कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमा बढ्दै डिपार्टमेन्टल स्टोर संस्कृति

नुनदेखि सुनसम्म किन्न पाइने भएकाले ग्राहकको आकर्षण बढ्दो छ
वेदराज पौडेल

इटहरी — उपमहानगर ८ फुलबारी टोलकी गीता श्रेष्ठ सामान खरिद गर्न अचेल हटिया जान छाडेकी छन् । डिपार्टमेन्टल स्टोरले हटियाकै दाममा उपभोग्य वस्तु उपलब्ध गराउन थालेपछि उनीजस्ता धेरैको किनमेल शैली फेरिएको छ ।

सहज रूपमा किनमेल गर्न सकिने अनि गुणस्तर पनि राम्रो हुने भएकाले डिपार्टमेन्टल स्टोरहरूमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । इटहरीको गोरखा डिपार्टमेन्टल स्टोरले आफैं तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको छ । विभिन्न सामान एकैथलोमा पाइने भएकाले व्यस्त समयलाई सदुपयोग गर्न धेरैको रोजाइ डिपार्टमेन्ट हुने गरेको छ । डेढ दशकअघिसम्म बजार घुमेर विभिन्न समान किन्ने ग्राहकलाई डिपार्टमेन्टले एउटै छानामुनि समेटेका छन् । नुनदेखि सुनसम्म किन्न पाइने भएकाले ग्राहकको आकर्षण बढ्दो छ । ग्राहकको आकर्षण बढेपछि एक नम्बर प्रदेशको ठूला तथा साना बजारहरूमा समेत डिपार्टमेन्ट खुल्ने क्रम बढेको छ ।


यो प्रदेशमा साना ठूला गरी ६० डिपार्टमेन्टल स्टोर खुलिसकेका छन् । तिनमा दैनिक ९० हजार ग्राहकले खरिद गरिरहेको गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको दाबी छ । यो क्षेत्रमा १९ अर्ब २० करोडको लगानी भइसेको छ । ४० लाखदेखि २ अर्ब रुपैयाँसम्म लगानीका डिपार्टमेन्ट खुलेका छन् ।


अहिले डिपार्टमेन्टमा दैनिक उपभोग्य सामान, पेय पदार्थ, सौन्दर्य सामग्री, विद्युतीय सामान, तयारी पोसाक, जुत्ताचप्पल, सुनचाँदी, भान्साका सामानलगायत वस्तु पाइन्छ । इटहरीकी पूजा राई एउटा डिपार्टमेन्टमा नपाएको सामान अर्काेमा भए पनि खोजेर किन्ने गरेको बताउँछिन् । इटहरीमा गोरखा, भूपू गोर्खा, पान्डा र सनराइज डिपार्टमेन्ट सञ्चालनमा छन् ।

धरान र चतरामा पनि डिपार्टमेन्ट खुलेका छन् । मोरङको विराटनगर, बेलबारी, विराटचोक, पथरी, उर्लाबारी र लेटाङमा पनि खुलेका छन् । झापामा दमक, बिर्तामोडमा पनि डिपार्टमेन्ट खुलेका छन् । इलाम र पाँचथरमा पनि यस्ता स्टोर खुलेका छन् । गोर्खाले पथरी, विराटचोक, दमकमा शाखा विस्तार गरेको छ भने धरानमा माघ महिनादेखि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ ।


सात वर्षअघि विराटनगरमा खुलेको नेपाल बजारले अहिले महानगरपालिकाभित्र ५ वटा शाखा सञ्चालन गरिरहेको छ । हजारौं प्रकारका सामग्री बिक्री गरिरहेको नेपाल बजारमा दैनिक ३ देखि ४ हजार ग्राहक खरिद गर्न आउँछन् ।


खुला सीमा र हटिया संस्कृतिलाई चुनौतीको रूपमा लिँदै निकै जोखिमपूर्वक आफूहरूले डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याए पनि अहिले आममानिसको आकर्षण डिमार्टमेन्टल स्टोर्स नै भएको पाउँदा निकै उत्साहित बनाएको नेपाल बजारका कार्यकारी निर्देशक मनोजविक्रम शाहले बताए ।


बजारमा प्रतिस्पर्धा बढे पनि खासै समस्या नरहेको बताउने साहले सरकारले बोर्डरबाट आउने एक हजारभन्दा बढीको सामानमा कडाइ गर्न सके डिपार्टमेन्टहरूको भविष्य अझ राम्रो हुने बताए । दिनदिनै मानिस व्यस्त बन्दै गइरहेको अहिलेको अवस्थामा सबै आवश्यक सामान एकै ठाउँमा उपलब्ध हुने भएकाले डिपार्टमेन्ट मानिसको जीवनशैली बन्दै गएको साहले बताए ।


पसलमा घन्टौं कुर्नुपर्ने अनि दलाली गर्नुपर्ने बाध्यताबाट डिपार्टमेन्टले मुक्ति दिएकाले अहिले यो संस्कारका रूपमा अघि आएको बयरबन ८ की देवकला आचार्यले बताइन् । डिपार्टमेन्टलले किन्ने सुविधासँगै धेरैलाई रोजगारी पनि दिएको छ । एक नम्बर प्रदेशका डिपार्टमेन्टमा मात्र १५ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।


धरानमा रहेको भाटभटेनी सुपर मार्केटमा दैनिक १५ सयदेखि २ हजारसम्म स्थानीय किनमेलका लागि आउने गर्छन् । भाटभटेनीले १० हजारभन्दा बढी प्रकारका सामग्री राखेको छ । बिदाको दिन अरू दिनभन्दा दोब्बर ग्राहक हुन्छन् । भाटभटेनीकी प्रबन्धक सुरेखा मिश्र पहिले डिपार्टमेन्टको बाहिरी आकर्षणबाट प्रभावित भएर ग्राहक घुम्न आउने र सामानहरू हेरेर बाहिरको बजारसँग तुलना गर्ने र दोस्रोपटकदेखि किन्न आउने गरेको बताउँछिन् ।


इटहरीमा पछिल्लो समयमा खुलेको पान्डा डिपार्टमेन्ट स्टोरले पनि बजार बढाउन थालेको छ । लामो समयसम्म विदेशमा काम गर्दा डिपार्टमेन्ट स्टोरमै काम गर्नुपरेको र त्यही अनुभवलाई व्यावसायिकतामा ढाल्न आफ्नै घरमा डिपार्टमेन्ट स्टोर खोलेको सञ्चालक राजकुमार लोहनीले बताए । उनले इटहरी ८ मा ४० लाख रुपैयाँको लगानीमा डिपार्टमेन्ट स्टोर खोलेका हुन् ।


स्थापित भइसकेको गोरखा र पछिल्लो समयमा खुलेको पान्डाबाहेक पनि इटहरीमा लामो समयदेखि सञ्चालन भइरहेका भूपू गोर्खा डिपार्टमेन्ट स्टोर र सनराइज डिपार्टमेन्ट स्टोरले पनि ग्राहकलाई सेवासँगै रोजगारीको सिर्जना गरेका छन् ।

प्रकाशित : माघ ५, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?