कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक आगमनमा नयाँ रेकर्ड

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्यामा रेकर्ड कायम भएको छ । तथ्यांक लिन थालिएको २१ वर्षको अवधिमा सन् २०१७ मा मात्रै हालसम्मकै सबैभन्दा बढी २७ हजार ६८ विदेशी पर्यटकले पदमार्गको भ्रमण गरेका छन् ।

पर्यटक आगमनमा नयाँ रेकर्ड

यो सन् २०१६ को तुलानामा २२ दशमलव ४७ प्रतिशतले बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको तथ्यांकमा उल्लेख छ । ०१६ मा २२ हजार १ सय २ पर्यटक यस पदमार्गमा भित्रिएका थिए । भारतीय नाकाबन्दी हुँदाको अघिल्लो वर्षको तुलानामा ३४ प्रतिशत र सशस्त्र द्वन्द्व ताका २९ प्रतिशतले पर्यटक आगमन घटेको थियो । पछिल्लो २ वर्ष भने पर्यटक आगमन बढदै गएको एक्यापले जनाएको छ । सन् ०१५ को तुलानामा ०१६ मा ३८ दशमलव ४२ प्रतिशतले पर्यटक बढेका थिए । भूकम्प र नाकाबन्दीको वर्ष सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।


सन् ०१७ को पर्यटकीय सिजन अक्टोबरमा मात्रै ६ हजार ६ सय ७४ पर्यटक भित्रिएका छन् । सन् ०१६ मा उक्त महिना ५ हजार ६ सय ५१ पर्यटक भित्रिएका थिए । चक्रीय अन्नपूर्ण पदमार्गमा लमजुङ हुँदै मनाङतर्फ जाने पर्यटकको रेकर्ड एक्यापले राख्ने गरेको छ । एक्यापले सन् १९९६ देखि तथ्यांक लिन थालेको हो । काठमाडौं, पोखरा र बेंसीसहरमा अनुमति लिएर गएका विदेशी पर्यटकले मनाङको नासोङ गाउँपालिकास्थित धारापानी चेकपोस्ट (पर्यटक चेकजाँच केन्द्र) मा अनिवार्य आफ्नो विवरण बुझाउनुपर्छ । गत वर्षदेखि लमजुङकै मस्र्याङदी गाउँपालिकाको सिम्पानीस्थित बगैंचामा पनि चेकपोस्ट राखेर पर्यटकको तथ्यांक लिन थालिएको छ ।


धारापानी चेकपोस्टकी पर्यटक सहायक सोमी गुरुङका अनुसार यस वर्ष गत अक्टोबर २८ तारिख एकैदिन ३ सय ५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको रेकर्ड छ । सन् ०१५ को अक्टोबरमा एक दिन २ सय ५२ सम्म पर्यटक भित्रिएका थिए । ‘अफ सिजनमा पनि पर्यटक आमगन रोकिएको छैन । भूकम्प र नाकाबन्दीका बेला कहिलेकाहीँ शून्य पनि थियो,’ उनले भनिन्, ‘अहिलेको अफ सिजनमा पनि दैनिक १० जना पर्यटक टुटेका छैनन् ।’ पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यसपटकको सिजनमा मनाङका प्राय: सबै होटल भरिभराउ थिए । आन्तरिक पर्यटक पनि उत्तिकै मात्रामा भित्रिएका थिए । ‘भूकम्प र नाकाबन्दीको समय पर्यटकीय सिजनमा पनि कहिलेकाहीँ होटल नै खाली हुन्थ्यो । अफ सिजनमा बाहेक पछिल्लो वर्ष पर्यटक भरिभराउ तवरले राख्ने अवसर पाएका छौं,’ उनले भने । उनका अनुसार देशमा बन्द हडताल हुन छोडेपछि पर्यटक आगमन बढ्न थालेका हुन् ।


एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले २१ वर्षको अवधिमा पर्यटक आगमनले ऐतिहासिक रेकर्ड कायम गरेको बताए । ‘हामीले पर्यटकको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी पर्यटक सन् २०१७ मा आए । राजनीतिक स्थिरता कामय हुँदै गए अझ पर्यटक बढदै जानेछन्,’ उनले भने । एक्यापका अनुसार सन् २००२ मा २९ र सन् ०१५ मा ३४ प्रतिशतले पर्यटक आगमन घटेको छ । द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला, भूकम्प र नाकाबन्दीमा पर्यटक आगमनमा गिरावट आएको एक्यापको तथ्यांकले देखाउँछ । चक्रीय अन्नपूर्ण पदमार्ग आधा दशकअघिसम्म विश्वकै उत्कृष्ट १० पदमार्गमा गनिन्थ्यो । पदमार्गको गन्तव्य संसारकै अग्लो हिमाली भन्ज्याङ ५ हजार ४ सय १६ मिटरको थोराङला र संसारकै उच्च स्थानमा रहेको ताल ४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो हो । लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ, मुस्ताङ हुँदै म्याग्दीको तातोपानी, म्याग्दी भएर पोखरा वा तातोपानीबाट घोरेपानी हुँदै पोखरा पुग्नलाई २१ दिन लाग्थ्यो । अहिले मुस्ताङको मुक्तिनाथ र मनाङको मनाङ गाउँसम्म मोटर चलेपछि पदयात्रा एक सातादेखि १० दिनसम्म खुम्चिएको छ । पदमार्ग भएर जानुपर्ने ठाउँमा सडक निर्माण भएपछि उक्त पदमार्ग विश्वकै उत्कृष्ट १० को सूचीबाट समेत हटिसकेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?