कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अग्रवालको निधनले महासंघ स्तब्ध

काठमाडौँ — कार्यकारिणी समितिका सदस्य एवं निर्यात प्रवद्र्धन समितिका सभापति मनीषकुमार अग्रवालको निधनमा नेपाल उद्योग वाणिज्य महासंघले शोक विज्ञप्ति जारी गरेको छ । अग्रवालको शनिबार निधन भएको हो ।

‘उनको निधनको खबरले महासंघ परिवार स्तब्ध भएको छ, मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ । उद्योगपति हरिप्रसाद र आमा पद्मा अग्रवालका कान्छा छोरा मनीषको ४५ वर्ष उमेरमा निधन भएको हो । ‘केही समयअघिसम्म पनि अत्यन्त सक्रिय रूपमा काम गरिरहनुभएका युवा उद्योगपति अग्रवाललाई एक्कासि ब्लड क्यान्सर भएको पत्ता लागेपछि परिवारका साथ भारतको मेदान्त अस्पतालमा उपचार गराइरहनुभएको र उपचारकै क्रममा निधन भएको खबरबाट महासंघ परिवार शोकमा डुबेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनबाट महासंघलाई अपुरणीय क्षति पुग्न गएको छ, सिंगो निजी क्षेत्रले एक होनाहार युवा उद्यमी गुमाएको छ ।’


महासंघमा अग्रवाल २०६४/६७ देखि वर्तमान कार्यकारिणी समितिसम्म निरन्तर रहेका थिए । ‘अग्रवालले विगतका दुई कार्यकालमा महासंघको रोजगारदाता परिषद् उपसभापति जस्तो महत्त्वपूर्ण पदमा समेत रही श्रम विवाद निरुपण तथा श्रमसम्बन्धी नीति कानुन निर्माणमा महासंघका तर्फबाट अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्यमी जमातमा एक अध्ययनशील उद्यमीको पहिचान बनाउनुभएका स्वर्गीय अग्रवाल श्रम, उत्पादनमूलक, आयात–निर्यातलगायतका आर्थिक मुद्दाहरूका विषयमा जानकार मानिनुहुन्थ्यो ।’ अग्रवालका तेल, मैदा, प्लास्टिक्स, चिनी, जुट उद्योगहरू छन् । अग्रवाल नेपालको व्यावसायिक घराना एचसी अग्रवाल ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।

प्रकाशित : माघ ९, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?