कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीस वर्ष पुराना सवारी ‘सिज’ गरिने

रासस

काठमाडौँ — यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई चैत १ देखि ‘सिज’ गर्ने जनाएको छ । विभागले फागुन मसान्तपछि सडकमा गुड्ने त्यस्ता सवारी साधनलाई ‘सिज’ गरी लिलाम गर्ने तयारी गरेको समेत जनाएको छ । 

बीस वर्ष पुराना सवारी ‘सिज’ गरिने

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इन्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपुर्जा बेच्न सक्नेछन्,’ उनले भने, ‘चैत १ देखि पुराना सवारी सडकमा गुडे ‘सिज’ गरी सरकारले लिलाम गर्छ ।’ उनका अनुसार फागुनभित्रै पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिसकिएको छ ।


देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो ।


विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरूपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लागेका रामबहादुर थापाले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?