कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसुरो निर्यातभन्दा आयात दोब्बर

पर्वत पोर्तेल

काँकडभिट्टा — कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगट्ने मुसुरो (दाल) को निर्यात क्रमश: घट्दै जाँदा आयात भने दोब्बर बढिरहेको छ । खासगरी अस्ट्रेलिया, क्यानाडा, म्यानमारलगायतका 
मुलुकहरूबाट मुसुरोको आयात भइरहेको छ ।

मुसुरो निर्यातभन्दा आयात दोब्बर

‘मुसुरोको निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी देखिन्छ,’ मेची भन्सारका प्रमुख टेकबहादुर अर्यालले भने, ‘मुसुरोको आयात बढ्ने क्रममा जारी छ ।’ अर्यालका अनुसार विगतमा मुसुरोको आयात ज्यादै न्यून थियो । केही वर्षयता आयात बढ्न थालेको छ । निर्यात क्रमश: घट्न थालेको छ ।

मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा करिब ३५ करोड ९९ लाख २० हजार मूल्य बराबरको करिब ३३ लाख १३ हजार किलो मुसुरो बंगलादेश निर्यात भएको छ । यही अवधिमा दोब्बरभन्दा ज्यादा अर्थात् ८१ करोड ३९ ला ३४ हजार मूल्यको ७८ लाख ४३ हजार किलो मुसुरो तेस्रो देशबाट आयात भएको छ ।

गत आर्थिक वर्षमा पनि मुसुराको आयात निर्यातको तुलनामा बढी नै थियो । गत वर्ष १ अर्ब ५ करोड ५८ लाख ८८ हजार मूल्यको करिब १ करोड १४ लाख २३ हजार किलो मुसुरो आयात हुँदा ९५ करोड २२ लाख ४५ हजार मूल्यको करिब ६१ लाख ८६ हजार किलो मुसुरो निर्यात भएको थियो । मुसुरोको आयात अझै बढ्न सक्ने देखिन्छ । तर, निर्यात बढ्ने भन्दा पनि घट्ने सम्भावना ज्यादा छ ।

५ वर्षयता मुसुरोको निर्यात क्रमिक रूपमा घटिरहेको छ । त्यही समयदेखि आयात क्रमिक रूपमा बढ्दै गएको देखिन्छ । मुसुरोको घट्दो निर्यातले नेपाल–बंगलादेशबीचको व्यापारमा समेत प्रत्यक्ष असर पुगेको छ । भन्सार अधिकृत मनोजकुमार विश्वकर्माका अनुसार अधिकांश मुसुरो झापा धाइजनको सूर्य पल्स एन्ड प्रोसेसिङको नाममा आयात भइरहेको छ । क्यानाडा, अस्ट्रेलियाका साथै म्यानमारबाट उसले मुसुरो आयात गरिरहेको विश्वकर्माले बताए ।

बंगलादेशको व्यापारमा सहजीकरण गर्ने नेपाल पारबहन गोदाम तथा व्यवस्था कम्पनी शाखा कार्यालय काँकडभिट्टाका अनुसार आव ०६९/०७० मा २ अर्ब ७१ करोड १४ लाखको मुसुरो निर्यात भएको थियो ।

०७०/०७१ मा निर्यातक्रम घटेर १ अर्ब ९६ करोडमा झरेको थियो । ०७१/०७२ मा आइपुग्दा १ अर्ब

११ करोडको मात्रै निर्यात

भएको थियो ।

२०७२/०७३ मा थोरै बढेर १ अर्ब २० करोड १९ लाख भए पनि २०७३/०७४ मा त साढे ९५ करोडको मात्रै मुसुरो निर्यात भएको थियो । ‘यो वर्ष अझ घट्ने सम्भावना देखिन्छ,’ पारवहन कार्यालयका प्रमुख यादव शिवाकोटी भन्छन्, ‘६ महिनामा ३५ करोडको मात्रै निर्यात भएको छ ।’

व्यवसायीहरू मुसुरोको उत्पादनमै आएको गिरावटका कारण निर्यात घटेको दाबी गर्दै आएका छन् । तर, नेपालमा त्यो परिमाणमा मुसुरो उत्पादन हुने सम्भावना नै छैन । भारतबाट ल्याइएको मुसुरो नै बंगलादेश निर्यात हुने गरेको स्रोतको दाबी छ । ‘केही समययता भारतमा मुसुरोको उत्पादन नै घटिरहेको छ,’ व्यापारी स्रोत भन्छन्, ‘भारतमा उत्पादन घटेपछि नेपालमा पर्याप्त दाल पठाउन सकिएन, जसका कारण नेपालबाट बंगलादेश निर्यात खस्कियो ।’

विराटनगरका व्यवसायी प्रदीप सारडाका अनुसार सरकारी नीतिका कारण मुसुरोको निर्यात क्रमिक रूपमा घटिरहेको दाबी गर्छन् । उनका अनुसार एकतिर निर्यात प्रोत्साहनका लागि भन्दै १ प्रतिशत सहुलियत दिने र अर्कातिर प्रतिकिलो १ रुपैयाँ कर असुल्ने प्रवृत्तिले मुसुरोको निर्यातमा गिरावट आएका उनको दाबी छ ।

व्यवसायी सारडाका अनुसार निर्यात व्यापारमा विगतको ४ प्रतिशत सहुलियत घटाएर १ प्रतिशतमा झार्नु नै आपत्तिजनक छ । उनले थपे, ‘निर्यातलाई प्रोत्साहनका लागि सहुलियत बढाउनुपर्नेमा सरकार उल्टै घटाइरहेको छ, अनि कसरी हुन्छ निर्यात व्यापारलाई प्रोत्साहन ।’ सन् १९९७ जुन १ देखि काँकडभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालन भएयता नेपालले बंगलादेशमा पहिले गहुँ र अहिले मुसुरो निर्यात गर्दै आएको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?