कलाकारको भूमिकासमेत निर्वाह गरिन् ।
यिनी आफ्नो कला/व्यवसायमा यति सफल भइन् कि सेबास्टिन ब्याच, इरिक बालफोर, रियान डन, जेन्ना जेमेसोन, निकाले रिची, ट्रयाभिस बार्कर, ग्रिन डे, मिरा सर्भिनो र भिल्ले भालोजस्ता चर्चित सेलिब्रेटीलाई आफ्ना नियमित ग्राहक बनाउन भ्याएकी थिइन् । क्याथरिनको प्रतिभा यतिमै भने सीमित रहेन, सन् २००७ मा २४ घण्टामा सबैभन्दा धेरै टयाटु बनाएको भन्दै ‘गिनिस वल्र्ड रेकर्ड’ नै कायम गर्न सफल भइन् । यिनले त्यस्ताका चार सयवटा टयाटु बनाएकी थिइन् । पछि यिनको रेकर्ड तत्कालीन पति ओलिभर पेकले सन् २००८ मा तोडेका थिए । पेकले २४ घण्टाभित्र ४ सय १५ वटा टयाटु बनाएका थिए ।
क्याथरिन आफ्नो कला/व्यवसायमा सफल भए पनि वैवाहिक जीवनलाई सफल बनाउन सकिनन् । सन् २००३ मा ‘ट्रयु टयाटु’ मा काम गर्ने क्रममा ओलिभसँग नजिकिएपछि विवाह गरिन् । तर, पछि क्याथरिनले सम्बन्ध विच्छेद गरिन् । सन २००८ मा अमेरिकी ‘रक ब्यान्ड मोटले क्रयु’ का निक्की सिक्ससँग डेटिङमा जान थालेकी थिइन् । सन् २०१० मा उनीसँग पनि सम्बन्ध टुटयो । सन् २०११ मा यिनले वेस्ट कोस्ट चोपर्सका प्रमुख कार्यकारी अधिकृत र टीभी व्यक्तित्व जेसे जेम्ससँग इन्गेजमेन्ट गरिन् । आठ महिनापछि दुवैजना अलग्गिए । सन् २०१२ मा क्यानाडेली संगीतकार जोएल जिम्मरम्यानसँग डेटिङ सुरु गरिन्, तिनीसँग इन्गेजमेन्ट पनि गरिन् । सन् २०१३ मा दुवैबीच सम्बन्ध बिग्रियो ।
‘द फेमस पिपुल’ अनलाइनका अनुसार यिनको कुल सम्पत्ति १ करोड अमेरिकी डलर (१ अर्ब १ करोड ८२ लाख ५० हजार रुपैयाँ) रहेको छ । क्याथरिनको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरेको टयाटु व्यवसाय/कला, टीभी सोज र पुस्तकहरू रहेका छन् । मेक्सिकोमा जन्मेकी र अमेरिकामा हुर्केकी ३५ वर्षीया यिनले अझै पनि आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छन् । कम उमेरमै सफलताको शिखर चुम्न सफल यिनको व्यावसायिक जीवन साँच्चिकै धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
(एजेन्सीहरू)
प्रकाशित : पुस २९, २०७४ ०७:४५