लुम्बिनी आउने ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किन्छन्

घुमेर भारत फर्किने हुँदा सरकार र व्यावसायी दुवैले फाइदा लिन सकेका छैनन् 
अमृता अनमोल

लुम्बिनी (रूपन्देही) — गत वर्ष लुम्बिनीमा १५ लाख ५२ हजार पाहुना आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०१७ मा आएका पर्यटकमध्ये १ लाख ५५ हजार पर्यटक तेस्रो मुलुकबाट आएका हुन् । बुद्धस्थल भ्रमणका लागि दैनिक यहाँ सयौं आउने गर्छन् । 

प्रत्येक दिन आन्तरिक र बाहय पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरूमध्ये ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किने गरेका छन् । महत्त्व र प्रचारप्रसार बढ्दै जाँदा घुम्न आउनेको संख्या बर्सेनि बढेको देखिन्छ । पर्यटकको बसाइ अवधि भने बढेको छैन । यसले गर्दा यहाँको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । स्थानीय र व्यवसायीले फाइदा लिन सकेका छैनन्् । ‘स्थलमार्गबाट आउने प्राय: सार्क मुलुकका पर्यटकहरू भारतीय सवारी लिएर भारतीय बाटो भएर आउँछन् । लुम्बिनी भ्रमण गरेर त्यही बाटो उसै दिन फर्किन्छन्,’ स्थानीय व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का उपाध्यक्ष मिथुन श्रेष्ठले भने, ‘यसले
गर्दा पर्यटकको संख्या बढेसरह फाइदा लिन सकेका छैनौं ।’ भारतीयले खानासमेत उतैबाट बोकेर ल्याउने उनले बताए ।
लुम्बिनीसँगै आसपासमा बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान धेरै छन् । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, कुदान, मावली देवदह, अष्टधातु रहेको रामग्राम बौद्ध दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छन् । ती बौद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण ‘प्याकेज’ छैन । यसले गर्दा अधिकांश पर्यटक एकैछिन लुम्बिनी घुमेर उसैदिन फर्केका हुन् ।
एसोसिएसन महासचिव लीलामणि शर्माले पर्यटन बोर्ड र लुम्बिनी गुरुयोजनाले पर्यटन विकासमा सहकार्य नगर्दा पनि समस्या परेको बताए । ‘गुरुयोजनाले विकास योजना समयमा सक्ने र पर्यटन बोर्डले सहकार्य गरेर भ्रमण प्याकेज बनाइदिए मात्रै पनि लुम्बिनीमा धेरै पर्यटन विकास हुन्थ्यो,’ उनले भने, ‘सार्क मुलुकका पर्यटकलाई एक वर्षमा ३० दिनको भिसा शुल्क नलाग्ने नियम छ ।’ यो नियमका कारण पनि राज्यले पर्यटकबाट बर्सेनि करोडौंको राजस्व गुमाएको छ । व्यवसायीले समेत फाइदा लिन पाएका छैनन् । सिद्धार्थनगरका पर्यटन व्यवसायी सञ्जय बजिमयलेफ्री भिसा नहटाउँदासम्म जेजस्ता पर्यटन योजना बने पनि बसाइ अवधिनबढ्ने बताए ।
सरकारले ४ वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको स्थान तिलौराकोट, मावली क्षेत्र देवदह र अष्टधातु रहेको नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर १ सय ५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र कायम गरेको छ । बृहत्तर लुम्बिनी क्षेत्र जोड्ने सडक कम्तीमा ४ लेनको पक्की हुनुपर्ने र सडक आसपासमा वर, पीपल, स्वामीलगायतका रूखहरू रोपेर हरित, शान्त र सुन्दर बनाउनुपर्ने त्यसमा उल्लेख छ । फिल्डमा भने धेरै आयोजना सुरु भएका छैनन् । सुरु आयोजना पनि निकै सुस्त छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी सुन्दरीकरण, पूर्वाधार विकासको अभाव र आसपासमा मन बहलाउने ठाउँ नभएकै कारण पर्यटक नबसेको तर्क गर्छन् । ‘लुम्बिनी भनेर लुम्बिनी विकास कोषले लगाएको पर्खालभित्र मात्रै गुम्बा बनाउने र सजाउने काम भयो ।’ मेयर चौधरीले भने, ‘लुम्बिनी नगरको विकास विकास नहुँदासम्म पर्यटक भुलाउन सकिँदैन ।’
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यो लक्ष्यलाई सार्थक तुल्याउन सरकारले सन् २०१५ मा लुम्बिनीलाई टुरिजम हबका रूपमा विकास गर्न १० वर्षे कार्यक्रमसहितको व्यवस्थित पर्यटन योजना तयार गरेको थियो । एसियाली विकास बैंकको दक्षिण एसियाली पर्यटन पूर्वाधार परियोजनामार्फत योजनाबनाइएको थियो ।
पर्यटन योजना कार्यान्वयनका लागि उत्पादन, पहुँच, खानेबस्ने ब्यवस्था, बजार, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकासतथा सम्पदा र वातावरणकोसंरक्षणका कामलाई कार्ययोजनागत रूपमा उल्ललेख गरिएको थियो । बनाइएको उक्त योजनासमेत कार्यान्वयनमा नल्याउँदा पर्यटन व्यवसाय फस्टाउन नसकेको पर्यटनविदहरूको भनाइ छ । लुम्बिनी आसपास साना/ठूला गरेर २ सय ५० होटल रहेका छन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

