कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखुमा उन्नत बीउसँगै प्रविधिको प्रयोग

भवानी भट्ट

कञ्चनपुर — दशकदेखि उखु खेतीमा लागेका बेलौरी–१० हात्तीभोजका आश्रय बडायकले धेरै वर्ष परम्परागत तरिका र बीउको प्रयोग गरे । जति मिहिनेत र लगानी गरे पनि उत्पादन खासै बढेन । त्यसपछि उनले आधुनिक तरिकासँगै उन्नत जातका बीउको प्रयोग गर्न थाले । यसले लगानी घट्नुका साथै उत्पादन पनि दोब्बर बनाएको उनी बताउँछन् । 

‘पुरानो तरिकाले बीउ रोप्दा एक बिघामा ३०/३५ क्विन्टल उखु उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले प्रविधिको प्रयोगले कम बीउसँगै उत्पादन बढाउन सकिएको छ ।’ उनले २–३ वर्षदेखि ट्रेन्च विधिबाट उखु लगाउन थालेका हुन् । गत वर्षदेखि नर्सरीमा बीउ उत्पादन गरी रोप्न थालेको उनले बताए ।


प्राविधिकहरूका अनुसार नर्सरी प्रविधिबाट उखु लगाउँदा बीचबीचमा जमिन बाँझो रहँदैन । रोग कीराको प्रकोप पनि कम हुन्छ । मजदुर लागत कम हुनुका साथै सिँचाइका लागि पनि सजिलो हुन्छ । प्राय: कात्तिक/मंसिरमा उखु लगाइने गरिए पनि यो प्रविधिबाट गहुँ खेतीसँगै उखु पनि रोप्न सकिन्छ । उखु बारीको बीचमा बाँझो रहेको ठाउँमा समेत रोप्न सकिन्छ ।


विगतमा परम्परागत तरिकाले गोरुले जोतेर उखु लगाउने कृषकहरू यति बेला कृषियन्त्रहरूको प्रयोग गरी टयाक्टरद्वारा उखु लगाउने गर्थे । राजाहल, ट्रेन्चर र बीउ काट्ने विभिन्न किसिमका उपकरणहरू विभिन्न संघ/संस्थाको सहयोगमा कृषकहरूलाई उपलब्ध गराइएको छ ।


‘अहिले कृषियन्त्रसँगै उन्नत जातका बीउको प्रयोग पनि बढेको छ,’ महाकाली सुगर मिलका उखु प्रबन्धक चन्ददेव पाण्डेयले भने, ‘यसले पनि उत्पादन बढाउन मद्दत गरेको छ ।’ अहिले कृषकहरूले भारतबाट भित्र्याइएका सीओ २३८, सीओ ०११८, सीओ ८२७२ लगायतका बीउको प्रयोग बढाएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा २ वटा चिनी मिलहरू सञ्चालनमा आएपछि यहाँका कृषकहरू उखु उत्पादनतर्फ हौसिएका छन् । कञ्चनपुरमा ६ हजार हेक्टरमा उखु खेती हुने गरेको छ । यहाँ रहेका दुवै उखु मिललाई वर्षमा ४५ लाख क्विन्टल उखु आवश्यक पर्ने भए पनि अहिले ३०–३५ लाख क्विन्टल मात्रै उत्पादन हुने गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?