कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय बैंकमा घोटाला

एजेन्सीहरू

काठमाडौँ — भारतमा हालसम्मकै सबैभन्दा ठूलो बैंक घोटाला सार्वजनिक भएको छ । हीरा व्यापारी निरभ मोदी र आभूषण व्यापारी मेहुल चौकसीमाथि भारतको दोस्रो ठूलो बैंक पन्जाब नेसनल (पीएनबी) मा २ अर्ब ८० करोड अमेरिकीे डलर घोटाला गरेको आरोप लागेको छ । निरभ र मेहुल मामा–भान्जा हुन् । दुवैले पीएनबीका कर्मचारीको मिलोमतोमा घोटाला गरेको बताइएको छ । 

भारतीय बैंकमा घोटाला

घोटाला सार्वजनिक भएलगत्तै सम्बन्धित निकायले अनुसन्धान र कारबाही सुरु गरेका छन् । भारत सरकारको वित्त मन्त्रालयअन्तर्गत राजस्व विभागको विशेष वित्तीय जाँच नियोग ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी)’ ले राजधानी नयाँदिल्लीदेखि मुम्बईसम्म निरभका ९ वटा अखाडामा छापा मारेको छ ।


यसैबीच पीएनबीले पनि एउटा विशेष समिति बनाएर यो ठूलो घोटालाको अनुसन्धान सुरु गरेको छ । निरभ भने धेरै पहिले नै देशबाहिर गईसकेको संचार माध्यमहरूले जनाएका छन् । समाचार संस्था एएनआईका अनुसार निरभ हाल स्विटजरल्यान्डमा छन् । तर, भारतीय गृह मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । केही सञ्चार माध्यमले जनवरी १ मै निरभ भागेको र फेबु्रअरीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै दावोसको बैठकमा सहभागी भएको जनाएको छ ।


निरभ मोदी र उनका साथीहरूले आफ्ना तीन कम्पनीहरू डायमन्ड आर यूएस, सोलर एक्सपोर्ट र स्टयालर डायमन्डमार्फत एउटा सञ्जाल बनाई बैंकमा घोटाला गरेको बताइएको छ । यी तीन कम्पनीमार्फत निरभले पीएनबीलाई आफू हङकङबाट सामान झिकाउनका लागि लेटर अफ अन्डरटेकिङ (एलओयू) जारी गर्न आग्रह गरेका थिए । एलओयू कुनै पनि बैंकद्वारा जारी गर्ने एउटा लेटर हो, जसको माध्यमबाट अर्का बैंकहरूका विभिन्न शाखाहरूले लाभान्वित कम्पनीहरूलाई ऋण दिन सक्छन् । यो लेटर नै घोटालाको माध्यम बन्न पुग्यो । निरभ सात वर्ष लगाएर बैंकमा घोटाला गर्न सफल भएका हुन् । पीएनबीको मुम्बई शाखाले सन् २०१०–११ मा जारी गरेको एलओयू मुलुककै चर्चित ज्वेलर्सलाई पनि दिएको थियो, जसको शाखाहरू विदेशमा पनि थिए ।

पीएनबीले बैंकले मुम्बईस्थित आफ्नो शाखाबाट केही जाली र अनधिकृत रकम निकालिएको जानकारीमा आएको बताएको छ । बैंकले भनेको छ, ‘यसबाट केही विशेष एकाउन्ट होल्डर्सलाई फाइदा पुगेको देखिन्छ । ’पीएनबीले बुधबार स्टक एक्सचेन्जलाई घोटाला भएको जानकारी दिएपछि बैंकको सेयर ११ प्रतिशतले ओरालो लागेको थियो । अन्य बैंकको सेयरमा समेत गिराबट आएको थियो ।


निरभ मोदी भारतका मात्रै नभई विश्वकै सबैभन्दा ठूला धनाढय व्यवसायीमध्येका एक हुन् । उनी यस्ता कारोबारी हुन्, जसको नाम उनको ब्रान्डनेम बनेको छ । उनी फायरस्टार डायमन्डका संस्थापक हुन् । उनका ग्राहकहरू विश्वकै ठूलो व्यापारीदेखि सेलिब्रेटीसम्म तथा राज घारानाका व्यक्तिहरू पनि छन् । उनका परिवार डायमन्डकै व्यापार गर्थे । बाल्यकालदेखि नै उनी आफ्ना बुबासँग डायमन्डको कटिङदेखि डिजाइनसम्म सिकेका थिए । यसैक्रममा विश्वकै चर्चित ज्वेलरी डिजाइनर बन्न सफल भएका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?