कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बंगलादेशले केही वस्तुमा छुट दिए पुग्छ’

बंगलादेशले करिब एक दर्जन नेपाली वस्तुलाई ‘डयुटी फ्री’ सुविधा दिए पर्याप्त
पर्वत पोर्तेल

ढाका (बंगलादेश) — दुई वर्षअघि बंगलादेशको ढाकामा वाणिज्य सचिवस्तरीय बैठकमा कृषिजन्यसहित १ सय ८ नेपाली उत्पादनलाई भन्साररहित सुविधा दिने र नेपालले पनि बंगलादेशका ५० वस्तुमा त्यस्तै सुविधा उपलब्ध गराउने सहमति अझै कार्यान्वयनमा आएको छैन । 

‘बंगलादेशले केही वस्तुमा छुट दिए पुग्छ’

ढाकास्थित नेपाली राजदूत चोपलाल भुसालले दुवै देशका वस्तुलाई भन्साररहित सुविधा उपलब्ध गराउने विषयमा अहिलेसम्म गम्भीर रूपमा छलफल नै नभएको बताए । बंगलादेशले करिब एक दर्जन नेपाली वस्तुलाई ‘डयुटी फ्री’ सुविधा दिए पर्याप्त हुने बताए । ‘१ सय ८ वस्तुमा छुट किन चाहियो ?’ भुसालले प्रश्न गरे, ‘हाम्रो सम्भावना जेमा छ, त्यसलाई प्राथमिकता दिइनुपर्छ ।’

उनले धेरै वस्तुको सूची राखेका भरमा छुट नपाइने बताउँदै पठाउन सक्ने समानमा मात्रै जोड दिन नेपाली निर्यातकर्ताहरूलाई आग्रह गरे । ‘नेपालले पठाउनै नसक्ने वस्तुको विषयमा छलफल गर्नुको औचित्य नै छैन,’ भुसालले भने ।

केही महिनामै द्विदेशीय सचिवस्तरीय बैठक आयोजना हुँदै छ । अघिल्ला एजेन्डाहरूलाई परिमार्जन गरिनुपर्ने उनले बताए । बंगलादेशसँगको व्यापारमा भन्सार महसुल मात्रै समस्या नभएको र सहजीकरणमै पनि अप्ठयारो स्थिति रहेको भुसालको भनाइ छ ।

व्यापार प्रवद्र्धनमा दूतावास

प्रत्येक वर्ष आयोजना हुने ‘ढाका अन्तर्राष्ट्रिय व्यापार मेला’ मा दूतावासले नेपाली वस्तुको प्रवद्र्धनका लागि स्टलहरू राख्दै आएको छ । यो वर्ष भने उसले स्टल मात्रै राखेन नेपाली उद्यमी/ व्यवसायीहरूलाई प्रत्यक्ष सहभागी गरायो ।

‘हाम्रो उद्देश्य बंगलादेशमा नेपाली वस्तुको पहिचान दिने हो,’ राजदूत भुसालले कान्तिपुरसँग भने, ‘यहाँ नेपालको सानो चिज पनि बिक्छ । नेपालप्रति विश्वास छ बंगलादेशीको ।’

अदुवा र अलैंचीका लागि नेपाल विश्वमै अब्बल देश हो । त्यसबाहेक चिया, कफी र जडीबुटीका लागि पनि नेपालको राम्रै छवि छ । ‘यी सबै वस्तु भारतले आफ्नो उत्पादनका रूपमा बंगलादेश आदि तेस्रो देशमा निर्यात गरिरहेको छ । ‘हाम्रो सामानको पहिचान हामीले किन नदिने,’ राजदूतले भने, ‘हाम्रो वस्तुको अन्तर्राष्ट्रिय ब्रान्ड किन नबनाउने ?’

नेपाली राजदूतावासले यसपालि ढाका व्यापार मेलामा नेपाली वस्तुको स्टल मात्रै राखेन । नेपाली र बंगलादेशी व्यापारीहरूबीच दुई पक्षीय बिजनेस टु बिजनेस छलफल नै आयोजना गरायो । ‘दुई देशका व्यवसायीबीच छलफल होस् ।

आफूसँग भएको सामानको गुणस्तर, मूल्य तोकेर सामान पठाउने वातावरण बनोस् भनेर हामीले बी टु बी गराएका हौं,’ भुसालले भने ।

सन् २०१२ अघि नाफामै रहेको बंगलादेशसँगको व्यापार त्यसयता बर्सेनि गिर्दो छ । खासगरी मुसुरोको निर्यातमा आएको गिरावटले बंगलादेशसँगको व्यापार घाटामा आएको हो ।

नेपाल–बंगलादेश व्यापार संघका अध्यक्ष पन्नालाल जैनले भने, ‘उत्पादन नै नभएपछि कसरी व्यापार गर्ने ?’ उनका अनुसार केही वर्षअघिसम्म बंगालदेशसँग निर्यातका लागि उत्पादन खासै थिएन । नेपालसँग थियो, पठायो । अहिले अवस्था फेरियो । ‘हामीसँग उत्पादनै छैन,’

