कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा राजस्व असुली न्यून

शंकर आचार्य

पर्सा — भारतीय रेल्वेको अवरोधले क्ंिलकर आयात रोकिँदा तथा धेरै सार्वजनिक बिदाको कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । 

सर्वाधिक असुली गर्ने यो भन्सार कार्यालयको राजस्वमा क्ंिलकरको मासिक ३ देखि ४ प्रतिशतसम्म योगदान रहँदै आएको थियो । डिसेम्बर २२ देखि भारतीय रेल्वे नेपालतर्फ आउने क्ंिलकरको लोड अनलोड बन्द गरेको तथा पुस महिनामा ४ वटासम्म सार्वजनिक बिदा परेकाले भन्सारले मासिक राजस्व असुली लक्ष्य पनि भेटयाउन सकेन ।

भन्सार कार्यालयको तथ्यांकअनुसार पुस महिनामा १० अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ९ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व संकलन हुन सक्यो । जुन लक्ष्यको ८७ दशमलव ४७ प्रतिशत मात्र हो । भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीका अनुसार भन्सारले वार्षिक राजस्व असुली लक्ष्य पनि भेटयाउन सकेको छैन ।

चालु आवमा पुस महिनासम्ममा ६२ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा यो भन्सारले ६० अर्ब ५० करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सक्यो । जुन लक्ष्यको ९७ दशमलव ४० प्रतिशत मात्र हो ।

यो भन्सारको राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तुहरूमा नयाँ सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ हुन् । कोलकाता बन्दरगाहसँगको छोटो दूरीको नाका भएकाले मुलुकमा आयात हुने माल वस्तुको आधाभन्दा बढी यसै नाकाबाट आयात हुने गर्छ । जसको कारण यो भन्सारले मुलुकमै सर्वाधिक राजस्व संकलन गर्दै आएको छ । २ वर्षअघिको नाकाबन्दीमा झन्डै ६ महिना नाका अवरोध भएपछि भने भैरहवा भन्सार कार्यालयले यो भन्सारलाई राजस्व असुलीको मामिलामा उछिनेको थियो । त्यसयता भने यो भन्सार पुरानै लयमा फर्किएको छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?