जलविद्युत्ले बदलिँदै दोलखाका उत्तरी बस्ती

‘निरक्षरले पनि मासिक २० हजारभन्दा माथिको जागिर पाएका छन्, पढेलेखेकाको थप कमाइ छ’
राजेन्द्र मानन्धर

लामाबगर, दोलखा — माथिल्लो तामाकोसीलगायत दर्जनौं जलविद्युत् आयोजनाका कारण उत्तरी दोलखामा रोजगार तथा व्यावसायिक अवसर सिर्जना भएका छन् । यी अवसरले यहाँको जनजीवनमा परिवर्तन ल्याएको छ ।

‘यहाँ बेकामी कोही छैनन्, गर्न खोज्नेले तत्काल काम पाइहाल्छ,’ लामाबगरका वडाअध्यक्ष हिरण्यबहादुर गुरुङ गर्वसाथ भन्छन्, ‘हाइड्रोपावरका कारण मिहिनेती मानिसहरूले जे उद्यम गरे पनि पैसा फलिहाल्छ ।’ कृषि उपजले राम्रो बजार पाएको छ । सडक सञ्जालका कारण हिँडेर सहर बजार पुग्नुपर्ने दिनहरू पनि सकिएका छन् । बाहिरिया आउनाले होटलदेखि पसल फस्टाएका छन् ।
चालु आयोजनाहरूमध्ये देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य सुरुवातसँगै क्रमिक रूपमा यस क्षेत्रको परिवर्तनको ढोका खुलेको हो । यस क्षेत्रको विकासको पहिलो खुड्किलो तामाकोसी आयोजनाले बनाएको सडक विस्तार सावित भएको छ । सडक नआएसम्म मानिसहरू ३२ कोस हिँड्दा जिल्ला सदरमुकाम पुग्थे ।
डोकाको भारी नाम्लाकोसहारामा मानिसको थाप्लोले थेगेर यस क्षेत्रको भोक टथ्र्यो । बाटाहरू अप्ठयारा भएका कारण कयौं लडेर घाइते हुन्थे, ज्यान जान्थ्यो । तिब्बती सीमा गाउँ लामाबगरसम्म पुग्दा भोका, नाङ्गा, निरक्षर कुपोषणपीडित बालबालिकाहरू बाटा वरपरका गाउँबस्तीमा भेटिन्थे । अहिले परिस्थिति बदलिएको लामाबगरका अगुवा छयोतर शेर्पा बताउँछन् ।
‘निरक्षरले पनि मासिक २० हजारभन्दा माथिको जागिर पाएका छन्, पढेलेखेकाको थप कमाइ छ,’ उनले भने ।
आयोजनाले ल्याएको सडकले जनताका दु:ख आधा सकिएको छ । आयोजनाले सदरमुकामदेखि सडक सुधार गर्दै उत्तरी केन्द्र सिंगटीबाट लामाबगरसम्म मोटर चल्ने बनाएपछि यस क्षेत्रमा उज्याला दिन सुरु भएको हो । तामाकोसी आयोजनाले सडक र विद्युत् राजमार्ग (ट्रान्समिसन लाइन) विस्तार गरेपछि उत्तरी क्षेत्रका हरेक खोलाहरूमा निर्माणाधीन दर्जन हाराहारीको जलविद्युत् आयोजनाहरूले ग्रामीण बस्तीका भित्री कुनामा सडक सञ्जालमा पुर्‍याएका छन् ।
