कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चिसोले अन्नपूर्ण पदमार्ग सुनसान

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनाअघि दैनिक ३ सय हाराहारी पर्यटक हिँड्थे । पर्यटकका लस्करले हिमाली जिल्ला मनाङको रौनक नै छुट्टै हुन्थ्यो । तर, हिजोआज बढेको चिसोसँगै उक्त पदमार्ग सुनसान छ । 

चिसोले अन्नपूर्ण पदमार्ग सुनसान

हाल दैनिक १०/१५ पर्यटक हिँड्छन् । मनाङगाउँको होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङका अनुसार सिजनमा भीडका कारण पर्यटकले सुविस्ताले बास पाउन गाह्रो हुने क्षेत्र यतिबेला सुनसान छ । ‘गएको अक्टोबरमा ठाउँ नपाएर टुरिस्टलाई डाइनिङ हलमा पनि सुताउनुपर्ने अवस्था थियो । अहिले पर्यटक छैनन्,’ उनले भने, ‘अफसिजन भएकाले यो बेला पर्यटक आउँदैनन् ।’ यो सिजन निकै चिसो हुने भएकाले पर्यटक नआउने उनले बताए ।


मनाङमा अहिले आन्तरिक पर्यटक शून्य छ । अक्टोबरताका दसैंतिहारको बीचमा बाहय पर्यटककै हाराहारीमा आन्तरिक पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्ग घुम्थे । तर, हाल आन्तरिक पर्यटक शून्य रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त कार्यालय प्रमुख एवं पर्यटक सहायक क्षेत्र गुरुङ बताउँछन् । उनका अनुसार मनाङ प्रवेश हुँदै पर्यटक थोराङला पास भएर मुक्तिनाथ हुँदै पोखरा निस्कन्छन् । यस्तै तिलिचो गएर कोही फर्कन्छन् भने कोही जोमसोमतर्फ लाग्छन् । हाल दैनिक १० देखि १५ जनासम्म पर्यटक आउने गरेको उनले बताए । उनका अनुसार जनवरी १६ तारिखमा यस वर्ष सबैभन्दा कम ४ जना पर्यटक भित्रिए । गत अक्टोबर २८ तारिख एकैदिन ३ सय ५ जना पर्यटक मनाङ गाउँ भित्रिएका थिए । तर, जनवरी १ तारिखदेखि ३ सातासम्मको रेकर्ड हेर्दा ३ सय पर्यटकसमेत आएका छैनन् । ‘अक्टोबरमा एकैदिन आउने पर्यटक हाल ३ सातासम्ममा पनि आएनन्,’ उनले भने, ‘डिसेम्बर अन्तिम तारिखदेखि चिसो बढेसँगै पर्यटक आएका छैनन् । फेब्रुअरीबाट चिसो हट्ने संकेत छ, त्यसपछि भने पर्यटक बढ्लान् ।’


पदमार्गको मनाङ प्रवेश धारापानी चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङका अनुसार यस वर्षको सुरुवाती महिना जनवरी १८ तारिखमा ३ जना पर्यटक भित्रिए । मौसम चिसोका कारण पर्यटक नआएका हुन् ।


हजारौं पर्यटक घुम्ने चक्रीय अन्नपूर्ण पदमार्गको धेरै भू–भाग हिमाली जिल्ला मनाङमा पर्छ । लमजुङको बेंसीसहरबाट सुरु हुने पदमार्गको यात्रा मनाङ–मुस्ताङ हुँदै म्याग्दी वा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पर्यटकीय सिजनमा पर्यटकले भरिभराउ देखिने पदमार्गका होटलहरू हाल खाली छन् । केही होटल बन्द गरिएका छन् ।

प्रकाशित : माघ ९, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?