जैनले थपे, ‘उनीहरूको उत्पादन छयापछयाप्ती छ ।’

पछिल्लो समय बंगलादेश सरकारले उत्पादनमा ठोस नीति अख्तियार गरेको छ । व्यापार मेलाको उद्घाटनका क्रममा प्रधानमन्त्री शेख हसिनाले आयात भन्ने शब्द नै आफूलाई सुन्न मन नलाग्ने बताएकी थिइन् । उनले भव्य समारोहबीच भनेकी थिइन्, ‘तपाईहरू निर्यात व्यापारमा लाग्नोस्, सरकारले सक्दो सहयोग गर्छ ।’ आत्मनिर्भर हुनुपर्छ भन्ने सरकारी नीति छ । स्थिर सरकार छ । विकासमा फडको मारेको छ ।

सम्भावित वैकल्पिक रुट

नेपालले बंगलादेशसँगको व्यापारकै लागि २० वर्षदेखि फूलबारी–बंगलाबन्ध स्थलमार्ग प्रयोग गरिरहेको छ । भारतले बंगलादेशसँग व्यापार गर्न यो मार्ग नेपाललाई उपलब्ध गराएको थियो । सन् २०११ देखि भारतले पनि यो नाकाबाट बंगलादेशसँग व्यापार थालेको छ ।

यसका अलावा रेल्वे र हवाई मार्गबाट समेत बंगलादेशसँग व्यापार गर्न सक्ने विकल्पहरू छन् । विरोल–राधिकापुर र रोहनपुर–सिंहवाद रेल्वे सुविधा छ । बंगलाबन्ध नजिकैको पञ्चगढमा पनि यसैपालि ब्रोडगेज रेल्वे सुरु भएको छ । चटगाउँ र मोंगला बन्दरगाह १९७३ देखि नै प्रयोग गर्न बंगलादेशले भनेको छ । व्यापारका लागि नेपालले यसको प्रयोग गरेको छैन । सुरुमा यो नाकाबाट एकपटक नेपालले मलखाद आयात गरेयता प्रयोग भएको छैन ।

‘बंगलादेशसहित तेस्रो देशमै व्यापार गर्ने हो भने मोंगला र चटगाउँ नजिक पर्छन्,’

भुसालले भने । उनका अनुसार बंगलादेशले साहिदपुरको विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउँदै छ । जहाँबाट झापाको भद्रपुर र विराटनगरसम्मको हवाई लाइन जोड्न सक्दा नेपाललाई व्यापारका लागि फाइदा छ । करिब २०/२५ मिनेटको हवाई यात्राबाट नेपाल र बंगलादेशबीच व्यापार मात्रै होइन पर्यटनसमेत प्रवद्र्धन हुने सम्भावना छ ।

ढुंगाको माग अधिक

बंगलादेशमा नेपाली ढुंगाको माग उच्च छ । राजदूत भुसालले भने, ‘ढुंगा आयातका लागि पहल गरिदिनुपर्‍यो भन्दै सयौं व्यवसायी आइरहेका छन् ।’ उनले ढुंगा निकासीको सम्भावनाबारे सरकारलाई राय दिने तयारी गरिरहेको बताए । ‘नेपालमा ढुंगाको खानी अथाह छ । प्रकृतिलाई असर नपर्ने हिसाबले अनुसन्धान गरेर ढुंगा निकासी गर्न सक्दा प्रशस्तै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ राजदूत भुसालले भने ।

भारत र भुटानबाट मात्रै आयातित ढुंगा अपुग भएपछि बंगलादेशले दक्षिण अफ्रिकाबाट समेत आयात गरिरहेको छ । नेपालबाट पनि ढुंगा आयात गर्न सक्दा मात्रै बंगलादेशलाई ढुंगा पर्याप्त हुने ढाकाका एक निर्माण व्यवसायी अब्दुल आलमले बताए । उनले भने, ‘किन हो नेपाली ढुंगाको बंगलादेशमा चर्चा व्यापक छ ।’

फूलबारी ल्यान्ड कस्टमका अनुसार दैनिक सयदेखि २ सय गाडी ढुंगा बंगलादेश निकासी भइरहेको छ । ढुंगाको मूल्य प्रतिटन ५० देखि ६० हजार रुपैयाँसम्म पर्छ । दुई देशको व्यापार प्रारम्भमा नेपालबाट अर्बौं रुपैयाँको गहुँ निकासी भएको थियो । गहुँ निकासी बन्द भएलगत्तै मुसुरोको माग बढेको थियो । मुसुरोको निकासी अहिले पनि जारी छ । गहुँ र मुसुरो पछि बंगलादेशमा नेपाली ढुंगाको माग उच्च रहेको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?