विस्तारित विद्युत् आयोजनाको सञ्जालले भित्री बस्तीहरू बजारीकरण भइरहेका छन् । बजारीकरणसँगै स्थानीय उत्पादन खपथ, रोजगारको सिर्जनाले मानिसहरूका कमाइ गर्ने आधार थपिँदै गएको छ । लामाबगरका वडाअध्यक्ष गुरुङको भनाइमा केही समयअघिसम्म यहाँका मानिसहरू तामाकोसीले स्थानीयलाई दिने भनिएको सेयर रकम हाल्न सक्दैनन् भन्ने ठानिन्थ्यो । त्यसैले यहाँका बासिन्दाले अधिकारले पाउने सेयरको कित्ता नै घटाइएको छ । उनी थप्छन्, ‘अब यहाँका मानिसहरू जति पनि पैसा लगानी गर्न सक्छन् भनेर
अधिकारअनुसारको सेयर दिइनुपर्ने माग गरिरहेका छन् ।’ यहाँका युवा कि त स्थानीयस्तरमा उद्यम गर्दै छन्, कि त नजिकका विकासको काममा रोजगार गर्दै छन् । वैदेशिक रोजगारमा न्यून संख्यामा छन्, गएकाहरू पनि फर्किएर घर नजिकै केही न केही पैसा कमाउने काममा सहभागी छन् ।
माथिल्लो तामाकोसीका अनुसार हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । हाल करिब एक हजार मानिस यहीँ आयोजनासँग गाँसिएर आयआर्जन गरिरहेका छन् । यस क्षेत्रका प्रदेशसभा सदस्य पशुपति चौलागाई हाइड्रोपावर कम्पनीको आगमनसँगै उत्तरी क्षेत्रको समृद्धिको ढोका खुलेको बताउँछन् । ६५० मेगावाटको तामाकोसी तेस्रो आयोजना सञ्चालनका लागि पहल थालिएको उनले बताए । ‘उक्त आयोजनाको सुरुवात र लामाबगरबाट चीनको सीमासम्म सडकले जोड्ने प्रयास सफल भए दोलखा जिल्लालेकाँचुली फेर्छ,’ सांसद चौलागाईंले भने ।
उक्त आयोजनाको पछिपछि लागेर आएको अन्य निजी आयोजनाहरूका कारण स्थानीय र बाहिरिया गरेर हजारौं मानिसहरू काममा छन् । रोजगार र उद्यमका कारण यस क्षेत्रको लगभग शत प्रतिशत बालबालिकाहरू विद्यालय शिक्षामा भएको जिल्ला शिक्षा कार्यालयको प्रतिवेदनले बताउँछ । उच्च शिक्षा हासिल गर्नेहरूको संख्या भने अझै न्यून रहेको उनले बताए ।
जलविद्युत् नै प्रमुख आधार बनाएर दोलखाको समृद्धि हुन सक्ने प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ बताउँछन् । जलविद्युत् हबकै रूपमा रूपान्तर भइरहेको उत्तरी क्षेत्रबाट तिब्बत जोड्ने नाका खुलाउने तयारी भइरहेको उनले बताए । नाकासमेत खुलेर विद्युत् आयोजनाहरू सम्पन्न भएपछि पहिले दु:खले जेलिएको भनेर चिनिने दोलखाको उत्तरी क्षेत्र समृद्धिले भरिएको बस्तीहरूमा रूपान्तरित हुने उनले दाबी गरे ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्