कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया पढ्नेले पाए रोजगारी

विप्लव भट्टराई

इलाम — झापा काँकडभिट्टाका अनन्त ढुंगाना हिजोआज जस्विरेको चियाबारीमा भेटिन्छन् । झापाको मेची क्याम्पसमा चार वर्षसम्म बीएस्सी एनटी टेक्नोलोजी एन्ड मेनेजमेन्ट अध्ययन पुरा गरेपछि उनले चिया तथा कफी विकास बोर्डमार्फत रोजगारी पाएका हुन् । झापा दमककी पुष्पा श्रेष्ठ पनि यही कोर्स पूरा गरेपछि चिया क्षेत्रमा नै जागिरे बनेकी छिन् । 

चिया पढ्नेले पाए रोजगारी

चिया उत्पादन क्षेत्र र कारखाना खुल्ने क्रम बढे पनि चियामा दक्ष जनशक्तिको अभाव भएको अवस्थामा एक दर्जनभन्दा धेरै युवाले दक्षता हासिल गर्दै चिया क्षेत्रमै काम पाएका छन् । क्याम्पसको पहिलो र दोस्रो ब्याच अध्ययन गर्ने केही बिदेसिएका पनि छन् ।

अन्तर्राष्ट्रिय मुद्रा आर्जनका लागि अब्बल ठानिएको चिया क्षेत्रमा युवा पुस्ताको आर्कषण थपिँदै गएको छ । चिया खेती थालिएको डेढ सय वर्षपछि सुरु भएको चिया व्यवस्थापनको पढाइले युवाहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गरेको हो । चिया व्यवस्थापनको पढाइ सकेका युवाहरूको व्यस्तता पूर्वका चिया बगानमा बढेको छ ।

झापा भद्रपुरको मेची क्याम्पसमा चिया व्यवस्थापनको पढाइ सकेर चियाको प्रवद्र्धनमा होमिने तन्नेरीहरूलाई कारखानादेखि बगानसम्म पुगेर गुणस्तरीय चिया उत्पादनका लागि प्राविधिक ज्ञान बाँड्न भ्याइनभ्याई छ । चिया व्यवस्थापनको पढाइ पूरा गरेका अधिकांश विद्यार्थीले नेपालका लागि नौलो मानिएको विषय अध्ययन गरेर पनि अवसर र सम्भावना उत्तिकै रहने अनुभव सँगालेका छन् । चिया रोप्नेदेखि कारखानामा प्रशोधन गर्नेसम्मका क्रियाकलापमार्फत उनीहरूले सिकेको ज्ञानको प्रयोग हुन थालेको हो । ‘चियामा जुन प्रकारको जनशक्ति आवश्यकता थियो थोरै भए पनि यो पढाइले सहयोग मिलेको छ,’ पहिलो ब्याच सकेर चिया तथा कफी विकास बोर्डको बिर्तामोडस्थित कार्यालयमा कार्यारत नवीन कोइरालाले भने, ‘बगानदेखि कारखानासम्म आवश्यक पर्ने प्राविधिकको अझै कमी छ ।’

पूर्वमा रहेका चिया कारखानामा अझै पनि भारतीय प्राविधिककै संख्या धेरै छ । केहीले अनुभवका आधारमा कारखाना सम्हाले बाहेक चियाको विषय विज्ञता लिएर आउने जनशक्ति कम छ । पूर्वी जिल्लामा व्यावसायिक उत्पादन हुने चिया क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । पछिल्लो समय चियामा करिअर बनाउँदै नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यका साथ होमिएका युवाहरूको उत्साहले धेरथोर आशा जागेको सरोकारवाला बताउँछन् । आवश्यकता र अवसर दुवै रहे पनि चियाको अध्ययनका लागि भने पछिल्लो समय युवाको आकर्षण कम देखिएको छ ।

पहिलो ब्याचमा १९ जना विद्यार्थी रहेकामा बर्सेनि विद्यार्थीको संख्या क्याम्पसमा घटदो छ । अहिले विधा परिवर्तन भएर चिया विज्ञानका नाममा पढाइ हुने भए पनि विद्यार्थी संख्या कम रहेको छ ।

‘चिया पढाउँदा जुन प्रकारको कोर्स राखिनुपथ्र्यो त्यो नभएकाले पनि समस्या देखिएको हो,’ चियाविज्ञ चन्द्रभूषण सुब्बाले भने । पछिल्लो समय कृषकको संख्या बढेसँगै ससाना कारखाना खुल्ने क्रम पनि उत्तिकै छ । यहाँको उत्पादनलाई पश्चिमा बजार पुर्‍याउने प्रयासलाई सघाउन पनि दक्ष प्राविधिकको अभाव खडकने गरेको हो । उत्पादन गुणस्तरीय भएसँगै बजारको मागअनुसारको भेराइटी पनि दिन सक्नुपर्ने आवश्यकता रहेको सरोकारवालाको भनाइ छ । विभिन्न प्रकारका ससाना चिया प्रशोधन मेसिन भित्रिएका छन् । तर, दक्ष प्राविधिकको अभावमा विश्व बजारमा जान सक्ने चिया अझै पनि न्यून मात्रामा बन्ने गरेको छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?