कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएद्वारा १० अर्बको पूर्वाधार कोष घोषणा

नवीन पोखरेल

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने भएको छ । सोमबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्टले उक्त घोषणा गरेका हुन् ।

भट्टले उक्त लगानी कोषमा निश्चित अंश वैदेशिक रोजगारमा जाने नेपालीको सुरक्षा सुनिश्चित गरिने जनाउँदै कोषमा आफ्नो क्षमताअनुसारको लगानी गर्न सबै गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन् ।


उनले वैदेशिक रोजगारमा गएका र सानास्तरका लगानी गर्ने गैरआवासीय नेपालीहरूलाई पनि सहभागी गराउन आवश्यक रहेको जनाउँदै भनेका छन्, ‘यसका लागि नयाँ स्थापना हुन लागेको कम्पनी आईपीओमा जान आवश्यक छ । कम्पनी स्थापना भएर स्रोत संकलन गरी लगानी गर्न सुरु गरेलगत्तै आईपीओमा जान पाउने व्यवस्था गर्न हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’


कोषबारे नेपाल सरकार र सरोकारवाला पक्षहरूसँग आवश्यक छलफलपछि प्रारम्भिक अवधारणापत्र तयार गरी विभिन्न राष्ट्रिय समन्वय परिषदहरूमा छलफलको चरणमा रहेको संघले जनाएको छ । संघले स्थापना कालदेखि नै यस्ताखाले कोषको घोषणा गर्दै आइरहेको छ । यसअघि ३५ देशका ८३५ लगानीकर्ताको सहभागितामा स्थापित ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ ले नेपालको निजी क्षेत्रको साझेदारीमा लमजुङको दोर्दी खोलामा २७ मेगावाट जलविद्युत् परियोजना निर्माण कार्य सम्पन्न गर्न लागेको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनआरएनएको उक्त घोषणाको स्वागत गर्दै यसमा सरकारको उपस्थिति रहने आश्वासन दिए । ‘वैदेशिक लगानीका लागि उदार अर्थव्यवस्था र स्थिर सरकार आवश्यक छ,’ गर्भनर नेपालले भने, ‘अब नेपालमा अलमलिनुपर्ने केही छैन । अबको बाटो आर्थिक विकासको हो ।’


गभर्नर नेपालले अब एक डेढ महिनाभित्र नेपालमा २० अर्ब रुपैयाँ चुक्ता पुँजीको पूर्वाधार बैंक सञ्चालन हुन लागेको समेत जानकारी दिए । एनआरएनएको उक्त कोष घोषणालाई विशेष अतिथि बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले ऐतिहासिक, दूरगामी र महत्त्वपूर्ण घोषणा भएको बताए । राजदूतले नेपालमा राजनीतिक उपलब्धि संस्थागत भएको र आर्थिक समृद्धिको सुनिश्चितता गर्ने दिशामा देश अग्रसर भएकाले देशलाई गाली नगरी लगानी गर्न आह्वान गरे । नेपाल सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नेमा आश्वस्त पार्दै राजदूतले लगानीका लागि कर्मचारीतन्त्रको कुनै अवरोध नरहनेसमेत दाबी गरे ।


उक्त अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीलगायतले आफ्नो धारणा राखेको थिए । एनआरएनए संरक्षक जीवा लामिछानेले स्काइपमार्फत मन्तव्य दिए ।


कार्यक्रममा युरोप र जापानलगायतका देशहरूबाट समेत गैरआवासीय नेपालीहरूको सहभागिता थियो ।

प्रकाशित : माघ १०, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?