कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानले मासे चिया बगान

अर्जुन राजवंशी

बैगुन्धुरा (झापा) — पश्चिम झापाका साना किसानले चिया बगान मासेका छन् । हरियो चिया पत्तीले मूल्य नपाएपछि बगान मास्नु परेको उनीहरूको दुखेसो छ । 

गौरादह नगरपालिकाका एक दर्जन किसानले ६५ बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको चिया बगान मासेका हुन् । करिब ३० बिघा जमिनको बगान झाडीमा परिणत भएको छ । ‘हरियो चिया पत्तीको मूल्य बढ्छ कि भनेर १७ वर्षसम्म पर्खियौं । तर, बढेन । उल्टै घटिरहेको छ,’ गौरादह ९ बैगुन्धुराका किसान रत्नबहादुर पौडेलले भने, ‘बाध्य भएर अन्तिममा बगान नै मास्नुपर्‍यो ।’ उनले यसै वर्ष दस बिघा क्षेत्रफलको चिया बगान सबै मासेका छन् । ‘पहिला धानभन्दा राम्रो आम्दानी हुन्छ भनेर चिया रोपेका थियौं,’ उनले थपे, ‘खर्च पनि नउठेपछि अहिले फेरि धान रोप्नका लागि चिया मास्नुपर्‍यो ।’


साना किसान झापाली चिया व्यवसायी संघका अनुसार जिल्लामा १० बिघाभन्दा कम जमिनमा चिया खेती गर्ने ३५ सय किसान छन् । तिनैमध्येका बैगुन्धुराका सुरेश पौडेल, योगेश पौडेल, बाबुराम पौडेल, आशिष पौडेल, अशोक पौडेल, शालिग्राम पौडेल, रामबहादुर पौडेल, ज्ञानेन्द्रबहादुर पौडेल, रत्नबहादुर पौडेल र सञ्जीव पौडेलले बगान मासेका हुन् । इन्द्र गुरुङ, इन्द्रबहादुर बुढाथोकीलगायतका बगान झाडीमा परिणत भएका छन् ।


चार वर्षदेखि पत्ती नटिपेको तथा सफा नगरेकाले बगान जंगल बनेको छ । ‘फयाक्ट्रीले मूल्य नै दिँदैन । सरदरमा ८/१० रुपैयाँ प्रतिकेजीमा हतियो पत्ती बेच्नुपर्छ,’ किसान प्रकाश बुढाथोकीले भने, ‘त्यो मूल्यभन्दा हाम्रो लगानी नै धेरै हुन जान्छ । त्यसैले बगान मास्न बाध्य छौं ।’ बुढाथोकीको ३० बिघा जमिनमा चिनारी टी स्टेट छ । चिया मासेर उनले माछा पोखरी खनेका छन् । एक वर्षदेखि करिब दस बिघा जमिनमा पोखरी खनेर माछापालन थालेका उनले राम्रो आम्दान हुन थालेको सुनाए । उनकै बगान मासेको मध्ये एक बिघा जमिनमा स्थानीय सातजना युवाले तरकारी खेती गरिरहेका छन् ।


‘चियाबाट राम्रै आम्दानी थियो । तर, सरकारले चासो नदिँदा हामीले बगान मास्नुपर्‍यो,’ किसान योगेश पौडेलले भने, ‘०५७ सालमा पहिलोपटक हरियो पत्ती बेच्दा प्रतिकेजी १८ रुपैयाँ थियो । १७ वर्षपछि अहिले ८ रुपैयाँ प्रतिकेजीमा पनि पत्ती बेच्न धौधौ पर्छ ।’ उनले थपे, ‘पत्ती टिप्ने मजदुरलाई प्रतिकेजी ५ रुपैयाँ दिनुपर्छ । ढुवानी खर्च प्रतिकेजी २ रुपैयाँ लाग्छ । सुक्ती काट्छ । मल, गोडमेल, बगान रेखदेख गर्ने मजदुरको ज्यालासमेत जोडदा प्रतिकेजी १० रुपैयाँभन्दा बढी लगानी पुग्छ ।’ उनले हरियो पत्ती टिपे पनि घाटा, नटिपे पनि घाटा हुने भएकाले बगानै मास्नुपरेको बताए । ‘पत्ती नटिपूँ बगान जंगल बन्छ । टिपेर बेच्न लैजाऊँ घाटा खानुपर्छ । अनि त बगान नमासी किन राख्नु ?’ उनको प्रश्न थियो ।


नजिकै चिया फयाक्ट्री नभएकाले बगान टिकाउन गाह्रो भएको किसान सुरेश पौडेलले गुनासो गरे । चिया फयाक्ट्री सञ्चालकहरूको दादागिरीले आफूहरूले बगानै मास्नुपरेको उनको आरोप छ । उनले भने, ‘सरकार उनीहरूलाई केही भन्न र गर्न सक्दैन । उनीहरूले तोकेको मूल्यमा हामीले पत्ती बेच्नुपर्छ । उनीहरूको मूल्यले हामी सधैं घाटा मात्रै सहनुपर्‍यो ।’ बैगुन्धुराका सबै बगानका हरियो पत्ती ६० किलोमिटर टाढा भद्रपुर पुर्‍याउनुपर्ने बाध्यता छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?