कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यमर्स्याङ्दी मर्मत गरिदै 

एक साता विद्युत उत्पादन बन्द गरिने 
आश गुरुङ

लमजुङ — ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना आइतबारबाट मर्मत थालिएको छ । मर्मतका क्रममा एकसाता सम्म विद्युत उत्पादन बन्द गरिने भएको छ । 

मध्यमर्स्याङ्दी मर्मत गरिदै 

आइतबारदेखि युनिट २ सर्ट डाउन गरी ओभरहोलिङ (बृहत मर्मत) थालिएको हो । जलविद्युत केन्द्रमा ३५/३५ मेगावाटका २ वटा टर्वाइन छन् । परियोजनाको बाँधको लेफ्ट ब्यांक (बायाँ तर्फ)को क्षेत्रमा भूक्षय रोक्न राखिएका संरचना मर्मतकालागि फागुन १० गते बिहीबार राति १० बजेदेखि प्लान्ट पुरै सर्टडाउन गरिने जलविद्युत केन्द्र प्रमुख पशुपतिराज गौतमले बताए ।


गौतमका अनुसार आइतबारदेखि बिहीबार पुरै प्लान्ट बन्द नहुञ्जेल युनिट १ बाट विद्युत उत्पादन हुनेछ । युनिट १ को गतबर्ष बृहत मर्मत गरिएको थियो । फागुन १० देखि १६ सम्म विद्युत उत्पादन पुरै बन्द हुने उनले बताए । युनिट २ मर्मतको काम फागुन २३ गते सकिने छ ।


परियोजनाको बाँध क्षेत्रको बायाँतर्फको पानीले हिर्काएर खोतालेको भाग मर्मत गर्न ०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । लोडसेडिङलाई मध्यनजर गर्दै त्यतिबेला मर्मत गरिएको थिएन । ‘२ बर्षअघि नै मर्मत गर्नुपर्ने हो । भारप्रेषण केन्द्रले विद्युत व्यवस्थापनमा समस्या हुने बताएपछि मर्मत हुन सकेन,’ केन्द्र प्रमुख गौतमले भने, ‘गतबर्ष कालीगण्डकीको मर्मत नगरी नहुने भयो । यसबर्ष पनि नगरिए क्षति बढ्दै जाने भएकाले मर्मतको लागि स्वीकृति पाएका छौं ।’


मर्मतका लागि हेटौंडाको जीटेक कन्ट्रक्सन एण्ड इन्जिनियरिङसँग साँढे २ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको जलविद्युत केन्द्रले जनाएको छ । युनिट २ टर्बाइनको बृहत मर्मत सम्भारको लागि भने मर्स्याङ्दी जलविद्युत केन्द्रका ५ जना प्राविधिकसहित मध्यमर्स्याङ्दीका प्राविधिक

खटिनेछन् ।


मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द भए पनि लोडसेडिङ भने नहुने भएको छ । यसको विकल्पमा कुलेखानी पहिलो र दोस्रो संचालनमा ल्याइनेछ ।

आयोजनामा समस्यै समस्या

दुई बर्ष अघि नै मर्मत गर्नुपर्ने मध्यमर्स्याङ्दीको बाँध क्षेत्रको बायाँ भाग यसबर्ष मर्मत गरिँदै छ । २०७१ मा गरेको प्लसिङ (ड्यामको गेट खोलेर बालुवा बगाउने कार्य) गर्दा लेफ्ट ब्यांक (बायाँ क्षेत्र) को भित्तामा पानीले खोतलेर क्षति पुगेको थियो । ५/५ बर्षमा मर्मत गरिने भनिए पनि ‘मोडलिङ’ को समस्याका कारण २/२ बर्षमा मर्मत हुँदै आएको छ । जलविद्युत केन्द्रले परियोजनामा पुगेको क्षति र तत्काल मर्मत गर्नुपर्ने भित्री संरचना गोताखोरको माध्ययमबाट पहिचान गरेको थियो ।


परियोजनाको ड्यामबाट पानी लिक हुने (चुहिने), प्लाष्टरका माथिल्लो लेयरहरु उप्किएको, छडहरु देखिने, ढुंगा थुप्रिने समस्या वर्षेनी देखिँदै आएको प्राविधिकहरु बताउँछन् । विद्युत गृहको टर्बाइनमा बालुवाको कणले समस्या बढाएको छ । ‘मोडलिङ’ समस्याका कारण हरेक बर्ष लेफ्ट ब्यांक (बायाँ भाग) मा समस्या आउने गरेको प्राविधिकहरुले बताएका छन् ।


प्रकाशित : फाल्गुन ७, २०७४ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?