कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटी भन्सार पुन:स्थापना भएनन्

मनोज बडू

दार्चुला — द्वन्द्वकालमा विस्थापित भएका यहाँका छोटी भन्सार अझ स्थापना हुन सकेका छैनन् । भारत र चीनसित जोडिएका छोटी भन्सारहरू पुन:स्थापना नहुँदा राज्यले बर्सेनि लाखौंको राजस्व गुमाउनुपरेको छ ।

छोटी भन्सार पुन:स्थापना भएनन्

देशकै सामरिक क्षेत्रमा रहेका व्यासका भारत र चीनसित जोडिएका दुई छोटी भन्सार र भारतसित जोडिएका लाली, जौलजिवी र दत्तु छोटी भन्सार बन्द हुँदा स्थानीयले सास्ती खेपिरहेका छन् भने राज्य कोषमा जम्मा हुनुपर्ने राजस्वसमेत चुहावट हुन पुगेको छ ।


भारत सिमानाका लाली, जौलजिवी, दत्तु र सीतापुल तथा चीनको तिब्बती सीमा तिंकरका छोटी भन्सार पुन:स्थापनाका लागि अहिलेसम्म कुनै पहल हुन सकेको छैन । तिंकरबाहेक अन्य नाकाहरूमा भारत र नेपालतर्फ बजारको राम्रो सम्भावना रहेकाले छोटी भन्सारहरू छिटो पुन:स्थापना गर्नुपर्ने यहाँका व्यापारीहरूको माग छ । स्थानीय व्यापारीहरूले राज्यका विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणका बेलासमेत सबैलाई छोटी भन्सार कार्यालयको पुन:स्थापनाका लागि स्मरण गराएकै हुन्छन् ।


व्यासका धेरै व्यापारीहरू भारतीय सामान ताक्लाकोट पुर्‍याउने र त्यहाँबाट भारतमा पनि व्यापार गर्दै आएका छन् । उक्त क्षेत्रमा भन्सार नहुँदा यहाँका स्थानीय बजारमा सामान बिक्री गर्न नसकेको छांगरुका स्थानीय व्यापारी दीपक बोहोराले बताए । ‘आफ्नो दुवै देशका व्यापारीहरूसित राम्रो सम्बन्ध छ,’ उनले भने, ‘ताक्लाकोटबाट ल्याएको सामानको खलंगा आएर भन्सार काटेपछि मात्र बिक्री गर्न मिल्छ ।’ स्थानीयस्तरमै भन्सार भए सहज रूपमा तीनवटै देशमा व्यापार गर्न सजिलो हुने उनी बताउँछन् ।


लामो समयदेखि बन्द रहेका छोटी भन्सार कार्यालय आसपास बजार विस्तार भइसकेको भए पनि राज्यले पुन:स्थापनामा ध्यान नदिएको स्थानीयको आरोप छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारबाट यहाँका धेरै व्यापारीहरूको सामान आयात हुने व्यास गाउँपालिका १ व्यासका जितेन्द्रसिंह बोहराले बताए । ‘तीनवटै देशमा व्यापार गर्न धेरै असहज छ,’ उनले भने, ‘भन्सार समस्याले गर्दा स्वदेशमा व्यापार गर्न सकिएको छैन ।’ भारत र चीन सीमाका छोटी भन्सार पुन: सुचारु भए आफूहरूलाई व्यापार गर्न सजिलो हुने र राजस्व संकलनमा समेत प्रगति हुने उनको भनाइ छ ।


पश्चिम नेपालको दार्चुलामा भारत तथा चीनबाट थुप्रै सामान आयात हुने भए पनि अहिलेसम्म सरकारले एक छोटी भन्सारबाहेक भन्सार कार्यालय खोल्न सकेको छैन । बैतडीको झुलाघाट यहाँको एक मात्र चालु छोटी भन्सार रहेको छ । झुलाघाट भन्सारभन्दा दार्चुलाको छोटी भन्सारले बढी राजस्व उठाउँछ । झुलाघाटबाट भन्सारको संकलित राजस्वको करिब ७० प्रतिशत दार्चुला छोटी भन्सारबाट उठ्ने खलंगा छोटी भन्सारका कर्मचारीको भनाइ छ ।


बन्द रहेका पुराना छोटी भन्सार चाँडो सञ्चालनमा ल्याउनका साथै थप नयाँ छोटी भन्सार कार्यालयको खाँचो रहेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी बताउँछन् । ‘व्यास, तिंकर र सीतापुल भन्सार सञ्चालनका लागि सरकार र सम्बन्धित निकायलाई गाउँपालिकाले अनुरोध गरिसकेको र व्यासमा थप छोटी भन्सार स्थापनाका लागि समेत माग गरेका छौं,’ उनले भने, ‘व्यास ५ तिगरममा नेपाल–भारत सीमामा झोलुंगे पुल निर्माण भएपछि छोटी भन्सारको आवश्यकता भएको छ ।’ यी तीनवटै छोटी भन्सार सञ्चालन भए गाउँपालिकाको आम्दानीमा सहयोग पुग्ने उनको भनाइ छ ।


भन्सार बन्द भएको १२ वर्ष भए पनि देशकै सामरिक महत्त्वको व्यासमा कात्तिकदेखि राज्यको उपस्थिति छैन । त्रिदेशीय सामरिक क्षेत्रको महत्त्व विशिष्ट हुने भए पनि जिल्लाको उत्तरपश्चिममा रहेको क्षेत्रमा राज्यको उपस्थिति ६ महिनालाई मात्र हुन्छ । भारत र चीनसँग सीमा जोडिएको व्यासमा ६ महिना मात्र नेपाल प्रहरीले सुरक्षा दिने गर्छ । भारत र चीनले भने उक्त सीमा क्षेत्रमा ४/५ प्रकारका सुरक्षा निकायहरूले बाह्रै महिना पहेरादारी दिइरहेका छन् ।


यो क्षेत्रमा सुरक्षा निकाय, वन तथा अन्य निकायको उपस्थिति नहुँदा यहाँबाट वन्यजन्तुको आखेटोपहार, विभिन्न जीवजन्तुको हाड, छाला, यार्सागुम्बालगायत जडीबुटी तस्करहरूले खुलेयाम लग्ने गरेको स्थानीयको भनाइ छ । व्यासमा बसोबास रहेको सौका समुदायका मानिसहरू बर्खे ६ महिना मात्र बस्ने हुँदा अहिले उक्त क्षेत्र राज्यको पहुँच बाहिर रहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?